+
+

सही आसनमा बस्न नजान्दा पनि लाग्छ जटिल रोग

मनोज ढकाल, प्राकृतिक चिकित्सक मनोज ढकाल, प्राकृतिक चिकित्सक
२०७८ चैत १७ गते १९:०२

सुन्दा अनौठो लाग्न सक्छ, तपाईं हामीलाई बस्न पनि आउँदैन । कुर्सीमा, चकटीमा, सोफामा, भुँइमा जहाँपनि हामी बसिरहेका हुन्छौं । तर हाम्रो बस्ने आसन मिलिरहेको हुँदैन । यसरी आसन नमिलाइ बस्दा के हुन्छ ?

हामीलाई अत्यन्तै सामान्य लाग्ने यही कुराको नतिजा भने भयानक हुन्छ । जस्तो हामी कुप्रिएर, घोप्टिएर वा ढल्किएर बस्ने गर्छौं । यसरी बस्दा हाम्रो मेरुदण्डमा असर पुग्छ । यसले हड्डीको जोर्नी फुत्किने, मासु च्यातिने, नसा च्यापिने जस्ता समस्या हुन्छ । यस्ता समस्याले हामीलाई जीवनभर थला पार्न सक्छ ।

त्यति मात्र होइन, हाम्रो बसाइ नमिल्दा शरीरका भित्री अंगहरुको सञ्चालनमा पनि अवरोध पुग्छ । फोक्सो, मुटु आदिको कार्यसम्पादन राम्ररी हुन पाउँदैन । शरीरमा पर्याप्त अक्सिजन पुग्दैन, रक्त सञ्चार राम्ररी हुन पाउँदैन । यस्तो अवस्थामा शरीर जीर्ण र रोगी हुँदै जान्छ ।

अहिले हामीकहाँ पिँठ्यु दुख्यो, ढाड दुख्यो, गर्दन दुख्यो भन्दै आउनेको संख्या धेरै छ । यस्तो समस्याले उनीहरुलाई लामो समयसम्म दुःख दिइरहेको हुन्छ । कसैको नसा च्यापिएको हुनसक्छ, कतिको मांसपेशी च्यातिएको हुन्छ, कतिको हड्डी खिइएको हुन्छ । यस्तो समस्यामा कति शल्यक्रिया गर्न हतारिन्छन् भने कति थेरापीबाट उपचार खोज्छन् ।

ढाड, पिठ्युँ र गर्दनको दुखाइ 

ढाड, पिठ्युँ वा गर्दनको दुखाइ अहिले आम समस्या बन्दै गएको छ । आखिर के कारणले यस्तो समस्या बढिरहेको छ ?

खासमा भन्ने हो भने यो कुनै जन्मजात रोग होइन । यो सरुवा रोग पनि होइन । यो रोगको जन्मदाता हामी स्वयं हौं । हामी आफैंले पैदा गरेको समस्या हो यो । हाम्रो खानपान, बसाइ वा समग्रमा हाम्रो जीवनपद्धतिले नै यस्तो जटिलता निम्त्याइरहेको छ ।

हाम्रो प्रवृत्ति के हुन्छ भने, ऐशआराम खोज्ने । बसीबसी खान पाए हुन्थ्यो भन्ने सोच्छौं । शारीरिक काम गर्न जाँगर चल्दैन । गाडी, मोटरसाइकलमा यात्रा गर्छौं । किनभने हामीलाई हिँड्न अल्छी लाग्छ । बिहान–साँझको समय सोफामा ढल्किएर फेसबुक, युट्युब आदिमा घण्टौं बिताइदिन्छौं । यस किसिमको जीवनपद्धति नै अहिले रोगको कारण बनिरहेको छ ।

एकातिर शारीरिक गतिविधि कम हुँदै गएको छ भने अर्कोतिर खराब खानपानको बानी परेको छ । व्यायाम गर्ने, योग ध्यान गर्ने प्रवृत्ति छैन । जिब्रोको लागि भन्दा पनि शरीरको लागि खाना रोज्ने प्रवृत्ति छैन । यी कारणले अन्ततः हाम्रो शरीर जीर्ण बनाउँदै लगेको छ ।

हाम्रो अज्ञानता, लाचारीले नै यो रोग पैदा भएकाले यसको उपचारका लागि पनि हामी स्वयंको प्रयास जरुरी हुन्छ ।

अब के गर्ने त ?

चिकित्सा विज्ञानमा एउटा भनाइ छ, रोग लागेर उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । ढाड, पिठ्युँ, गर्दनको दुखाइ भनौं वा यस्तै अरु रोगबाट बच्नका लागि अनुशासित दिनचर्या जरुरी हुन्छ । यसको अर्थ हाम्रो सुत्ने, उठ्ने, खाने, बस्ने, काम गर्ने तालिका नियमित र सही हुनुपर्छ ।

स्वस्थ, ताजा र सुपाच्य खानपान गर्नुपर्छ । व्यायाम, योग, ध्यानलाई दिनचर्याको हिस्सा बनाउनुपर्छ । पुग्दो पानी पिउने, मौसमी सागपात खाने जस्ता कुराले निरोगी जीवन बाँच्न सहयोग गर्छ ।

काम गर्दा पनि स्वास्थ्यप्रति सजग हुनुपर्छ । जस्तो कुनै शारीरिक काम गरिरहेका छौं भने त्यो काम कसरी गर्दा उचित हुन्छ भन्ने थाहा हुनुपर्छ । मानौं, गह्रौं भारी उचाल्नुपर्‍यो भने निहुरिएर हातको बलले भारी उठाउने बानी ठीक होइन । यसो गर्दा मेरुदण्डलाई असर गर्छ । जोर्नीलाई असर गर्छ । भारी उठाउँदा मेरुदण्ड भने सकेसम्म सोझो राख्ने गर्नुपर्छ ।

धेरै समय उभिनु र लामो समय हिंड्नु पनि ठीक होइन । बेलाबखत विश्राम लिनु जरुरी हुन्छ । एकै स्थानमा एउटै पोजिसनमा लामो बस्नु त अरु घातक हुन्छ । त्यसैले बसेका ठाउँमा सूक्ष्म व्यायाम गर्न सकिन्छ । हात–खुट्टा तन्काउने, शरीर तन्काउने, उठ्ने र केही पाइला हिंड्ने अभ्यास उपयुक्त हुन्छ ।

के छ उपचार पद्धति ?

रोग लाग्न नदिनु राम्रो हो । तर यो कुरा थाहा हुँदाहुँदै पनि हामीलाई रोगले च्याप्न सक्छ । यस्तो अवस्थामा उपचार खोज्नु नै पर्छ ।

ढाडको दुखाइ लगायतका समस्यामा कतिपय शल्यक्रिया गर्न खोज्छन् । शल्यक्रिया गर्नुपर्ने अवस्था पनि नआउने होइन, तर फिजियोथेरापी लगायत प्राकृतिक विधिबाट पनि यी समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

(ढकाल आयुष अस्पताल नयाँ बानेश्वरमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?