+
+

‘स्वास्थ्य बीमा छ भन्नु मात्रै हो’

लक्ष्मी नेपाली, बीमित लक्ष्मी नेपाली, बीमित
२०७८ चैत २१ गते ९:५२

हाम्रो परिवार करिब ६ महिना अगाडि स्वास्थ्य बीमामा जोडिएको थियो । गाउँमा बीमा गराउने मानिस आउँदा दाइले पाँच जनाको स्वास्थ्य बीमा गर्नुभएको रहेछ । बीमा गरिदिने मानिसले एक वर्षमा ३५०० रुपैयाँ तिर्दा १ लाखसम्मको सेवा पाइन्छ भन्नुभएको थियो । हामी जस्ता निम्न आयस्रोत भएका मानिसलाई यो कार्यक्रम राम्रै होला जस्तो लाग्यो ।

हामी प्रायःजसो अस्पताल आइराख्नुपर्छ । म पनि नसा सम्बन्धी समस्याले वर्षौंदेखि उपचारका लागि अस्पताल धाइरहेकी छु । अलि अगाडिदेखि छरछिमेकीले बीमाको बारेमा कुरा गर्नुहुन्थ्यो । कोही मानिस १ लाखसम्म सेवा पाइन्छ, यो धेरै राम्रो छ भनेर भन्नुहुन्थ्यो । कसै–कसैले चाहिं भन्न मात्रै हो, समयमा सेवा नपाइने, औषधि नपाइने, जाँच गर्न नपाइने जस्ता समस्या भएको सुनाउनुहुन्थ्यो ।

तर, जे भए पनि उपचारका लागि ऋण काढेर अस्पताल जानुपर्ने बाध्यतालाई यसले सहुलियत दिन्छ कि भन्ने लागेको थियो । गाउँका एक जना दाइले अब बीमा गरेपछि आर्थिक अभावमा उपचार नपाउने अवस्था आउँदैन भन्नुभयो । अनि बीमा गर्‍यौं ।

पहिला पहिला अस्पताल आउँदा आफूसँग भएको पैसाले नपुग्ला कि भन्ने पीर हुन्थ्यो । बीमा कार्ड बोकेर गएपछि त ढुक्कले उपचार गराउन पाइएला भन्ने आशामा हामी थियौं । केही दिन अगाडि मैले त्रिशूली अस्पतालका चिकित्सकलाई मेरो समस्या देखाएँ । उहाँले थप उपचारको लागि पाटन अस्पताल जान भन्नुभयो ।

म आज (१६ चैत २०७८) बिहानदेखि यहाँ ओपीडीमा लाइनमा बसेकी छु । तर, डाक्टरले कागजपत्र नमिलेका कारण बीमाबाट सेवा लिन पाइँदैन भनेर भन्नुभयो । उहाँले फेरि कागजपत्र मिलाएर आउनु भन्नुभयो ।

दुई बजेसम्म ओपीडी खुल्छ रे ! हामी त, गाउँदेखि आउनुपर्छ । समय हुँदैन । फेरि आउनका लागि दोहोरो खर्च हुन्छ । त्रिशूली अस्पतालका डाक्टरले राम्रोसँग कागजपत्र मिलाएर पठाएको भए यहाँबाट सेवा लिन पाइन्थ्यो होला ! यत्रो समय, पैसा खर्च गरेर आएँ । उपचार नपाउँदा मलाई बीमा कार्यक्रमले दुःख मात्रै दिएको हो कि भन्ने पनि लाग्छ ।

बीमा गरे अब १ लाखसम्म निःशुल्क सेवा लिन पाउँछु भन्ने ठूलो आश थियो । तर, अस्पतालका कर्मचारीले यो कागजले सेवा पाइँदैन भन्दा मन खिन्न भयो । यहाँका कर्मचारी यता, उता जा भन्नुहुन्छ । बीमा त गरियो के बीमा गरियो खै ? पैसा मात्रै खेर जाने भयो । स्वास्थ्य बीमा छ भन्नु मात्रै हो, हैरानी छ । बरु नगरेको भए हुन्थ्यो जस्तो लाग्छ ।

पाटनका स्वास्थ्यकर्मीले त्रिशूली अस्पतालमा जाँच गरेको ओपीडी कार्ड चाहिन्छ भन्नुभयो । मैले त पहिलादेखि नै पाटनमा जाँच गरेकी छु । बीमाको सेवा लिनका लागि पहिला घरछेउकै अस्पतालमा देखाउनुपर्ने रहेछ । ‘रिफर’ गर्नको लागि मात्रै त्रिशूली अस्पताल गएकी थिएँ । तर, त्रिशूली अस्पतालका डाक्टरले केही बुझाउनुभएन ।

रिफर कार्ड पनि एक हप्तासम्म मात्रै काम लाग्छ रे ! फेरि आउनका लागि अर्को बनाउनुपर्ने रहेछ । हामीलाई यसबारेमा केही पनि थाहा थिएन । सेवा लिन पाए त हामी जस्ता मानिसका लागि ठूलो राहत हुन्थ्यो होला । तर, कार्ड भएपछि त अस्पतालले सेवा दिनुपर्ने हो । फेरि घर जान–आउन पनि सम्भव हुँदैन । घरको समस्या अनेक छ । अस्पताल आउन कति कुराको व्यवस्थापन गरेर आउनुपर्ने हुन्छ ।

तर, यहाँ आउँदा पनि समयमै सेवा पाइँदैन । यहाँ पाउने सेवा त्रिशूलीमै पाएको भए हामी जस्ता मानिसलाई धेरै राम्रो हुन्थ्यो । हुनत; बीमा गराउने मानिसले पनि उपचार गर्न जाँदा यस्ता–यस्ता काम गर्नुपर्छ भनेर बुझाउनुपथ्र्यो ! मात्रै १ लाखको सेवा पाइन्छ भनेर भन्नुभयो । बीमा गरेर मात्रै भएन नि ! हामीले सहज रूपमा सेवा लिन पनि त पाउनुपर्‍यो ?

म एक्लै होइन । बीमाको सेवा लिन कागजपत्र नमिलेका धेरै जना लाइनमा हुनुहुन्थ्यो । यस्तो कुरा त मिलाउन सक्नुपर्‍यो नि ! कि त भने घर नजिकको स्वास्थ्य संस्थामा राम्रो सेवा हुनुपर्‍यो ! सेवा लिनको लागि शहर आउँदा हामीले अनेक समस्या भोग्नुपर्छ ।

यस्तै हो भने म त अर्को वर्ष नवीकरण गर्दिनँ होला । यही लाइनमा बसेका मानिसले पनि राम्रो सेवा नपाएको गुनासो गरिरहेका थिए । हामीले बीमा गरे पनि पैसा तिरेर उपचार गर्नुपर्ने अवस्था आयो भन्ने धेरैको भनाइ थियो । यस्तो समस्या भोग्नुपर्ने भएपछि कसलाई फेरि नवीकरण गर्न मन लाग्छ र ?

(नुवाकोटकी लक्ष्मी नेपालीले पाटन अस्पतालमा सेवा लिन आउँदा अनलाइनखबरकर्मी पुष्पराज चौलागाइँसँग गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?