+
+

वेडिङ फोटोग्राफी : दुलाहा-दुलहीको मोडलिङ

अंगद सिंह अंगद सिंह
२०७८ चैत २७ गते १४:५६

काठमाडौं । सम्झनुहोस् त जीवनको उत्तरार्द्धमा पुगेपछि जब तपाईं आफ्नो सुदूर अतीतमा फर्कनुहुन्छ तब विवाहका क्षण याद हुनेछन् । त्यो वैंशालु उमेरमा तपाईं कस्तो देखिनुहुन्थ्यो ? तपाईंको जीवनसाथी कस्ता थिए ? नयाँ पारिवारिक रचना हुनुअघिको त्यो मोडमा तपाईंहरु एकअर्कालाई कसरी हेरिरहनुभएको थियो ?

यतिबेला तपाईं आफ्ना पुराना फोटोको संग्रह पल्टाउनुहुन्छ । ल्यापटप/कम्प्युटरमा सुरक्षित राखिएको फोटो-भिडियो हेर्न थाल्नुहुन्छ । यतिबेला तपाईंलाई कस्तो महसुस हुँदो हो ?

पक्कै पनि तपाईं नोस्टाल्जिक बन्नुहुनेछ र तपाईंको मनलाई अतीतका पलहरुले स्पर्श गर्नेछन् । फोटोले व्यक्तिको मुड, माहोल, अवस्थासमेत सुरक्षित गरेर राख्छ । जसले जिन्दगीका पलहरु आफूसँगै भएको महसुस गराउँछ । सम्भवतः यस्तै अनुभूतिहरुलाई जतनसाथ संगाल्नका लागि हुनुपर्छ, विवाहको क्षणलाई फोटो/भिडियोमा कैद गर्ने ।

विवाहको एक अभिन्न पाटो मान्न थालिएको छ, फोटो/भिडियोग्राफी । वैवाहिक समारोहका क्षणहरुलाई जीवनभरका लागि संगालेर राख्नका लागि प्रमुखताका साथ फोटो/भिडियोग्राफी गराउने चलन छ ।

वेडिङ फोटोग्राफीको ट्रेन्ड

विवाह जिन्दगीको सबैभन्दा सुन्दर क्षण हो । जुन एकैपटक हुन्छ । फोटोमा अनुहार मात्रै नभई संस्कृति, समाज, परिवेश, चालचलन, रीतिथितिसमेत कैद हुन्छन् । जसले फोटोलाई थप यादगार बनाउँछ ।

वेडिङ काठमाडौं प्रालिका प्रमुख तथा फोटोग्राफर विक्रम न्यौपाने भन्छन्, ‘वेडिङ फोटोग्राफीले दुलाहा-दुलहीको अनुहार मात्रै नभई भावभङ्गीसमेत उतारी सम्झनालाई जीवन्त बनाउने काम गर्छ ।’

उनी अगाडि भन्छन्, ‘फोटोले कहिल्यै नदेखेका नसुनेका पात्र र भावना पनि कैद गरेको हुन्छ । जसले पछि हेर्दा रमाइलो र रोमाञ्चकता पैदा गरी जोडीहरुबीच  प्रेमभावसमेत पैदा गराउँछ ।’

वेडिङ फोटोग्राफीको क्रेज कतिसम्म बढेको छ भने थुप्रै फोटोग्राफर पूर्णकालीन यसैमा लागेका छन् । वेडिङ फोटोग्राफीका लागि छुट्टै कम्पनी खडा गरेर फोटोग्राफरलाई रोजगारीको अवसर पनि दिलाएको छ ।

आकर्षक कमाइ

वेडिङ काठमाडौं प्रालिका प्रमुख तथा फोटोग्राफर विक्रम न्यौपाने नेपालमा दैनिक २५ हजारदेखि ५० हजारसम्म राम्रो फोटोग्राफर तथा भिडियोग्राफर पाइने बताउँछन् । यद्यपि केहीले दैनिक १०-१५ हजारमा पनि काम गरिरहेका छन् ।

नेपालमा १० हजारदेखि ५ लाख रुपैयाँसम्मको वेडिङ फोटोग्राफीको काम भइरहेको उनी बताएँछन् ।

विवाहको सिजनमा व्यावसायिक फोटोग्राफी गर्नेहरुलाई भ्याइनभ्याइ हुने गरेको छ । एकैदिनमा चारवटासम्म विवाहको फोटोग्राफी गरेको वेडिङ फोटोग्राफी नेपालका सञ्चालक तेजेन्द्र श्रेष्ठ सुनाउँछन् । १६ वर्षदेखि व्यावसायिक फोटोग्राफी गर्दै आएका श्रेष्ठ वैशाख २१ गतेसम्म दैनिक चारवटा विवाहको लागि बुकिङ भइसकेको बताउँछन् ।

विवाह फोटोग्राफीमा विवाहपूर्व गरिने फोटोग्राफी, विवाहको दिन गरिने फोटोग्राफी र विवाहपछिको गरी तीन प्रकारको फोटोग्राफी समेट्ने गरिन्छ । सबै किसिमको फोटो तथा भिडियोग्राफीमा पहिले कोरियोग्राफी तयार पारिन्छ । यसको लागि दम्पतीको विवाह मागी हो कि प्रेम हो ? प्रेम कथा छ भने पहिलो पटक कस्तो ठाउँमा भेट भएको थियो ? जस्ता विषयलाई नियालेर तयार पारिन्छ । त्यही कोरियोग्राफीको आधारमा फोटो तथा भिडियो तयार हुन्छ । पोस्ट वेडिङ फोटोग्राफीमा भने रिसेप्सन पार्टीको फोटो गर्ने एवं सुन्दर पार्कमा गएर फोटो खिच्ने गरिन्छ ।

सामान्यतया बजारमा विवाह फोटोग्राफीको लागि न्यूनतम ४० देखि ५० हजार रुपैयाँसम्म खर्च लाग्ने गर्छ । तर सेलिब्रिटी प्याकेजलाई भने एक लाख रुपैयाँसम्म लाग्ने गरेको श्रेष्ठ बताउँछन् । सेलिब्रिटी प्याकेजमा सामान्य प्याकेजभन्दा केही थप सुविधा हुन्छ । उनीहरुको फ्रेमिङ तयार पार्नेदेखि जनशक्तिसम्म पनि धेरै खर्च लाग्ने भएकाले उनीहरुको प्याकेजलाई बढी शुल्क लागेको श्रेष्ठ बताउँछन् । सामान्यतया तीन जना फोटो तथा भिडियोग्राफरले विवाह फोटोग्राफी गर्ने गर्छन् । जसमा एकजना फोटोग्राफीमा, एकजना भिडियोग्राफीमा र एकजना दुवैलाई सहयोग गर्नेगरी खटिएका हुन्छन् । तर सेलिब्रिटीको विवाहमा ८ जनासम्म फोटोग्राफर लाग्ने गर्छ । त्यसैले पनि यो बढी महँगो हुन्छ ।

वेडिङ फोटाग्राफीको लागि क्यामेराको फ्ल्यासका अतिरिक्त लाइट, गोप्रो, कम्तीमा तीनवटा क्यामेरा, गिम्बलजस्ता उपकरण अनिवार्य चाहिन्छ । यसबाहेक ड्रोन, ७०/२०० को टेली लेन्स आवश्यक पर्छ । बजारमा व्यावसायिक फोटोग्राफी गर्ने संस्थाहरु छन् । त्यसका सञ्चालक बिहेको सिजनमा खान नभ्याउने गरी व्यस्त हुने गरेको सुनाउँछन् वेडिङ फोटोग्राफी नेपालका सञ्चालक श्रेष्ठ ।

विवाहको फोटोग्राफीमा विवाह र यससम्बन्धी गतिविधिलाई मात्रै समेटिन्छ । यद्यपि यसमा विवाहको दिनभन्दा अघि हुने औपचारिक समारोहलाई भने तस्वीरमा कैद गरिन्छ । विवाहको दिन फोटोग्राफरले पोट्रेट फोटोग्राफीका साथै विवाहको दिनमा विवाहसँग जोडिएका अन्य गतिविधि, अनुष्ठान लगायतलाई समेटेर वृत्तचित्र समेत तयार पार्ने गर्छन् । यसलाई पनि विवाहको फोटोग्राफी अन्तर्गत नै समेट्ने गरिन्छ ।

विवाह फोटोग्राफीको इतिहास

फोटोग्राफीको प्रविधि सन् १८२६ मा जोसेफ निसोफर निपसले आविस्कार गरेका हुन् ।  विवाह फोटोग्राफीको सुरुवात भने फोटोग्राफीको सुरुवात भएको १४ वर्षपछि सन् १८४० मा बेलायती महारानी भिक्टोरियाका छोरा अल्बर्टको विवाहमा पहिलोपल्ट भएको थियो ।

यद्यपि फोटोग्राफीको प्रारम्भिक दिनमा धेरै झमेला र अभावको जिन्दगी बाँच्नुपर्‍यो । १९औं शताब्दीको उत्तरार्द्धसम्म धेरै व्यक्ति विवाह फोटोका लागि पोज दिंदैनथे । यसको सट्टा विवाह अघि वा पछि सोही कपडामा सजिएर पोज दिएर फोटो खिच्ने चलन थियो । सन् १८६० को दशकदेखि बल्ल धेरै जोडीहरूले आफ्नो विवाहको पोशाकमा पोज दिन थाले र भाडामा विवाहस्थलमै फोटोग्राफरलाई बोलाउन पनि थाले ।

भारी उपकरण र प्रकाशको व्यवस्थापनमा हुने समस्याका कारण विवाह फोटोग्राफी १९औं शताब्दीको उत्तरार्द्धमा स्टुडियोमा सीमित हुन थाल्यो । यो विस्तारै प्रविधिमा सुधार हुँदै गयो । सन् १८८० को दशकमा वेडिङ एल्बमको सुरुवात भयो । जसमा एउटै विवाहमा धेरै फोटो खिच्न थालिए । फोटोग्राफरहरु कहिलेकाहीं तस्वीरका लागि विवाहको पार्टीमा पनि समावेश हुन थाले ।

२०औं शताब्दीको प्रारम्भमा रंगीन फोटोग्राफी सुरुवात भयो । तर त्यतिबेला रंगीन फोटो अत्यन्त महँगो हुने भएकाले अधिकांश विवाह फोटोग्राफी श्यामश्वेत प्रविधिमा नै खिचिन्थ्यो । दोस्रो विश्वयुद्धपछि भने विवाहका धेरै तस्वीर कैद गर्ने क्रमको सुरुवात भयो ।

दोस्रो विश्वयुद्धपछि फोटोग्राफरहरू प्रायः विवाहस्थलमै पुगेर तस्वीर लिने, अनि त्यही तस्वीर सम्बन्धित व्यक्तिलाई बेच्ने गर्न थाले । प्रारम्भिक समयमा कम गुणस्तरका तस्वीर भएपनि बढी प्रतिस्पर्धाका कारण विवाहमै व्यक्तिको रोजाइअनुसारको तस्वीर लिने परिपाटीको विकास भयो ।

रंगीन फोटोग्राफी अलिक धेरैको रोजाइमा पर्न थालेपछि स्टुडियो फोटोग्राफरहरूले भारी उपकरण ल्याउन थाले । जसले विवाहको सम्पूर्ण घटनालाई रेकर्ड गर्न सहज भयो ।

हिजोआज विवाहपूर्व र पछि पनि विवाह फोटोग्राफी चल्ने गर्छ । अहिले सानो प्रविधिले पनि गुणस्तरीय तस्वीर र वृत्तचित्र तयार पार्न सकिन्छ ।

तस्वीर सौजन्य : विक्रम न्यौपाने (वेडिङ काठमाण्डु) र तेजेन्द्र श्रेष्ठ (वेडिङ फोटोग्राफी नेपाल)

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?