
२९ चैत, काठमाडौं । बागलुङ नगरपालिका-७ मा रहेको गौरीशंकर आधारभूत विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल पारेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (शिक्षा इकाइ) बागलुङले २०७६ सालमा निर्माण गरेको दुईकोठे भवनको युपिभिसी छाना असिनाले प्वाल पारेको हो ।
अन्य पुरानो भवनको छाना कुच्चिएको मात्रै तर नयाँ र बलियो भनिएकै छानामा प्वाल परेपछि छानाको गुणस्तरमा प्रश्न उठेको वडा अध्यक्ष खगराज पाण्डेले बताए ।
उनले भने ‘झन गुणस्तरीय छाना भनेर लगाइएको टिन असिनाले चाल्ना बनाएपछि लाजमर्दो भएको छ ।’ वडाध्यक्ष पाण्डेले प्रहरी प्रतिवेदन तयार गरिसकेको र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (शिक्षा) बागलुङमा बुझाउने तयारी रहेको बताए ।
५० जना विद्यार्थी रहेको विद्यालयमा कक्षा सञ्चालन भइरहेको छ । असिनाले छानो चुहिने बनाएपछि टनेलको लागि प्रयोग हुने प्लाष्टिकले छोपेर पढाउने तयारी गरिरहेको पाण्डेले बताए । इकाइले नै आवश्यक सामाग्री किन्ने स्थान सिफारिस गरिएको पाईएकोले इकाइकै भूमिकामा प्रश्न गर्ने ठाउँ देखिएको उनले बताए ।
विद्यालयबारे जानकारी आएकोले थप अनुसन्धान गर्ने तयारी भईरहेको नगरपालिका शिक्षा शाखा अधिकृत धनप्रसाद पोख्रेलले बताए । पुराना सामान्य जस्ताको छानो सामान्य कुच्चिने मात्रै दुई वर्ष पनि नभएको युपीभीसीको छानो चुहिएकोले अनुसन्धान नै गर्नुपर्ने भएको उनको भनाई छ ।
उनने ‘२० वर्ष ग्यारेन्टी हुने छानो लगाएको दुई वर्षमा नै प्वाल पर्यो भन्दा अचम्म लागेको छ । हामीले अनुसन्धान थालेका छौं ।’
पुरानो भवन भुकम्पको कारण जीर्ण भएपछि पुननिर्माण प्राधिकारण (शिक्षा इकाइ)ले निर्माण गरिदिएको दुई कोठे भवनको एउटा कोठामा विद्यार्थी र अर्को कोठामा कम्प्युटर कक्षा बनाइएको थियो । विद्यालय ६ लाखभन्दा बढीको क्षति पुगेको छ ।
प्रतिक्रिया 4