+
+

दमकमा कन्सर्ट गर्दै दुई वर्षपछि स्टेजमा फर्कियो नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १६:२७

काठमाडौं । मुलुकको चर्चित लोक-रक ब्याण्ड नेपथ्य स्टेजमा फर्किएको छ । कोरोना महामारीका कारण दुई वर्षको विश्रामपछि नयाँ वर्षको दिन बिहीबार झापाको दमकमा भव्य कन्सर्ट गर्दै नेपथ्य लयमा फर्किएको हो ।

नयाँ वर्षको साँझ दमकको सरस्वती माध्यमिक विद्यालयको फराकिलो फुटबल मैदान पूर्वका विभिन्न स्थानबाट आएका युवायुवतीको भीडले भरिएको थियो ।

उल्लासमय माहोलका बीच नेपथ्य ब्याण्डका प्रमुख गायक अमृत गुरुङ स्टेजमा देखिए । उनले नयाँ वर्षको शुभकामना प्रकट गर्दै पूर्व नेपालबाटै संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी’ गाउँदै कार्यक्रमको सुरुवात गरे । अमृतले पैदलयात्राका क्रममा संखुवासभा चैनपुरका पुराना लोकगीत साधक डिल्ले दमाईबाट संकलन गरेका थिए ।

त्यसपछि उनले भेंडाको ऊनजस्तो, छेक्यो छेक्यो, लामपाते सुरती, चरी मर्‍यो, जोमसोमै बजारमा लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाए ।

मुलुकका फरक-फरक भेगको प्रतिनिधित्व गर्ने यी गीत प्रस्तुत गर्दा अमृतले उपस्थित श्रोता-दर्शकलाई आफ्नो देश घुम्न र यसलाई बुझ्न अनुरोध पनि गरिरहेका थिए ।

करिब दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानका साथ नेपथ्य दमकमा उपस्थित हुँदा व्यवस्थित होटल समेत नपाइएको यो सहरको हेर्दाहेर्दै कायापलट भएकोमा अमृतले खुसी समेत व्यक्त गरे । त्यतिबेला कन्सर्टबाट उठेको रकमले दमककै उत्तरी कुनामा रहेको हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा सघाउने काम गरिएको थियो ।

मै मरी जाउँला, शिरफूल शिरैमा, जोगले हुन्छ भेट, आँगनैभरि, यो जिन्दगानी जस्ता एकपछि अर्को लोकप्रिय गीत सुनाउँदा दर्शकहरुमा नयाँ तरंग छायो ।

नेपथ्यले लगातार गाउँ गाउँबाट उठ, हिमाल चुचुरे, मैं नाचे छमछमी, तालको पानी र रेशम हुँदै अन्त्यमा रातो र चन्द्रसूर्य गीत प्रस्तुत गर्दै कार्यक्रमबाट बिदा लिएको थियो ।

नेपथ्यको कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भएको जनाइएको छ ।

स्थानीय नेपाली टच र ‘ध्रुवतारा स्पोर्टिङ क्लबको अगुवाइमा आयोजना गरिएको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गिटारमा सुविन शाक्य, गिटारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?