+
+

प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य भएको छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ७:५७

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो धारणा सार्वजनिक गरेका हुन् ।

उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धिहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुने पनि बताएका छन् ।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिष्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार गरेको वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको कारण तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुगेको प्रचण्डले स्मरण गरेका छन् । ‘तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ ।

नेपालका कम्युनिष्ट पार्टीले ७३ वर्षको अन्तरालमा देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा पुगेको उल्लेख गर्दै प्रचण्डले यो सबै नेपालीहरूका लागि गौरवको कुरा भएको प्रचण्डले बताएका छन् ।

प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि प्रचण्डले बताएका छन् । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको जानकारी उनले गराएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएर संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायलाई अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?