+
+

व्यापार घाटा १३ खर्ब माथि, उच्च आयातमा भने ‘ब्रेक’ लाग्दै

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख ९ गते १४:४५
फाइल तस्वीर

९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन–चैत)सम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्ब भन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट प्राप्त भएको रकमका बीचको अन्तर १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । सोही अवधिमा निर्यात भने मात्र १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । जसले गर्दा व्यापार घाटा १३ खर्ब भन्दा माथि देखिएको हो ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ । ९ औं महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको पाइएको छ ।

उच्च आयातमा ‘ब्रेक’ लाग्दै

तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा त्यसयता भने उच्च आयातको दरमा केही ब्रेक लाग्दै गएको देखिएको छ । सरकारले विलासिताका वस्तुको आयातमा गरेको कडाईको प्रभाव आयातमा देखिन थालेको छ ।

भन्सार विभागका अनुसार चैत मसान्तसम्म कुल १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ३१.९७ प्रतिशत धेरै हो ।

गत वर्ष समिक्षा अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । माघ महिनासम्म ४२.७८ प्रतिशतले बढेको आयातको दर फागुनमा आइपुग्दा ३८.६४ प्रतिशतमा झरेको थियो । चैतमा यस्तो दर ३१.९७ प्रतिशतमा झर्दै उच्च आयातमा ब्रेक लागेको संकेत देखिएको हो । चैत महिनामा मात्र आयात १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको भएको छ ।

निर्यातको रेकर्ड

नियार्तमा भने गत महिना नयाँ रेकर्ड बनेसँगै चालु आर्थिक वर्षको बाँकी अवधिमा अहिलेसम्मकै उच्च आंकडा हुनेछ । ८ औं महिनामै इतिहासमै बढी निर्यात व्यापार भएको थियो । चैतमा आइपुग्दा निर्यात १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ ।

तथ्यांक अनुसार चैत महिनामा मात्र १३ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस अवधिमा कुल वैदेशिक व्यापारको आकार भने १६ खर्ब २७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

९ महिनाको वैदेशिक व्यापार

  • आयात : १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ (३१.९७ प्रतिशत बढेको)
  • निर्यात : १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ (६९.४४ प्रतिशत बढेको)
  • व्यापार घाटा : १३ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ (३४.९१ प्रतिशत बढेको)
  • कुल वैदेशिक व्यापार : १६ खर्ब २७ अर्ब २३ करोड रुपैयाँ (३४.९१ प्रतिशत बढेको)
  • व्यापारमा आयातको हिस्सा : ९०.१३ प्रतिशत (२.१८ प्रतिशत घटेको)
  • व्यापारमा निर्यातको हिस्सा : ९.८७ प्रतिशत (२५.५९ प्रतिशतले बढेको)

पेट्रोलियम पदार्थको आयातमा साढे २ खर्ब बाहिरियो

चालु आवको ९ महिनाकै अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्र साढे २ खर्ब रुपैयाँ बाहिरिएको छ । तथ्यांक अनुसार यस्तो वस्तुको आयातमा २ खर्ब ५७ अर्ब ४ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यो मुलुकको निर्यात व्यापारको तुलनामा समेत ठूलो हिस्सा हो ।

नेपालबाट बढी निर्यात वनस्पती तेलजन्य वस्तुको भएको छ । तर, यस्तो वस्तु समेत निर्यात भन्दा आयात बढी देखिन्छ । वनस्पति घिउ तथा तेलजन्य वस्तुको आयात ९९ अर्ब ५१ करोड रुपैयाँ बराबरको हुँदा निर्यात भने ८३ अर्ब ७४ करोड रुपैयाँ बराबरको भएको छ । यस अवधिमा फलाम र स्टीलको आयातमा १ खर्ब २७ अर्ब रुपैयाँ विदेशिएको छ । सवारी साधन आयातमा ८२ अर्ब रुपैयाँ विदेशिएको छ । चैत महिनामा मात्र सवारी साधनको आयातमा ७ अर्ब रुपैयाँ बाहिरिएको छ ।

भारतसँग करिब ८ खर्ब व्यापार घाटा

नेपालको वैदेशिक व्यापार भारतसँग अधिक निर्भर छ । जसका कारण ९ महिनामै भारतसँग मात्र करिब ८ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । भारतबाट नेपालले ९ खर्ब १ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ ।

यसबीचमा निर्यात भने भारतसँग १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको भएको छ । सोहीकारण व्यापार घाटा पनि ७ खर्ब ७३ अर्ब रुपैयाँ देखिएको छ । चीनबाट २ खर्ब ११ अर्बको वस्तु आयात हुँदा निर्यात भने मात्र ६२ करोड रुपैयाँ बराबरको भएको छ । अमेरिकाबाट ३८ अर्ब ७३ करोड रुपैयाँको सामान आउँदा निर्यात भने मात्र १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?