+
+
प्रहरी प्रमुख नियुक्ति :

एसएसपीमा विश्वराजले उछिने, धिरजले आईजीपीमा

भन्छन् – मानवअधिकारको सम्मान गर्दै आक्रामक पुलिसिङ गर्छु

जसरी ओलीले विगतमा चुनाव गराउने आईजीपीको खोजी गरेर पोखरेललाई ल्याएका थिए, देउवाले पनि चुनाव गराउने आईजीपीका लागि सिंहलाई अघि बढाउन खोजे । त्यसका लागि देउवा सरकारले दरबन्दी थप गरेर डीआईजी सिंह र रवीन्द्रबहादुर धानुकलाई ७ चैत २०७८ मा एआईजीमा बढुवा गर्‍यो ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ वैशाख १८ गते २१:४०

१८ वैशाख, काठमाडौं । नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजीपी) मा नियुक्त धिरजप्रताप सिंह प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षकक (एसपी) मा बढुवा हुँदासम्म ब्याचको एक नम्बर वरियतामा थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बन्दा चाहिँ दुई नम्बरमा झरे । इन्स्पेक्टर, डीएसपी र एसपी बढुवामा निकै पछाडि रहेका विश्वराज पोखरेल एक नम्बरमा उक्लिए । तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालको ओत पाएपछि एसएसपी बढुवामा एक नम्बरमा पुगेका पोखरेलले त्यसयता फर्किएर हेर्नु परेको थिएन ।

केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग निकट सम्बन्ध भएका उनलाई तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, मुख्यसचिव लोकदर्शन रेग्मीको पनि साथ रह्यो । २०७५ कात्तिकमा काभ्रेमा भएको जीप दुर्घटनामा डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि खाली भएको दरबन्दीमा पोखरेलकै बढुवा भयो । भावी आईजीपीका लागि रोलक्रम सुनिश्चित गराउने गरी डीआईजी बनाइएका उनलाई एआईजी बनाउन ओली सरकारले दरबन्दी नै थप गर्‍यो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि थाहै नदिइ सरकारले २७ कात्तिक २०७७ मा पोखरेलका लागि एआईजीको दरबन्दी थप गरेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी पर्‍यो। समितिले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्यन नगर्न सरकारलाई निर्देशन दियो ।

समितिको निर्णय सुनुवाइ भएन, बरु पोखरेलको विकल्पमा पनि रोजाइकै अधिकृत आईजीपी बनाउने गरी सहकुलबहादुर थापालाई पनि दरबन्दी थपेर एआईजीमा बढुवा गरियो । यो बेलासम्म आईजीपीको दौडमा पोखरेल जित नजिक देखिए ।

तर जसरी राजनीतिले कोल्टे फेर्‍यो, नेपाल प्रहरीको आईजीपीको दौडमा पनि नयाँ प्रतिस्पर्धी देखिन थाले । लगातार दोस्रो पटक संसद विघटनलाई सर्वोच्च अदालतले अस्वीकृत गरेपछि २९ असारमा शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेपछि नयाँ आईजीपीको खोजी सुरु भयो । किनकी पोखरेल र थापालाई ओली निकट अधिकृतको ‘ट्याग’ लागिसकेको थियो ।

जसरी ओलीले विगतमा चुनाव गराउने आईजीपीको खोजी गरेर पोखरेललाई ल्याएका थिए, देउवाले पनि चुनाव गराउने आईजीपीका लागि अघि बढाउन खोजे । त्यसका लागि देउवा सरकारले दरबन्दी थप गरेर डीआईजी सिंह र रवीन्द्रबहादुर धानुकलाई ७ चैत २०७८ मा एआईजीमा बढुवा गर्‍यो । त्यसको डेढ महिनामै सिंह डेढ वर्षअघि एआईजी भएका पोखरेल र ६ महिनाअघि एआईजी बनेका थापालाई उछिनेर नेपाल प्रहरीको प्रमुख पदमा पुगेका छन् ।

रोचक त मानव स्रोत तथा प्रशासन विभागका एआईजीको रुपमा पोखरेलले हालका आईजीपी शैलेश थापा क्षेत्रीसँगै सिंहलाई एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका थिए ।

‘प्रहरीमा खासमा थिति नै नभएकाले अहिले जस्तो मनपरी भएको हो, प्रहरी उच्च अधिकृतहरु को कसको कोटामा बढुवा भए भन्ने कुरा स्पष्टै छ,’ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘यो ब्याचबाट आईजीपीका योग्य दोबदार त डीआईजीमै छुटिसकेका छन् ।’

प्रहरीमा बढुवा र नियुक्तका लागि मूर्त आधार नभएसम्म प्रहरी सरकारको तजविजीमा रुमल्लिरहने उनी बताउँछन् । उनी भन्छन्, ‘हिजो जुन बाटोबाट बढुवा भयो, त्यो पनि गलत थियो, अहिले पनि सही ढंगबाट भएको छैन ।’

धिरजप्रतात सिंहलाई एआईजीको फूली लगाइदिँदै आईजीपी शैलेश थापा क्षेत्री र एआईजी विश्वराज पोखरेल । फाइल फोटो ।

सत्तारुढ दलका नेताहरु छैनन् खुसी

आईजीपीबारे निर्णय गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा नेताहरुले वरियता क्रम नमिच्न सुझाएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा लगायतले चुनावको मुखमा वरियता मिचेर आईजीपी बनाउँदा असर पर्ने चिन्ता व्यक्त गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार पोखरेललाई आईजीपी बनाउने पक्षमा थिए । वरियताक्रम मिचेर आईजीपी बनाउँदा अदालतमा मुद्दा मामिला पर्नसक्ने विषयमा महान्यायाधिवक्तासँग कानुनी परामर्श समेत गरिएको थियो । स्रोत भन्छन्, ‘प्रधानमन्त्री कन्भिन्स जस्तै हुनुहुन्थ्यो, तर टिक्नु भएन ।’

सरकारले सिंह आईजीपीमा नियुक्त भएपछि एआईजीद्वय पोखरेल र थापा विदा बसेका छन् । उनीहरुले सोमबार अदालतमा रिट निवेदन दिने तयारी गरेका छन् । पोखरेल भन्छन्, ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन ।’

यसअघि वरियताक्रम मिचेर आईजीपी नियुक्त गरिएको घटनामा ८ चैत २०७३ मा सर्वोच्च अदालतले ‘महानिरीक्षक पदमा नियुक्तिका लागि ज्येष्ठता वा वरिष्ठताको खास महत्व रहने’ भनेको छ । वरियतामा आफूभन्दा पछाडिकालाई आईजीपी बनाइएको भन्दै तत्कालीन डीआईजी नवराज सिलवालले दिएको रिट निवेदनमा अदालतले यस्तो फैसला गरेको थियो ।

आइतबार अपराह्न वर्तमान प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई विदाइ गर्दै नवनियुक्त प्रहरी प्रमुख धिरजप्रताप सिंह । तस्वीरः नेपाल प्रहरी

फुटबलको रहरले प्रहरी भएका सिंह

एआईजी हुँदा वरियतामा अगाडि रहेका दुई एआईजीलाई उछिनेर आईजीपी भएका सिंहले २०४९ चैतबाट प्रहरी निरीक्षकका रुपमा सेवा प्रारम्भ गरेका थिए ।

पुख्यौली घर दैलेखको विजौरा भए पनि उनको बाल्यकाल नेपालगञ्जको धम्बोजी–१ मा वितेको थियो । त्यहीँको नारायण माध्यम विद्यालय पढेका सिंह उच्च शिक्षा पनि नेपालगञ्जकै महेन्द्र बहुमुखी क्याम्पसबाट पूरा गरेका थिए ।

कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनको घर नजिकै प्रहरीको व्याम गर्ने ठाउँ थियो । ‘त्यहीँ प्रहरीसँग फुटबल र ब्याटमिन्टन खेल्दाखेल्दै उहाँको प्रहरीप्रति लगाव बढेको थियो’ उनीनिकट एक अधिकृत भन्छन्, ‘त्यही लगावका कारण उहाँले प्रहरीमा जागिर खुलेको थाहा पाएपछि दर्खास्त दिनु भएको थियो ।’

उनीसँगै दिएका दर्खास्त दिएका मध्ये शैलेश थापा क्षेत्रीसहित १६ जना एक वर्षअघि नै इन्स्पेक्टरमा नियुक्त भएका थिए । तर सिंह, पोखरेलहरु चाहिँ वैकिल्पक सूचीमा परेका थिए ।

इन्स्पेक्टर हुँदा सिंहको पहिलो पोष्टिङ गोरखामा भएको थियो । डीएसपी हुँदा द्वन्द्वकालमा उनले गोरखाको कमाण्ड गरे, द्वन्द्वकालपछि नुवाकोट र दोलखामा पनि काम गरे । एसपी हुँदा चुनौतिपूर्ण मानिने तराईको पर्सा जिल्लाको नेतृत्व गरे । उनले लागूऔष नियन्त्रण ब्यूरोमा पनि दुई वर्ष काम गरे ।

जिल्ला प्रहरी कार्यालय, दाङको नेतृत्व गर्दा सिंहले व्यवसायी राजुकमार श्रेष्ठको हत्यामा संलग्नलाई भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेर ल्याए । त्यसयता उनको छवि आक्रमक शैलीको पुलिसिङ गर्ने अफिसरको रुपमा बन्दै गयो ।

धिरजप्रताप सिंह एसपी हुँदा । फाइल फोटो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि महानगरीय अपराध अनुसन्धान महाशाखामा उनले नेतृत्व गरे । महाशाखामा उनी नेतृत्वको टोलीसँग ‘मुठभेड’मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ मारिएका थिए । महाशाखामा छँदा उनी गुण्डागर्दीमा संलग्नविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका थिए ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि उनी प्रदेश २ (हालको मधेश प्रदेश) को प्रहरी प्रमुख बने । त्यसबेला उनले भूमिगत गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतलाई भारतको पटनामा पक्राउ गराएका थिए । तर उनी पक्राउको सूचना चुहिँदा नेपाल प्रहरीले गोइतलाई स्वदेश ल्याउन सकेको थिएन ।

प्रहरी नायब महानिरीक्षक बनेपछि उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा आए । सिंहले २०५८ सालमा गोरखा दक्षिण बाहु पुरस्कार, २०७३ मा प्रबल जनसेवाश्री र २०७८ मा सुप्रबल जनसेवाश्री तृतीय प्राप्त गरेका छन् ।

शान्ति मिसनका क्रममा उनी सन् २००१ मा इस्टटिमोर र २००९ मा सुडान गएका छन् । उनले अमेरिकाको हवाईबाट दुई महिने ‘कम्प्रिहेन्सिभ क्राइसिस म्यानेजमेन्ट कोर्स’ पनि गरेका छन् ।

मानव अधिकारको सम्मान गर्दै समाजमा भएका विभिन्न कुरीति र विसंगतिविरुद्ध आक्रमक पुलिसिङ गर्छु – धिरजप्रताप सिंह, नवनियुक्त प्रहरी प्रमुख

प्रहरीलाई हस्तक्षेपमुक्त बनाउने चुनौती

नवनियुक्त आईजीपी सिंहमाथि चुनौतिका चाङ छन् । नियुक्तिलगत्तै उनले शान्तिपूर्णरुपमा चुनाव गराउनुपर्ने छ । अर्को मुख्य चुनौति भनेको आफ्नो प्रतिष्पर्धी एआईजीबाट उनले सहयोग पाउने छैनन् ।

हुन त विगतमा पनि एक जना आईजीपी बनेपछि प्रतिष्पर्धी अन्य एआईजीसँग राम्रो सम्बन्ध कायम हुने गरेको इतिहास छैन । अहिले उनको टोलीका दुई सिनियर एआईजी पोखरेल र थापाले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जाने बताइसकेका छन् ।

‘सिंहको पहिलो चुनौति भनेको भोलि पोखरेल र थापाको रिटमा अदालतले कस्तो निर्णय गर्छ भन्ने पनि हो’ पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि भन्छन्, ‘अदालतले उनको पक्षमा निर्णय गरेपनि आफ्नै ब्याचीको असहयोग उनका लागि चुनौति बन्नसक्छ ।’

अहिले प्रहरीमा चरम राजनीतिक हस्तक्षेप छ । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीको बुझाइमा त अब यो हस्तक्षेप बालुवाटार र सिंहदरबारमा मात्र सीमित छैन, विलौलियासम्म पनि पुगिसकेको छ ।

यस्तो अवस्थामा अब हुने सरुवा–बढुवालाई विधिसम्मत ढंगले गर्न पनि सिंहलाई चुनौति छ । किनकि, पोखरेल र सिंह दुवै जुन बाटोबाट अगाडि आए, त्यसले अब आउने अधिकृतहरुलाई पनि पहुँच भए जे पनि गर्न सकिने रहेछ भन्ने सन्देश गएको छ । एक अधिकृत भन्छन्, ‘यस्तो खेल अहिले हुने डीआईजी बढुवामै सुरु भइसक्यो ।’

प्रहरी अधिकृतहरुको आफ्नो संगठनप्रतिको विश्वास गिरेको छ । उनीहरु हरेक पटक सरुवा–बढुवाका लागि शक्ति केन्द्र धाउँछन् । व्यवसायिक र इमान्दार प्रहरीको करिअर नै जोखिममा छ । अनुसन्धान अधिकृतहरु एम्बुसमा परिरहेका छन् । यस्तो अवस्थामा संगठनप्रति अधिकृतहरुलाई विश्वास दिलाउने वातावरण बनाउने प्रयास गर्नु पनि सिंहको चुनौति हुनेछ ।

प्रहरीभित्र रहेको दण्डहिनतालाई अन्त्य गर्नु पनि सिंहको चुनौति हुने पूर्वडीआईजी मल्ल बताउँछन् । ‘विगतमा छानविन समिति गठन भएर गल्ती देखिँदा पनि कारबाही हुन नसकेका उदाहरण छन्’ उनी भन्छन्, ‘त्यसलाई कसरी सुधार्ने पनि उनको चुनौति हुनेछ ।’

नवनियुक्त आईजीपी सिंह चाहिँ आफू मानवअधिकारको सम्मान गर्दै आक्रामक पुलिसिङ गर्ने बताउँछन् । ‘मानव अधिकारको सम्मान गर्दै समाजमा भएका विभिन्न कुरीति र विसंगतिविरुद्ध निडरताका साथ प्रस्तुत हुन्छु’ उनले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?