+
+

ललितपुरको उपमेयरमा प्रचण्ड र बादलका उम्मेदवार मुख्य प्रतिस्पर्धी

बाबुराज र मञ्जली दुबै आ–आफ्ना पार्टीको ललितपुर महानगरपालिका कमिटीको अध्यक्ष हुन् । अझ रोचक त के छ भने एमालेबाट राजनीति सुरु गरेर बाबुराज माओवादीका उम्मेदवार भएका छन् भने माओवादीबाटै राजनीति सुरु गरेकी मञ्जली एमालेकी ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख २० गते १५:५५

१९ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाको उपमेयरमा दलीय र स्वतन्त्र गरी ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

पाँच दलीय दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्य, नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्य, राप्रपाकी स्वर्णिमा शाक्य, नेमकिपाकी ममिता श्रेष्ठ, नेपाल सुशासन पार्टीकी जानकी प्रधान श्रेष्ठ, नेकपा मालेकी शर्मिस्ता श्रेष्ठ र जनमत पार्टीकी कुसुम बज्राचार्य उम्मेदवार छन् । त्यस्तै स्वतन्त्र रुपमा रत्न व्यञ्जनकार, सुविनकुमार शाक्य, राजन खड्का, अजरमान जोशीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

११ जनामध्ये मुख्य प्रतिस्पर्धी हुन्– माओवादी केन्द्रका बाबुराज र एमालेकी मञ्जली ।

तत्कालीन माओवादीको सशस्त्र विद्रोहका क्रममा सँगसँगै रहेका उनीहरु एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा पनि सहकर्मी नै थिए । तर प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजन हुँदा रामबहादुर थापा बादल समूह, नेकपा एमालेमै रह्यो । त्यो समूहमा रहेकी मञ्जली पनि एमालेमै रहिन् ।

बाबुराज नेकपा माओवादी केन्द्रमा सक्रिय भए । स्थानीय तह निर्वाचनका क्रममा उनीहरु दुबैजना ललितपुर महानगरपालिकाको उपमेयरमा प्रतिस्पर्धी बन्न पुगे ।

को हुन् बाबुराज र मञ्जली ?

बाबुराज र मञ्जली दुबै आ–आफ्ना पार्टीको ललितपुर महानगरपालिका कमिटीको अध्यक्ष हुन् ।

अझ रोचक त के छ भने एमालेबाट राजनीति सुरु गरेर बाबुराज माओवादीका उम्मेदवार भएका छन् भने माओवादीबाटै राजनीति सुरु गरेकी मञ्जली एमालेकी । बाबुराज २०४९ र २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षको आकांक्षी थिए । दुबै चुनावमा उनले टिकट पाएनन् । तर २०५४ देखि ०५६ सम्म ललितपुर नगर प्रमुख बुद्धिराज बज्राचार्यको स्वकीय सचिव बने ।

त्यसबेला मुलुकमा माओवादीको सशस्त्र द्वन्द्व चलिरहेको थियो । बज्राचार्य नगरप्रमुखको स्वकीयको जागिर छोडेर जनयुद्धमा सामेल भए । केही समय अर्धभूमिगत राजनीति गरे । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि राजनीतिसँगै हस्तकलाको व्यवसायमा लागे ।

विद्यार्थी राजनीतिबाट आएकी मञ्जली पनि २०५६ मा सशस्त्र विद्रोहमा सहभागी भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि ललितपुरको राजनीतिमा सक्रिय थिइन् । सुरुदेखि नै बादलनिकट रहेकी उनलाई अहिले एमाले ललितपुर महानगर कमिटी अध्यक्ष र उपमेयरको उम्मेदवार बनाउनुमा बादलको साथ छ ।

मञ्जली आफैं पनि बादलको कोटामा उपमेयरको उम्मेदवार बनेको विषय इन्कार गर्दिनन् । तर महानगरका कार्यकर्तादेखि शीर्ष नेता र आफू सिंगो पार्टीको चाहनामा उम्मेदवार बनेको उनको जिकिर छ । ‘मेयरकै दाबेदार हुँ । पार्टीले उपमेयरमा रहेर काम गर्नू भनेकाले मैदानमा छु’ उनी भन्छिन् ।

मतको हिसाब 

सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा ललितपुरको मेयर कांग्रेसले पाउँदा उपमेयर माओवादीले लिएको छ । कांग्रेसबाट चिरिबाबु महर्जन मेयरको उम्मेदवार बनेका छन् भने माओवादीबाट बाबुराज उपमेयरको उम्मेदवार छन् ।

बाबुराजलाई, चिरिबाबुलाई जस्तै गठबन्धनको आश छ । गठबन्धनमा रहेका दलहरुले ०७४ को चुनावमा प्राप्त गरेको मतलाई नै उनले जितको प्रमुख आधारको रुपमा लिएका छन् ।

०७४ को चुनावमा मेयरमा निर्वाचित कांग्रेसका चिरिबाबु महर्जनले २४ हजार ६४२ मत ल्याएका थिए । कांग्रेसकै गीता सत्यालले १९ हजार ८१९ मत ल्याएर उपप्रमुख जितेकी थिइन् । ०७४ मा कांग्रेसले एक्लै चुनाव लडेको थियो । त्यसबेला माओवादी केन्द्रबाट मेयरमा चुनाव लडेका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए । उपप्रमुखमा पराजित माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९ सय ७९ मत ल्याएकी थिइन् ।

कांग्रेस र माओवादीको विगतको जनमत नै चुनाव जित्ने पहिलो आधार भएको बाबुराज बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘एकीकृत समाजवादीको राम्रो प्रभाव छ । राष्ट्रिय जनमोर्चाका मतदाता छन् । नयाँ मतदातालाई पनि हामीले आकर्षित गर्न सकेका छौं, यसकारण मलाई समस्या हुँदैन ।’

तर एकीकृत समाजवादीले एमालेको कति मत काट्छ भन्ने यकिन छैन भने माओवादीका नेताहरु पनि एमालेतिर लागेका छन् । एमालेकी उपमेयरकी उम्मेदवार मञ्जली आफैं २०७४ को चुनावमा माओवादीको उपमेयरकी उम्मेदवार थिइन् ।

मतदाता नामावलीमा नाम नभएकाले अन्तिम समयमा हसिना शाक्य उम्मेदवार बनिन् । उनी पनि माओवादी केन्द्र छाडेर राप्रपामा पुगेकी छन् । ‘पार्टी फुटको केही असर परेको छ, तर मूल पार्टी हो । केही नेताले पार्टी छोड्दैमा मतदाता र कार्यकर्ता नेताकै पछि लाग्छन भन्ने छैन्’ आफ्नै पार्टीका नेता/कार्यकर्ताप्रति बाबुराजको विश्वास र भरोसा छ ।

नयाँ मतदाताप्रति पनि उनको आश छ । २०७४ सालको चुनावमा एक लाख १२ हजार ९२२ मतदाता थिए । अहिले १० हजार २६८ बढेर एक लाख २२ हजार ८९० पुगेको छ ।

अघिल्लो पटक भन्दा माओवादीले आफ्नै भोट बढेको र गठबन्धनको साथ आफूलाई रहेको भनेर उनी जितको आधार देखाइरहेका छन् । ऊर्जामन्त्री पम्फा भुसालको निर्वाचन क्षेत्र पनि ललितपुर हो । अब हुने संघीय चुनावका लागि आफैंलाई आधार बनाउन पनि भुसालले स्थानीय चुनावमा पनि जोड गरेकी छन् ।

मञ्जलीलाई पूर्व माओवादी र नयाँ मतदाताको आश

ललितपुरमा एमालेको बलियो संगठन छ । अघिल्लो चुनावमा पनि केही सय मत अन्तरमा मात्र पराजित भएको एमाले यो पटक हरहालतमा जित हात पार्न चाहन्छ । एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार भन्छन्, ‘यो पटक ललितपुरमा एमालेलाई मेयर र उपमेयर दुबैमा हार्ने छुट छैन ।’

मञ्जली पनि जितको आधारहरु प्रशस्त रहेको बताउँछिन् । ‘चुनाव चुनौतीरहित त हुँदैन, तर मेरा लागि अनुकुल वातावरण मैले देखेकी छु’ मञ्जलीले अनलाइनखबरसँग भनिन् ।

एमाले र राप्रपा नेपालको मात्र होइन, पूर्व पार्टी माओवादी केन्द्रबाट पनि आफूले भोट पाउने उनको दाबी छ । पार्टीका शीर्ष नेताहरुको पनि साथ रहेको भन्दै उनले भनिन्, ‘मेरो योगदान एमालेमा कम होला तर, ललितपुरमा कम छैन, कम्युनिस्ट आन्दोलनमा कम छैन । म महानगरको अध्यक्ष पनि हुँ, त्यसकारण मलाई पार्टीको पूर्ण भोट प्राप्त हुनेमा कुनै आशंका छैन ।’

गठबन्धनले पुरुष उम्मेदवार उठाएकाले महिलाहरुको भोट पनि आफूले धेरै पाउने मञ्जलीको दाबी छ ।

०७४ को चुनावमा मेयरमा एमालेका उम्मेदवार थोरै (३२६) मतले पराजित भएका थिए । २४ हजार ६४२ मत ल्याएर चिरिबाबु महर्जन मेयर निर्वाचित हुँदा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए ।

०७४ मा भन्दा एमालेको मतदाता बढेको भन्दै मञ्जलीले भनिन्, ‘न्युट्रल र माओवादी केन्द्रमा रहँदाका साथीहरु समेतको मत पाएर विजय प्राप्त गर्ने विश्वास लिएकी छु ।’

काठमाडौंसँगैको महानगर हुनु र एमाले उपाध्यक्ष बादलको कोटामा पर्नुले आफ्नो विजय पार्टी र शीर्ष नेताहरुको प्रतिष्ठासँग समेत जोडिन पुगेको उनलाई लागेको छ । शीर्ष नेतृत्वबाट चुनावी रणनीतिहरु जित्ने गरी तय भएकाले पराजित हुन नपर्ने उनको विश्वास छ ।

भन्छिन्, ‘लिडरसिपको टिमको इच्छाले मलाई उपमेयरको उम्मेदवार बनाइएको हो । मैले कुनै प्रकारको बार्गेनिङ गरेर टिकट लिएको होइन । यसकारण मेरो जित लिडरसीपको पनि जित हो ।’

समान प्राथमिकता – संस्कृतिको जर्गेना

ललितपुर महानगरका जनप्रतिनिधिहरुका आकांक्षीहरुको समान प्राथमिकता छ संस्कृतिको जगेर्ना । संस्कृतिको जगेर्ना गर्ने विषयमा ठूला दलहरुले ब्यापक रुपमा प्रचार गरिरहेका छन् ।

उपमेयरका प्रतिस्पर्धी माओवादी केन्द्रका बाबुराज र एमालेका मञ्जली दुवैको एजेण्डा पनि ललितपुरलाई मौलिक रुपमै संरक्षण र विकास गरेर चिनाउने छ ।

‘ललितपुरको आफ्नौ मौलिकपन हराउन लाग्यो भन्ने चिन्ता हामी सबैको छ । यसका लागि हामीले काम गर्नुपर्ने छ’, बाबुराज भन्छन् ।

पोखरी, मठ मन्दिर, चैत्य र गुम्बाको संरक्षण गर्ने, हरियाली र सफा सहर बनाएर अन्तर्राष्ट्रिय स्तरमा ब्राडिङ गर्ने चुनावी एजेण्डा मञ्जलीको पनि छ ।

ललितपुरलाई अन्य महानगरभन्दा फरक र सांस्कृतिक महानगरको रुपमा विकास गरेर पर्यटक भित्र्याएर आर्थिक उपार्जन बढाउने पनि दुबैको चुनावी एजेण्डा छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?