+
+

हेटौंडा उपमहानगर : बलशाली एमाले, एकजुट गठबन्धन

राजन दाहाल राजन दाहाल
२०७९ वैशाख २१ गते २१:०१

२१ वैशाख, हेटौंडा । अघिल्ला चुनावी परिणामलाई नै आधार मान्ने हो भने तीन पटक हेटौंडा उपमहानगरको नेतृत्व गरिसकेको नेकपा एमाले एक्लै बलियो छ ।

तर सत्ता गठबन्धनलाई यसपाली जसै एमाले हराउनु छ । त्यसैले हेटौंडामा गठबन्धन एकजुट देखिएको छ ।

केन्द्रमा पाँच दलीय गठबन्धनले टुंग्याएको मेयर, उपमेयर उम्मेदवारलाई विजयी गराउन अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता जनताको घरदैलोमा पुगेका छन् ।

एमालेले पनि घरदैलोसँगै चोकचोकमा कोणसभा गरिरहेको छ । २०४९, २०५४ र २०७४ मा मेयर, उपमेयर दुबै जितेको एमाले आफ्नो लालकिल्ला कायम राख्न अडिग देखिएको छ ।

गठबन्धन एमालेको किल्ला भत्काएर विरासत तोड्दै हेटौंडा उपमहानगरपालिकामा नयाँ अनुहारलाई प्रमुख बनाउन अग्रसर देखिएको छ ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामा प्रमुख र नेपाली कांग्रेसका राजेश बानियाँ उपप्रमुखको उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

एमालेबाट अनन्त पौडेल मेयर र सुमित्रा काफ्ले उपमेयरमा उठेका छन् । हेटौंडामा चौथो शक्ति मानिएको राप्रपाबाट दीपकबहादुर सिंह मेयरमा र इन्दिरा न्यौपाने उपमेयरका रुपमा चुनावमा होमिएका छन् ।

२०७४ मा माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट मेयरमा आनन्दराम पराजुली र उपमेयरमा माओवादी केन्द्रका बलराम बल उम्मेदवार बनेका थिए । एमाले एक्लै चुनावमा होमिँदा हरिबहादुर महत मेयरमा र हाल मेयरकी उम्मेदवार मिनाकुमारी लामा उपमेयरमा निर्वाचित भए । एक्लै उपमहानगरमा भारी रहेको एमालेको विरासत भत्काउने गरी गठबन्धन लागेको देखिन्छ ।

जिल्ला र केन्द्रस्तरका नेताहरु गठबन्धनलाई विजयी बनाउन लागिरहँदा हेटौंडामा आफ्नो अस्तित्व जोगाइरहेको राप्रपा भने जित भन्दा पनि जनतामाझ पुग्ने र पहिचान बनाउने दौडमा देखिएको छ ।

कमल थापाको गृहनगर भएका कारण राप्रपा नेपालबाट उम्मेदवार नहुँदा राजेन्द्र लिङ्देनले हेटौंडामा परिचित सिंहलाई एक्कासी उम्मेदवार बनाए । आर्थिक रुपमा अव्बल रहेका सिंह उपमहानगरमा एमालेका र गठबन्धनका लागि हेभिवेटको रुपमा चर्चामा छन् ।

मेयर जित्न करिब ३० हजार बढी मत ल्याउनुपर्ने आकलन छ । यसअघि कांग्रेस, माओवादी केन्द्र मिलेको अवस्थामा दुई दलीय गठबन्धनसँग २२ हजार ५ सय ९ मत थियो । अहिले पाँच दल मिल्दा ३५ हजारमाथि मत पुग्ने गठबन्धनको दावी छ । तर, एमालेले यसअघि एकल २३ हजार १ सय २४ मत ल्याएको थियो ।

यसअघि पार्टी एक हुँदा राप्रपाबाट मधु अधिकारी उम्मेदवार बनेका थिए । उनले ६ हजार ८ सय ५७ मत ल्याएका थिए । अधिकारी यसपटक लिङ्देनको नजरमा परेनन् । अधिकारी थापाको साथ छाडेर लिङ्देनको नजिक बनेपछि मयेरको दाबेदार भएका थिए । तर, लिङ्देनले सिंहलाई उम्मेदवार बनाएपछि हेटौंडामा राप्रपा पनि प्रतिस्पर्धीको रुपमा देखिएको हो । सिंहले २०७० दोस्रो संविधानसभा निर्वाचनमा १३ हजार बढी मत ल्याएका थिए ।

२०७४ मा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेसका आनन्दराम पराजुली उम्मेदवार बनेका थिए । पराजुलीले २२ हजार ५ सय ९ मत ल्याए । एमालेका हरिबहादुर महतले २३ हजार १ सय २४ मत ल्याउँदै ६ सय १५ मतान्तरमा मेयर जिते । उपमेयरमा माओवादी केन्द्रबाट बलराम बल उम्मेदवार थिए । कांग्रेससँगको तालमेलमा उम्मेदवार बनेका बलले १७ हजार ११ मत मात्र ल्याए । एमालेबाट उम्मेदवार बनेकी मिना लामाले २३ हजार ४ सय ३७ मत ल्याउँदै बललाई हराइन् ।

अहिले लामा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनमा मेयरको उम्मेदवार बनेकी छन् । एमाले छाडेर एकीकृत समाजवादी रोजेकी लामाका लागि एमाले मुख्य प्रतिस्पर्धी हो । गठबन्धनभित्र कांग्रेस बलियो र एकीकृत समाजवादी नयाँ शक्ति भएकाले कमजोर देखिन्छ । माओवादी केन्द्र जिल्लाको तेस्रो शक्ति हो । यहाँ जसपा र जनमोर्चाका मतदाता न्यून छन् ।

मेयर जित्न करिब ३० हजार बढी मत ल्याउनुपर्ने आकलन छ । यसअघि कांग्रेस, माओवादी केन्द्र मिलेको अवस्थामा दुई दलीय गठबन्धनसँग २२ हजार ५ सय ९ मत थियो । अहिले पाँच दल मिल्दा ३५ हजारमाथि मत पुग्ने गठबन्धनको दावी छ । तर, एमालेले यसअघि एकल २३ हजार १ सय २४ मत ल्याएको थियो ।

गठबन्धनको मत एकढिक्का हुँदा जित सुनिश्चित रहेको दलहरुको दाबी छ । क‌ांग्रेस हेटौंडामा बलियो देखिएको, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत बढाउन सके जितका लागि धेरै कसरतनै गर्नु नपर्ने कांग्रेस जिल्ला सभापति बुद्ध लामाले बताए । उनले यसअघि धेरै मत बदर र झिनो मतान्तरमा हार व्यहोरेको कांग्रेस, माओवादीको गठबन्धनमा तीन दल थपिँदा मत थपिएकोले मेयर, उपमेयरसहित दुई तिहाइ वडा जित्ने दाबी गरे ।

‘हामी बदर मत घटाउँछौं, घरदैलोसँगै मतदाता शिक्षामा पनि हामीले जोड दिएका छौं, गठबन्धनको प्रचारप्रसार तीब्र छ । माहोल तातेको छ, हाम्रा एजेण्डामा जनता आकर्षित भएका छन् । त्यसकारण पनि हाम्रो जित सुनिश्चित छ’, सभापति लामाले भने ।

हेटौंडामा भएका सबै विकास आफूहरुले गरेको र तीन कार्यकालसम्म जनताले विश्वास गर्ने आधार बनाएकोले यसपटक पनि एमालेले जित्ने जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले दाबी गरे । ‘जनताले एमालेलाई तीन पटक रुचाइसकेका छन् । काम गरेकै कारण रुचाएको हो भन्ने पुष्टि भइसकेको छ । ठूला योजना एमालेले ल्याउन सक्छ । त्यसकारण एमालेको जित नजिक देखिन्छ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले यसअघि पनि गठबन्धनलाई उछिन्दै एमालेले जितेकोले गठबन्धनसँग एमाले नझस्किएको बताए । उनले गठबन्धन राजनीतिक र पार्टीगत रुपमा हुने भएकोले जनतामा कुनै असर नपार्ने प्रतिक्रिया दिए । ‘जनतालाई गठबन्धनले वास्ता राख्दैन । जनताले उम्मेदवार हेर्नेछन् । लोकप्रियता हेर्नेछन् । त्यसकारण हामीले जित्छौं भनिरहेका छौं’, उनले भने ।

हेटौंडालाई सुन्दर शहर बनाउ छु : अनन्त पौडेल, एमाले

हेटौंंडामा उपमहानगर क्षेत्रमा अझै पनि चौतर्फी विकास आवश्यक छ । त्यसका लागि नगर परिषद् गठन गरेर योजनाबद्ध रुपमा अघि बढाइने छ । स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, विकासका पूर्वाधार सबैको विकास हेटौंडालाई अझै आवश्यक छ ।

अनन्त पौडेल ।

त्यसका लागि हामीले चौतर्फि विकास योजना अघि बढाउने छौं । ११ वटा उपमहानगर मध्य अव्बल र सुन्दर शहरको रुपमा हेटौंडालाई बिकास गर्ने बताए । उनले भने ‘हेटौंडालाई देख्नासाथ सबैले आहा भन्नेछन् ।’

सडक र पार्किङलाई व्यवस्थित गर्ने, हेटौंडा–१४ मयूरधापमा निर्माण हुन लागेको नयाँ औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याउने, रोजगारीको अवसर सिर्जना गर्ने, खानेपानी र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउने, बालबालिका, युवा र महिला लक्षित योजना पनि सञ्चालन गर्ने मुख्य प्रतिबद्धता हो ।

समृद्ध नगर बनाउने हाम्रो रहर : मीनाकुमारी लामा, गठबन्धन (एकीकृत समाजवादी)

हेटौंडालाई समृद्ध नगर बनाउने हाम्रो रहर भन्ने मूल नारा नै तय गरेर हामी चुनावमा होमिएका छौं । त्यसकारण पनि निर्वाचित भएपछि समृद्ध नगरका लागि आवश्यक सबै योजना पूरा हुनेछ । हेटौंडालाई सुन्दर शहर बनाउन हामी एकीकृत योजना अघि बढाउँछौं । त्यसकारण पनि गठबन्धनको जित आवश्यक छ ।

मीनाकुमारी लामा ।

हाम्रो प्रतिबद्धतामा १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण, न्यूनतम विद्युत् पनि निःशुल्क वितरण, सबै वडामा स्वास्थ्यचौकी निर्माण गरी डाक्टरसहितको सेवा, चिकित्सा स्वास्थ्य अध्ययनका लागि छात्रवृत्ति, प्रत्येक वडामा मिनी रंगशाला, कभर्डहल, व्यायामशाला र पुस्तकालय निर्माण गर्ने समेटेका छौं ।

सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारवासीको चित्त बुझाएर समस्या हल गर्ने हामीले योजना बनाएका छौं ।

सुशासनका साथ भ्रष्टाचारमुक्त बनाउँछु : दीपकबहादुर सिंह, राप्रपा

भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु पनि विकासको एउटा लय हो । त्यसकारण नगरको विकास सँगसँगै सुशासन र भ्रष्टाचारमुक्तमा मेरो जोड रहनेछ । हेटौंडा उपमहानगरपालिका भित्र भ्रष्टाचार हुने गरेको छ भन्ने सुन्ने गरेको छु । त्यसलाई तत्काल सुधार्न जरुरी छ  ।

दीपकबहादुर सिंह ।

हेटौंडाका सडकलाई फराकिलो बनाउने र हेटौंडामा चक्रपथ बनाउन पनि मेरो उम्मेदवारी रहेको छ । उपमहानगरले विभिन्न बहानामा कर लिने गरेको छ । अहिले लिइरहेको करमा ५० प्रतिशतसम्म कटौती गर्नेछु । वृद्धभत्ता घरघरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाउनेछु ।

नगर प्रमुखले पाउने तलब भत्ता २ गुणा थप गरेर सबै रकम विपन्न, असहायलाई वितरण गर्नेछु । कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । नगर चक्रपथलाई पूर्णता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?