+
+

२ अर्ब ६४ करोड लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार बन्ने

दुबै स्टेसनमा होटेल 

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख २३ गते १५:०५

२३ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो ।

कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।

माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भनदै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् ।

आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ । कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ । केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ । केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ । तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ ।

२ अर्ब ६४ करोड लागत

केबलकारमा कुल १५ वटा टावर रहने छन् । आयोजनाले वातावरणीय प्रभाव अध्ययनका दौरान दुई पटक सार्वजनिक सुनुवाई समेत पुरा गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । आयोजनाको निर्माण अवधि ३ वर्ष तोकिएको छ । कुल १४.९१ हेक्टर जमिनमा आयोजना बन्ने भएको छ । केबलकार परियोजना संचालनमा आएपछि होटेलमा २५० र केबलकारमा ९० जनाले रोजगारी पाउने आयोजनाको अनुमान छ ।

आयोजनाका अनुसार केबलकार र होटेलसमेत गरि कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ । केबलकारका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ लगानी अनुमान गरिएको छ । अन्य लगानी भने होटेल र थप संरचना निर्माणमा लाग्ने अनुमान छ ।

तल्लो र माथिल्लो दुवै स्टेसनमा होटेल रहने

आयोजनाका अनुसार केबलकारसँग तल्लो र माथिल्लो स्टेसनमा होटेलको सुविधा समेत रहने छ । माथिल्लो स्टेशनमा ६ तले र तल्लो स्टेशनमा ५ तले होटेल रहने गरी आयोजनाले प्रस्ताव गरेको छ । कम्पनीले गरेको प्रस्ताव अनुसार तल्लो स्टेशनमा १ सय कोठा र १६० शैयाको होटेलको प्रस्ताव गरिएको छ ।

सम्मेलन हलदेखि अन्य सुविधाहरुसहितको होटेल समेत यस क्षेत्रमा बनाउने गरी आयोजनाले प्रस्ताव गरेको छ । तल्लो स्टेशनमा ५० कोठा र ७५ शैयाको होटेल बनाउने गरी आयोजनाले प्रस्ताव गरेको छ । केबलकारको माथिल्लो स्टेसनमा भ्यूटावर समेत राखेर दृष्यावलोकनको व्यवस्था गरिने आयोजनाको भनाई छ ।

प्रस्तावित आयोजना काठमाडौंबाट ५७४ किलोमिटर र नजिकको विमानस्थल धनगढीबाट ७२ किलोमिटरको दूरीमा रहेको छ । पूर्वपश्चिम राजमार्गबाट ५ सय मिटर दूरीमा आयोजनाको तल्लो स्टेशन पुग्न सकिन्छ । तल्लो स्टेशनसम्म कालोपत्र सडक रहेका कारण समेत पहँुच सहज हुने वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

झण्डै एक दर्जन पुग्दैछन् केबलकार

नेपालमा अहिले कुल चार वटा केबलकार परियोजना संचालनमा आइसकेका छन् । सञ्चालनमा आएका र प्रस्तावित आयोजना गरी केबलकारको संख्या करीव एक दर्जन हाराहारी छन् । नेपालमा पहिलो केबलकार परियोजना मनकामना हो । दोस्रो परियोजना चन्द्रागिरी हो ।

तेस्रो आयोजना कालिञ्चोक र चौथो आयोजना पोखरा-सराङकोट केबलकार हो । निर्माणको प्रक्रिया अगाडि बढेका आयोजनामा मुक्तिनाथ,  सिक्लेस , बन्दिपुर , मौलाकालिका केबलकार लगायत छन् ।

 

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?