+
+
विचार :

चुनाव ! अनि जसरी पनि जित्नैपर्ने ?

नेपालमा आयोजना हुँदै गरेको निर्वाचनका लागि यो गम्भीर चासोको विषय हो । यी र यस्तै समस्याको समाधान खोज्न नसके लोकतन्त्र दुर्घटनामा पर्न सक्छ चुनाव जित्न नसकेमा हैन । त्यसैले जसरी पनि चुनाव जित्ने अभियानले गलत तत्व र प्रवृत्तिले जित्ने तर लोकले हार्ने अवस्था आइपर्नेछ ।

खिमलाल देवकोटा खिमलाल देवकोटा
२०७९ वैशाख २५ गते १४:२३

ब्रिटेनका पूर्व प्रधानमन्त्री एवं कूटनीतिज्ञ विन्स्टन चर्चिलले भनेका छन्, ‘औसत मतदातासँग पाँच मिनेट वार्तालाप गर्नोस् आज दुनियाँमा प्रचलित लोकतन्त्र विरुद्धको सर्वोत्तम तर्क र बहसका बुँदा फेला पार्नुहुनेछ ।’ मतदाताले बुझेको लोकतन्त्र र उम्मेदवारले बोलेको, लेखेको र भनेको लोकतन्त्रका बीचमा निकै ठूलो अन्तर छ भन्ने कुरा बुझ्न सकिन्छ ।

यसैगरी माक्र्सको जगजगी भएका बखत जताततै माक्र्सवाद, जे गर्‍यो त्यही माक्र्सवाद, जे भन्यो त्यही माक्र्सवाद र जे लेख्यो त्यही माक्र्सवाद एक खाले माक्र्सीय साम्राज्यको जमाना थियो । जब यी सबै साम्राज्यरूपी हर्कत सुनेर माक्र्सले वाक्कदिक्क मानेर भने, ‘यदि यो सबै भनिएका, गरिएका र लेखिएका जति सबै माक्र्सवाद हुन् भने कमसेकम म चाहिं माक्र्सवादी हैन ।’

के पूँजीवादी, के समाजवादी, कालखण्ड वा भूगोल, बोल्ने र भोग्नेका बीचको अन्तर आकाश र जमिनको जति नै छ । जुन दिन यो बोलिने र भोगिनेका बीचको भेद मेट्न सकिनेछ त्यही दिन मात्रै मानव सभ्यता यथार्थको धरातलमा पुग्नेछ । तर आजको दुनियाँ त्यो धरातलभन्दा धेरै टाढा छ ।

सबैखाले चुनावका अभियानहरूलाई त्यसतर्फ केन्द्रित गर्न नसक्दासम्म देश र दुनियाँको हालत यही र यस्तै हुनेछ । यसै धरातलमा जसरी पनि जित्नै पर्ने चुनावका बारेमा चर्चा गर्ने यस आलेखको आशय रहेको छ ।

सर्वाधिक प्रयोग हुने भाष्य

तपाईंको एक भोट देश बेच्ने लाइसेन्स नबनोस् भन्ने कुनै बेलाको प्रख्यात चुनावी नारा थियो । खासगरी राष्ट्रघाती भनिएको महाकाली सन्धिका विरुद्धमा मदन भण्डारीद्वारा गरिएको चर्चित भाषणको अंश थियो त्यो ।

त्यही अंश देशव्यापी बनेको थियो । तर आज त्यही महाकाली सन्धि उनैका अनुयायीका दृष्टिमा राष्ट्रवादी बनेको छ । ठीक त्यसैगरी अरू चुनावी नाराका भाष्य पनि समयानुकूल बदलिएका छन् । हिजोका फेरिएका छन्, नयाँ बनेका छन् ।

चुनाव हामीले आजसम्म गरेका कामको मूल्यांकन हो र आगामी पाँच वर्षका लागि गर्ने कामको अनुमोदन पनि हो । त्यसैले हामीले चुनाव जित्नै पर्छ । हामीलाई हार्ने छुट छैन । हामीले नजिते कसले जित्ने ? चुनाव हार्नका लागि लडिंदैन र हार्नका लागि चुनाव लडिएको पनि हैन ।

यो चुनाव हारियो भने भयंकर संकट आइलाग्नेछ । लोकतन्त्र खोसिनेछ । मासिनेछ । त्यसैले चुनाव हामीले नै जित्नुपर्छ । यी र यस्तै खाले भाष्यहरूको प्रयोग चुनावका बेला गरिने प्रचारका साझा प्रवृत्ति हुन् । यी वाणीहरू र लोकतन्त्रका बीचको तादात्म्यता कति होला विचारणीय छ । यी भाष्यहरूको प्राथमिकतामा आयोजना गरिने चुनावको परिणाम के होला त्यो अर्को प्रासंगिक विषय हो ।

जित्नेलाई टिकट

चुनावी दौडको प्रवेशविन्दु पार्टीको टिकट हो । बहुदलीय लोकतन्त्रमा पार्टी बाहेकको उम्मेदवारले चुनाव जित्नु भनेको फलामको च्युरा सरह हो । त्यसैले पार्टीको टिकट चुनाव जित्ने पहिलो आधार हो । ‘जब जसरी पनि चुनाव जित्नुपर्छ’ भन्ने मान्यता राखिन्छ, तब जित्ने बाहेक अरू कुरा गौण हुन्छन् । चुनाव जित्ने कुराको सुनिश्चितता टिकट वितरणबाटै आरम्भ हुन्छ ।

टिकट वितरणमा पार्टीका विधान, मान्यता र निर्णय जेसुकै भए पनि ‘चुनाव जित्नेलाई टिकट’ भन्ने कुरा नै प्राथमिकतामा पर्छ । आम कार्यकर्ता प्रश्न गर्छन्– उसले टिकट पाउने योग्यता के हो ? जवाफमा उसले भेट्ने छ– उसले चुनाव जित्ने ग्यारेन्टी गरेको छ ।

फेरि प्रश्न उठ्छ उसले पार्टीमा गरेको योगदान के हो ? जवाफमा उसले भेट्ने छ– पार्टीमा गरेको योगदानले केही लछार्दैन उसले चुनाव जित्ने मार्गचित्र नै पेश गरेको छ ।
अर्को प्रश्न पनि उठ्न सक्छ, टिकट वितरणका बारेमा पार्टीको विधानले के भन्छ ? फेरि उसले जवाफमा भेट्ने छ– पार्टी विधानले चुनाव जित्दैन, चुनाव जित्न त अरू नै चिज चाहिन्छ जो ऊसँग छ ।

फेरि पनि प्रश्न रोकिंदैन । टिकटका लागि भएको पार्टीको आन्तरिक निर्वाचनमा त ऊ सहभागी पनि थिएन भने कसरी छानिन सक्छ ? उसले जवाफ भेट्ने छ– हो पार्टीको आन्तरिक चुनावमा सहभागी थिएन होला तर पार्टी हेडक्वाटरको डायरीमा नाम टिपाउने कार्यमा ऊ सबैभन्दा पहिला नै सहभागी भइसकेको थियो ।

फेरि पनि प्रश्न उठ्छ सायद अन्तिम प्रश्न, आन्तरिक निर्वाचनमा म सर्वाधिक मत ल्याउने तर टिकट अर्कैले पाउने हो भने सो आन्तरिक निर्वाचनको नाटक किन महाशय ? हाकाहाकी, जवाफमा भेट्ने छ– त्यो नाटक तपाईंलाई देखाउन, अनि उसले पार्टीको आन्तरिक निर्वाचनमा हैन उपर निर्वाचनमा जितिसकेको थियो, जो प्रतिस्पर्धामा तपाईं सामेल समेत हुने हैसियत राख्नुहुन्न ।

अब भने जित्नेलाई टिकट भन्ने कुराको थप पुष्ट्याईं खोज्न मन लागेन र घोसेमुन्टो लगाएर पार्टीमा जुलुसमा सहभागी भइरहे कुनै बेला त न्याय होला नि धैर्य गरौं भन्नुको अर्को कुनै विकल्प थिएन । इमानदार कार्यकर्ताको यही हालत छ । विचार, सिद्धान्त र राजनीतिको रक्षाको पंक्तिमा उभिनेहरूको यही हालत छ जो चुनाव जित्ने अतिरिक्त योग्यता अझ भनौं मुख्य योग्यता राख्दैनन् ।

टिकटमा जित्नेहरूको ध्यान ?

आजभोलि आयोजना हुने चुनावका सन्दर्भमा मेल खाने कुरा भनेको ‘टिकटमा जित्नेहरूको ध्यान कार्यकर्तामा हैन नेतामा, जनतामा हैन धन्दामा, मत गणनामा हैन धन गणनामा हुने गर्दछ’ भन्ने आम रूपमा विस्तार भएको मनोविज्ञान हो । यो टिकट पाउनेहरूले छातीमा हात राखेर मनमनै भन्ने कुरा र टिकट नपाउनेहरूले सकेसम्म सार्वजनिक चियापसल र कोठे बैठकमा राख्ने विषय हो ।

सञ्चारकर्मी महिलाहरूको एक संस्थाको निर्वाचनका बखत पदाधिकारीका प्रत्यासी मध्येकी एक महिलाले लेखेको यो फेसबुक स्टाटस मनन गर्न लायक छ ‘संचारिका समूहको चुनावमा उम्मेदवारसँग स्कुटर माग्ने म्याडम पत्रकारहरूले स्थानीय चुनावमा केके माग्दै होलान् ?!’ लगत्तै अर्को स्टाटस भन्छ, ‘एक बोतल वाइन, एउटा सारी र एउटा लिपिस्टिकमा बिक्ने दिदीहरू हाम्रा ‘आस्था’ हुन् ।’

यी स्टाटसहरू केवल चुनावको बाध्यताको अवस्था झल्काउने प्रतिनिधि घटना मात्रै हुन् । यी र यस्तै घटनाहरू कति ढाकछोप गरिए होलान्, कति सतहमा आउने मौकै पाएनन् होलान् वा कति त आउने उपयुक्त मौका पनि खोजेका होलान् । जेहोस् चुनाव सजिलो छैन । यी र यस्तै मसलातर्फको केन्द्रीकरणले चुनावलाई जितमा परिणत गरिदिन्छ । दुर्भाग्य, त्यही जित आजको लोकतन्त्रको परिभाषा बनेको छ ।

मनी, मसल, माफिया र मिडिया म्यानुपुलेशन

‘चुनाव जित्न मत चाहिन्छ, मत पाउन जनमत चाहिन्छ, जनमत बनाउन तदनुकूलको योजना चाहिन्छ । जनपक्षीय योजना कार्यान्वयन गर्ने कार्ययोजना पनि चाहिन्छ । यी कुरा लामो त्याग, बलिदान र निरन्तरको संघर्षबाट मात्रै प्राप्त हुन्छ ।’ यी आदर्श वाक्य केवल भन्नका निम्ति हुन् भन्ने कुरा पटक–पटक स्थापित भइसकेका छन् । गर्ने कुरा भने फरक छन् । ती भनेको मनी, मसल, माफिया र मिडिया म्यानुपुलेशन नै हो भन्ने कुरा अब स्थापित गरिराख्न नपर्ने भएको छ ।

हरेकका मन–मनमा यो कुराले डेरा जमाएको छ । यो आजको यथार्थ हो । ‘मैले यसअघिको निर्वाचनमा ६ करोड खर्च गरेको छु कोही छ यति खर्च गर्न सक्ने ? छ भने म छाडिदिन्छु’ भन्ने खुलेआम तर सच्चाई साविती वकपत्र गर्ने नेपाली कांग्रेसका महामन्त्रीले निर्वाचन आयोगको स्पष्टीकरण खाएका छन् र आइन्दा यस्तो अभिव्यक्ति नदिन सचेत गराइएको छ ।

अर्का झापाका निर्वाचित माननीयले ‘यो चुनाव लड्दा लागेको खर्च तिरिदिने मान्छे भए र यो पद बेच्न मिल्ने भए म बेचिदिन्थें’ भनेको कुरा पनि स्मृतिमा ताजै छ । ‘मसँग ठेकेदार थिएनन् मैले टिकट पाइनँ’ भन्ने कैयन् स्थापित नेताहरूको भनाइ पुरानो भएको छैन ।

यसरी ‘इमान बेचेर टिकट किन्नुपर्ने, इमान बेचेरै कार्यकर्ता किन्नुपर्ने, इमान बेचेरै मतदाता किन्नुपर्ने, जितेपछि पनि सुख छैन फेरि इमान बेचेरै मन्त्री पद किन्नुपर्ने र फेरि इमान बेचेर विगतको ऋण तिर्न र अर्को चुनावको सामल जम्मा गर्नुपर्ने’ यो बाध्यता र चक्रव्यूह हाम्रो चुनावको यथार्थ हो । यो यथार्थलाई पत्याउन, पचाउन र पछ्याउन नसक्ने मान्छेले जतिसुकै योग्य भए पनि चुनाव लड्ने योजना नबनाए हुन्छ भन्ने नै निष्कर्ष निस्कन्छ ।

जसरी पनि चुनाव जित्ने अभियानले गलत तत्व र प्रवृत्तिले जित्ने तर लोकले हार्ने अवस्था आइपर्नेछ । उम्मेदवारले जित्ने मतदाताले हार्ने अनि त्यसैलाई लोकतन्त्र मानिदिनुपर्ने बाध्यताको पनि अन्त्य हुने र चुनावको विकल्प खोज्ने दिन पनि आउन सक्नेतर्फ सचेत हुन जरूरी छ ।

कुरा यतिमा सीमित हुँदैन । आजभोलि यसमा मिडिया म्यानुपुलेशन थपिएको छ । मिडियाका बारेमा चर्चा छ ‘जसको सञ्चार उसको संसार’ । मलाई एक वरिष्ठ व्यक्तित्वले सार्वजनिक समारोहमा भनेको याद छ । सँगै भाषण गर्‍यौं, चिया खाने बेलामा उहाँले मिडियातर्फ संकेत गर्दै भन्नुभयो– तपाईंले, मैले यहाँ के बोल्यौं यसको अर्थ हुँदैन, तिनले के प्रसार गरिदिन्छन् त्यो नै महत्वको विषय हुनेछ ।’

यसो हो भने यतिबेला मिडियाको भूमिका सर्वाधिक बढेर गएको छ । मिडिया हाउसलाई प्रभावित गर्न सक्ने बाहेक अरूले चुनावमा हिम्मतै नगरे भयो भन्ने पनि आजको यथार्थ बनेको छ । यस अर्थमा कि कुनै बखत मिडिया हाउस सरकार बनाउने र ढाल्ने तागत राख्दथे ।

राज्यशक्तिको दुरुपयोग

न व्यापार, न पेशा–व्यवसाय, न कमाइ वा अरू कुनै धन्दा राज्यशक्तिको आड–भरोसा र बलियो संरक्षणमा बाहेक सम्भव छैन भन्ने कुरा स्थापित जस्तै भएको छ । चुनाव त्यसको अपवाद हुने कुरै रहेन । त्यसैले जतिसुकै, जेसुकै गरे पनि, सत्तामा भए पनि नभए पनि राज्यशक्तिको दुरुपयोग विना चुनाव जितिन्न भन्ने मनोविज्ञान हावी भएको छ ।

यसका लागि जसरी पनि सत्तामा भएको बेला आफू अनुकूल हुने बेला समय र मौका हेरेर चुनावको घोषणा गर्ने र सो घोषणा गर्नुअघि राज्य संयन्त्रलाई ठिकठाक आफू अनुकूल पार्ने प्रवृत्ति पुरानै हो । तर नाङ्गो रूपमा भने केही समययता थपिएको छ ।

स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउने जिम्मा लिएको निर्वाचन आयोगमा आफ्ना ‘एस म्यान’हरूको भर्ना गर्न सक्दा अन्यत्र धेरै टाउको दुखाउनु नपर्ने । त्यसो हुन सकेन भने कर्मचारी तन्त्र, सुरक्षा निकाय ।

त्यो पनि भएन भने कम्प्युटर अपरेटरसम्मलाई भए पनि आफ्नो अनुकूलतामा दुरुपयोग गर्ने योजना बनाउनेतर्फ चुनाव जित्नै पर्ने मिशनमा लागेकाहरूले ध्यान केन्द्रित गर्ने गरेको पाइन्छ । जसले यति काम गर्न सक्यो उसैले चुनाव जित्छ भन्ने कुरा सबैले भन्ने गरेका छन् ।

दल बदल र फजुल खर्च

जसरी पनि चुनाव जित्नेहरूको ध्यान तीव्र रूपमा दल बदल र अकुत धनको खोलो बगाउने पनि हो । टिकट पाउन दल बदल गर्ने र जित्ने उम्मेदवारको खोजीमा रहेका दलहरू त्यस्ता पात्र र प्रवृत्तिलाई स्वागत गर्न तम्तयार भएर रहने गरेको तथ्य आजका घटनाक्रमहरूले पुष्टि गरेका छन् । विचार, राजनीति, सिद्धान्त, आदर्श, मूल्य, मान्यता राजनीतिका आधार हुन् । तर आज दैनिक जसो तिनै विषय लिलाम भइरहेका छन् ।

जसरी पनि चुनाव जित्ने मान्यताका कारण कुनै दक्षिणपन्थी वामपन्थी बन्न कुनै हिचकिचाहट नै छैन किनकि त्यहाँ चुनाव जित्ने कुरा बाहेक अरू सबै भ्रम हुन् भन्ने संस्कृति स्थापित भएको छ । पार्टी प्रवेशको लहर दिनदिनै चलेका छन् । पार्टी प्रवेश सशर्त पनि हुने गरेका छन् ।

कति आर्थिक लेनदेन, कति पदको वार्गेनिङ वा अरू कुनै प्रकारको सुरक्षा जस्ता विषय आम बनेका छन् । शर्त ठूलो कुरा भएन चुनाव जित्ने कुरा ठूलो हो भन्ने मात्रै हेक्का राखिन्छ र दिलाइन्छ । जब यो प्रवृत्ति हावी हुन्छ, तब पैसाको खोलो बगाउन केही कुराले रोक्दैन । केवल शर्त त्यो मात्रै हुन सक्छ चुनाव जित्नै पर्छ ।

चुनाव जित्ने मात्रै शर्त पूरा गरेको खण्डमा सात खुन माफ गर्ने कुरा होस् वा अकुत सम्पत्तिको अपचलन केही कुराले पर्वाह गर्दैन । यो प्रवृत्ति हावी भई भनिएको, भोगिएको र मानिएको लोकतन्त्रको ज्युँदो साक्षी हुने कुरा हरेक इमानदार मानिसहरूका लागि आज कठिन विषय बनेको छ । यो कठिनाइ लोकतन्त्रका लागि विल्कुल घातक हुनेछ ।

अन्त्यमा, जबसम्म चुनाव लोकतन्त्रको साधन हैन साध्य ठान्ने, प्रतिस्पर्धाको माध्यम हैन एकलौटी विजयको ग्यारेन्टी खोज्ने र चुनावको मञ्चन विजयी घोषणा गर्न मात्रका लागि आयोजना गरिन्छ, तबसम्म लोकतन्त्र वास्तविक लोकतन्त्र हुन सक्दैन ।

नेपालमा आयोजना हुँदै गरेको निर्वाचनका लागि यो गम्भीर चासोको विषय हो । यी र यस्तै समस्याको समाधान खोज्न नसके लोकतन्त्र दुर्घटनामा पर्न सक्छ चुनाव जित्न नसकेमा हैन । त्यसैले जसरी पनि चुनाव जित्ने अभियानले गलत तत्व र प्रवृत्तिले जित्ने तर लोकले हार्ने अवस्था आइपर्नेछ ।

उम्मेदवारले जित्ने मतदाताले हार्ने अनि त्यसैलाई लोकतन्त्र मानिदिनुपर्ने बाध्यताको पनि अन्त्य हुने र चुनावको विकल्प खोज्ने दिन पनि आउन सक्नेतर्फ सचेत हुन जरूरी छ ।

लेखकको बारेमा
खिमलाल देवकोटा

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?