+
+

चुनावका लागि गाउँ जान गाडी पाउनै मुस्किल

दैनिक ५० हजारले उपत्यका छोड्दै

काठमाडौंमा बसोबास गर्दै आएकाहरु स्थानीय तह निर्वाचन नजिकिएपछि मतदान गर्न आफ्नै थातथलो फर्किरहेका छन् । तर एकैपटक धेरै जनाले उपत्यका छाड्न लागेकाले बसमा सिट पाउन भने समस्या छ ।

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख २८ गते २०:१७

२८ वैशाख, काठमाडौं । बुधबार विहान घर जान कलंकीमा तीन घण्टा कुर्दा पनि तनहुँ बन्दीपुर गाउँपालिकाकी सुशीलाले गाडी पाइनन् । उनको तीन घण्टासम्म सडक छेउमा उभिएर गाडीलाई हात दिँदै रोक्नुस् भन्दै बिते ।

उपत्यका बाहिर जान कलंकीबाट गुड्ने हरेक गाडी यात्रुले भरिभराउ छन् । गाडीमा पार्टीका झण्डा राखिएका छन् ।

टाढा जाने बस त भरिभराउ छँदैछन्, नजिकैको धादिङ, गोरखासम्म जाने सवारीमा समेत यात्रु अटेसमटेस छन् । कुरेर बसेकाहरुलाई गाडी पाउनै धौ धौ छ ।

‘अरुबेला आउनुस् आउनुस् भन्दै हात तानेर लैजान्थे आज त रोक भन्दा पनि रोक्दैनन्,’ सुशीला भन्छिन्, ‘जित्ने नेता, भोट दिने र दुःख पाउने जनता ।’

‘गाडीका लागि पर्खेको तीन घण्टा भन्दा बढी भयो । उभिदा उभिदा खुट्टा दुखिसक्यो उनी भन्छिन्,‘एक–आधा घण्टा पर्खिन्छु नपाए कोठा फर्किन्छु ।’

उनका नजर सडकबाट हटिरहेका थिएनन् । सुशीलाले निजी सवारी, कार तथा ट्रकलाईसमेत रोक्ने प्रयास गरिन् । हात देखाइरहिन् । तर कसैले पनि रोकेनन् । कारण केही गाडी भरिभराउ छन्, भने केही रिजर्भ गरिएका छन् ।

‘नजाउँ भने नजिकका मान्छे उठेका छन् जाउ भन्दा गाडी नै पाइदैन् । जहिल्यै दुःख पाउने भनेको त जनता नै रहेछ’ उनी गुनासो सुनाउँछिन् ।

बन्दीपुर गएर यसैलाई भोट हाल्छु त सोचिसकेकी छैनन् सुशीलाले । तर राम्रो र काम गर्ने उम्मेदवारलाई भोट दिन मन छ उनलाई ।

सप्तरी बोदेबर्साइन नगरपालिकाका योगेन्द्रप्रसाद यादव भोट हाल्न जाने भन्दै बिहान १० बजे कोटेश्वर पुगे ।

उनी कोटेश्वर पुगेको एक घण्टा बितिसक्दा पनि उनको घर जाने गाडी आएको छैन । गाउँबाट ठेकेदारले गाडी बुक गरेर लैजान्छौं तपाईको खर्च लाग्दैन भोट हाल्न घर जानुपर्छ भनेपछि उनी भोट हाल्नका लागि घर जान राजी भएका हुन् ।

‘आउन जान तपाईंको पैसा लाग्दैन भनेको छ, अब त्यति गरेर भोट हाल्न जानै पर्छ भनेपछि जानैपर्‍यो’ यादवले सुुनाए ।

यादव कीर्तिपुरको चोभारमा कार्पेन्टरको काम गर्छन् । ‘भोट त राम्रो, इमान्दार काम गर्ने मान्छेलाई दिने हो’, उनी भन्छन्,‘नेता चुनावअघि जनताका लागि काम गर्छौं भन्छन् जितेपछि वास्ता गर्दैनन् ।’

भोट हालेको दोस्रो दिन उनी काठमाडौ फर्किने सोचमा छन् । कारण घरमा कमाउने उनी एक्लै हुन् । उनले काम नगरे घरमा बालबालिकाले भोकै बस्नु पर्छ ।

तनहुँकै व्यास नगरपालिकाकी सिन्धु पनि बस पर्खिदा पर्खिदै थाकिसकेकी छन् ।

उनलाई भोट हाल्नै भनेर घर जान त मन थिएन । तर आफन्तले कर गरेपछि उनी जान लागेकी हुन् । ‘स्थानीय नेतासँग काम परिरहन्छ । स्थानीय नेता जनताको सबैभन्दा नजिकको सम्बन्ध भएका मान्छे हुन्छन् । काम गर्ने र इमान्दार मान्छेलाई भोट दिनु पर्छ’ उनी भन्छिन् ।

सिन्धुले राम्रो र इमान्दार मान्छेलाई भोट दिने भनिरहँदा उनी भने आफन्त वा नजिकको मान्छे चुनावमा उठेका कारण भोट दिन जान लागेकी हुन् ।

‘यसैलाई नै भोट दिन्छु भनेर त भन्न सक्दिन । तर मेरो भोट इमान्दार र काम गर्ने व्यक्तिलाई जाने छ’ उनले सुनाइन् ।

सप्तरी खडक नगरपालिकाका महेन्द्रप्रसाद साह भोट हाल्न घर जान भन्दै कोटेश्वर पुगेका छन् । उनीसहितका केही साथी पार्टी र उम्मेदवारले पठाएको गाडीमा सर्लाही जान लागेका हुन् ।

‘भोट दिने कि हाम्रालाई हो कि राम्रालाई’, महेन्द्र भन्छन्, ‘जसले गाडीमा लगेर फेरि काठमाडौं पु¥याइदिन्छ त्यसैलाई भोट दिन्छु ।’

चुनाव नजिकिदै जादा भोट हाल्न गाउँ फर्किनेको लर्को छ । नयाँ बसपार्क, माछापोखरी, कलंकी तथा कोटेश्वरमा चुनावका लागि गाउँ फर्किनेको संख्या निकै धेरै छ ।

जुन स्थानीय तहमा आफ्नो मतदाता नामावली छ त्यहीँबाट मात्रै भोट हाल्न पाइने भएकाले अरु बेला काठमाडौंमा बस्नेहरु भोट हाल्न गाउँ फर्किन लागेका हुन् ।

चुनावका लागि उपत्यका छाड्ने उमेर पुगेका मतदाताले पार्टी हेरेर मत दिने बताए पनि युवा भने व्यक्ति हेरेर भोट दिने बताउँछन् ।

पोखरा उपमहानगरपालिकाका विवेकजंग हिमाली आफू पार्टी हेरेर नभई व्यक्ति हेरेर मत दिने बताउँछन् ।

‘पार्टी हेरेर मत दिँदा भोलि हामीलाई नै समस्या पर्न सक्छ, उनी भन्छन्, ‘काम गर्ने इमान्दार र जनताको काम गर्ने उम्मेदवारलाई भोट दिने हो ।’

भनेको बेला काम नगरिदिने र जनताको समस्या नबुझिदिने भए आफ्नै नातेदार भएपनि भोट नदिने उनको भनाइ छ ।

कलेज विदा भएका कारण पनि मतदान गर्न घर जान पाएको हिमालीको भनाइ छ ।

‘कलेज पनि विदा छ चुनाव पनि छ यही मौकामा भोट पनि दिऔं न त भनेर जान लागेको हुँ’ हिमालीले सुनाए ।

चुनावको उत्साह भएपनि अधिकांश मतदाताको अनुहारमा गाडी नपाउँदा खिन्नता छाएको छ । यसरी दुःख पाएर जानु भन्दा त नजानु बेस लागिरहेको छ ।

हिमालीले गाडी कुरेको आधाघण्टा बढी भइसकेको छ । तर पनि गाडी पाएका छैनन् । उनी हरेक गाडी रोक्न हात दिइरहेका छन् । यताउती दौडिरहेका छन् । तर सिट पाइएको छैन । गाडीभित्र उभिनसमेत ठाउँ छैन ।

गल्छी गाउँपालिका धादिङ–२ का रमेशमान श्रेष्ठ भोट हाल्न गाउँ जाने भन्दै बुधबार बिहान नौ बजे कलंकी पुगे ।

तर एक घण्टा कुर्दा पनि गाडी पाएनन् । स्थानीय जनप्रतिनिधिले मतदाताका लागि भन्दै गाडी बुक गरेका थिए । तर उनी त्यसमा चढेनन् । कारण उम्मेदवारले पठाएको गाडीमा गए उनीहरुलाई नै भोट दिनुपर्ने दबाव हुन्छ । उनी त्यो दबावमा पर्न चाहदैनन् ।

श्रेष्ठ भन्छन्,‘गाउँपालिकाले पठाएको गाडीमा गए उनीहरुलाई नै भोट दिनुपर्छ भन्ने हुन्छ । आफैं गएर मन परेको र काम गर्ने उम्मेदवारलाई भोट दिने हो ।’

स्थानीय तहका प्रतिनिधि जनतासँग नजिक हुने भएका कारण समाज र जनताको हितमा काम गर्नेलाई जिताउनुपर्ने उनको भनाइ छ ।

काम गर्ने मात्रै नभइ छिटो छरितो र इमान्दारिपूर्वक काम गर्ने उम्मेदवारलाई भोट दिने श्रेष्ठले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चुनाव नजिकिंदै जाँदा मतदानका लागि गाउँ फर्किनेहरुको संख्या बढ्दै गएको बताएको छ ।

महाशाखाका अनुसार तीन दिनमा एक लाख ५६ हजार बढी सर्वसाधारणले उपत्यका छाडिसकेका छन् ।

बुधबार र बिहीबार यो संख्या अझै बढ्न सक्ने महाशाखाको अनुमान छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २५ गते ५५ हजार ७ सय ४०, २६ गते ५० हजार ९ सय ३० र २७ गते बिहान ७ बजेसम्म ५९ हजार ८१ जना सर्वसाधारणले उपत्यका छाडिसकेका छन् ।

तस्वीर : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?