+
+
ब्लग :

यो निर्वाचनलाई अयोग्य र भ्रष्टलाई फाल्ने अवसर बनाऔं

मतपत्र फगत चुनाव चिन्हले कोरिएको रंगिचंङ्गी कागजको खोष्टो मात्र होइन । यो त हाम्रो जन्मकुण्डली र स्वयम्को जाँचको प्रश्नपत्र हो, जहाँ हाम्रा भाग्यरेखा र ग्रह दशाहरु विभिन्न चिन्हका माध्यमबाट मतपत्रमा छापिएका छन् ।

राजेन्द्र सिंह भण्डारी राजेन्द्र सिंह भण्डारी
२०७९ वैशाख २९ गते २२:४२

मौका फेरि फर्केर आउँदैन, आएछ भने पनि त्यही स्वरुपमा त्यस्तै गरी आउँदैन । मौकामा चौका हान्न नजान्नेले विपरीत परिणामको भागी बन्नै पर्ने हुन्छ । परिणाम हाम्रै क्रिया, प्रतिक्रियाको प्रतिफल हो ।

हामी अहिले स्थानीय तहको निर्वाचनको संघारमा उभिएका छौं । वाचनको अर्थात् भाषणको चरण सकिएको छ । यसक्रममा हामीले सबैखाले प्रचार, प्रसार र प्रदर्शनहरु रुचिपूर्वक हेर्न भ्यायौं । वास्तवमा ती सबै प्रदर्शनहरु प्रहसन जस्तै लाग्थे । थरिथरिका धनुषटंकार नमस्कारले सजिएका नेताहरुको प्रहसनले हाम्रा घर आँगनमा रोमाञ्चक र मतदातालाई मालिक महसुस गराउने वातावरण सिर्जना गर्‍यो ।

अब भने भोलि नै वाचन पश्चातको निर्वाचनको शुभ दिन हाम्रो घर दैलोमा आउँदैछ । यो शुभ दिनको साइत जुर्न फेरि कम्तीमा पनि पाँच वर्ष लाग्ने भएकोले यसको गरिमा र महत्वलाई अझ परिवर्तनमुखी बनाउन मतदान प्रक्रियामा सहभागी हुनु हाम्रो धर्म र कर्मको चिनाले जुराएको साइतको दिन हुन गएको छ ।

आफ्नो मौलिक अधिकारको प्रयोगका माध्यमबाट मुलुक र भावी सन्ततिको भविष्य सुनिश्चित गर्ने शुभ अवसरका रुपमा उपयोग गर्ने यस महान् यज्ञमा सहभागी हुनुअघि देहायका विषयमा चिन्तन गर्न आवश्यक छ ।

मतपत्रलाई जन्मकुण्डली ठानौं

मतपत्र फगत चुनाव चिह्नले कोरिएको रंगीचंङ्गी कागजको खोस्टो मात्र होइन । यो त हाम्रो जन्मकुण्डली र स्वयंको जाँचको प्रश्नपत्र हो, जहाँ हाम्रा भाग्यरेखा र ग्रहदशाहरु विभिन्न चिह्नका माध्यमबाट मतपत्रमा छापिएका छन् ।

मतपत्रलाई हातमा लिँदा मुलुक र स्वयं आफ्नै जन्मकुण्डली हातमा लिएको भावमा मतपत्रलाई स्वीकार्नुहोस् र परीक्षा हल अर्थात् निर्वाचन कक्षभित्र प्रवेश गर्नुहोस् ।

अब मतपत्रलाई जाँचको प्रश्न पत्रका रुपमा लिँदै थरिथरिका चुनाव चिह्न र उम्मेदवारका योग्यता र भूमिकालाई एक चित्त भएर स्मरण गर्नुहोस् । यतिबेला तपाईंले मतपत्रलाई उत्तरपुस्तिकामा परिवर्तन गर्नुपर्ने हुन्छ ।

‘फरक छुट्याउनु होस्’को प्रश्नपत्र पहिले नै आउट भइ सकेकाले अब उपयुक्त उमेदवारको चिह्नमा छाप लगाई उत्तरपुस्तिकालाई मत पेटिकामा खसाल्नुहोस् ।

मानिस र गधाका बीचमा फरक छुट्याउनुहोस् भन्ने प्रश्नको सहज उत्तरमा पनि तपाईं द्विविधामा पर्नु हुन्छ भने तपाईंले आफ्नै विवेकलाई स्वार्थको बन्धकीमा बिक्री गरेको ठहर्नेछ । ध्यान रहोस् यो प्रश्नको उत्तीर्णाङ्क शतप्रतिशतमा गणना गरिने भएकाले चालिस अङ्कमै उत्तीर्ण भइन्छ भन्ने भ्रममा नपर्नुहोस् ।

मतपेटिकालाई तपाईंको आफ्नै पेट सम्झिनुहोस्

जसरी तपाईंले स्वस्थ शरीरका लागि आफ्नो पेटमा स्वस्थबर्द्धक खाना पठाउनु हुन्छ त्यसै गरी मतपेटिकामा पनि सही उत्तरपुस्तिकाको मतपत्र पठाउन सकेको अवस्थामा मात्र मुलुक र मुलुकको भविष्य स्वस्थ रहन सक्दछ भन्ने भावले उक्त मतपत्रलाई सुरक्षित तबरले मतपेटिकाको पेटमा पठाउनुहोस् ।

यदि निर्वाचनको प्रचार प्रसारका क्रममा जथाभावी अस्वस्थ खाना र मदिराको सेवन गर्ने अवसर प्राप्त भएको थियो भने पनि मतपेटिकामा त्यसको प्रभाव पर्न दिन नदिनुस् । जसरी पेट शरीरको मध्य भाग र स्वस्थताको माध्यम हो, त्यसै गरी मतपेटिका पनि भ्रष्टलाई तह लगाउने र नेपालरुपी शरीरमा क्षति हुन नदिने माध्यम हो भन्ने मर्मलाई आत्मसात गर्नुहोस् ।

निर्वाचनलाई परिवर्तनको संवाहक बनाऔं

लोकतन्त्रमा लोकको हित जाँच गर्ने र उपयुक्तताको छनौट गर्ने प्रणाली निर्वाचन मात्र भएकाले यसको सदुपयोग र दुरुपयोगले हाम्रो भविष्य निर्धारण गर्दछ । यो हाम्रै विवेक र चेतनाको स्तर जाँच गर्ने निर्विकल्प वैधानिक विधि पनि हो ।

स्थानीय स्तरमा देखिएका वेथिती र विसंगतिलाई तह लगाउने अवसर निर्वाचन नै भएकाले मतपत्रको अधिकारलाई दानका रुपमा प्रयोग गर्दा दानवीय विचारबाट प्रभावित हुने भूल गर्नु हुँदैन । हाम्रो आफ्नै छनौटको गल्तीको परिणाम सिङ्गो मुलुक र भावी पिँढीले भोग्ने महाअपराध गर्ने छुट हामीसँग छैन ।

जातीयता, क्षेत्रीयता, नातागोता, व्यक्तिगत लाभ हानीलाई छनौटको आधार बनाइनुहुन्न । तसर्थ, छनौटका मापदण्डलाई उम्मेदवारको योग्यता र दलको घोषणा पत्र, विचारसँग तालमेल गरेर मात्र मतदान गरौं ।

उपयुक्त उम्मेदवार छनौटका आधार

स्थानीयस्तरका समस्या हल गर्नमा निजहरुले विगतमा निर्वाह गरेको भूमिका योग्यता छनौटको पहिलो सर्त हुन सक्दछ । उम्मेदवारको व्यक्तिगत आचरण, शैक्षिक योग्यता, शालीनता, सेवा भावप्रतिको निजको त्यागको भावनालाई पनि योग्यता जाँचको अर्को महत्वपूर्ण मापदण्डका रुपमा उपयोग गर्न सकिन्छ ।

जुन प्रतिनिधि वा उम्मेवारसँग कुनै किसिमको मिसन, भिजन नै छैन, केवल हावादारी गफ मात्र चुट्न खप्पिस छन्, तिनीहरु परीक्षणका लागि स्वतः खारेज भागी छन् । आफ्नो निहीत राजनीतिक स्वार्थका लागि मतदातालाई बहकाउने, भड्काउने र घृणाभाव फैलाउने पात्रका रुपमा मात्र उपयोग गर्ने दलका उम्मेवारलाई अस्वीकार गरी शालीन र स्वच्छ राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्नेलाई प्राथमिकताको सूचिमा राखौं ।

यसैगरी सत्तरी बर्ष नाघेकालाई सक्रिय राजनीतिको अवसरबाट टाढा राख्नका लागि भए पनि उनीहरुलाई योग्यतम छनौटको सूचीमा समावेश नगराउँ । उमेर आफैं योग्यता, सक्रियता र मनोभवना प्रकट गर्ने मापदण्ड हो । सत्तरी बर्षको उमेर आफैंमा सन्याश्रमको उमेर पनि हो ।

यी उमेर समूहका व्यक्तिले युवा पुस्ताको चाहनालाई प्रतिनिधित्व गर्न सक्दैनन् । तसर्थ उनीहरुलाई विश्राम दिन सकेको अवस्थामा मात्र राजनीतिले पुस्तान्तरणको कोर्स लिन सक्दछ ।

अन्त्यमा, किन रोइस मंगले, आफ्नै ढंगले भने जस्तै हामीले आफ्नै जनप्रतिनिधि छनौट गर्दा आफैंले ढंग नपुर्‍याएको गलत परिणामको भारी मुलुकलाई बोकाउन मिल्दैन । भोलि नै सम्पन हुन गइरहेको स्थानीय निर्वाचनलाई मुलुकको मुहार फेर्ने शुभ अवसरका रुपमा उपयोग गरौं ।

यो महान् अवसर खेर फाल्ने छुट हामीसँग छैन, हामीसँग केवल दुई वटा मात्र विकल्प रहेका छन् या त अयोग्य र भ्रष्टलाई फेर्ने या त फेरि थप क्षति व्यहोर्नका लागि तम्तयार रहने । पछि गएर यिनै प्रतिनिधिलाई धारे हात लगाएर गाली गर्नुको अर्थ पनि रहने छैन ।

(भण्डारी नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक-एआईजी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?