+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

भोट दिए पनि खेर, नदिए पनि खेर !

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख ३० गते १९:११

३० वैशाख, काठमाडौं । ठमेल पकनाजोलका राम क्षेत्री बिहीबारसम्म भोट हाल्ने कि नहाल्ने दोधारमा थिए । ‘जनताको दुःख उस्तै छन् । कसलाई भोट दिएर के नै हुन्छ र ?’ क्षेत्रीको मनमा लागिरहेको थियो, ‘दिए पनि हुन्छ नदिए पनि हुन्छ ।’

तर शुक्रबार बिहान आठ नबज्दै मतदान केन्द्र नेपाल युवक माध्यमिक विद्यालय पुगेर उनले भोट हाले । मत हाल्न पाउने नैसर्गिक अधिकारले क्षेत्रीलाई मतदान केन्द्रसम्म पुर्‍यायो । पाँच वर्षमा एकपटक आफ्नो मतदान गर्न पाउने अधिकारलाई उनले उपयोग गर्ने विचार गरे । ‘हामी जनता सधैं केही विकास र परिवर्तन हुन्छ कि भन्ने आशमा भोट दिन आउँछौं, तर हाम्रा आशा सधैं निराशामा मात्रै बदलिन्छन्,’ उनको आक्रोश छ, ‘जनताले न विकासको अनुभूति गर्न पाएका छन्, न त सुखको नै ।’

उनले यसपटक समेत गरी दुईवटा स्थानीय तह र दुईवटा संघको निर्वाचनमा भोट दिइसकेका छन्, तर परिवर्तनको आभास पाएका छैनन् । घरघरमा सिंहदरबार पुग्ने र जनताका आशा अपेक्षा पूरा हुने आश्वासन बाँडेर देश संघीयतामा गएको एक कार्यकाल अर्थात् पाँच वर्ष बितिसक्दा समेत उनको अपेक्षा अनुसार काम भएको छैन ।

‘धेरै ठूलो अपेक्षा न मेरो छ, न अरु जनताको नै होला । जनताले स्वच्छ हावा, साताको दुई दिन सफा पानी, ढल निकास तथा सडकका खाल्डाखुल्डी पुर्नेबाहेक के नै मागेको छ र ?’ उनी प्रश्न गर्छन् ।

जनताको अपेक्षा विलासिता र अतिरिक्त सुखभोगमा होइन, न्यूनतम आवश्यकता मात्रै परिपूर्ति गरिदिए हुन्थ्यो भन्ने हो । तर नेताले त्यो पनि पूरा गर्न सकेका छैनन् क्षेत्री गुनासो गर्छन् ।

‘भोट जनताको चाहिने, तर काम जनताका लागि नगर्ने नेतालाई मैले किन भोट दिन जाने ?,’ झापाका टंकबहादुर थापा भन्छन्, ‘ देशको राजनीति र नेताको व्यवहारले भोट दिन मन लाग्दैन । मेरो भोटको मूल्यांकन नै हुँदैन भने किन भोट दिने भनेर नगएको हुँ ।’

भोट हाल्ने दिनसम्म जनता भगवान हुन्छन्, तर विडम्बना भन्नुपर्छ भोट हालिसकेपछि उनीहरू किनारामा पर्छन् । उनले यस्तो थुप्रै पटक महसुस गरिसकेका छन् । ‘नेताले सधैं काम गर्छौं, माग पूरा गर्छौं भनेर आश्वासन बाँडिरहे । हामीले पत्याइरह्यौं,’ उनी भन्छन्, ‘नेता र राजनीतिक दलबाट जनता अघाइसकेका छन् । भोट दिएर पनि के नै हुन्छ र भन्ने लाग्न थालिसकेको छ ।’

उनको अपेक्षा वडा र महानगरपालिका कार्यालयमा काम लिएर जाँदा सहज र छिटो होस्, टोलमा बाटोघाटो राम्रो होस् र विद्यालय सुधार भए छोराछोरी पढ्न पाउँथे भन्ने हो । तर नेताले कहिल्यै भोटको गुन नतिरेको उनको गुनासो छ ।

देखिएन पहिलेजस्तो उत्साह

मतदानको बिहान पक्नाजोलको माहोल निकै शान्त थियो । मतदाताको संख्या निकै कम थियो । एक दुई जना गर्दै मतदाता मतदान केन्द्र आउने जाने गरिरहेका थिए । त्यहाँको दृश्यले अन्य वर्षको तुुलनामा निर्वाचनप्रति मतदाताको उत्साह घट्दै गएको जस्तो क्षेत्रीलाई अनुभूति भइरहेको छ ।

अर्का स्थानीय सुनिल महर्जनलाई पनि यो वर्ष अघिल्लो स्थानीय तहको निर्वाचनजस्तो तडकभडक र रौनकता महसुस भएको छैन । मतदातामा चुनावलाई लिएर जुन उमंग र उत्साह हुनुपर्ने हो, त्यो देख्न नपाइएको उनी बताउँछन् ।

यसपटक पहिलेजस्तो चुनावी माहोल नहुनुमा राजनीतिप्रति बढ्दै गएको जनताको वितृष्णा र राम्रा छवि भएका उम्मेदवारको कमी हुनसक्ने अनुमान उनको छ । ‘जनताले भोट दिएर पनि नेताले काम गर्दैनन् भन्ने थाहा पाइसकेका छन् । यसकारण पनि मतदाताको उत्साह र रौनकतामा कमी आएको हो,’ उनी भन्छन्, ‘म आफैंलाई पनि भोट दिएर पनि के नै हुन्छ र भन्ने लागेको छ ।’

 

बागबजारका गेहेन्द्ररत्न स्थापित जनताले विकास र समृद्धि चाहेको, तर नेताले विकास र समृद्धिलाई गफमा उडाएर नारामा सीमित गरेको बताउँछन् । प्रतिनिधिले केही नयाँ काम गर्छन् भन्ने विश्वास भए मात्रै जनतामा उत्साह थपिने भन्दै स्थापित नेता र राजनीतिक दलले जहिल्यै जनतामाथि विश्वासघात गरेको बताउँछन् ।

‘उम्मेदवारले काम गर्छन् भन्ने आशा भए पो  भोट दिने हो,’ उनी भन्छन्, ‘धेरै चाहिएको छैन । न्यूनतम आवश्यकता मात्रै परिपूर्ति गर्न सहयोग गरुन् । जनता भोट दिन आफैं उत्सुक हुन्छन्, भोट देऊ भन्नै पर्दैन ।’

यो भन्दा अघिको चुनावमा सर्वसाधारणमा निकै उत्साह भए पनि काम नगर्ने, पारदर्शी व्यवहार नदेखाउने र माग सम्बोधन नगर्ने हुँदा नेता र राजनीतिप्रति नागरिकको मोह भंग हुँदै गइरहेको उनको तर्क छ ।

उनी आफैंलाई पनि मत दिन जाने कि नजाने भन्ने थियो । तर मतदाता निकै कम भएको र मतदान स्थलमा भीडभाड कम भएको समाचार पढेपछि उनी मतदानका लागि बागबजारको शुक्रराज स्कुल पुगे । ‘काम नगरेकोमा जनतालाई नभई नेता आफैंलाई लाज लाग्नुपर्ने हो,’ उनी प्रश्न गर्छन्, ‘फोहोरमैला व्यवस्थापन गर, बाटोघाटो ढल निकासमा काम गर पनि भनिरहनुपर्ने कुरा हो र ?’

नेताले जहिल्यै जनतालाई आशा देखाउँदै ठगिरहेका र जनता आँखा चिम्लेर आशाको भरमा ठगिइरहेका उनको भनाइ छ ।

पक्नाजोल-१६ की बुद्धिमाया श्रेष्ठ आफूले वर्षौंदेखि भोट हाल्दै आए पनि अहिलेसम्म कुनै परिवर्तन नभएको र नेताले जनताका लागि काम गरेको नदेखेको बताउँछिन् । ‘नेताले जनता चिन्ने भनेको भोट नहाल्दासम्म हो, भोट हालेपछि चिन्नु त परको कुरा नमस्ते समेत फर्काउँदैनन्,’ उनको गुनासो छ । भोट दिए पनि नेताले काम गर्लान् भन्ने कुरामा श्रेष्ठलाई विश्वास छैन ।

हरेक चुनावले उनका आशालाई यसैगरी निराशामा परिणत गरेका छन् । तर अब त केही हुन्छ कि भन्ने आश भने उनीमा अझै जीवितै छ । ‘अब आउने नेताले राजनीति भन्दा काम बढी गरोस्,’ बुद्धिमाया भन्छिन्, ‘अहिलेसम्म विकास र परिवर्तनको महसुस गर्न सकिएको छैन । अब यस्तो नहोस् ।’

भोट मात्रै दिन गाउँ किन जाने ?

झापाका टंकबहादुर थापा देश संघीयतामा गइसकेपछिको स्थानीय तहको दोस्रो निर्वाचन हेर्न बागबजारको पद्मकन्या क्याम्पस अगाडि उभिइरहेका थिए । आफैं भोट हाल्न गाउँ पुगेको हुनुपथ्र्यो । तर उनी अरूले मतदान गरेको दृश्य नियालिरहेका थिए ।

‘मैले थुप्रै पटक नेताले देश र जनतालाई केन्द्रमा राखेर विकास गर्लान् भनेर भोट दिएँ । तर सबै भोट खेर गयो,’ उनी भन्छन्,‘ राजनीति र नेतादेखि वाक्क भएर भोट दिनै मन लाग्दैन । भोट दिए पनि खेरै नदिए पनि खेरै जाने हो किन दिनु ।’

थापाले गरेको विश्वासलाई जनप्रतिनिधिले कायम राख्न सकेको भए उनी यसपटक पनि भोट हाल्न झापा जान्थे । तर न उनको भोटको कदर भयो, न नेताले जनताको पक्षमा कुनै काम नै गरे । ‘म र मेरो लागि मात्रै भन्ने, कुर्सीका लागि लडिरहने नेतालाई भोट दिएर के काम ?,’ उनको प्रश्न छ ।

‘भोट जनताको चाहिने, तर काम जनताका लागि नगर्ने नेतालाई मैले किन भोट दिन जाने ?,’ उनी भन्छन्, ‘ देशको राजनीति र नेताको व्यवहारले भोट दिन मन लाग्दैन । मेरो भोटको मूल्यांकन नै हुँदैन भने किन भोट दिने भनेर नगएको हुँ ।’

बझाङ बुङ्गल नगरपालिका-३ का नवराज जोशीको पहिलोपटक भोट हाल्ने उमेर पुगेको छ । नेताप्रति सकारात्मक धारणा भएको भए उनी बझाङ गएर मतदान गर्ने थिए । तर उनले गाउँठाउँका जनप्रतिनिधिका काम र व्यवहार नजिकबाट देखेका, भोगेका छन् । त्यही देखेको र व्यहोरेको सास्तीका कारण उनलाई भोट दिन मन थिएन । त्यसैले त उनी भोट हाल्न बझाङ गएनन् ।

‘नेताले जनताका बारेमा सोच्ने, विकास गर्ने भए युवाले विदेश जानु पर्दैन थियो,’ जोशी भन्छन्, ‘नेताले विगतमा जनता र समाजको हितमा काम गरेको भए पो भोट दिन मन लाग्थ्यो । काम नगर्ने पुरानै प्रवृत्ति दोहोर्‍याउनेलाई किन भोट दिनु भन्ने लागेर नगएको हुँ ।’ उनलाई न चुनावले छोएको छ, न त भोट खेर गयो भन्ने चिन्ता नै छ ।

लेखक
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?