+
+

भोट दिए पनि खेर, नदिए पनि खेर !

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख ३० गते १९:११

३० वैशाख, काठमाडौं । ठमेल पकनाजोलका राम क्षेत्री बिहीबारसम्म भोट हाल्ने कि नहाल्ने दोधारमा थिए । ‘जनताको दुःख उस्तै छन् । कसलाई भोट दिएर के नै हुन्छ र ?’ क्षेत्रीको मनमा लागिरहेको थियो, ‘दिए पनि हुन्छ नदिए पनि हुन्छ ।’

तर शुक्रबार बिहान आठ नबज्दै मतदान केन्द्र नेपाल युवक माध्यमिक विद्यालय पुगेर उनले भोट हाले । मत हाल्न पाउने नैसर्गिक अधिकारले क्षेत्रीलाई मतदान केन्द्रसम्म पुर्‍यायो । पाँच वर्षमा एकपटक आफ्नो मतदान गर्न पाउने अधिकारलाई उनले उपयोग गर्ने विचार गरे । ‘हामी जनता सधैं केही विकास र परिवर्तन हुन्छ कि भन्ने आशमा भोट दिन आउँछौं, तर हाम्रा आशा सधैं निराशामा मात्रै बदलिन्छन्,’ उनको आक्रोश छ, ‘जनताले न विकासको अनुभूति गर्न पाएका छन्, न त सुखको नै ।’

उनले यसपटक समेत गरी दुईवटा स्थानीय तह र दुईवटा संघको निर्वाचनमा भोट दिइसकेका छन्, तर परिवर्तनको आभास पाएका छैनन् । घरघरमा सिंहदरबार पुग्ने र जनताका आशा अपेक्षा पूरा हुने आश्वासन बाँडेर देश संघीयतामा गएको एक कार्यकाल अर्थात् पाँच वर्ष बितिसक्दा समेत उनको अपेक्षा अनुसार काम भएको छैन ।

‘धेरै ठूलो अपेक्षा न मेरो छ, न अरु जनताको नै होला । जनताले स्वच्छ हावा, साताको दुई दिन सफा पानी, ढल निकास तथा सडकका खाल्डाखुल्डी पुर्नेबाहेक के नै मागेको छ र ?’ उनी प्रश्न गर्छन् ।

जनताको अपेक्षा विलासिता र अतिरिक्त सुखभोगमा होइन, न्यूनतम आवश्यकता मात्रै परिपूर्ति गरिदिए हुन्थ्यो भन्ने हो । तर नेताले त्यो पनि पूरा गर्न सकेका छैनन् क्षेत्री गुनासो गर्छन् ।

‘भोट जनताको चाहिने, तर काम जनताका लागि नगर्ने नेतालाई मैले किन भोट दिन जाने ?,’ झापाका टंकबहादुर थापा भन्छन्, ‘ देशको राजनीति र नेताको व्यवहारले भोट दिन मन लाग्दैन । मेरो भोटको मूल्यांकन नै हुँदैन भने किन भोट दिने भनेर नगएको हुँ ।’

भोट हाल्ने दिनसम्म जनता भगवान हुन्छन्, तर विडम्बना भन्नुपर्छ भोट हालिसकेपछि उनीहरू किनारामा पर्छन् । उनले यस्तो थुप्रै पटक महसुस गरिसकेका छन् । ‘नेताले सधैं काम गर्छौं, माग पूरा गर्छौं भनेर आश्वासन बाँडिरहे । हामीले पत्याइरह्यौं,’ उनी भन्छन्, ‘नेता र राजनीतिक दलबाट जनता अघाइसकेका छन् । भोट दिएर पनि के नै हुन्छ र भन्ने लाग्न थालिसकेको छ ।’

उनको अपेक्षा वडा र महानगरपालिका कार्यालयमा काम लिएर जाँदा सहज र छिटो होस्, टोलमा बाटोघाटो राम्रो होस् र विद्यालय सुधार भए छोराछोरी पढ्न पाउँथे भन्ने हो । तर नेताले कहिल्यै भोटको गुन नतिरेको उनको गुनासो छ ।

देखिएन पहिलेजस्तो उत्साह

मतदानको बिहान पक्नाजोलको माहोल निकै शान्त थियो । मतदाताको संख्या निकै कम थियो । एक दुई जना गर्दै मतदाता मतदान केन्द्र आउने जाने गरिरहेका थिए । त्यहाँको दृश्यले अन्य वर्षको तुुलनामा निर्वाचनप्रति मतदाताको उत्साह घट्दै गएको जस्तो क्षेत्रीलाई अनुभूति भइरहेको छ ।

अर्का स्थानीय सुनिल महर्जनलाई पनि यो वर्ष अघिल्लो स्थानीय तहको निर्वाचनजस्तो तडकभडक र रौनकता महसुस भएको छैन । मतदातामा चुनावलाई लिएर जुन उमंग र उत्साह हुनुपर्ने हो, त्यो देख्न नपाइएको उनी बताउँछन् ।

यसपटक पहिलेजस्तो चुनावी माहोल नहुनुमा राजनीतिप्रति बढ्दै गएको जनताको वितृष्णा र राम्रा छवि भएका उम्मेदवारको कमी हुनसक्ने अनुमान उनको छ । ‘जनताले भोट दिएर पनि नेताले काम गर्दैनन् भन्ने थाहा पाइसकेका छन् । यसकारण पनि मतदाताको उत्साह र रौनकतामा कमी आएको हो,’ उनी भन्छन्, ‘म आफैंलाई पनि भोट दिएर पनि के नै हुन्छ र भन्ने लागेको छ ।’

 

बागबजारका गेहेन्द्ररत्न स्थापित जनताले विकास र समृद्धि चाहेको, तर नेताले विकास र समृद्धिलाई गफमा उडाएर नारामा सीमित गरेको बताउँछन् । प्रतिनिधिले केही नयाँ काम गर्छन् भन्ने विश्वास भए मात्रै जनतामा उत्साह थपिने भन्दै स्थापित नेता र राजनीतिक दलले जहिल्यै जनतामाथि विश्वासघात गरेको बताउँछन् ।

‘उम्मेदवारले काम गर्छन् भन्ने आशा भए पो  भोट दिने हो,’ उनी भन्छन्, ‘धेरै चाहिएको छैन । न्यूनतम आवश्यकता मात्रै परिपूर्ति गर्न सहयोग गरुन् । जनता भोट दिन आफैं उत्सुक हुन्छन्, भोट देऊ भन्नै पर्दैन ।’

यो भन्दा अघिको चुनावमा सर्वसाधारणमा निकै उत्साह भए पनि काम नगर्ने, पारदर्शी व्यवहार नदेखाउने र माग सम्बोधन नगर्ने हुँदा नेता र राजनीतिप्रति नागरिकको मोह भंग हुँदै गइरहेको उनको तर्क छ ।

उनी आफैंलाई पनि मत दिन जाने कि नजाने भन्ने थियो । तर मतदाता निकै कम भएको र मतदान स्थलमा भीडभाड कम भएको समाचार पढेपछि उनी मतदानका लागि बागबजारको शुक्रराज स्कुल पुगे । ‘काम नगरेकोमा जनतालाई नभई नेता आफैंलाई लाज लाग्नुपर्ने हो,’ उनी प्रश्न गर्छन्, ‘फोहोरमैला व्यवस्थापन गर, बाटोघाटो ढल निकासमा काम गर पनि भनिरहनुपर्ने कुरा हो र ?’

नेताले जहिल्यै जनतालाई आशा देखाउँदै ठगिरहेका र जनता आँखा चिम्लेर आशाको भरमा ठगिइरहेका उनको भनाइ छ ।

पक्नाजोल-१६ की बुद्धिमाया श्रेष्ठ आफूले वर्षौंदेखि भोट हाल्दै आए पनि अहिलेसम्म कुनै परिवर्तन नभएको र नेताले जनताका लागि काम गरेको नदेखेको बताउँछिन् । ‘नेताले जनता चिन्ने भनेको भोट नहाल्दासम्म हो, भोट हालेपछि चिन्नु त परको कुरा नमस्ते समेत फर्काउँदैनन्,’ उनको गुनासो छ । भोट दिए पनि नेताले काम गर्लान् भन्ने कुरामा श्रेष्ठलाई विश्वास छैन ।

हरेक चुनावले उनका आशालाई यसैगरी निराशामा परिणत गरेका छन् । तर अब त केही हुन्छ कि भन्ने आश भने उनीमा अझै जीवितै छ । ‘अब आउने नेताले राजनीति भन्दा काम बढी गरोस्,’ बुद्धिमाया भन्छिन्, ‘अहिलेसम्म विकास र परिवर्तनको महसुस गर्न सकिएको छैन । अब यस्तो नहोस् ।’

भोट मात्रै दिन गाउँ किन जाने ?

झापाका टंकबहादुर थापा देश संघीयतामा गइसकेपछिको स्थानीय तहको दोस्रो निर्वाचन हेर्न बागबजारको पद्मकन्या क्याम्पस अगाडि उभिइरहेका थिए । आफैं भोट हाल्न गाउँ पुगेको हुनुपथ्र्यो । तर उनी अरूले मतदान गरेको दृश्य नियालिरहेका थिए ।

‘मैले थुप्रै पटक नेताले देश र जनतालाई केन्द्रमा राखेर विकास गर्लान् भनेर भोट दिएँ । तर सबै भोट खेर गयो,’ उनी भन्छन्,‘ राजनीति र नेतादेखि वाक्क भएर भोट दिनै मन लाग्दैन । भोट दिए पनि खेरै नदिए पनि खेरै जाने हो किन दिनु ।’

थापाले गरेको विश्वासलाई जनप्रतिनिधिले कायम राख्न सकेको भए उनी यसपटक पनि भोट हाल्न झापा जान्थे । तर न उनको भोटको कदर भयो, न नेताले जनताको पक्षमा कुनै काम नै गरे । ‘म र मेरो लागि मात्रै भन्ने, कुर्सीका लागि लडिरहने नेतालाई भोट दिएर के काम ?,’ उनको प्रश्न छ ।

‘भोट जनताको चाहिने, तर काम जनताका लागि नगर्ने नेतालाई मैले किन भोट दिन जाने ?,’ उनी भन्छन्, ‘ देशको राजनीति र नेताको व्यवहारले भोट दिन मन लाग्दैन । मेरो भोटको मूल्यांकन नै हुँदैन भने किन भोट दिने भनेर नगएको हुँ ।’

बझाङ बुङ्गल नगरपालिका-३ का नवराज जोशीको पहिलोपटक भोट हाल्ने उमेर पुगेको छ । नेताप्रति सकारात्मक धारणा भएको भए उनी बझाङ गएर मतदान गर्ने थिए । तर उनले गाउँठाउँका जनप्रतिनिधिका काम र व्यवहार नजिकबाट देखेका, भोगेका छन् । त्यही देखेको र व्यहोरेको सास्तीका कारण उनलाई भोट दिन मन थिएन । त्यसैले त उनी भोट हाल्न बझाङ गएनन् ।

‘नेताले जनताका बारेमा सोच्ने, विकास गर्ने भए युवाले विदेश जानु पर्दैन थियो,’ जोशी भन्छन्, ‘नेताले विगतमा जनता र समाजको हितमा काम गरेको भए पो भोट दिन मन लाग्थ्यो । काम नगर्ने पुरानै प्रवृत्ति दोहोर्‍याउनेलाई किन भोट दिनु भन्ने लागेर नगएको हुँ ।’ उनलाई न चुनावले छोएको छ, न त भोट खेर गयो भन्ने चिन्ता नै छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?