+

तेलको साटो पशुजन्य बोसो खान सकिन्छ ?

२०७९ जेठ  २ गते १६:३२ २०७९ जेठ २ गते १६:३२
तेलको साटो पशुजन्य बोसो खान सकिन्छ ?

चिकित्सक भन्छन्, ‘तेल स्वास्थ्यका लागि हानिकारक छ ।’

पोषणविद् भन्छन्, ‘तेल (फ्याट) शरीरका लागि अति जरुरी छ ।’

विज्ञापन भन्छ, ‘तेलले मुटु बलियो बनाउँछ ।’

समाज भ्रममा छ । तेलले फाइदा गर्छ कि हानि ? तेलले हृदयरोग बढाउँछ कि मुटु बलियो बनाउँछ ? तेल धेरै खानु उचित कि कम ?

हरेकको भान्साले बजारमा उपलब्ध प्रशोधित तेल खपत गर्छ । बजारमा अनेकथरी ब्रान्डका तेल छन् । यी प्रसोधित तेल हुन्, जसको गुणस्तरप्रति चिकित्सकहरु ढुक्क छैनन् । त्यसैले उनीहरु खानेकुरामा तेलको प्रयोग सकेसम्म कम गर्न सुझाव दिन्छन् । किन ?

पोषणविदरुको भनाईमा हामीले दिनहुँ प्रयोग गरिरहेको बजारका तेल शुद्ध छैनन् । अर्थात गुणस्तरहित र मिसावटयुक्त छन् । पोषणविद आरेम कार्की त कतिसम्म भन्छन् भने, हामीले सागसब्जीमा प्रयोग गरिरहेको तेल जंकफूड जस्तै हानिकारक छ ।

‘उद्योगबाट प्रशोधन भएर आएका तेल खाँदा हामी सचेत हुनु जरुरी छ’ आरेम भन्छन् ‘सबै तेलहरू खराब छन् प्रयोग नै गर्न हुन्न भन्ने आसय हैन । घरमा बनाएको तोरीको तेल र घिउ राम्रो फ्याट पाइन्छ । त्यो प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा केही नकारात्मक असर पनि गर्दैन ।’

कम गुणस्तरको तेल प्रयोग गर्दा त्यसले मुटु एवं रक्तसंचार प्रणालीलाई असर गर्ने चिकित्सकहरुको भनाई छ ।

सबै किसिमको तेल वा चिल्लो शरीरका लागि हानिकारक नहुने तर कमसल, गुणस्तरहिन र मिसावटयुक्त तेलले मुटुलाई हानी गर्ने बरिष्ठ मुटु शल्य-चिकित्सक डा. प्रेमराज वैद्य बताउँछन् । ‘फ्याट विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये ट्रान्सफ्याट भनेको एकदमै खराब चिल्लो हो’  अनलाइनखबरसँगको कुराकानीमा डा. वैद्य भन्छन्, ‘धेरै ट्रान्स फ्याट वनस्पति तेलमा हुन्छ, त्यसको साथै एउटै तेललाई दुई तिन दिन प्रयोग गर्दा त्यो बाक्लो हुन्छ त्यसमा पनि धेरै ट्रान्स फ्याट हुन्छ ।’

कस्तो फ्याट स्वस्थ्यकर ?

फ्याट मुख्य तय ३ प्रकारको हुन्छ–स्याचुरेटेड, अनस्याचुरेटेड र ट्रान्स फ्याट । घिउ स्याचुरेटेड फ्याटमा पर्ने भएकोले यो धेरै खान हुन्न है भनिन्थ्यो । तेल अनस्याचुरेटेडमा पर्ने भएकोले यो खानु राम्रो भनिन्थ्यो । यी दुईमध्ये ट्रान्स फ्याट चाहिँ नखानु भनिने सिनियर कार्डियाक सर्जन डा.प्रेमराज वैद्य बताउँछन् ।

डीप फ्राई गरेको खानामा र तेल दुवैमा ट्रान्स फ्याट हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसको प्रयोगले कोलेस्ट्रोल बढाउँछ र मुटुका समस्या निम्त्याउँछ ।

त्यसो त ट्रान्स फ्याट हामीले खाने दही मोहीमा पनि हुन्छ मासुहरूमा पनि हुन्छ । तर, यसको सीमित मात्रामा प्रयोग गर्दा स्वास्थ्यमा खास असर गर्दैन ।

डा. वैद्यका अनुसार ट्रान्स फ्याट भनेको अनस्याचुरेटेड फ्याट मै पर्छ । त्यसैले अहिले घिउ खानु राम्रो हो । तर, वनस्पति तेल र जमेको तेल प्रयोग गर्नु चाहिँ नराम्रो मानिन्छ ।

अनस्याचुरेटेड फ्याट भएका तेलहरूको प्रयोग कम मात्रामा गर्नु उपयुक्त हुन्छ । हामीले खाने दाल, भात, तरकारी, मकै आदिमा पनि फ्याट हुने भएकोले थोरै तेलको प्रयोग गर्दा पनि शरीरलाई फ्याटको मात्रा पुग्छ ।

शरीरका लागि कति जरुरी छ फ्याट ?

स्वस्थ्य शरीरको लागि एकदमै जरुरी पोषकतत्वमध्येको एक हो, फ्याट अर्थात बोसो । यो बोसो विभिन्न खानेकुराको माध्यामबाट आपूर्ति हुन्छ । साथै शरीरले पनि बोसो उत्पादन गर्छ ।

पोषणविद् आरेम कार्की भन्छन्, ‘शरीरमा कोषहरू बन्नको लागि फ्याट आवश्यक हुन्छ । फ्याटबाट  हर्मोन, मस्तिष्कको पनि विकास हुन्छ ।’ उनका अनुसार, ‘ए’, ‘डी’, ‘ई’ जस्ता भटामिनहरु सोस्नको लागि पनि फ्याट चाहिन्छ । फ्याटले शरीरलाई ऊर्जा दिनुको साथै भिटामिन ‘डी’ पनि पनि दिन्छ । त्यसको साथै फ्याटले हड्डीहरूको जोर्नीमा ल्युब्रिकेन्ट्स काम पनि गर्ने हुनाले दैनिक फ्याटको सेवन शरीरको लागि आवश्यक हुने पोषणविद् कार्कीको भनाई छ ।

‘दैनिक रूपमा हामीले खानामा २५ देखि ३० प्रतिशत फ्याट समावेश गर्नु पर्ने हुन्छ’ पोषणविद् कार्की भन्छन्, ‘तर, शरीरलाई आवश्यक पर्ने जति फ्याटको सेवन हामीले गरी रहेका हुँदैनौं ।’

फ्याटको स्रोत

हामीले खाने विभिन्न खानेकुराबाट अधिक वा आशिंक मात्रामा फ्याट आपूर्ति भइरहेको हुन्छ । तेल, घिउ, बोसो, दुधजन्य परिकार, माछा, मासु, अन्डा आदि फ्याटका स्रोत हुन् ।

यसैगरी विभिन्न खानेकुराको बियाँ, ओखर, बदाम, आलस, तिल, एभोकाडोबाट पर्याप्त मात्रामा फ्याट आपूर्ति हुन्छ । दैनिक सागसब्जीमा प्रयोग गरिने तेल र पशुजन्य बोसोबाट शरीरलाई जरुरी फ्याटको आपूर्ति हुनेगर्छ ।

‘हामीले भान्सामा दैनिक प्रयोग गर्ने तेल शरीरका लागि जरुरी ‘फ्याट’को स्रोत हो’ पोषणविद् केपी लम्साल भन्छन्, ‘तर, कति मात्रामा र कस्तो गुणस्तरको खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।’

तेल प्रयोग नगरी सागपात पकाइयो भने त्यो फ्याटमा परिवर्तन नभई शरीरमा सोसिनु पर्ने धेरै भिटामिनहरू शरीरले सोस्न सक्दैन  । त्यसैले खानाहरू पाक्न र शरीरलाई चाहिने भिटामिनहरू सोस्नको लागि तेल आवश्यक छ । आवश्यक छ भनेर कम गुणस्तरको तेल प्रयोग गर्न भने नहुने पोषणविद् लम्सालको भनाई छ ।

तेलको साटो पशुजन्य बोसो

हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने तेलको मूल्यमा बढोत्तरी भएको छ । एकातिर तेलको शुद्धतामाथि शंका गरिन्छ भने अर्कोतिर यसको मूल्य चर्को भएको छ ।  त्यसैले तेलको विकल्पमा कतिपयले पशुजन्य वोसो उपयुक्त हुन्छ कि भनी चासो राख्ने गरेको पाइन्छ । कतिले तेलको साटो पशुजन्य वोसो नै भुटुनको रुपमा प्रयोग गरेको पनि पाइन्छ ।

त्यसो भए बजारमा उपलब्ध प्रशोधित तेलको विकल्पमा पशुजन्य बोसो प्रयोग गर्न सकिन्छ ?

पोषणविद् आरेम कार्की सुनाउँछन्,  ‘इतिहासलाई फर्केर हेर्ने हो भने लगभग ७० वर्ष अघि सम्म घिउ वा बोसोमा खाना पकाउने गर्थे । त्यो स्वास्थ्यको लागि हानिकारक हो भने त्यति बेला फ्याट र कोलेस्ट्रोलको कारण मुटु रोग, मोटोपना जस्ता समस्या बढी देखिनु पर्ने ।’

उनको तर्क के पनि छ भने, अहिले त्यो फ्याटहरूको प्रयोग घटेपछि यी रोगहरू लाग्नेको संख्या कम हुनु पर्ने । तर, अहिले मुटु रोग र मोटोपना झन् बढेको छ यसको अर्थ घिउ र बोसो जस्ता जम्ने फ्याट स्वास्थ्यको लागि खराब होइन भनेर फेरि अहिले त्यसको प्रयोग गर्न थालिएको आरेमले बताए ।  ‘पशुजन्य बोसोको कुरा गर्दा बँदेल, सुँगुर र बंगुर पाइने बोसो संसारकै सबैभन्दा पौष्टिक खानेकुरामा पर्छ’ उनी भन्छन्, ‘त्यसैले पशुजन्य बोसोलाई तेलको साटोमा प्रयोग गर्न सकिन्छ ।’

यता पोषणविद् केपी लम्सालको भनाई फरक छ । उनी तेलको साटो पशुजन्य बोसो प्रयोग गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो नहुने बताउँछन् । ‘पशुजन्य बोसोबाट शरीरलाई चाहिने फ्याटको आपूर्ति त हुन्छ । तर, यो फ्याटको राम्रो स्रोत हैन र  स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक पनि छैन ।’ पोषणविद लम्साल भन्छन् ‘तेलको गुणस्तरमा समस्या छ भनेर त्यसको विकल्प बोसो हुन सक्दैन ।’

शुद्ध तेल उचित, बोसोले कोलेस्ट्रोल बढाउँछ

डा.अनिल भट्टराई

डा.अनिल भट्टराई

हामीले दैनिक जीवनमा भुटुनको रुपमा प्रयोग गरिरहेको तेल शरीरमा गईसकेपछि यसले शरीरमा फ्याट, कोलेस्ट्रोलको मात्रा बढाउँछ । र, त्यसले कालान्तरमा रुक्तनली सम्बन्धी रोगहरु लाग्नमा बढावा दिने भएकोले तेलको प्रयोग कम गरौं भनिएको हो ।

सीमित मात्रामा तेलको प्रयोग नगरी तरकारी पकाउन सकिँदैन र त्यसबाट प्राप्त हुने केही प्रतिशत फ्याट त हाम्रो शरीरलाई चाहिन्छ पनि । तर, त्यसको अत्याधिक प्रयोगले भने रत्तसंचार प्रणाललाई असर गरेर हृदयघात, पक्षघात, उच्च रक्तचाप जस्ता समस्याहरु पैदा गर्न सक्छ ।

धेरै चिल्लो खाना खायो भने फ्याटको मात्रा बढि भएर शरीरलाई खाना पचाउन गाह्रो हुन्छ । धेरै फ्याटको सेवन गरेको खण्डमा अन्य खानामा भएको भिटामिन ‘डि’ र भिटामीन ‘ए’ राम्ररी नसनेस्न सक्छ ।

भिटामीन ‘डि’ र ‘ए’ मुटुको लागि आवश्यक पर्ने भएकोले यो आपुर्ति हुँदैन । त्यसको साथै धेरै चिल्लो खाना खाँदा शरीरमा कोलेस्ट्रोलको मात्र बढेर रक्तनलीहरुमा बोसोको लेयर जम्छ । जसले गर्दा उच्च रक्तचाप, हृदयघात मस्तिष्क घात जस्ता जोखिम निम्ताउँछ ।

हामीले प्रयोग गर्ने फ्याटका स्रोतहरु सबै स्वास्थ्यको लागि हानिकारक छ भन्न खोजिएको होइन । वनस्पती घिउ, धेरै प्रशोधन गरिएको तेल धेरै हानिकारक छ  । तर, गाई भैँसीको घिउ तुलनात्मक रुपमा कम हानिकारक छ ।

वनस्पती घिउ, पशुजन्य बोसो र सनफ्लावर तेलको तुलना गर्दा सनफ्लावर तेल बढि स्वस्थकर हुन्छ । कस्तो गुणस्तरको तेल घ्यु प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कुकिङ आयलको सट्टामा पशुजन्य बोसोको प्रयोग गर्नु झन धेरै हानिकारक हुन्छ । पहिलो कुरा त पाचन प्रणलीमा नै असर गर्छ । बोसो पगालेर बनाएको तेलमा कोलेस्ट्रोलको मात्रा बढि हुने भएकोले तेलको विकल्पमा यो सेवन नगर्नु नै उचित हुन्छ ।

पशुजन्य बोसो फ्याट
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय