+
+

बुटवलको मेयरमा खेलराज निर्वाचित, २५ वर्षपछि कांग्रेसको पुनरागमन

‘उपमहानगरलाई सबैको साझा बनाउंछु शासक बन्दिन’

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०७९ जेठ ७ गते १९:०१

७ जेठ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।

२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।

नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसंगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको विश्लेषण गरिएको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा पराजित भएपनि पाण्डेय निरन्तर मतदाताको घरदैलोमा जाने र समस्या समाधानको पहल गरेका थिए । मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरबाट प्रभावित झण्डै चार हजार परिवारको वैकल्पिक व्यवस्था गरेर मात्रै यी आयोजना अघि बढाउनुपर्ने स्थानीयको मागमा खेलराजले दरिलो साथ दिए ।

यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा ज्योतिनगर पहिरो प्रभावितको समस्यामा पनि उनले निरन्तर आवाज उठाए । यही कारण पाण्डेयले सहज जित निकालेका हुन् ।

बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्तिसमेत एमालेबाट खोसिने संकेत देखिएको छ ।

बुटवललाई साझा चौतारी बनाउँछु, शासक बन्दिन : पाण्डेय

नगर प्रमुखमा निर्वाचित भएपछि पाण्डेयले बुटवल उपमहानगरलाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाउने बताए । उनले सबैको राय सुझावका आधारमा काम गर्ने बताए ।

‘गर्नुपर्ने काम धेरै छन्, तर पहिलो काम बुटवल उपहानगरलाई सबैले अपनत्व लिनेगरी सबै दल र संघसंस्थाको साझा चौतारी बनाउँछु’, पाण्डेयले भने, ‘कार्यपालिका गठनपछि सबैको राय सुझावका आधारमा मात्रै निर्णय गर्छु एक्लै केही गर्दिन, अर्को मुख्य कुरा म शासक बन्दिन सेवक बन्छु ।’

चौराहा–बुटवल सडक निर्माणलाई छिटो पूरा गराउने, खानेपानी समस्या, ज्योतिनगर पहिरो नियन्त्रण, मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोर प्रभावित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको पाण्डेयले बताए ।

कार्यभार सुरु गरेपछि कानूनी व्यवस्था गरेर घर बहाल कर, हाटबजार वैठकी कर, ई रिक्सा सवारी कर र सिफारिस शुल्क घटाउने पाण्डेयले बताए । नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याउने पनि पाण्डेयले घोषणा गरेका थिए ।

जनप्रतिनिधिले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग गर्ने परिपाटी अन्त्य गर्ने, जनप्रतिनिधिको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने पाण्डेयले बताए ।

आफू मेयरको कुर्सीमा बसेकै आर्थिक हैसियतमा पाँच वर्षपछि विदा हुने, कार्यालय समयको आधा समय मतदाताको घरदैलोमा पुग्ने योजना रहेको समेत बताए ।

को हुन् खेलराज पाण्डे ?

५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी गाउँपालिका- २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् ।

१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् ।

आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आवद्ध भए ।

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।

विद्यार्थी राजनीतिपछि तरुण दलमा आवद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए । २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहे ।

श्रीमती सीता भट्टराई पाण्डेय र छोरा अभिषेकका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । आफ्नो निजी घर नभएका पाण्डे ३५ वर्षदेखि डेरामा बस्दै आएका छन् । उनको आफ्नो सवारी साधन पनि छैन ।

पार्टीका कार्यक्रमहरुमा उनी अरुको लिफ्ट मागेर या नजिकमा पैदल हिँडेर पुग्ने गर्छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र टोलसम्म परिचित व्यक्ति हुन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?