+
+

बुझ्दैछु- ती सब बलात्कार रहेछन्

विवाहपछि जसरी पनि शारीरिक सम्बन्धको लागि तयार हुनुपर्छ। विवाहको लागि मन्जुर हुनु नै जिन्दगीभर शारीरिक सम्बन्ध राख्नको लागि मन्जुर हुनु हो जस्तो गरेर सिकाइन्छ।

सरू कँडेल सरू कँडेल
२०७९ जेठ २३ गते ७:३९

यौन मानव जीवनको अभिन्न अंग हो। यौनले नै सृष्टि नै सम्भव भएको हो। तपाईंहरूले पढिरहनु र मैले लेखिरहन सम्भव बनाएको नै यसैले हो। यो फरक कुरा हो कि हाम्रा बा–आमा यौन प्रक्रियामा संलग्न भएका होलान् भनेर हामी मान्न तयार छैनौं तर हाम्रो आफ्नै अस्तित्व त्यही कामको प्रमाण हो।

सामान्यतः कुनै पनि प्राणी जन्मिनको लागि कुनै दुई प्राणी यौन प्रक्रियामा संलग्न हुनुपर्छ। मानिस ती दुर्लभ प्रजातिमा पर्छ जसले यौनलाई सृष्टिको रूपमा मात्र नभई सुख/सन्तुष्टि लिने साधनको रूपमा पनि प्रयोग गर्छ। हरेक दुई व्यक्तिहरूका बीचमा कुनै पनि काम हुनका लागि द्विपक्षीय सहमति आवश्यक हुन्छ। यस्तो सहमति भावना, इच्छा, आवश्यकता आदि कुराले प्रभाव पार्छ। यौन प्रक्रियामा कुनै पनि एक व्यक्तिको सहमति नलिइकन सहभागी गराइन्छ भने त्यसलाई बलात्कार भनेर बुझ्नुपर्छ।

नेपालको मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कारलाई जबर्जस्तीकरणी भनिएको छ। जबर्जस्तीकरणीको परिभाषा दिंदै यहाँ भनिएको छ- ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला तथा बालिकालाई करणी गरेको मानिनेछ।’

एकछिन यो परिभाषालाई बिर्सौं। आमरूपमा बलात्कारको कस्तो परिभाषा वा बुझाइ बनेको छ, त्यसबारे विचार गरौं। हामीलाई बलात्कार यस्तो हुन्छ भनेर देखाउने पहिलो माध्यम सिनेमा बन्यो। बचाउ बचाउ भन्दै दगुरिरहेकी नायिका, पछिपछि आइरहेको खलनायक, नायिका लड्नु, सल थुतिनु, खलनायक हाँस्नु हाहा हाहा आदि।

हामीलाई बलात्कारको अर्को परिभाषा समाजले सिकाउँछ। बलात्कार हुनु भनेको उसको इज्जतमा दाग लाग्नु हो, शारीरिक र मानसिक यातनाले थला पर्नु हो।

समाजले हामीलाई बलात्कार भयो भन्ने बित्तिकै प्रश्न गर्न सिकाउँछ, पीडकलाई होइन पीडितलाई- कपडा कस्तो लगाको ? किन एक्लै गाको ? कोसँग गाको ? के खाको ? किन खाको ? समाजले बलात्कार महिलाको गल्तीले हुने र महिलाको इज्जत जाने विषय बनाएको छ। महिलाले भोग्नुपर्ने सबभन्दा खराब यातना भनेर बुझाउँछ। यी बुझाइहरूले गर्दा नै हाम्रो दिमाग सोच्छ- विचरीको इज्जत गयो, बर्बाद भयो, यस्तो यातना सहेर कसरी बाँचेकी होली ?

बलात्कारको यो बीभत्सता हाम्रो मानसपटलमा जरा गाडेर बस्यो, जसबाट हामी उम्कन सकेनौं। अझ मेरो पुस्ताले त हुर्कंदै गर्दा यथार्थमा नै यति भयानक भयानक बलात्कार देख्यो/सुन्यो कि यो पुस्ता बलात्कार देख्दा भयानकता देख्छ, बलात्कार सुन्दा भयानकता सुन्छ।

म कुनै बेला कथा लेख्थें। ती कथाहरू प्रेम कहानी हुन्थे अनि डब्लुआरआर नामक महिलाहरूको गोप्य समूहमा प्रकाशित गर्थें। त्यतिबेला मलाई धेरै अनुरोध आउँथ्यो कि मेरो कहानी पनि लेख्देऊ। एक दुइटा कहानीलाई मैले लेखें पनि। ती कहानीमा जब शारीरिक सम्बन्धको कुरा आउँथ्यो तब हरेक पटक केटीहरू नाईं भन्थे, हरेक पटक केटाहरू मनाउँथे/फकाउँथे/थर्काउँथे।

केटीले शारीरिक सम्बन्ध राख्न हिच्किचाउनुका कारणहरूबारे कुनै दिन कुरा गरौंला। उतिबेला ती कहानी लेख्दा मैले बुझेकी थिइनँ। केटीहरूले नाईं भन्नु नै स्वाभाविक हो जस्तो लाग्थ्यो। केटाहरू फकाउँछन्, स्वाभाविक हो जस्तो लाग्थ्यो। तर आजकल ती घटना केलाउँदा बुझिरहेकी छु ती सब बलात्कार थिए। त्यहाँ हरेक पटक माया गर्छ्यौ कि नाईं भन्ने प्रश्न हुन्थ्यो। माया भए प्रमाणित गर्नुपर्ने सर्त हुन्थ्यो। विवाह गर्ने वाचा हुन्थ्यो। त्यति जाबो चिज नगरे छोडेर जाने धम्की हुन्थ्यो। शारीरिक सम्बन्ध अहिलेका सीताको लागि माया गर्छु भनेर दिनुपर्ने अग्निपरीक्षा बनेको छ।

एकदिन साथीको फोन आयो। उसले मलाई सुनाइ कसरी नाईं भन्दाभन्दै मन छैन भन्दाभन्दै उसका श्रीमानले उसलाई शारीरिक सम्बन्धको लागि बाध्य पारे। फकाए। उसले नाइ भन्दा मेरा भिनाजुले भने रे- ‘मैले तिमीलाई के कुराको कमी राखेको छु ? मेरो मायामा के कमी भयो ?’

मैले उसलाई भनें- ‘अनि साले मलाई बलात्कार गर्छस् भन्न सकिनस् ?’

साथीको जवाफ आयो- ‘हेर सरु केटा मान्छेलाई जे नाइँ भन्, मान्छन् तर शारीरिक सम्बन्ध अहँ।’

यहाँ भनिन्छ- ‘खबरदार ! तँ नरोइकन बलात्कार भयो भन्छेस् ? खोइ शरीरमा घाउहरू ? खोइ त्यो विवशता ? खोइ ती रगत र आँशुका टाटाहरू ? खोइ कपडा च्यातिएको ?’ मसँग तपाईंको सोचलाई थुक्ने बाहेक उपाय छैन

यी सब घटनाहरूका पुरुषलाई भेटेर एकपटक सोध्ने हो भने कुनै पनि पुरुष यो मान्न तयार हुने छैनन् कि उनीहरूले ती महिलासँग गरिरहेको चिज मनाएर राखेको शारीरिक सम्बन्ध होइन, बलात्कार हो। नाइँ भनेको मैले भाउ खान्छु, मलाई फका भनेको हो बुझ्ने समाजमा हामी छौं। अझै कति दशक लाग्ने हो कुन्नि हामीलाई नाइँ भनेको नाइँ नै हो भनेर बुझ्न ?

हाम्रो दिमागमा दौडिरहेकी नायिकाको अनि संसार थर्काएर हाँसिरहेको खलनायकको राज यस्तो छ कि ती पुरुषले बलात्कार भयो भन्दै दगुर्न नसकेका आफ्ना प्रेमिका त्यो नायिका होली भनेर कल्पना गर्न सकेनन्। बलात्कार गरेपछि संसारकै घिनलाग्दो हाँस्नुपर्छ भनेर बुझेकाहरूले किन राख्थे र आफैंलाई त्यो बलात्कारको ठाउँमा ? नायकको रूपमा आफूलाई पाएका यी पुरुषहरू आफूलाई किन राख्थे खलनायकको ठाउँमा ? अँ, साँच्ची नायकहरूले नायिकाको बलात्कार गरे कि गरेनन् होला कहिल्यै ?

एक त हाम्रो समाजले यौनको परिभाषा नै पुरुषमैत्री बनाएर राखिदिएको छ। विवाह गर्छु म तिमीसँगै भनिदिएपछि शारीरिक सम्बन्ध राख्न मान्नुपर्ने परिस्थितिको सिर्जना कसले गरिदिएको हो ? यसको त सीधा सीधा के अर्थ हुन्छ- विवाह पछि जसरी पनि तिमी शारीरिक सम्बन्धको लागि तयार हुनुपर्छ। विवाहको लागि मन्जुर हुनु नै जिन्दगीभर शारीरिक सम्बन्ध राख्नको लागि मन्जुर हुनु हो जस्तो गरेर सिकाइन्छ। एक त महिलालाई तँ साधन होस्, तँबाट शारीरिक सुख लिइन्छ भनेर सिकाइन्छ। अनि पुरुषलाई त ‘तँ केटा मर्द होस्, तेरो हक हो तेरो श्रीमतीबाट यौन सुख लिने’ भनेर सिकाइन्छ।

त्यसैले त मेरो साथीलाई भनियो- आऊ मैले तिमीलाई माया दिएँ। तिमी मलाई शारीरिक सुख देऊ। त्यसैले ती कहानी पठाउने महिलाहरूलाई भनियो, विवाहपछि पनि तिमी यसरी नै तयार हुनुपर्छ, अहिल्यै तयार हौ।

भनिन्छ- विश्वका हर एक महिला यौन दुर्व्यवहार भोग्छन्। यसमा म यो पनि थप्न चाहन्छु- विश्वका हरेक महिला वैवाहिक बलात्कारको सिकार हुन्छन्। अझ नेपाल र भारत जस्ता देश जहाँ महिला विवाहपछि पुरुषको घरमा जानुपर्छ, उसको बिस्तारामा, उसकै खाएर, उसकै छेउमा सुतिरहँदा भनिएको नाईं कति सुनिएला? यी नायिकाहरू भाग्न सक्दैनन्, अहिले बलात्कार गरिरहेको कुनै खलनायक होइन।

विवाह हुनु नै शारीरिक सम्बन्ध बनाउने लाइसेन्स प्राप्त गर्नु हो भनेर भनिरहँदा, ती महिलालाई सोध्नुस्, जो बच्चा नहुनुको पिरलो खपिरहेछन्। दिनदिनै सासू र समाजको ताना खपिरहेछन् कि बच्चा कहिले पाउने हो? के तपाईंलाई लाग्छ उनीहरू स्वेच्छाले शारीरिक सम्बन्ध बनाइरहेछन्? फोहोरी नै सुनियोस् तर टाङ फटाएर आफ्नो अन्डासम्म उसको शुक्रकिट पुगोस् भनेर कामना गरिरहेकाहरूलाई के यौन सुख ? के यौन सम्बन्ध ? यो पनि बलात्कारको एउटा नमूना हो। म आफैं पनि मेरो आमा–बाको विवाहको १९ वर्षपछि जन्मेकी बच्चा हुँ, मलाई मेरी आमालाई सोध्न डर लाग्छ, के म मेरा बाले गरेको बलात्कार को परिणाम हुँ ?

अहिले दिमागमा आएका बलात्कारका घटनाहरूमा किशोरी गायिका, पल शाह, घरबाट चोरेर लगिएकी बच्ची, विवाह गर्छु भनेर माग्न आउँदा पटक पटक बलात्कार गरिएकी महिला, जसलाई मानहानिको मुद्दा लगाएर सजाय तोकिएको थियो। अनि अरु धेरै पीडित बालिका, किशोरी र …।

तपाईंलाई थाहा छ यी बलात्कारका घटना बाहिर आएसँगै के गरियो ? पहिला हाम्रो दिमागले हामीलाई छुट्याउन भन्यो कि कुन बलात्कार हो, कुन बलात्कार होइन। अरे नरोइकन कहाँ बलात्कार, कसरी बलात्कार, ‘कुरा मिल्दा चमत्कार नमिलेपछि बलात्कार’ कहाँ सुने सुने जस्तो लागेको भए यी कुरा तपाईंले किशोरी गायिका र पल शाह प्रकरणबारे कुरा हुँदा सुन्नुभएको वाक्य हो।

एउटा बिस्तारामा सुतेपछि, माया गरेर विवाह गर्छु भनिसकेपछि शारीरिक सम्बन्धको लागि तयार हुनुपर्छ भन्ने मान्यतालाई पछ्याएर आएको हो भनाइ। यी भन्नेहरू आफैंले कति बलात्कार गरे होलान् ?

ती किशोरी गायिका अहिले १७ वर्षकी छिन्। उनको बलात्कारको श्रृंखला सुरु हुँदा उनको उमेर १५ थियो। एउटा ३० नाघेको स्टारडम, पावरले मत्त पुरुषले १५ वर्षको एउटा नाबालिका नभैसकेकी मस्तिष्क फकाउन कति सजिलो थियो होला? हाम्रो खिया लागेको मस्तिष्कले सोच्न सकेन।

अनि दिनदिनै उनका फोटोको मुनि गएर गाली गर्ने, हर दिन ट्रोल गर्ने, पल शाहको पक्षमा गएर नाराबाजी गर्ने समाजले यो पत्तो पाउन सकेन रे किन गायिकाले बयान फेरिन् ? यति नाटक हिन्दी सिरियलमा पनि हुन्न।

‘जा! ऐनामा गएर आफ्नो अनुहार हेर्, हरेक दिन दिएको गाली सम्झी। त्यसलाई हजारले गुना गर्। अनि फेरि सोध्- बलात्कार थिएन भने किन बयान फेरेकी गायिका?’

जब ती बालिकालाई चोरेर लगेर बलात्कार गरियो, रोइ भनेर बियरको बोतल टाउकोमा फुटाइयो। हाम्रो समाजले जिब्रोको टुप्पोमा लागेको रगत चाट्यो। अनि भन्यो- यो पो बलात्कार अहा। एउटा रुन बाहेक नजानेकी बच्चीको बलात्कार हुँदा समाजले उत्सव मनायो, बलात्कारीलाई धन्यवाद दियो। बलात्कारका यस्तै उदाहरण पेश गर्नु भनेर। हामीलाई त एक किशोरी गायिकालाई देखाउनु थियो- ‘हेर बलात्कार यस्तो पो हुन्छ। तैंले भोगेको बलात्कार के बलात्कार ? यो पो बलात्कार।’

सुस्मिता, रेजिना, निर्मला, सम्झना यी सब बलात्कारको भयानकताले बलात्कार स्वीकार गरिएका नारीहरू हुन्। बलात्कृतको लास भेटिनु बलात्कारको श्रेणीको सबैभन्दा निकृष्ट बलात्कार हो। बलात्कृत नारी बलात्कारले विक्षिप्त भएर रुँदै न्याय माग्न आउनु पहिलो तहको बलात्कार हो।

यहाँ भनिन्छ- ‘खबरदार ! तँ नरोइकन बलात्कार भयो भन्छेस् ? खोइ शरीरमा घाउहरू ? खोइ त्यो विवशता ? खोइ ती रगत र आँशुका टाटाहरू ? खोइ कपडा च्यातिएको ?’

मसँग तपाईंको सोचलाई थुक्ने बाहेक उपाय छैन। आफूभित्र तयार भइरहेको बलात्कारीलाई मार्नुस्। अनि आफ्नो दिमागमा भइरहेको बलात्कारको परिभाषालाई पुछेर अर्को परिभाषा लेख्नुस्। यदि शारीरिक सम्बन्ध बनाइरहेका दुवै व्यक्तिको उद्देश्य शारीरिक सुख प्राप्त गर्नु छ भने त्यो यौन सम्बन्ध हो, यदि यी दुईमध्ये एकको मानसिकतामा अलिकति पनि दबाव परेर शारीरिक सम्बन्ध बनिरहेको छ भने त्यो बलात्कार हो। संसारमा फकाएर, मनाएर बनाइएको शारीरिक सम्बन्धको अस्तित्व छैन। त्यो बलात्कार नै हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?