१ पुस, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालको क्याबिनमा सन्नाटा छ । जहाँ एक युवती टोलाइरहेकी छिन् ।
उनी कहिले छततर्फ हेर्छिन् त कहिले भुइँतर्फ । केही बोल्दिनन् । कुनै प्रतिक्रिया पनि जनाउँदिनन् । तर उनको त्यो अव्यक्त अनुहारमा भयंकर आँधी मडारिएको प्रष्टै देख्न सकिन्छ ।
उमेरले २५ वर्ष टेक्दै गरेकी यी युवतीको पेटमा सात महिनाको गर्भ छ । त्यो गर्भमा रहेको बच्चालाई कसरी जन्माउने, कसरी हुर्काउने, कसरी पालनपोषण गर्ने ? भन्ने पीडा त छँदैछ । त्यो भन्दा पनि धारिलो प्रश्नले उनको हृदय रेटेको छ, ‘आफ्नो कोखबाट जन्मने सन्तानलाई के चिनारी दिने ? कसको छोरो, छोरी भन्ने ?’
किनभने, उनी आज जुन स्थितिमा आइपुगिन्, त्यसको पछाडि विवशता, धोका र अत्याचारको कहालीलाग्दो कथा लुकेको छ ।
०००
जाजरकोटकी निरुपा (नाम परिवर्तन) १० दिन अगाडि न्याय माग्दै राजधानीको सडकमा आइपुगिन् । २५ मंसिरदेखि उनी माइतीघर मण्डलामा अनसन बस्न थालिन् ।
तीन रातसम्म सडकमै निराहार बसेकी उनको आवाज कसैले सुनेन ।
चिसो सडकको बासले स्वास्थ्य अवस्था बिग्रियो । पेटमा बच्चाले चहलपहल गर्न छोड्यो ।
प्रहरी प्रशासनले उनको हालत देखेर प्रसूति अस्पतालसँग समवन्य गर्यो । आइतबार साँझ अस्पताल भर्ना गरियो ।
केही दिनदेखि उनी भोकै छिन् । खानै मन गर्दिनन् । चिकित्सकको निरन्तर निगरानीमा उपचार चलिरहेको छ । तर भोकभन्दा उनलाई न्यायको तिर्खा ठूलो छ ।
‘ममाथि बलात्कार भयो भनेर पटकपटक प्रहरी र अदालत धाएँ,’ उनी भन्छिन्, ‘तर कसैले सुनेन । राज्यको न्याय प्रणालीले मलाई न्याय दिएन ।’
०००
हामीसँगको कुराकानीको सुरुवातमा निरुपाले भनिन्, ‘कतैबाट पनि न्याय पाइनँ । सडकमा बस्छु । अब सडकमै बच्चालाई जन्म दिन्छु ।’
सरकारसँगको उनको स्पष्ट माग छ- आफूमाथि बलात्कार गर्ने दार्चुलाका भुपेन्द्रसिंह ठगुन्नामाथि कानुनी कारबाही होस् । जन्मिन लागिरहेको शिशुको अधिकार सुरक्षित गरियोस् ।
भुपेन्द्र सिंहसँग उनको ४ वर्षअघि सुर्खेतमा चिनजान भएको थियो ।
निरुपाका भाइ भुपेन्द्रका साथी थिए । सुर्खेतमा डेरा लिएर निरुपा स्नातक पढिरहेकी थिइन् । मंसिर २०७८ मा निरुपा महिला विकास निरीक्षकको परीक्षा दिन काठमाडौं आएकी थिइन् । केही महिना बहिनीको डेरामा बसेर परीक्षाको तयारी गर्ने योजना बुनेकी थिइन् ।
चिनजान भएकै केही दिनमा फेसबुकमा भुपेन्द्रले रिक्वेस्ट पठाए । तर उनले स्वीकार गरिनन् ।
भुपेन्द्रले पटकपटक म्यासेज गर्न थाले । अनि मात्रै बोलचाल सुरु भयो । ‘धेरैपछि फेसबुकमा पठाएको रिक्वेस्ट एक्सेप्ट गरेको थिएँ,’ उनी सम्झिन्छिन्, ‘सुरुमा त म बोल्दिनथें । तर लगातार म्यासेज गर्न थालेपछि बोल्न सुरु गरेको थिएँ ।’
त्यतिबेला निरुपा काठमाडौंमा थिइन् ।

भुपेन्द्र प्रहरी जवान भइसकेका थिए । सर्वोच्च अदालतमा कार्यरत थिए ।
उनले एक दिन सोधिन्- तपाईं कुन जातको ?
भुपेन्द्रले क्षेत्री भएको बताए ।
तर, उनको मनमा डर पैदा भयो ।
भुपेन्द्र उनीभन्दा सानो जातको भएकाले घरपरिवारले स्वीकार गर्ने अवस्था थिएन ।
उनलाई थाहा थियो- यो सम्बन्धलाई अगाडि बढाउन सकिँदैन । भुपेन्द्रलाई आफूसँग नबोल्नु भन्दै दूरी बढाउन थालिन् ।
तर, भुपेन्द्र भने पछि लाग्न छोडेनन् । अनि निरुपा बसेकै कोठामा पनि आउन थाले ।
‘किन नबोलेको, किन भेट्न नआएको भन्दै रक्सी खाएर कोठामा कुटपिट गर्न थाले,’ निरुपाले भनिन्, ‘दिनदिनकै टिर्चर सहन नसकेर परीक्षा नदिई सुर्खेत फर्किएँ ।’
०००
सुर्खेत फर्किएपछि कहिलेकाहीँ भने कुरा भइरहन्थ्यो । ५ महिनापछि ठगुन्ना सुर्खेत आए । भेटघाटकै क्रममा निरुपाको डेरासम्म पुगे ।
‘दिउँसो भेट भएको थियो,’ उनी सम्झिन्छिन्, ‘साँझ उनी रक्सी खाएर डेरामै आए ।’
त्यो दिन कोठामा आफू एक्लै भएको थाहा पाएर ठगुन्ना आएको उनको दाबी छ । उनले बाहिर जान आग्रह गरिन्, परिवारलाई फोन गर्ने चेतावनी पनि दिइन् ।
तर, त्यो आवाज सुन्ने कोही थिएन । १ वैशाख २०७९ को रात, उनी पहिलो पटक भुपेन्द्रबाट बलात्कृत भइन् ।
घटनापछि उनले आफ्नो र ठगुन्नाका परिवारलाई जानकारी गराइन् ।
‘चार लाख पैसा दिएर चुप लगाउन खोजियो,’ उनी भन्छिन्, ‘तर मैले पैसा लिन मानिनँ । बरु न्यायका लागि सम्बन्धित निकायमा जाने निधो गरेँ ।’
प्रहरीमा जाहेरी दिन जाँदा सुरुमा लिनै नमानेको उनको आरोप छ ।
२ वैशाखमा दुवै पक्षलाई बोलाएर सोधपुछ गरियो । मिलापत्र गरेर बस्नु भनेर प्रहरीले सुझायो ।
मिलापत्र गरे पनि भुपेन्द्रले पटकपटक जबरजस्ती करणी गरेको उनको आरोप छ । जहाँ गए पनि भुपेन्द्रको कुटपिट र हिंसा नरोकिएको उनको गुनासो छ ।
‘मिलापत्र भएको एक महिना नबित्दै पटकपटक ममाथि जबरजस्ती करणी गरे,’ निरुपाले आँसु खसाल्दै भनिन्, ‘डेरा सरे पनि पत्ता लगाएर कुटपिट गर्दै जबरजस्ती करणी गर्ने गर्थे ।’
त्यसपछि उनी मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगिन् । तर प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनको आरोप छ । अनि हुलाकबाट जाहेरी पठाइन् ।
‘भुपेन्द्रका आफन्त शक्ति र पहुँचले भरिएका छन् । कोही सीडीओ, कोही अदालतको कर्मचारी, कोही सरकारी वकिलसमेत छन्,’ निरुपा भन्छिन्, ‘परिवारले मुद्दा फिर्ता लिनू भनेर दबाब दिन थाले । भुपेन्द्रले कुटपिट गर्न छोडेनन् ।’
हुलाकबाट पठाएको जाहेरी दर्ता भयो । कानुनी प्रक्रिया अघि बढ्यो । तर जिल्ला अदालत सुर्खेतले भुपेन्द्रलाई सफाइ दियो । यतिबेला आफूमाथि षडयन्त्र गरेर र झुटो कागजजात बनाइएको उनको आरोप छ ।
उनी भन्छिन्, ‘मैले सत्य बोलेको थिएँ । तर कागजातमा आउँदा फेरिएर आयो । पीडक प्रहरी भएकाले घटना तोडमोड गरियो ।’
त्यसपछि उनी उच्च अदालत पुगिन् । सुर्खेत उच्च अदालतले पनि २०८१ पुसमा उही फैसला दोहोर्यायो । त्यहाँ पनि भुपेन्द्रले सफाइ पाए ।
सफाइपछि पनि बलात्कार
उच्च अदालतबाट सफाइ पाएपछि १ जेठ २०८२ को राति भुपेन्द्र फेरि उनको डेरामा आए । उनले रक्सी खाएर इज्जतमा दाग लगाउन खोजेको भन्दै कम्मर पेटीले कुटपिट गरे ।
‘त्यस दिन पनि बलात्कार गरे । कसैलाई केही भन्यो भने ज्यान मार्ने धम्की दिए,’ निरुपा भन्छिन्, ‘डरले कसैलाई केही भनिनँ ।’
ज्यानकै धम्कीपछि उनी चुप लागिन् ।
केही महिनापछि वाकवाकी, चक्कर, खान मन नलाग्ने हुँदै गयो । जाँच गर्दा साढे तीन महिनाको गर्भ बसेको थाहा भयो ।
उनी भन्छिन्, ‘महिनावारी नियमित हुने गरेको थिएन । कहिलेकाहीँ दुई महिनापछि बिराएर मात्रै महिनावारी हुन्थ्यो । त्यसैले गर्भ बसेको थाहा नै भएन ।’
गर्भपतन गराउन खोज्दा अस्पतालले कानुन देखायो ।
तीन महिनाभन्दा बढी भइसकेकाले प्रहरी रिपोर्ट वा अदालतको आदेश चाहिने बताएको उनको आरोप छ ।
त्यसबेला साथीले सल्लाह दिएकी थिइन्, बच्चा फाल्दा भोलि उल्टै मुद्दा लाग्ने र न्यायका लागि बच्चालाई जन्म दिनुपर्छ ।’
त्यसपछि उनी न्यायका लागि लड्ने निधो गरिन् ।
अस्पतालको रिपोर्ट बोकेर उनी फेरि जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगिन् । तर प्रहरीले मुद्दा दर्ता गर्न मानेन ।
उनले सबै ढोका ढकढक्याइन् । महिला सेल, महिला आयोग, राष्ट्रिय महिला संघ जहाँ पुग्न सकिन्छ, त्यहाँ पुगिन् ।
तर, कतैबाट पनि सहयोग भएन ।
‘भुपेन्द्रको परिवारले धम्की दिइरहे । हामीसँग पहुँच छ । तँलाई मार्दिन्छौं, काटिदिन्छौं भन्ने डर देखाइरहन्थे,’ निरुपाले भावुक हुँदै भनिन् ।
गत असोजमा उनले तीन दिनसम्म जिल्ला प्रहरी कार्यालय सुर्खेतमा धर्ना दिइन् । अनि मात्रै प्रहरीले उजुरी लिन मानेको उनको आरोप छ ।

भुपेन्द्रको खोजी
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबरजस्ती करणीको आरोपमा भुपेन्द्र सिंह ठगुन्नाको खोजी कार्य तीव्र पारेको छ ।
सुर्खेतका प्रहरी नायब उपरीक्षक (एसपी) सुदीपराज शाहीका अनुसार १० असोजमा मुद्दा दर्ता भएपछि उनको खोजी भइरहेको छ।
‘हामीले सुर्खेत, काठमाडौं र उनको घर दार्चुलासम्म खोजी गरिरहेका छौं । उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्,’ एसपी शाहीले अनलाइनखबरसँग भने ।
शाहीका अनुसार २५ मंसिर २०८० मा उनले भुपेन्द्र सिंह ठगुन्नाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराइन् । त्यतिबेला प्रहरी कर्मचारी रहेका ठगुन्ना निलम्बित भए र जिल्ला अदालतले उनलाई २ लाख ५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
अदालतको आदेशपछि पनि दुवैबीच सम्पर्क कायमै रहेको एसपी शाहीले बताए । ‘उहाँले सँगै बस्ने प्रयास पनि गर्नुभएको थियो,’ उनले भने ।
गत जेठमा आफूमाथि पुनः जबरजस्ती करणी भएको भन्दै उनले ७ असोजमा जाहेरी दिइन् । प्रहरीले १० असोजमा मुद्दा दर्ता गरी जबरजस्ती करणीसहितको अनुसन्धान सुरु गर्यो ।
मुद्दा दर्ता हुँदासम्म उनी करिब तीन महिनाको गर्भवती भइसकेकी थिइन् ।
यसैबीच, सर्वोच्च अदालतबाट ताप्लेजुङ सरुवा भएका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर हुन नगएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा उनलाई सेवाबाट हटाएको थियो ।
भुपेन्द्र हाजिर नभएकोले सेवाबाट हटाइएको जानकारी पाएको एसपी शाहीले बताए ।
प्रहरीले भुपेन्द्र अर्की महिलासँग बसिरहेको जानकारी पाएको र विभिन्न स्थानमा खोजी गरिरहेको एसपी शाहीले बताए ।
‘हामी प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर खोजी कार्य तीव्र पारेका छौं । एक-दुई दिनभित्र नतिजा आउने आशा गरेका छौं,’ उनले भने ।
अहिले निरुपा अस्पतालमा एक्लै छिन् । घर-परिवारले कसैले पनि साथ नदिएको उनको गुनासो छ ।
‘कसैको साथ पाएको छैन । पेटमा भएको शिशुको बाउ बेपत्ता छन्,’ निरुपा भन्छिन्, ‘न्याय नपाएसम्म सडकमा बस्छु । त्यहीँ बच्चालाई जन्म दिन्छु ।’
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4