+
+
डिजिटल नेपाल कन्क्लेभ २०२२ :

नयाँ प्रविधिदेखि डिजिटल लिडरसीपसम्‍म छलफल

सहदेव चौधरी सहदेव चौधरी
२०७९ असार ५ गते १९:०९

५ असार, काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन पाँच वटा विषयमा छलफल भएको छ ।

शनिबार सुरू भएको कन्क्लेभको दोस्रो दिन इमर्जिङ टेक्नोलोजी, डिजिटल उद्यमशीलता, सुरक्षा र गोपनीयता, डिजिटल फिनोभेसन, डिजिटल लिडरसीपको विषयमा बृहत छलफल भएको आईसीटी फाउन्डेसन नेपालका अध्‍यक्ष राजन लम्सालले जानकारी दिए ।

छलफलमा इमर्जिङ टेक्नोलोजीबारे मदन भण्डारी युनिभर्सिटी, साइन्स एण्ड टेक्नोलोजी डेभलपमेन्ट बोर्डका प्रमुख डा. सुरेश मानन्धर र एनसेलका चिफ टेक्नोलोजी एण्ड इन्टरप्राइजेज बिजनेस अफिसर अदिल इसरार, अनुसन्धानकर्ता दोभान राई र पाइला टेक्नोलोजीका सीईओ विनय राउतले नेपाल विस्तारै डिजिटलाइजेसनको बाटोमा गइरहेको दाबी गरे ।

हाल घरमा, विजुलीको बिल, इन्टरनेट, मोबाइल रिचार्ज, खानेपानीको बिल तिर्ने काम स्मार्ट तरिकाले भइरहेको भन्‍दै उनीहरुले केही वर्षमै नेपालका मुख्‍य शहरहरुमा इमर्जिङ टेक्नोलोजीको प्रयोग हुने दाबी गरे ।

पाइला टेक्नोलोजीका सीईओ विनय राउतले भने, ‘अब हामी विस्तारै स्मार्टतर्फ लम्किरहेका छौं । किनकी हामी मोबाइलको रिचार्ज अनलाइनबाटै गर्न थालेका छौं । सपिङ अनलाइनबाटै गर्न थालेका छौं । खानेपानीको बिल, विजुलीको बिल र इन्टरनेटको बिल मोबाइलबाटै तिर्न थालेका छौं भने अबको दुई/तीन वर्षमा हामी इमर्जिङ टेक्नोलोजीमा कनेक्ट हुन सक्छौं ।’

एनसेलका चिफ टेक्नोलोजी एण्ड इन्टरप्राइजेज बिजनेस अफिसर अदिल इसरारले सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रविधिको प्रयोग र उपयोगितालाई समेट्न नसकेको गुनासो गरे । उनले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रविधिलाई झारा टार्ने हिसाबले लियो । खाली कम्प्युटर पुर्‍याउने र इन्टरनेट पुर्‍याउने भन्यो । तर त्यसको लागि भौतिक संरचना र पूर्वाधार तयार गर्नेबारे केही पनि सोच्न सकेन । यसले स्थानीय तहमा इमर्जिङ टेक्नोलोजीको विकास/विस्तारमा बाधा पुग्छ। ‘

यस्तै अनुसन्धानकर्ता दोभान राईले प्रविधिमा भइरहेको प्रयोग र पहुँचलाई नेपालले बुझ्‍न नसकेकै कारण आज युवाहरु मात्र नभई दक्ष र सीप विदेश पलायन भइरहेको दाबी गरिन् । उनले भनिन्, ‘नेपालमा दक्ष र सीप भएका व्‍यक्तिले सरकारले कुनै वास्ता गरेन । फलस्वरुप उनीहरु ब्रेन ड्रेन भए। खासगरी प्रविधिमा अध्‍यनन गर्न गएकाहरु विदेशमै बसे । नेपालमा ल्याउन उनीहरुलाई सरकारले कुनै पहल नै गरेन । यसले प्रविधिको नयाँ नयाँ खोज अधुरै रह्‍यो।’

यस्तै डिजिटल उद्यमशीलता र प्रोत्साहन विषयको छलफलमा रारा ल्याबका सीईओ मनोज घिमिरे, राइड सेयरिङ सेवा टुटलका सीईओ शिक्षित भट्ट र हाम्रो पात्रो एपका संस्थापक शंकर उप्रेती र नेपाल पेटाइमकी चिफ अपरेसन अफिसर मल्लिका भट्टराईले आ-आफ्नो अनुभव बाँडेका थिए ।

टुटलका सीईओ शिक्षित भट्टले काठमाडौंमा बाइक राइडरको संख्या धेरै देखेपछि यसलाई प्रविधिको माध्यमबाट कसरी यात्रुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ भन्ने सोचाइ आएको र टुटल सुरु गरेको बताए ।

‘टुटलले काठमाडौंमा बाइक राइडरहरुको आवश्‍यकता बुझ्‍यो र केही हदसम्‍म युवाहरुलाई आकर्षित गर्‍यो’ भट्टले भने । उनले यसपछि टुटलसँग पठाओ लगायतका राइड सेयरिङ एपहरु उद्यमशीलताको बाटोमा आएको बताए ।

यस्तै नेपाल पेटाइमकी चिफ अपरेसन अफिसर मल्लिका भट्टराईले पनि प्रविधिमा महिलाको उपस्थिति निकै कम रहेको बताइन् । ‘मैले प्रविधि क्षेत्रमा आउनुको कारण महिला सहभागिता कम देखेर नै हो । महिलाहरु प्रविधिमा पनि अब्बल हुन सक्छन् भनेर आएकी हुँ । प्रविधि लगायत धेरै क्षेत्रमा महिलाको पहुँच नहुँदा मैले यसलाई नै प्रोफेशन बनाएँ’ उनले भनिन् ।

प्रविधिले कसैलाई पनि विभेद नगरेको भन्‍दै उनले सीप र दक्षता देखाउनले काम गर्न सक्‍ने उनले दाबी गरिन् ।

कन्क्लेभको अन्तिम शत्रमा डिजिटल नेपालको अवधारणा पूरा गर्न के गर्ने भन्ने विषयमा डा. राजीव सुब्बा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, प्रधानमन्त्री आईटी सल्लाहकार दिपेश विष्टले आइतबार साँझ छलफल गरेका छन् ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?