+
+
पुस्तक समीक्षा :

‘विसङ्गत बस्ती’ नियाल्दा…

तीर्थराज अधिकारी तीर्थराज अधिकारी
२०७९ असार ७ गते १२:५५

मेरो धर्ती मेरो मात्रै आकाश भन्यो भने

प्रकृतिको दोहनलाई विकास भन्यो भने                           

साझा घर हो सहँदैन प्रकृतिले पनि

आफ्नो मात्रै समस्याको निकास भन्यो भने।

(धर्तीको गीत-५, पेज-१९)

मानिसलाई सधैं प्रकृतिले सहायता गरेको हुन्छ, तर कहिलेकाहीं प्रकृतिलाई मानिसको सहयोगको जरुरत पर्दछ।

‘धेरैका यहाँ धैरै कुरा भए, कतिका सब चाहना पूरा भए

मृगतृष्णा पो देखिएछ सायद, दुनियाँको सपना अधुरा भए

जुग फेर्नका लागि ज्यूँदै जलेका थिए ती महान सपूत

तिनैका क्रान्तिले फेरिए कति, तिनै ज्योति आज अधुरा भए।’

(महान सपूत, मुक्तक-३१ पेज ५५)

त्यागी राजनेताहरूको सपना चकनाचूर भयो। उनीहरूको आदर्श खेर गयो। जुन आदर्शको आधारमा जनता एकजुट भएका थिए, अब रहेन। प्रजातन्त्र नाम मात्रको प्रजातन्त्र रह्यो। भोटब्याङ्कहरू खडा भए। जातिवादलाई बढावा मिल्यो। धार्मिक तनाववाद एकछत्र भएर निस्कियो। विस्तार विस्तार देश आर्थिक पराधीनताको परचक्रमा डुब्न पुग्यो। आतङ्कवादी गतिविधिको प्रचूर मात्रामा फैलावट, धार्मिक मतान्धता, भ्रष्टाचारको विकराल रूप र आफ्नै नेताहरूबाट आफ्नै देशको भक्षण हुने देशका रूपमा चिनिन पुगेको छ, अमूक देश।

‘सर्पहरू नाग भएको बस्ती हो यो

बिरालाहरू बाघ भएको बस्ती हो यो

इमानीहरू बेइमान कहलिए अनौठो हुँदैन

चन्द्रमा भित्र दाग भएको बस्ती हो यो।’

–(विसङ्गत बस्तीमा, मुक्तक-९३, पेज ११७)

सरकारको बारेमा महान् दार्शनिक कन्फ्युसियसले भनेका छन्, ‘तीन वटा कुरामा सरकारले ध्यान राख्नुपर्ने आवश्यकता हुन्छ। त्यो हो– युद्ध सामग्री, खाद्य सामग्रीको प्रचुरता र सरकारप्रति जनताको विश्वास। यीमध्ये कुनै छोड्नुपर्दा युद्ध सामग्री छोड्न सकिन्छ। त्यसपछि खाद्य सामग्री पनि छोड्न सकिन्छ। तर, सरकारप्रति जनताको विश्वास टुट्यो भने त्यो देश चल्न सक्दैन।’

तीर्थराज अधिकारी

माथि उद्धरण गरिएका मुक्तक वरिष्ठ कवि तथा मुक्तकाकार डा. ऋषि बस्ताकोटीको भर्खर मात्र प्रकाशित मुक्तक संग्रह ‘विसङ्गत बस्ती’बाट जस्ताको तस्तै उतारिएका हुन्। १५० पृष्ठमा १२५ मुक्तक समेटिएको यो पुस्तक संग्रहणीय एवं पठनीय छ। भाषामा गति छ। यो पवित्र धरतीको बस्ती, प्रकृति, जनजीवन र संघर्षशील जिजीविषा यस संग्रहको प्रत्येक मुक्तकमा दृष्टिगोचर हुन्छ। मुक्तकाकारको हृदयको आवेग र मनमा उकुसमुकुस भएका पीडा अधिकांश मुक्तकमा बोलेको भान हुन्छ। सामाजिक, राजनैतिक घटनाक्रमको नाडी छामेर आफ्नो पक्षधरता राख्न कवि यस संग्रहमा सफल छन्।

यो ग्रन्थ समसामयिक, स्वाभाविक र ओजपूर्ण छ। शब्द र भावले पाठकको मनमा रस-सलिलता प्रवाहित हुन्छ। सहजता र सरलताको अनुपम मिलनले सम्पूर्ण पाठकको मन उद्वेलित तथा झङ्कृत पार्दछ।

यस ग्रन्थमा देशको व्यवस्थापकीय विद्रुपता उद्घाटित भएका छन्। देश वा समाजभित्र रहेको विसंगतिको रहस्योद्घाटन गर्न कविले व्यञ्जनापूर्ण शैलीको प्रयोग गरेका छन्। यहाँ कवि आत्मा बोलेको छ। यो चिरस्थायी एवं अविस्मरणीय कृति बनेको छ।

यसभित्र मानव मूल्य र सम्बन्धको गहिरो पाटो देखा परेको छ। वैज्ञानिक युगको आशातीत वास्तविकतालाई उत्खनन् गर्दै आधुनिक मानव जिज्ञाशाको उद्घाटन छ यस संग्रहमा।

जीवनको धूप-छायाँ, उन्नति अवनति, कल्पनाको समाहार र भाषाको समास शक्ति मुक्तक लेखनका आधार हुन्। एक भाव, एक प्रसंग र एक रस मुक्तकको चिनारी हो। यो निर्बद्ध छ। आचार्य दण्डीले पनि मुक्तकलाई अनिबद्ध काव्यको रूपमा स्वीकारेका छन्।

संस्कृत काव्यमा सर्वप्रथम मुक्तक शब्दको प्रयोग आनन्दवर्धनले गरेका हुन्। चमत्कारपूर्ण क्षमता भएको एउटा श्लोकलाई पनि मुक्तक भनियो। यसमा एक पद अर्को पदसँग मुक्त हुनाले पनि यसलाई मुक्तक भनियो। यो पूर्ण स्वतन्त्र र सम्पूर्ण अर्थ दिने हुनाले यसमा मुक्तकको मुक्तता मुखरित हुन्छ। मुक्तक पठनीय र श्रवणीय हुनु नितान्त जरुरतको कुरा हो।

पाठक मनोवेगको सुखद सञ्चार नै मुक्तकको आत्मा हो। मुक्तकको समाहार शक्तिले महफिललाई रंगीन बनाउँछ। कुनै पनि मुक्तकको विशेषता भन्नु नै थोरै शब्दहरूमा धेरै गहनता पाइनु हो। यसैले होला हिन्दी साहित्यमा मुक्तकलाई ‘गागरमे सागर’ भन्ने प्रचलन पनि छ। नूतन आनन्द, अद्भुत काव्य स्वाद तथा मानसिक तृप्ति अनुभव गराउन सक्ने मुक्तक नै उत्तम मुक्तक कहलाउन सक्दछ। कल्पना र शब्द संयोजन मिल्यो भने त्यहाँनेर एउटा प्रकाश वा रोशनी पैदा हुन्छ, त्यो नै मुक्तकको उज्यालोपन हो।

अनुभव, ज्ञान र अभिव्यक्तिको क्षमताले विचार तत्वलाई भावपरक बनाउँछ। मुक्तक सरल, सहज र बोधगम्य हुनु सर्जकको सफलता हो। उनका रचनाहरूले अन्तस्तलबाट नै युग र हृदयको प्रयोग गरेर आफ्नो रचनालाई समादरणीय सामग्री बनाएका छन्। यिनै पक्षहरू यस संग्रहका विशेषता हुन्।

यो ग्रन्थ समसामायिक, स्वाभाविक र ओजपूर्ण छ। शब्द र भावले पाठकको मनमा रस-सलिलता प्रवाहित हुन्छ। सहजता र सरलताको अनुपम मिलनले सम्पूर्ण पाठकको मन उद्वेलित तथा झङ्कृत पार्दछ। प्राञ्जल भाषा, सुसंस्कृत शब्द योजना र ओजिलो भावले गर्दा यो ग्रन्थले नेपाली मुक्तक जगतमा एउटा नव चेतनाको फराकिलो आयाम थपेको महसुस गरेको छु। तसर्थ पनि यो ‘विसङ्गत बस्ती’ मा समय मिलाएर एकपटक पुग्नै पर्ने ठान्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?