+
+

राष्ट्र बैंकको नीतिले लगानीकर्ता सेयर बेच्ने दबावमा : धितोपत्र बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते २०:०६

७ असार, काठमाडौं । सेयर बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ता सेयर बेच्ने दबावमा परेको बताएको छ । मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर धितो कर्जामा ४/१२ को सीमा संशोधनको मागलाई संस्थागत रुपमै अघि सारे ।

पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष हमालले सेयर बजारमा विश्वभरि नै समस्या देखिएको भए पनि नेपालको हकमा भने राष्ट्र बैंककै नीति प्रमुख कारण भएको बताए । उनले भने, ‘मौद्रिक नीतिको ४ र १२ को बाध्यता र १५० प्रतिशत ऋणको जोखिम भारले बजार प्रभावित भयो । बजारका लगानीकर्ता सेयर बेच्ने दबावमा परे ।’

पूँजी बजार तथा बीमासम्बन्धी नीति बनाउँदा राष्ट्र बैंकले एक पक्षीय निर्णय गर्न नहुने उनको तर्क थियो । एक क्षेत्रले लिने नीतिले अर्को क्षेत्र प्रभावित हुन नहुने भन्दै उनले यसका लागि आन्तरिक समन्वय हुनुपर्ने बताए ।

‘राष्ट्र बैंकले बीमा र पूँजीबजार लगायतका क्षेत्रलाई प्रभावित हुने नीति बनाउँदा एक पक्षीय हुनु हुँदैन,’ उनले थपे, ‘राष्ट्र बैंकले अर्थ मन्त्रालयमार्फत आन्तरिक समन्वय गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमार्फत हमालले आन्दोलनरत सेयर लगानीकर्तालाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह समेत गरे । आन्दोलनरत लगानीकर्ताको केही माग पूरा गर्न बोर्ड लागि परेको र केही प्रक्रियामा रहेको उनको भनाइ थियो ।

आन्दोलनरत लगानीकर्तासँग वार्ता गर्न समिति बनाउन भन्दा पनि मागहरु कार्यान्वनयन मै जाउँ भन्ने आफ्नो सोच रहेको भन्दै हमालले भने, ‘हामी सयम तालिका बनाएर लगानीकर्ताका मागहरु सम्बोधन गर्छौं । लगानीकर्ताको मागहरु बोर्ड कै हुन् । तिनीहरु केही कार्यान्वनयनका चरणमा छ, केही कार्यन्वयनमा गइसकेको छ ।’

गैरआवासिय नेपालीलाई आईपीओमा आरक्षण गर्ने काम अघि बढेको र ब्रोकरलाई टीएमएसको सुविधा कार्यान्वनयनमा आइसकेको उनको भनाइ छ । दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर संशोधनको विषयमा बोर्डले अधिकतम् पहल गरिरहेको हमालले दाबी गरे ।

लगानीकर्ताहरुले माग गरे जस्तै साना लगानीकर्ताका लागि चहिने एसएमई प्लेटफम र ब्रोकरको शाखा विस्तारको काम तीन महिना अघि देखि नै कार्यान्वयनमा आइरहेको हमालले जानकारी दिए ।

मर्जर तथा इक्वेजिसनको अन्यौलताले बजारमा पर्ने प्रभाव हटाउने विषयमा पनि बोर्डको पहल गरिरहेको भन्दै हमालले साउन महिनाको अन्तिमसम्ममा राष्ट्र बैंकको विनियमावली नै परिवर्तन हुने जानकारी पाएको बताए ।

दीर्घकालिन लगानीकर्ताको पूँजीगत लाभकर पुर्नवलोकन गर्नका लागि पनि काम भइहरको हमालले बताए । लाभकरको विषय नीति तथा कार्यक्रममा परे पनि बजेटमा छुटेको भन्दै उनले एक महिनामा यो समस्या समाधान हुने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?