+
+

हदम्यादको असर : बलात्कारलाई मानव बेचबिखन पुष्टि गराउने सकस

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असार ७ गते २१:०१

७ असार, काठमाडौं । आठ वर्षअघि ‘मोडल ग्लोबल इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा गएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको बयान, अदालतमा गरिएको बयान प्रमाणिकरण र चिकित्सकको भनाइलाई आधार मान्दै थुनामा पठाउन आदेश दिएको हो । पाण्डे सोमबारै डिल्लीबजार कारागार चलान भएका छन् ।

तर मनोजमाथि लागाइएको मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी कसूर पुष्टि गर्न भने सहज देखिएको छैन । बलात्कारका घटनामा एक वर्षे हद म्याद छ । तर यो घटना ८ वर्षअघिको भएकाले प्रहरीले बलात्कारमा मुद्दा नै चलाएन ।

बरु पीडितको बयानमा आरोपित ‘मनोजले अनामनगरको एक होटलमा त्रासपूर्ण तरिकाले अर्को व्यक्तिबाट जबरजस्ती करणी गराएको’ भनेकाले मानवबेचबिखनको मुद्दा लगाइएको छ ।

तर प्रहरीले घटनामा संलग्न भएका अर्का व्यक्ति (मनोज बाहेक) बारे अनुसन्धान नै गरेको छैन । यसले मुद्दा कमजोर बनाउने हो कि भन्ने चिन्ता व्यक्त गर्छन्, पीडितको तर्फबाट वकालत गरिरहेका कानून व्यवसायी ।

‘अभियोगमा प्रतिवादीको वतन नभएको अवस्थामा अभियुक्तको पहिचान, पक्राउ र उनीहरुको कसूर ठहर हुने कुरामा प्रभाव पर्ने भएकाले सबै प्रतिवादीको नाम, थर र वतन स्पष्ट खुलाउनुपर्नेमा यो मुद्दामा पीडितसँग जबरजस्ती सम्पर्क गर्ने पहिचान नखुलेका अर्का एकजना अभियुक्तबारे केही उल्लेख भएको देखिन्न,’ ती कानून व्यवसायीले भने, ‘तीनै व्यक्ति चाहिँ मानव ओसारपसार अपराध प्रमाणित गर्ने मुख्य कडी थिए, यसमा प्रहरी अनुसन्धान चुकेको छ ।’

आठ वर्षअघि आयोजित ‘मोडल ग्लोबल इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले गत ४ जेठमा सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सन्देश सार्वजनिक गर्दै आफूमाथि आयोजकले पटकपटक जबरजस्ती करणी गरेको सार्वजनिक गरेकी थिइन् । मानसिकरुपमा विक्षिप्त रहेकी उनले प्रतियोगिता आयोजना गर्ने संस्था मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई पटकपटक बलात्कार गरेको खुलाएकी थिइन् ।

पीडितको श्रृंखलाबद्ध भिडियो सार्वजनिक भएपछि यो प्रकरणले मुलुकभर चर्चा पाएको थियो । तर बलात्कारको कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद रहेकाले कानूनीरुपमा अघि बढ्न समस्या देखिएको थियो । त्यसपछि जबरजस्ती करणीमा हदम्याद हटाउन माग गर्दै देशव्यापीरुपमा प्रदर्शन भयो, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि युवायुवतीहरुले धर्ना नै दिए । तर सरकारले अहिलेसम्म हदम्याद हटाउने पहल लिएको छैन ।

त्यहीकारण प्रहरीले ९ जेठमा पक्राउ परेका पाण्डेलाई मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी ऐनअनुसार अनुसन्धान अघि बढायो । तर अहिले मानवबेचबिखनको कसूरमा मुद्दा अघि बढाउँदा स्थापित गराउन गाह्रो हुने हो कि भन्ने चिन्तामा प्रहरी अधिकारीहरु पनि छन् ।

कानूनी मामलाका कतिपय जानकारका अनुसार हदम्यादका कारण जबरजस्ती करणीमा मुद्दा लैजान समस्या देखिएपनि मुख्य कसूर जबरजस्ती करणी नै थियो, त्यसैले जबरजस्ती करणीमा पनि मागदाबी लैजानु पर्थ्यो ।

‘जबरजस्ती करणीको उजुरी गर्ने हदम्याद सकिएपनि मानव बेचबिखन तथा ओसारपसारसँगै जबरजस्ती करणीको कसूरमा पनि सजायको मागदाबी लगेको भए अदालतबाट एउटा व्याख्या आउन सक्थ्यो,’ यो मामिलालाई नजिकबाट नियालिरहेका एक कानून व्यवसायी भन्छन्, ‘तर त्यससम्बन्धी मागदाबी अभियोग पत्रमा गरिएको छैन ।’

मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा ‘जाहेरी दर्खास्त र व्यक्तिको भनाइ मात्र प्रमाण नहुने’ नजिर छ । त्यसैले सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरहरु अनुसार पर्याप्त र शंकारहित प्रमाणहरु संकलन गर्न प्रहरी चुकेको जानकारहरु बताउँछन् ।

प्रहरीको कमजोर अनुसन्धान ?

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलका अनुसार प्रहरीले गरेको अनुसन्धानको आधारमा अभियोग पत्र अदालतमा पेश गरिएको थियो । उनका अनुसार अभियोग पत्रमा मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसारको कसूर गरेकाले १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था भएकाले अधिकतम सजाय माग दाबी गरिएको छ ।

अभियोगलाई पुष्टि गर्न प्रहरी र सरकारी वकिलले पीडितले आठ वर्षअघि घटना भएको भनेर सार्वजनिक गरेको बयानलाई मुख्य प्रमाण मानेका छन् । सार्वजनिक भिडियो बयानमा ‘सौन्दर्य प्रतियोगिता सकिएपछि सक्सेस पार्टीका लागि भन्दै एभरेष्ट होटलमा बोलाएर लठ्याएर बलात्कार गरेको’ भनिएको थियो ।

आरोपी मनोज पाण्डेले प्रहरीसँग बयानका क्रममा घटनामा संलग्न संलग्नता इन्कार गरेका छन् । यस्ता खाले अनुसन्धानमा प्रहरीले मुद्दालाई बलियो बनाउन आरोपीको पोलिग्राफ जाँच गरेर पनि प्रतिवेदन राख्ने गर्थ्यो । तर यो कसूरमा आरोपी पाण्डेको पोलिग्राफ जाँच गर्नतिर पनि प्रहरीले ध्यान नदिएको देखिएको छ

‘होटलका कर्मचारीले मलाई वेलकम ड्रिंक भनेर लेमनेड दिएका थिए, त्यो खाएको १०–१५ मिनेटमा लठ्ठिएँ’ उनले भनेकी थिइन्, ‘त्यसपछि मैले ती व्यक्तिलाई घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेको थिएँ । तर उनले विजेता भएर यस्तो भन्ने ? भन्दै बस्न दबाब दिएका थिए ।’ त्यसपछि आराम गर्न भन्दै एक कोठामा आफूलाई बस्न भनिएको उनको भनाइ छ ।

भोलिपल्ट बिहान ४/५ बजेतिर आफूलाई बेहोसी अवस्थामा फेला पारेको उनले खुलाएकी थिइन् । त्यतिवेला ती मनोज पाण्डे र आफूलाई नग्न अवस्थामा पाएको उनले बताएकी थिइन् । यही बयानलाई प्रहरीले घटना प्रमाणित गर्ने मुख्य आधार मानेको छ । बयानमा भनिएको घटना भएका बेला आरोपी पाण्डेले अश्लिल भिडियो खिचेको छ भनेर डर, त्रास र धम्की दिएर विभिन्न स्थानमा लगेर जबरजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ ।

मानव बेचबिखन तथा ओसारपसार ऐनको दफा ४ (ख) मा ‘बेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी… करकापमा पारी, डर, त्रास, धम्की दिई… आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लाने वा अरु कसैलाई दिन नपाइने’ भनिएको छ ।

अभियोग पत्रमा अश्लिल तस्वीर भएको भन्दै ब्ल्याकमेल गरेर विभिन्न स्थानमा लगेर जबरजस्ती करणी गरेको भनिएको छ । त्यसक्रममा काठमाडौं–१० स्थित होटल रिजेन्सीमा समेत जान बाध्य पारेर पटकपटक करणी गरेको भनिएको छ ।

‘अन्य व्यक्तिलाई समेत बोलाएर पीडितलाई जबरजस्ती करणी गर्न लगाइएर पीडितलाई वेश्यावृत्तिमा लगाएकाले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको वारदार भएको पुष्टि हुन्छ’ अभियोग पत्रमा भनिएको छ ।

तर प्रहरी अनुसन्धानका क्रममा त्यसरी बोलाइएका अन्य व्यक्ति को–को थिए भन्ने खुल्दैन ।

आरोपी मनोज पाण्डेले प्रहरीसँग बयानका क्रममा घटनामा संलग्न संलग्नता इन्कार गरेका छन् । यस्ता खाले अनुसन्धानमा प्रहरीले मुद्दालाई बलियो बनाउन आरोपीको पोलिग्राफ जाँच गरेर पनि प्रतिवेदन राख्ने गर्थ्यो । तर यो कसूरमा आरोपी पाण्डेको पोलिग्राफ जाँच गर्नतिर पनि प्रहरीले ध्यान नदिएको देखिएको छ ।

प्रहरीले घटनाको पुष्ट्याइँका लागि पीडितको काउन्सिलर नर्भिक अस्पतालका डा. यादव विष्टको बयानलाई पनि आधार बनाएको छ । विष्टले पीडितलाई ‘काउन्सिलिङका क्रममा तिम्रो समस्या मनमा भित्र छ, औषधि मष्तिस्कको खाएपनि काम गर्दैन’ भनेपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पीडितको बयान थियो ।

विष्टले प्रहरीसँग बयान दिँदै ‘पीडितले आत्महत्याको प्रयास पश्चाम डिप्रेसनको कारण विक्षिप्त अवस्थामा आत्तिने, डराउने, चिन्ताको रोग र उदासिनताको अवस्थामा रहेको’ भनेका छन् । पीडितले परामर्श लिएका चिकित्कमध्ये मेट्रो अस्पतालका मनोविद् रामपुकार शाहले पीडितले आफ्नो सम्पर्कमा आउँदैबाट आरोपी पाण्डेले विभिन्न स्थानमा बोलाएर त्रासमा पारेर नसालु पदार्थ खुवाएर वेश्यावृत्तिमा लगाएको जानकारी गराएको भनेका छन् ।

‘उनले मलाई त्यसबारे जानकारी गराएपनि उनको मञ्जुरी र अनुमतिविना कोही कसैलाई बताउन नमिल्ने भएकाले उनलाई लुकाएर राख्नु हुँदैन, प्रहरीको सहयोग लिनुपर्छ भनेको थिएँ’ साहले भनेका छन्, ‘त्यतिवेला उनको अवस्था नाजुक रहेकाले बाहिर ल्याउन नसकेको हुनसक्छ ।’ प्रहरीले पीडित उपचारका लागि पुगेकी डा. निजा राजभण्डारीको कागज समेत गराएको छ । तर पीडितको हालको स्वास्थ्य अवस्थाबारे प्रतिवेदन अदालतमा पेश गरेको छैन ।

प्रहरीले प्रमाणका रुपमा फोटोग्राफर श्रीधर पौडेलको बयानलाई पनि आधार बनाएको छ । पौडेलले पाण्डेको कन्सलटेन्सीमा जाँदा पीडित रुँदै बसेको अवस्थामा देखेर साध्दा पीडितले यौन शोषण गरेको बताएको भनेका छन् । ‘घटनाबारे पाण्डेसँग सोधपुछ गर्दा कुनै प्रतिक्रिया नदिएपछि म आवेगमा आएर टेबलमा रहेको क्यालेन्डरले हिर्काएको थिएँ’ उनले भनेका छन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले पनि प्रतियोगिता भएको तीन महिनापछि पीडितले फोन गरेर ‘मनोजको बारेमा कुरा गर्नुछ’ भनेको बताएकी छन् । ‘तत्काल म खराब पारिवारिक अवस्था र मानसिक तनावमा रहेकाले पछि कुरा गरौंला भनेको थिएँ’ उनले भनेकी छन् ।

प्रहरीले प्रमाणका रुपमा पाण्डेले सञ्चालन गरेको अफिस कोठामा फेला पारेर बरामद गरिएको ल्यापटप पनि उल्लेख गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा पठाइएको ल्यापटपमा केके भेटियो भन्ने रिपोर्ट आइसकेको छैन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?