+
+
सन्दर्भ : मुक्त कमलरी दिवस :

दासताका ती दिन, मुक्तिका यी दिन

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ असार १३ गते १८:००

१३ असार, दाङ । कुनै समय दाङकी विष्णु चौधरीको जीवन ठूलो परिबन्धमा थियो । बाल्यकालका उनका सुनौला दिनहरू कमलरी प्रथाको अन्धकारमुनि वित्यो । साहूका घरमा कमलरी बस्दा उनीमात्र ९ वर्षकी थिइन् ।

तर पढाइप्रतिको भोकले उनको जीवनको बाटो नै मोडियो । शिक्षाको बाटो पछ्याउँदै कालान्तरमा उनले यस्तो सफलताको उडान भरिन्, जहाँ उनी आफ्नो अधिकारबारे मात्र बोलिनन्, सिंगो कमलरी मुक्ति आन्दोलनको नेतृत्व गरिन् ।

…. …..

विष्णुको परिवार बाजेकै पालादेखि जमिन्दारको घरमा कमैया थिए । उनी पनि कमलरी बनेर जमिनदारको घरेलु काम गर्न थालिन् उमेर भन्दा ठूलो थियो कामको भारी । तैपनि राम्रोसँग खान लाउन नपाउने ।

‘त्यहाँ धेरै दुख भोगेँ, कैयौं रात भोकै निदाएँ’, उनी विगत सम्झन्छिन्, ‘जति काम गरे पनि मालिक्नी कहिल्यै खुशी नहुने । बोली–व्यवहार ज्यादै रुखो ।’

मालिकका छोराछोरी उनकै उमेरका थिए । उनीहरू स्कूल जान्थे । उनीहरू पढ्न गएको देख्दा उनलाई पनि रहर लाग्थ्यो । ‘एक दिन आँट गरेर मलाई पनि स्कुल पठाउन भन्दा मालिक्नीले ‘तँलाई यहाँ काम गर्न ल्याएको, पढाउन होइन’ भन्दै गाली गरिन्’, विष्णु भन्छिन्, ‘त्यो दिन धेरै रोएँ म ।’

भनिन्छ– वादल जतिसुकै घनिभुत कालो भएपनि त्यसको छेउछेउमा चाँदीको घेरा हुन्छ । विष्णुको जीवनलाई पनि सम्भावनाका किरणहरूले छुन थाले ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले २०६० सालदेखि चलाएको कमलरी प्रथा बिरोधी अभियान ०६२ सालतिर पश्चिम तराइका गाउँ–गाउँमा पुगिसकेको थियो । ६२ सालको माघीमा तीनै संस्थाको पहिलमा बिष्णुको पनि उद्धार गरियो ।

सरकारले २ साउन २०५७ मा कमैया मुक्त घोषणा गरेकाले बिष्णुको बाआमा त्यसअघि नै स्वतन्त्र भइसकेका थिए ।

विष्णु चौधरी ।

कमलरीबाट मुक्त भएपछि पढ्न थालेकी उनी कक्षा १० सम्म प्रथम भइन् । पढाइसँगै कमलरी मुक्ति आन्दोलनमा पनि सकृय उनी आफ्नै हेडसरको घरबाट पनि एउटी बहिनीलाई छुटाएर निकालेको बताउँछिन् ।

‘कमलरी बसेका १२ हजारभन्दा बढी बालिकालाई त्यो अभियानले दासताबाट छुटाएपछि सरकारमाथि ठुलो दबाब पर्यो’, विष्णु भन्छिन्, ‘२०७० असार १३ गते नेपाललाई कमलरी मुक्त देश घोषणा गरिनु त्यसैको परिणाम थियो ।’

दाङमै प्लस टु गरेकी बिष्णु चौधरी काठमाडौंबाट कानुनमा स्नातक गरेर अधिवक्ता बनिन् । न्यायमा पहुँच नहुनेको तर्फबाट वकालत गरिरहेकी उनी बोल्न नसक्नेको पक्षमा काम गर्दा पैसाले दिन नसक्ने सन्तुष्टि मिल्ने गरेको बताउँछिन् ।

…. …..

दाङको गढवा– ५ की मञ्जिता चौधरी पनि विष्णुजस्तै मुक्त कमलरी हुन् । एउटै उमेरमा कमलरी बनेका उनीहरू दुखको उस्तै पीडा भोगेर एकै समयमा मुक्त भएर पढ्दै कमलरी प्रथा बिरोधी आन्दोलनमा सकृय भए ।

कमलरी मुक्त अभियानको बेला ‘नेपाल युथ फाउण्डेसन’ र ‘सहायक नानीहरू’ नामक गैससमा जोडिएकी मञ्जिता ९ कक्षामा पुग्दा ‘लवाजुनी सहकारी’ र ११ कक्षामा पढ्दापढ्दै मुक्त कमलरी विकास मञ्चको संस्थापक अध्यक्ष बनिन् ।

मञ्जिता चौधरी ।

‘मुक्त कमलरीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहकारी खोलिएको थियो’, उनी भन्छिन्, ‘मैले आफूलाई परिपक्व बनाउँदै, दिदीबहिनीहरूको अगुवाइ गर्दै गएँ ।’

मुक्त कमलरी र मुक्त कमैयाहरूलाई बिभिन्न इलमको सिपसँगै कर्जा दिन राष्ट्रिय–अन्तर्राष्ट्रिय गैससको सहयोगमा खुलेका सहकारीहरू आफ्नो उद्देश्यमा ज्यादै प्रभावकारी भएको मञ्जिता बताउँछिन् ।

उनका अनुसार अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ४२ वटा यस्ता सहकारी सञ्चालित छन्, जसका शेयर सदस्य १२ हजार ८६९ मुक्त कमलरी र उनीहरूको परिवार हुन् । मञ्जिता अहिले यी सबै सहकारीको समग्र व्यवस्थापन हेर्छिन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?