+
+

३५ विमानले थाले काठमाडौंबाहिर रात्रि बिसान, हेलिकप्टरलाई समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १८:२५

१४ असार, काठमाडौं । सोमबारदेखि वायुसेवा कम्पनीका विमानहरुको उडान अनुमतिपत्र अनुसार नै रात्रिकालीन पार्किङ (बिसान) थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै ७ असारदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलर जारी गरेको थियो ।

त्यसैअनुसार सोमबार साँझबाट विभिन्न वायुसेवा कम्पनीका विमानले धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका विमानस्थलमा रात्रिकालीन बिसान गरेका छन् । उनीहरुले सोही विमानस्थलबाट पहिलो उडान पनि भरेका छन् ।

दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यकाबाहिर रात्रि बिसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका थिए । तर, नेपाल वायुसेवा सञ्चालक संघसँग प्राधिकरणले सम्वाद गरेर निर्णय कार्यान्वयन गर्ने बाटो खोलेको थियो ।

प्राधिकरणका सूचना अधिकारी तथा उडान अनुमति शाखाका उपप्रवन्धक ज्ञानेन्द्र भुलका अनुसार मोफसलमा रात्रि बिसान गर्नुपर्ने करिब ९० प्रतिशत विमानहरुले सोमबार काठमाडौं छाडेको बताए । प्राविधिक कारणबाहेकको अवस्थामा अब तोकिएकै विमानस्थलमा विमानहरु रात्रि बिसानमा जाने उनले बताए ।

उनका अनुसार मंगलबार बिहान रात्रि बिसान गरेको विमानस्थलबाट भएको पहिलो उडानमा अधिकांश वायुयानले ‘फूल अकुपेन्सी’ पाएका छन् । ‘हिजोबाट प्राधिकरणको निर्णय कार्यान्वयनमा गयो,’ उनले भने, ‘सौर्य एयरलाइन्सको एउटा विमान प्राविधिक कारणले बाहिर जान सकेन । अब सबै विमानहरुले अब रात्रि बिसान तोकिएअनुसार नै गर्छन् । ‘

प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर अहिलेसम्म ५२ वटा जहाज पार्किङ गरिरहेका थिए ।

आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भदै प्राधिकरणले ११ वैशाख २०७९ मा अध्ययन कार्यदल बनाएको थियो ।

कार्यदलमा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलसहितका प्रतिनिधि थिए ।

प्राधिकरणका अनुसार कार्यदलले उडान अनुमति दिँदा सम्बन्धित विमानको रात्रि बिसानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ) मै रात्रिकालीन बिसान (पार्किङ) गर्ने व्यवस्था गर्नुपर्ने सिफारिस गरेको थियो । त्यही आधारमा ५ असारमा सर्कुलर जारी गर्दै हेलिकप्टर कम्पनीले ७ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नपर्ने बतायो । हवाइजहाज सञ्चालक कम्पनीहरुले भने १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने सर्कुलर थियो ।

सूचना अधिकारी भुलका अनुसार हेलिकप्टरहरुको रात्रि बिसानमा केही समस्या देखिएका छन् । त्यसलाई समाधान गर्ने उपाय पहिल्याउन त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरको अध्यक्षमा एक समिति बनाइएको छ ।

‘समितिको अध्धयन प्रतिवेदनअनुसार हेलिकप्टरको रात्रि बिसानको निर्णय कार्यान्वयनमा जान्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?