+
+

बाजुराको बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न मतदान सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते ७:०८
वायाँबाट- नेपाली कांग्रेसका उम्मेदवार रंग खाती र नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ

२३ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बुढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको जानकारी दिए । ‘कुनै केन्द्रमा मतदान सुरु भयो, कुनैमा सुरु गर्ने अन्तिम तयारी भइरहेको छ, अहिलेसम्म शान्तपूर्ण छ,’ डिएसपी थापाले भने ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो ।

बुढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।

पुनः निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ । यसैगरी पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो ।

बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?