+
+
पुष्प खड्कासँग पात्र संवाद :

‘ममीले फिल्म लाइन नै छाडिदेऊ भन्नुभयो’

विष्णु शर्मा विष्णु शर्मा
२०७९ असार २३ गते १८:५८

काठमाडौं । निखिल उप्रेतीको एक्सन देखेर हिरो बन्ने सपना बोकेर काठमाडौं आइपुगेको ठिटो कुनै एक गम्भीर फिल्मको चरित्रमा डुबेपछि उसको मनोदशा कस्तो होला ? उसले आफूलाई कसरी अघि बढाउला ? कुनै कलाकारको लागि चरित्रको जीवन बाँच्नु कति महत्वपूर्ण छ ?

कैलालीबाट काठमाडौंसम्मको यात्रा तय गरेका अभिनेता पुष्प खड्कालाई यी प्रश्न सान्दर्भिक छन् ? ‘मंगलम्’ फिल्मको दीपक चरित्रबाट ख्याति कमाएका पुष्प यतिबेला ‘कृष्णलीला’को चरित्र कृष्णबाट चर्चामा छन् । अटिज्म प्रभावित एक युवकको भूमिकामा प्रस्तुत भएका पुष्पले कसरी चरित्रको तयारी गरे ? उनले सोचेको र भोगेको अभिनयको बुझाइ कस्तो रहयो ? यिनै वृत्तमा रहेर अभिनेता खड्कासँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संवाद :

कृष्णलीला’मा तपाईं अटिज्म प्रभावित चरित्रमा देखिनुभएको छ, यसबारे बताइदिनुस् न ।

फिल्ममा मैले प्रेमले मनोविज्ञानमा परेको प्रभाव परेको एक चरित्र निर्वाह गरेको छु । कुनै महत्वाकांक्षी युवतीलाई अटिज्म पीडित युवकले मनपराउँछ भने उसको सोचाइ र सामाजिक जीवनमा के-के कुराले प्रभाव पार्छ भन्ने कथा यसमा प्रस्तुत छ ।

‘मंगलम्’देखि ममा आत्मविश्वास जागेको थियो । चरित्र चित्रण गर्ने खालको भूमिका गर्न सक्छु भन्ने आँट थियो । सामान्य पात्र त सबैले गरेका हुन्छन्, तर यसमा युनिक पात्रको प्रस्ताव थियो । निर्देशकसँग सल्लाहपछि हामीले विशेष पात्रमै काम गर्ने सोच्यौं । यो कुराले मलाई छोयो पनि ।

अटिज्म पीडित युवकको चरित्र निर्वाह गर्न तपाईं कसरी मनोवैज्ञानिक र शारीरिक रुपमा तयार हुनुभयो ?

परिवारमा केही अस्वाभाविक कुरा देख्यो भने त्यो चासो हुन्छ । असामान्य स्वभावहरु त्यत्तिकै हाँस्दिने, बोल्दिने, कट्टु टाउकोमा बोकेर हिंड्ने चरित्रको प्रभाव बहिनीमा पर्‍यो होला । यो देखेपछि बहिनीलाई टेन्सन भएछ ।

आफूलाई चरित्रमा डुबाउन मैले वास्तविक रुपमै अटिज्म प्रभावित एक किशोरसँग भेटें । तीन घण्टाका लागि म ऊसँग भेट्छु भनेर उसको परिवारलाई कन्भिन्स गरेपछि भेटेको हुँ । उसलाई भेटेर खाएको, बोलेको, बसेको भिडियो खिचें, घुमघाम गरें । उसको परामर्श कक्षा हुने ठाउँमा पनि पुगें । रिसर्च गर्दा पनि ममा कन्फिडेन्ट पुगेको थिएन ।

यो चरित्र सिक्न मैले शिक्षक आशान्त शर्मासँग लगभग १५ दिनसम्म बोल्ने शैली, हाउभाउ सिकें । उमेरले पाको भए पनि उसको सोच्ने शक्ति काँचो छ । महात्वाकांक्षी केटीलाई प्रेमिका बनाउने सपना देख्छ भने कुन तरिकाले उसले आफूलाई विकास गर्दै ल्याउनुपर्छ त ?

उसको बौद्धिक लेभलले भ्याउँछ कि भ्याउँदैन ? मनोवैज्ञानिक पक्षबारे हामीले १५ दिनसम्म अनुसन्धान गर्‍यौं ।

त्यो पात्र घुसिकेपछि प्लटिङ राम्रो बन्दै गयो । जुन किसिमले पटकथा निर्माण हुँदै गयो, झन् राम्रो बन्दै गयो । तर गर्ने त भन्ने प्रश्न आयो । जुन चरित्रबाट मेरो छवि बनेको थियो, त्योभन्दा भिन्न ढंगको पात्र थियो ।

शारीरिक रुपमा कसरी तयार हुनुभयो ?

भौतिक रुपमा तयार हुन मलाई समय लागेको थियो । आशान्त सरले सुरुमा आवाजमा काम गर भन्नुभयो । दुई-तीन दिन आवाज सिक्न प्रयास गरें । तोते बोल्दा वा कुन शैलीमा बोल्दा राम्रो देखिन्छ भनेर दुई-तीन पात्र बनाएर काम गर्‍यौं । उनीहरु बच्चाजस्तै चुलबुले हुने रहेछन् । बोल्ने, हाउभाउ, चल्ने र उफ्रिने उनीहरुको स्वभावलाई टिप्न मैले घरमा पनि अभ्यास गरें ।

घरमा चार वर्षकी भान्जी पनि हुनुहुन्थ्यो । भान्जीसँगै धेरै समय बिताएँ । बोल्दा कसरी बोल्ने, बस्दा कसरी बस्ने भनेर । ठ्याक्कै त्यही पात्र नभए पनि केही प्रभाव पाउँछु कि भनेर । रिसर्च गर्दा शारीरिक रुपमा सक्रिय छ, तर सोच चाहिं परिपक्व छैन । यही चीजलाई पात्र बनाएर, यही चीजमा सुधार गर्दै गएँ ।

जब फिल्मको छायांकन सकियो र त्यसपछि चरित्रबाट बाहिर आउन तपाईंले कसरी संघर्ष गर्नुभयो ?

म यो कुरामा शतप्रतिशत सहमत छु । किनकि मैले पनि भोगेको छु । मंगलमको बेला पनि मलाई त्यो महसुस भएको थियो । कृष्णलीलामा पनि भएको छ । घरमा म, बहिनी र भान्जी बस्थ्यौं । त्यो बेलामा आशान्त सर (अभिनय शिक्षक)ले बाहिर ननिस्कन भन्नुभएको थियो ।

‘जति हुन्छ भान्जीसँगै समय बिताऊ, बरु निमेषसँग भेट भन्नुभयो । म पाको उमेरको हुँ भनेर नसोच ।’ उहाँले मलाई यसरी सिकाउनुभयो कि बाल्यकालदेखि सात कक्षासम्म गुज्रिएको मेरो लाइफस्टाइल कस्तो छ त्यो लेख भन्नुभएको थियो । मैले त्यतिबेलाको दृश्य सम्झिएर सबै लेखें ।

ती चीज मैले बहिनीलाई भनेको थिइनँ । वर्कसप हुने, आशान्त सर जाने र भान्जीसँग बोल्दाबोल्दै बोल्ने शैलीमा पनि केही कन्फिडेन्ट आउँदै थियो । बहिनीलाई थाहा थिएन । आशान्त सरले साथीसँग कुरा गर्दा पनि फोनमा यसरी नै बोल । यदि उनीहरुले फरक छुट्याए भने तिमी लयमा आउँदैछौ भनेर बुझ्नु भन्नुभएको थियो ।

त्यो गर्दै जाँदा बहिनीले अवलोकन गरेकी रहिछन् । परिवारमा केही अस्वाभाविक कुरा देख्यो भने त्यो चासो हुन्छ । असामान्य स्वभावहरु त्यत्तिकै हाँस्दिने, बोल्दिने, कट्टु टाउकोमा बोकेर हिंड्ने चरित्रको प्रभाव बहिनीमा पर्‍यो होला । यो देखेपछि बहिनीलाई टेन्सन भएछ ।

बहिनी राधा यो देखेपछि कन्फ्युज भइछिन् । अनि ममीलाई फोन गरेर भनेछिन् । ममीलाई पनि भुत्ल्यायो कि भनेर झाँक्री बस्नुपर्ने गरेको छ अहिले पनि । ममीलाई अलिक सन्चो छैन । दाजुलाई पनि केही भयो कि भनेर बहिनीले ममीलाई सेयर गरिछन् । ममीलाई पनि टेन्सन भएछ ।

ममीले पनि के भयो पुष्प ? टेन्सन भयो तँलाई ? यदि यो फिल्डमा भनेको जस्तो भइरहेको छैन भने छोडदेऊ, अरु व्यवसाय गरम्ला भनेर भनेर भन्नुभयो । त्यो कुरा गर्दा मैले फिल्मको लागि काम गरिरहेको भनेर सम्झाएँ । त्यो असर चाहिं परेको थियो ।

फिल्मको सुटिङ सकिएपछि म्युजिक भिडियोमा गएको थिएँ । पहिला जुन एक्सप्रेसन हुन्थ्यो, त्यो आइहाल्दो रहेछ । छायांकार शिव ढकालले तपाईंलाई त जहाँ पनि कृष्ण देख्छु त भन्दै हुुनुहुन्थ्यो । मलाई त्यो स्वभाव घटाउन अलि समय लागेको थियो ।

त्यसबाट मुक्त हुन मैले औषधि लिइनँ । कृष्णलीलापछि मैले अर्को फिल्म तिम्रो मेरो साथ गर्नुपर्ने थियो । त्यो समयमा पनि मैले आफ्नो हाउभाउ भेटिरहेको थिएँ । बिजनेसम्यानको पात्र गर्नुपर्ने थियो, तर अर्कै गरेको भन्ने थियो । त्यो गर्दा लुकाइरहेको थिएँ । पछि बिस्तारै मुक्त भएँ ।

तपाईं मूलधारको लभस्टोरी फिल्मबाट आउनुभयो । मंगलमदेखि कृष्णलीलासम्म केही फरक पात्रमा काम गर्नुभयो । कस्ता पात्र गर्न तपाईंलाई रुचि लाग्छ ?

मेरो रुचि पटक्कै थिएन । मैले स्कुलकालमा देखेको चरित्र चकलेटी हिरो, केटीसँग फ्लर्ट गर्ने र एक्सन फिल्म थिए । स्कुलमा म कराँतेमा विजयी भैरहन्थें । अक्षयकुमार र निखिल दाइका एक्सन र शाहरुख खानको अभिनयले म प्रभावित भएको थिएँ । त्यस्तै हिरो बन्नुपर्छ भनेर म यो क्षेत्रमा आएको हुँ ।

मंगलम गर्दा पनि फरक टाइपको भनेपछि मैले सक्दिन होला भनेको थिएँ । तर नवल नेपाल (निर्देशक) दाइले म छु भनेपछि काम गरें । त्यो कुरा मेरो आउट अफ दी वर्ल्ड थियो । अहिले त अलिकति कन्फिडेन्ट आयो, तर मेरो फिल्मी अभिनेताको ग्राफ यो बन्छ भनेर सोचेको थिइनँ । म नेचुरल्ली मसालेदार अभिनयतर्फ आकर्षित थिएँ ।

मंगलमको पात्र गरेपछि समीक्षक, दर्शक, फ्यान र परिवारबाट राम्रो फिडब्याक पाएपछि यस्तो पात्र गर्न सक्छु भन्ने लाग्यो ।

स्पष्ट रुपमा यो बुझें कि सोचेजस्तो जीवन बन्दैन र सोचेजस्तो ग्राफ बन्दैन भनेर । मैले जुन चाहिं पुष्प खड्काको इमेज बनाउँछु भनेर यो फिल्डमा आएको थिएँ, त्यो बनेन । अर्कै बन्यो जुन सोचेको भन्दा बाहिरको ।

पहिलो फिल्म ‘दर्पणछायाँ २’देखि ‘कृष्णलीला’को बिन्दुसम्म आइपुग्दा तपाईंले अभिनयको परिभाषा कसरी बुझ्नुभयो ?

स्पष्ट रुपमा यो बुझें कि सोचेजस्तो जीवन बन्दैन र सोचेजस्तो ग्राफ बन्दैन भनेर । मैले जुन चाहिं पुष्प खड्काको इमेज बनाउँछु भनेर यो फिल्डमा आएको थिएँ, त्यो बनेन । अर्कै बन्यो जुन सोचेको भन्दा बाहिरको । सोचेजस्तो हुन्न जीवन भनेर म कहिलेकाहीं सम्झन्छु । जुन अवसर मैले पाएँ, त्यसलाई भगवानको उपहार सम्झन्छु ।

जस्तोसुकै चुनौती र अवसर होस्, त्यो चीज मलाई आएर झक्झकाउँछ भने म गर्छु भन्ने मेरो नेचर छ । मंगलमपछि मेरो एक्टिङ ग्राफ अर्कै छ । म यसमा खुसी छु । कुनै पनि पात्रलाई हामीले महसुस गर्न सक्यौं भने त्यो नै सफलता हो । चरित्रलाई बुझेर महसुस गर्न सक्यौं भने अभिनय गर्न गाह्रो छैन भन्ने बुझें मैले ।

तपाईंको रुचि के मा छ ? स्टार बन्नु वा चरित्रको जीवन बाँच्ने अभिनेता बन्ने ?

चर्चा, स्टार वा त्यो ग्राफले मलाई कहिल्यै तानेन । अफेयर र कन्ट्रोभर्सीबाट म सधैं भाग्ने मान्छे हो । जहिले पनि मलाई मेरो कामले बोलाओस् भन्ने छ । जबसम्म म अभिनय गर्छु, फरक-फरक पात्रमा काम गर्न सकेमा त्यो मेरो खुसी हुनेछ । त्यतिखेर मैले आफूलाई सफल अभिनेताको महसुस गर्छु कि भन्ने लोभ छ ।

तपाईंको अभिनय जर्नीमा मनपरेको कुनै पात्र ?

अवश्य पनि मलाई मेरो अभिनय जर्नीमा निकै मन परेको पात्र मंगलम फिल्मको दीपक र कृष्णलीलाको कृष्ण । किनभने यी पात्रमा मेरो अनुभव धेरै भयो । मलाई मारुनी, दर्पणछायाँ २ का पात्रलाई सजिलै लिएँ । मारुनीमा व्यापारीको भूमिका गर्नुपर्ने थियो । तर म बिजनेसम्यानसँग धेरै नजिक थिइनँ वास्तविकतामा । मेरो साथीको सर्कल सरल छ । त्यही भएर मलाई कठिन भएन । तर मंगलमको दीपक र कृष्णलीलाको कृष्णलाई मैले गम्भीरतापूर्वक लिएँ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?