+
+

गठबन्धनको त्रास हटाउन ओलीको ३५ पन्ने अपानि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते २०:५७

२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लिएर पार्टीका नेता कार्यकर्तामा रहेको ‘भय’ हटाउने प्रयास गरेका छन् ।

एमालेले पहिलो शक्ति बन्ने दाबी गरेको स्थानीय चुनावको परिणाम गठबन्धनको पक्षमा आएको छ । अब प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि गठबन्धन कायम रहे प्रतिकुल हुने भन्दै एमालेमा वाम गठबन्धन गर्नुपर्ने आवाज उठेको छ ।

तर एमाले अध्यक्ष ओलीले आइतबार ३४ पृष्ठ लामो अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै सिट संख्यामा दोस्रो भए पनि जनताको भरोसा र समर्थन झनै बढेको दाबी गरेका छन् । उनले पाँच दलीय गठबन्धन कायम रहनसक्ने भएकाले एक्लै चुनाव लड्ने र जित्ने तयारी गर्न निर्देशन समेत दिएका छन् ।

लोकप्रिय मतको कार्ड

३० वैशाखमा भएको चुनावमा नेपाली कांग्रेसले ३२९ पालिकाको प्रमुख जित्दा एमालेले २०६ र माओवादी केन्द्रले १२१ पालिका प्रमुख जितेको छ । २०७४ मा २९६ पालिकाको नेतृत्व जितेको एमाले यो पटक दोस्रो, त्यो पनि कांग्रेसभन्दा निकै सानो बनेको विश्लेषण भइरहेका बेला एमालेले भने लोकप्रिय मत (अध्यक्ष÷प्रमुखमा प्राप्त गरेको मत) मा आफू पहिलो भएको दाबी गरेको छ ।

जबकी एमाले प्रमुख÷अध्यक्ष पदमा ७३६ उम्मेदवारी दिँदा कांग्रेसले ६४७ मात्र मात्र दिएको थियो । तर एमालेले प्रमुख पदमा पाएको कुल मतको आधारमा आफू ठूलो दल भएको दाबी गर्दै भनेको छ, ‘चौतर्फी घेराबन्दी, पाँचदलीय गठबन्धन मात्र होइन, कतिपय ठाउँमा खडा गरिएको कथित महागठबन्धन, राज्य सत्ताको चरम दुरुपयोग…. को बीचमा एमाले मुलुकको सर्वाधिक लोकप्रिय र जनधारयुक्त पार्टीका रुपमा स्थापित हुनु महत्वपूर्ण सफलता हो ।’

महागठबन्धनविरुद्ध ४१ प्रतिशतभन्दा बढी स्थानमा एक्लै जित निकालेको, ४० प्रतिशतभन्दा बढी स्थानमा गठबन्धनले भन्दा ३१ प्रतिशतभन्दा बढी लोकप्रिय मत पाएको र तुलनात्मक रुपमा आफ्नो जनाधार कमजोर भएको ठाउँमा पनि २४ प्रतिशतभन्दा बढी जनमत बढेको एमालेको विश्लेषण छ ।

ओलीले देखेका चार समस्या

स्थानीय चुनावमा अपेक्षा अनुसार परिणाम नआएको भन्दै ओलीले पार्टीमा देखिएका चार समस्या औल्याएका छन् ।

पहिलो : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीमा देखिएको किचलो, विभाजन जस्ता कारणले लामो समयसम्म संगठन सुदृढीकरणको काम गर्न नपाएको बताएका ओलीले गत असारदेखि भने श्रृखलाबद्ध कमिटी निर्माण सुरु गरेको बताएका छन् ।

समय अभाव र कमिटी निर्णमा कतिपय असावधानीका कारण जनस्तरमा जनतसाथ जोडिनुपथ्र्यो, त्यो हुन नसकेको भन्दै ओलीले भनेका छन्, ‘केही ठाउँमा त कमिटी संख्या जति पनि लोकप्रिय मत हाँसिल हुन नसकेको जस्तो विडम्बना देखा पर्‍यो ।’

दोस्रो : ओलीले कतिपय ठाउँमा उम्मेदवार छनोटमा समते त्रुटि भएको स्वीकारेका छन् । लोकप्रियता भन्दा निकटका व्यक्तिलाई जोड दिनुका साथै पार्टीले तय गरेको प्रक्रिया विपरीत खास व्यक्तिलाई उम्मेदवार बनाउन वा नबनाउन संगठित रुपमै लबिङ गर्दा पनि परिणाम प्रतिकुल आएको उल्लेख छ ।

तेस्रो : यस पटक विगतको भन्दा बढी असमझदारी, असहयोग र अन्तरर्घात भएको अपानीमा उल्लेख छ । आफू वा आफूले सिफारिस गरेका व्यक्ति उम्मेदवार नभएपछि निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउने, असहयोग र अन्तरघात गर्ने काम भएको एमालेको ठहर छ ।

चौथो : परिभाषित जिम्मेवारीसहित नेता कार्यकर्ता परिचालन गर्ने, मतदाताको मत जित्ने प्रचार शैली अनाउने जस्ता निर्वाचन अभियानमा कमजोरी भएको स्वीकार गरेका छन् । ओलीले अपानीमा भनेका छन्, ‘समग्रमा गठबन्धनको संख्यात्मक पक्ष र यसले सिर्जना गरेको मनोविज्ञान, सत्ताको चरम दुरुपयोग र हाम्रा केही आन्तरिक कमजोरीका कारण हामीले अपेक्षित सिट जित्न सकेनौं ।’

जनताको विश्वास जित्यौं

पार्टी पङ्तीमा अझै निर्वाचनको धङधङी रहेको तथा आरोप, प्रत्यारोप र आपसी आशंका अझै बाँकी रहेको भन्दै अध्यक्ष ओलीले एमाले हारेको होइन, जितेको हो भन्ने सन्देश पार्टीपङ्ती र जनतामाझ स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

अपानीमा भनिएको छन्, ‘निर्वाचनमा पार्टी पराजय भएको होइन, गठबन्धनका योजना र षड्यन्त्रको सामाना गर्न एवं जनताको विश्वास जित्न सफल भएको हो ।’

एमालेले बहुमतका लागि करिब १६ प्रतिशत मत अपुग रहेको भन्दै कसरी मत बढाउने भनेर काम गर्नुपर्नेमा जोड दिएको छ । पार्टीको जनाधार कमजोर भएको ठाउँमा विस्तार गर्नुका साथै नयाँ पुस्तामा विशेष ध्यान दिनुपर्ने बताएको एमालेले मत बृद्धिका लागि तीन काम गर्न निर्देशन दिएको छ ।

–मतदाता नामावली अध्यावधिक गर्ने, छुटका मतदाताको नाम समावेश गर्न अभियान सञ्चालन गर्ने र दोहोरिएका नाम हटाउन पहल गर्ने ।
– आम जनसमुदायमा पार्टीका नीति र एजेण्डाको व्यापक प्रचार गर्ने ।
– एमाले सरकारले गरेको कामको सशत्त प्रचार गर्ने ।

पार्टीलाई जितका लागि १६ प्रतिशत मत अपुग हुने भन्दै एमालेले सो मत नयाँ पुस्ताबाट पूरा गर्न सक्ने पनि बताएको छ । एमालेले निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्न पार्टी प्रवेशका ठोस कार्यक्रम र योजना बनाउन पनि निर्देशन दिएको छ ।

‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ’ अपानिमा भनिएको छ, ‘हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामथ्र्य राख्छौं भन्ने आत्मविश्वास जगाउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?