+
+

‘दुईपांग्रे सवारी र युवा दुर्घटनाको उच्च जोखिममा छन्’

दुर्घटनाको अर्को कारण सडक सुरक्षा बारेको अज्ञानता पनि हो । यसमा सबैभन्दा खतरामा युवा समूह छ । उसलाई सडक भनेको मनोरञ्जन स्थल भएको छ, तर यो कहिल्यै पनि मनोरञ्जन गर्ने ठाउँ होइन ।

भगवती सेढाईं भगवती सेढाईं
२०७९ साउन ६ गते १४:१६

नेपालमा के कारण सडक दुर्घटना भइरहेका छन् भन्ने सम्बन्धमा यथार्थ अनुसन्धान भएको पाइँदैन । अहिलेसम्मको विवरण हेर्दा के देखिन्छ भने प्रहरीले बताएको कारण नै दुर्घटनाको मुख्य कारण भनेर विश्वास गर्नुपर्ने अवस्था छ ।

प्रहरीले राख्ने तथ्याङ्कमा पाँच कारणले सडक दुर्घटना भएको औंल्याइएको छ— चालक, सवारी साधन, सडक पूर्वाधार, यात्रु र मौसमका कारण । यसमा पनि चालक र सवारी साधनका कारण भएको दुर्घटना अधिक भएको देखिन्छ । तर यसैलाई नै सडक दुर्घटनाको खास कारण हुन् भनेर विश्वास गरिहाल्न मिल्ने अवस्था छैन ।

अन्तर्राष्ट्रिय जगतमा सडक दुर्घटना न्यूनीकरण गर्न ठूला अध्ययन भएका छन् । सडक दुर्घटना न्यूनीकरण गर्न त्यहाँ ‘सेफ सिस्टम अप्रोच’ भन्ने अवधारणा विकास भएको छ । यसले सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक, सुरक्षित सवारी साधन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना भएको अवस्थामा उचित उद्धार, उपचार र गति नियन्त्रण भनेर उपाय देखाइएका छन् ।

यही उपाय न अपनाउँदा नेपालमा सडक दुर्घटना बढेको मेरो पनि निष्कर्ष हो । सडक सुरक्षा किन भएन भन्दा सडक सुरक्षाको व्यवस्थापन भएन । यो कसले गर्ने भन्दा सरकारले गर्ने हो । सरकार यसमा उदासीन देखियो ।

नेपालमा लगभग एक लाख किलोमिटर सडक छन् । त्यसमा १६ देखि २० हजार किलोमिटर सडक विभागको जिम्मामा छ । त्यस बाहेकका सडक स्थानीय सरकार, जलविद्युत् आयोजना, निजी उद्योग, बहुराष्ट्रिय कम्पनीहरूले बनाएका छन् ।

यस्ता सडकहरू कति सुरक्षित छन् भनेर हेर्ने निकाय नै छैन । सडक विभाग सानो क्षेत्रमा मेरो सडक भनेर बस्ने, प्रदेश र स्थानीय तह आफ्नो क्षेत्रको सडक र त्यसको सुरक्षाबारे आपसी समन्वय र उत्तरदायी नबन्दा दुर्घटना दोहोरिइरहेका छन् ।

कुनै ठाउँमा ठूलो दुर्घटना भयो भने हामी केही दिन कोकोहोलो गर्छौं तर त्यो दुर्घटनाको कारण खोजेर समाधानमा लाग्दै लाग्दैनौं, सडक सुरक्षा व्यवस्थापनमा काम नै गर्दैनौं । १ साउन २०७८ देखि २०७९ असार मसान्तभित्र मात्रै सडक दुर्घटनाबाट इतिहासकै धेरै मानिसको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । एक वर्षमा २८ सय ८३ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण भएको अङ्गभङ्गको कुनै हिसाब छैन । अझ अस्पतालहरूबाट आउने तथ्याङ्कमा मृत्यु अझै ४० प्रतिशतसम्मले बढ्ने अर्को अध्ययनको प्रक्षेपण छ ।

अब प्रश्न उठ्छ हाम्रा सडक सुरक्षित छन् त ? सडक सुरक्षाबारे केहीअघि स्थानीय तहसम्म हामीले गरेको एउटा छलफलमा हाम्रा नेताज्यूहरूले सडक सुरक्षा भनेको चिल्ला र ठूला सडक भनेर भन्नुभयो । पछिल्ला समय बनेका चिल्ला र राम्रा भनिएका सडक नै मृत्यु–मार्ग बनिरहेको तथ्याङ्कले देखाउँछ । किनभने ती सडक निर्माणका बेला सुरक्षाका काम नै गरिएन । कलंकी–कोटेश्वर सडकलाई नै हामी उदाहरण मान्न सक्छौं ।

सडक दुर्घटनाको अर्को कारण सवारी साधन हो । अब त ‘आर्टिफिसियल इन्टिलिजेन्ट’ सहितको सुरक्षित सवारी साधन आइरहेका छन् । तर, सस्तो र व्यापारिक दृष्टिकोणले मात्रै सवारी साधन प्रयोग गरिएको छ । विद्युतीय साइकललाई लाइसेन्स नचाहिने भनिएको छ । यस्तो त पटक्कै भएन ।

दुर्घटनाको अर्को कारण सडक सुरक्षा बारेको अज्ञानता हो । यसमा सबै भन्दा खतरामा युवा समूह छ । उसलाई सडक भनेको मनोरञ्जनको स्थल भएको छ । सडकमा गुडेका मोटरसाइकल त्यसका उदाहरण हुन् । सडक कहिल्यै पनि मनोरञ्जन गर्ने ठाउँ होइन । संसारमा सडक दुर्घटनामा सबैभन्दा ठूलो मृत्युको कारण तीव्र गति देखिएको छ । कूल दुर्घटनामा ४० देखि ५० प्रतिशत मृत्यु तीव्र गतिकै कारण भएको छ ।

यदि हामीले ५० किलोमिटर प्रति घण्टामा सवारी चलाउँछौं भने दुर्घटनामा मृत्यु हुने जोखिम २० प्रतिशत मात्रै हुन्छ तर त्यसलाई गति बढाएर प्रति घण्टा ७० बनायौं भने मृत्यु हुने जोखिम ८० प्रतिशत हुन्छ । हामीले युवा समूहलाई यो तथ्य बताउनुपर्छ ।

नेपाल जस्तो मुलुकमा सडक दुर्घटना बढ्नुमा दुईपांग्रे सवारी साधन धेरै हुनु हो । नेपालमा दर्ता भएका कुल सवारी साधनमा ८० प्रतिशत सवारी साधन दुईपांग्रे छन् र यसका प्रयोगकर्ता सुरक्षाका मामलामा कमजोर छन् । जसले दुर्घटना निम्त्याइरहेको छ ।

तर दुर्घटना बढिरहनुमा सरकार सबैभन्दा बढी जिम्मेवार छ । सडक दुर्घटना राज्यको समस्या हो । नागरिक दुर्घटनामा पर्दा राज्यलाई दुख्दैन र त्यो जसलाई पर्‍यो उसैले भोग्ने हो भन्ने अवस्था रहेसम्म यो मुलुकमा सडक दुर्घटना रोकिन्न ।

दुईपांग्रे सवारी दुर्घटना बढ्नुमा राज्यले सार्वजनिक यातायात विश्वासिलो बनाउन नसक्नुको परिणाम हो । न राज्यले दुईपांग्रेको ठाउँमा विश्वासिलो सार्वजनिक यातायात विकास गर्छ न त दुर्घटना रोक्न उपयुक्त नीति अख्तियार नै ।

यो सबैको मारमा पर्ने आखिर निम्नमध्यम वर्गीय जनता हुन् । तसर्थ सडक प्रयोगकर्ता, सडकका चालक, यात्रु आफैं पनि यसमा सचेत हुनुको विकल्प छैन । जोखिमपूर्ण यात्रा जस्तै छतमा बस्ने, क्षमता भन्दा बढी यात्रु भएको सवारी नचढ्ने, सडकमा उच्च सतर्कता अपनाउने जस्ता गलत कार्यलाई यात्रु आफैंले इन्कार गर्दै जानुपर्छ । सडक भनेको दुर्घटना हुने ठाउँ हो, यो मनोरञ्जन लिने ठाउँ होइन भन्ने हेक्का सबैलाई हुनुपर्छ ।

(सडक सुरक्षाविज्ञ उप–प्राध्यापक सेढाईंसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?