+
+

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यार्थीलाई विद्यालयमा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते ७:०७

१२ साउन, रोल्पा । रोल्पाको एक विद्यालयले अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ ।

जिल्ला सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माविले भारतमा हालै सम्पन्न कश्मीर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनसिपमा ५४ केजी समूहमा स्वर्ण पदक विजेता वीरेन्द्र डाँगीलाई सम्मान गरेको हो ।

२०७३ सालदेखि खेल क्षेत्रमा प्रवेश गरेका डाँगीले दुई पटक अन्तर्राष्ट्रिय पदक हासिल गरिसकेका छन् । यसअघि उनले इन्डो-नेपाल इन्टरनेशनल तेक्वान्डो च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका थिए ।

राष्ट्रियस्तरका दर्जनौं खेलमा समेत सहभागिता जनाएका उनले काठमाडौंमा सम्पन्न मेयर कप प्रतियोगितामा रजत पदक, उपराष्ट्रपति कप प्रतियोगितामा कांस्य पदक प्राप्त गरेका थिए । २०७३ सालदेखि खेल सुरु गरेका उनी हाल ब्ल्याक बेल्ट सेकेन्ड डन हुन् ।

बालकल्याण नमुना मावि लिवाङबाट २०७६ सालमा एसईई उत्तीर्ण गरेका उनले हाल दाङ घोराहीस्थित इमेज इन्जिनियरिङ कलेजमा अमिन विषयसमेत अध्ययन गरिरहेका छन् ।

उनले राष्ट्रपति कपबाहेक सबै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल आफ्नै लगानीमा खेलेको बताए । एक पटक खेल्दा ठूलो रकम खर्च हुने भए पनि कसैले सहयोग नगरेको उनको गुनासो छ ।

‘राष्ट्रका लागि खेलिन्छ तर राष्ट्रले नै हेर्दैन,’ उनले भने । खेल क्षेत्रमा राज्यको तर्फबाट लगानी र प्रोत्साहन नहुँदा खेलाडीहरू पलायन हुने गरेको उनको भनाइ छ ।

आफ्ना पूर्वविद्यार्थीले अन्तर्राष्ट्रिय पदक पाएकोमा गर्व लागेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए ।

‘विद्यालयको लगानीमा खेल जीवन आरम्भ गरेका उनले अहिले अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जितेर विद्यालयको शिर ठाडो पारेका छन्,’ प्रधानाध्यापक पोख्रेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?