+
+

वृद्ध नेता र जीर्ण विचारलाई चाहिएको विश्राम

शारीरिक क्षमता, मानसिक चुस्तता दुवैले विश्राम खोजिसक्यो तर बलजफ्ती धक्का दिएर भए पनि राजनीतिको गाडी हाँक्ने रहर पलाइरहनु भनेको त सिङ्गो मुलुक र युवाको भविष्य नै जोखिममा पार्नु हो। रंग न ढंगकाले राज्यशक्तिको बागडोर हातमा लिनु भनेको लोकतन्त्रकै उपहास हो।

राजेन्द्र सिंह भण्डारी राजेन्द्र सिंह भण्डारी
२०७९ साउन १२ गते १०:२३

जो भ्रष्ट छन्, उही प्रष्ट पनि छन्, बाँकी त द्विविधा र विवशताको मझधारमा रुमल्लिएर बसेका छन्। राज्यदोहनबाट प्राप्त लुटको धनबाट आर्जेको शक्तिले आफ्ना सबैखाले अवैधानिक र पाप कर्मलाई सुरक्षित राख्न खप्पिस हाम्रा गतिहीन नेताको रजगज अहिले पनि कायम नै छ।

सुधारिएकाबाट मात्र सुधार सम्भव हुन्छ। यो विकासको सर्वव्यापी मौलिक नियम हो। सुधारको सूचीमा कहिल्यै नअटाएका भ्रष्ट नेताको फेरो समातेर वैतरणी तर्ने सपना बोकेका दलका कार्यकर्ताको लाचारिताकै कारण भ्रष्टहरू विस्थापनमा कहिल्यै पर्दैनन्। विस्थापन विना सुशासनको व्यवस्थापन हुनै सक्दैन। आम निर्वाचनको सम्मुखमा रहेका हामी अहिले पनि आफ्नै विवशताको माखे साङ्लोमा बाँधिरहने हो भने भावी पिंढीले हामीलाई पिण्डदान गर्दा समेत श्राप दिइरहने छन्। पाप र श्रापको भयकै कारणले भए पनि आगामी निर्वाचनमा भ्रष्टलाई विस्थापित गर्नु नै पर्छ। यो महान अभियानमा सक्रिय रूपमा सहभागी हुन अपरिहार्य कर्म भैसकेको छ।

‘मान नमान मै तेरा मेहमान’ भने जस्तै हाम्रा राजनीतिक दलका वृद्ध तथा गतिविहीन नेतालाई राजनीतिको मेहमान बनिरहने रहर अझै मरेको देखिंदैन। वृद्ध उमेर सन्यास र विश्रामको चरण हो तर समयको महत्वलाई आत्मसात् गर्न नसक्ने हाम्रा वृद्ध बालकहरू भने आफ्नो सन्यासको उमेरमा पनि विनाशको राजनीति गरिरहने धोको पालेर बसेका छन्।

स्थानीय तहको निर्वाचनमा देखिएको स्वतन्त्र युवाहरूको सक्रिय उपस्थितिले पनि उनीहरूमा परिवर्तनको चेत पलाएको देखिन्न। शारीरिक क्षमता, मानसिक चुस्तता दुवैले विश्राम खोजिसक्यो तर बलजफ्ती धक्का दिएर भए पनि राजनीतिको गाडी हाँक्ने रहर पलाइरहनु भनेको त सिङ्गो मुलुक र युवाको भविष्य नै जोखिममा पार्नु हो। रंग न ढंगकाले राज्य शक्तिको बागडोर हातमा लिनु भनेको लोकतन्त्रकै उपहास हो।

लोकतन्त्र पद्धति मात्र होइन यो त परिवर्तनको माध्यम पनि हो। यसमा पात्रको भूमिकाले सकारात्मक परिणाम दिन सकेन भने मुलुकले अनाहकमै क्षति व्यहोर्नुपर्ने हुन्छ। हामी अहिले राजनीतिका अनावश्यक पात्रको निष्क्रियताको परिणाम भोग्न बाध्य भएका छौं।

गर्न सकिने विषय थुप्रै थिए तर ताल न बेतालका वृद्ध नेताको लालचले एकातर्फ दलहरू आफैं दलदलमा फसेका छन् भने अर्कोतर्फ राजनीतिक प्रणाली नै अवरुद्ध हुन गएको छ। यस्तो अवस्थामा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनले परिवर्तन र वृद्ध विस्थापनको मुद्दालाई सतहमा ल्याएको छ। स्वतन्त्र युवाहरूले राजनीतिको फाँटमा लामो समयदेखि रजगज गरेर बसेका वृद्ध नेतालाई आफ्नो हैसियत सम्झाएका छन्।

परिवर्तनको नियम बमोजिम चल्न नसक्ने युवा भावना र ऊर्जालाई अवमूल्यन गरिरहने प्रवृत्तिका विरुद्ध युवा शक्ति आफैंले निर्णायक भूमिका खेल्नुपर्छ। यो यथार्थलाई आत्मसात् गरेका कारण युवा बालेनहरू राजनीतिको फाँटमा सशक्तरूपमा देखा परे। आफ्नो पेशागत ज्ञानको प्रयोगबाट मात्र सिङ्गो मुलुकको विकास असम्भव भएको देखेर नै युवाहरू राजनीतिमा सक्रिय हुन खोजे।

यद्यपि यो उनीहरूको आफ्नै रोजाइको विषय भने थिएन तर मुलुकको आवश्यकताले उनीहरूको युवा जाँगरलाई राजनीतिको फाँटमा डोर्‍याउन बाध्य भयो। राजनीतिमा देखिएको युवा सहभागिता र सफलताले मुलुकमा सुशासनको युग आरम्भ हुने संकेत गरेको छ।

बालेनहरू युवा भरोसाका प्रतिनिधि पात्र मात्र हुन् जसले एकैपटक उलटपलटको सेवा प्रवाह गर्न नसक्लान् तर राजनीतिको वृद्ध चेतनालाई विस्थापित गरेर नवीन ढंगको प्रयोगको आवश्यकतालाई स्थापित गर्न सक्दछन्। हामीले जे गरे पनि हुन्छ, हाम्रो विकल्प हामी नै हौं, चुनाव हामीलाई नै अनुमोदन गर्ने हाम्रै प्रणाली हो भन्ने विगतको अनुभवबाट हौसिएकाहरू अहिले भने केही हदसम्म भए पनि आत्मसमीक्षा गर्न बाध्य भएका छन्, उनीहरू घोत्लिएका छन्।

आफ्नो असुरक्षित भविष्यको आहटले उनीहरू राम्रैसँग झस्केका छन् तर कुशासनको चक्रमा फसिसकेका र जसरी भए पनि राज्य दोहनका माध्यमबाट आर्जेको शक्तिको दुरुपयोग गरेर आफूलाई राजनीतिको केन्द्रमा राख्न सफल भएका र चेतनाका दृष्टिले पौराणिक भैसकेका नेताहरूले युवा उपस्थितिलाई भने सहज रूपमा स्वीकार गर्ने लक्षण देखाएका छैनन्।

मुलुकलाई नै परिबन्दमा पारेर बन्धन गठबन्धनका माध्यमबाट भए पनि गणितीय संख्यात्मक उपस्थितिका भरमा फेरि पनि राज्य शक्तिको दोहन गर्ने मोह उनीहरूमा पलाएकै देखिन्छ। मोलतोलको राजनीति गर्न सिपालु हाम्रा नेतागणले फेरि पनि मुलुकलाई आफ्नो अयोग्यताको सिकार बनाउने खतरा कायमै रहेकोले आगामी निर्वाचनमा उनीहरूको विस्थापनका लागि युवा पंक्तिको सक्रियतालाई रणनीतिक र सूत्रबद्ध ढंगले परिचालन गर्न आवश्यक छ।

‘देउ उता’ अर्थात् देवताको भूमिका निर्वाह गर्नुपर्ने राजनीतिज्ञहरू ‘ल्याउ यता’ को व्यापार गर्नमा समय र ऊर्जा खर्च गरिरहे। परिणामस्वरूप मुलुकको सिङ्गो राज्य संयन्त्र बिचौलिया र स्वार्थी व्यापारीको हातमा पुग्यो। चरम भ्रष्टाचार, अयोग्यहरूको बिगबिगी, समन्यायमा सर्वसाधारणको पहुँचमा अंकुश लाग्ने गरी राज्य प्रणाली दिशाविहीन हुन गएकै कारण युवाले छुट्टै लौरोको आवश्यकता बोध गरे।

भविष्यद्रष्टा नेतृत्वले जनभावनाको कदर गर्दै तदनुरूप आफ्नो पोजिसनलाई रक्षात्मक र कम सक्रिय गराउने गरी मार्गप्रशस्तको नीति अवलम्बन गर्दछन् तर स्वार्थलिप्त नेताले भने आफ्नो जीवनको अन्तिम समय अर्थात् घाटको घाटे वैद्य कहाँ पुगुन्जेलसम्म पनि नाफा र घाटाकै राजनीतिको विषयमा सोचिरहेका हुन्छन्। राजनीतिलाई विचारले डोर्‍याउने र विचारलाई लोकहितको मुद्दामा केन्द्रित गर्ने सोचको खडेरी नै परेकोले यहाँ जसले जोसँग पनि बन्धन, गठबन्धन गरेर भए पनि राजनीतिको अङ्कगणितमै आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ।

बन्धनकै प्रसंगमा महाभारतमा भगवान श्रीकृष्णले युद्धको द्विविधामा परेका अर्जुनसँग गरेको संवाद स्मरण गर्न सकिन्छ। ‘म त्यस्तो युद्ध किन लड्ने जहाँ मैले जिते पनि आफ्नैलाई गुमाएर जितेको हुन्छु, यस्तो नाताको बन्धनमा परेको युद्ध मलाई लड्नु नै छैन’ भनेर युद्धको मैदान छाड्न खोज्दा भगवान श्रीकृष्णले अर्जुनलाई धर्मयुद्धको महत्व सम्झाएका छन्।

उनले अर्जुनलाई भनेका छन्, ‘हेर अर्जुन बन्धन स्वार्थयुक्त हुन्छन् चाहे जन्मका वा नाताका बन्धन हुन्। यी बन्धनहरू स्वार्थसँगै जोडिन्छन् र स्वार्थसँगै समाप्त पनि हुने गर्दछन् तर सम्बन्ध विचार र धर्ममा आधारित हुन्छ जसले बन्धनका स्वार्थका सीमालाई उल्लंघन गरेर आत्मा र परमात्माको मिलन गराउँदछ, यो धर्मयुद्ध हो। यो सत्य, असत्य बीचको लडाईंमा बन्धन भन्दा सम्बन्धको विषयमा ध्यान दिनुपर्दछ।’

बन्धन निहित स्वार्थका लागि गरिने रणनीतिक र कूटनीतिक चाल हो। यसले सत्तामा त पुर्‍याउला तर आम नागरिकसँगको सम्बन्धलाई भने वैचारिक रूपमै निस्तेज गर्नेछ। अहिले राजनीतिमा युवा सम्बन्ध जोडिन खोज्दैछ। यसलाई आम नागरिकको सर्वोत्तम हितमा केन्द्रित गर्न सकेको खण्डमा राजनीतिमा रहेको वृद्ध नेता र विचारमा विराम लगाउन सकिन्थ्यो कि ? हैन भने भो अब त छाडिदिऊँ भन्ने चेत नेतागणमा स्वतस्फूर्त रूपमा पलाउने छाँट त देखिन्न।

(लेखक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?