+

के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने ?

२०७९ साउन  १४ गते १८:२३ २०७९ साउन १४ गते १८:२३
Shares
के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने ?

१४ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरसबाट संक्रमित भएका बालबालिकाको संख्या बढ्दै गएको छ । कान्ति बाल अस्पताल, महाराजगञ्जमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने, आँखा रातो भएर, पेट दुख्ने समस्या लिएर उपचार गर्न आउने बालबालिकाको संख्या केही हप्तादेखि बढिरहेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाईं  बताउँछन् ।

चिकित्सकका अनुसार भाइरसको संक्रमण विभिन्न लक्षण देखिए पनि स्वास्थ्यमा खासै गम्भीर जटिला ल्याउँदैन । ‘यो भाइरस हरेक वर्ष देखिन्छ । एडिनो भाइरस भनेको अरु भाइरस जस्तै हो । अरु रुघाखोकी ज्वरो ल्याउने भाइरस जस्तो यो पनि एउटा भाइरस हो’ डा. चापागाईं भन्छन्, ‘एडिनो भाइरसको संक्रमणले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी जटिलता ल्याउने गर्छ ।

तर, डा. चापागाईं भाइरसको संक्रमण बर्सेनि हुने गरेकोले नआत्तिन अभिभावकलाई सुझाव दिन्छन् ।

एडिनो भाइरस कस्ता खालको हो, यसले कस्तो जटिलता ल्याउँछ, कहिँलेसम्म रहन्छ ? भन्ने विषयमा बालरोग विशेषज्ञसँग डा. चापागाईंसँग पुष्पराज चौलागाईं
ले गरेको कुराकानीको सम्पादित अशं :

के हो एडिनो भाइरस ?

एडिनो भाइरस कुनै नयाँ प्रजातिको भाइरस होइन । यो अन्य भाइरस जस्तै साधारण भाइरस हो । यस भाइरसले अन्य भाइरल रुघाखोकी जस्तै ज्वरो आउने, रुघाखोकी गराउने, आँखा रातो हुने, पेट दुखाउने, दिसा पातलो गर्ने र पिसाबमा इन्फेक्सन गराउने हुन्छ ।

अरु भाइरस र एडिनो छुट्याउने लक्षणहरु के-के हुन् ?

एडिनो तथा अन्य भाइरसको संक्रमणले बालबालिकामा ज्वरो आउने, रुघाखोकी साधारणतया देखिन्छ । तर, एडिनो भाइरसको संक्रमण भइसकेपछि धेरैजसोको बालबालिकामा आँखा पाक्ने, आँखा रातो हुने, खानाखान मन नलाग्ने, शरीरका विभिन्न भागहरु दुख्ने, पेट दुख्ने, झाडापखला लाग्ने र कुनै बालबालिकामा पिसाबको इन्फेक्सन समेत हुन्छ ।

अन्य बेलाको रुघाखोकीभन्दा एडिनो भाइरसमा रुघाखोकी तथा ज्वरो धेरै दिनसम्म रहिरहन्छ । अन्य इन्फ्लुएन्जा जस्ता भाइरस संक्रमण हुँदा ९९/१०० डिग्री ज्वरो आउँछ भने एडिनो भाइरस संक्रमण हुँदा १०२/१०३ डिग्रीसम्म ज्वरो आउँछ । अन्य समयमा धेरैजसो भाइरल ज्वरो तीनदेखि चार दिनसम्म रहन्थ्यो भने एडिनो भाइरसमा कम्तीमा पनि पाँच दिनदेखि दुई हप्तासम्म पनि रहिरन्छ ।

बालबालिकामा संक्रमण कसरी सर्छ ?

रुघाखोकी गराउने राइनो, इन्फ्लुयन्जा वा एडिनो जस्ता भाइरसहरु प्रमुखतः दुईवटा तरिका सर्ने गर्छन् । पहिलो थुकको छिट्टाहरुबाट सर्छ । एडिनो भाइरस दुईतिन जना बालबालिका सँगै भएको अवस्थामा संक्रमित भएको व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा भाइरस बढी फैलिन्छ । त्यसैगरी, संक्रमित व्यक्तिबाट श्वासप्रश्वासको माध्यम वा खानपानबाट पनि संक्रमण सर्छ ।

कुन उमेर समूहका बालबालिका अस्पताल आइरहेका छन् ?

एडिनो भाइरसले बालबालिकालाई मात्रै असर गर्दैन । यसले सबै उमेर समूहका मानिसलाई असर गर्छ । एडिनो भाइरसको संक्रमण हुँदैमा सबै बालबालिकामा लक्षण वा चिह्न देखिँदैन । जुन बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, यस्ता बालबालिकामा लक्षण बढी देखिन्छ । त्यसकारणले जति कम उमेर समूहका बालबालिका छन्, त्यति नै चिन्ह्र लक्षण धेरै देखिन्छ । किनभने स-साना बालबालिकामा रोगविरुद्ध लड्ने क्षमता कम हुन्छ । श्वासप्रश्वासको माध्यमबाट एडिनो भाइरसको संक्रमण फैलिने हुँदा धेरैजसो बालबालिका विद्यालयमा जाँदा संक्रमित सम्भावना हुन्छ । त्यसैले सकेसम्म बालबालिकालाई एकै ठाउँमा झुम्मिनदिन हुँदैन ।

कति संक्रामक छ यो भाइरस ?

बालबालिकालाई धेरै रुघाखोकी इन्फूलन्जा भाइरसले गर्छ । इन्फ्लुएन्जा, राइनो भाइरस जस्तो यो भाइरस बढी संक्रामक छैन । धेरै संक्रमण फैलाउनसक्ने वा मृत्यु गराउने खालको कडा भाइरस होइन । एडिनो भाइरसले बालबालिकालाई वर्षभरी नै आक्रमण गर्ने गर्छ ।

कस्तो अवस्थामा अस्पताल लैजाने ?

हाम्रो घरमा दुईचार जना बालबालिका छन् भने साधारण रुघाखोकी लाग्ने, ज्वरो आउने भइरहन्छ । यसैगरी नै हाम्रा बालबालिका हुर्किने गरेका छन् । तर अभिभावकले एडिनो नयाँ भाइरस हो भनेर आत्तिनु पर्दैन । तर अन्य भाइरसले भन्दा एडिनो भाइरसको संक्रमणले ज्वरो बढी आउने हुन्छ । ज्वरो आएको, रुवाखोकी लाग्यो, आँखा अलि-अल्लि पाकेमा सर्पोटिक उपचार मात्रै गरिन्छ । यस्ता समस्या देखिएको अवस्थामा बालबालिकालाई बढी ख्याल राख्नुपर्छ ।

ज्वरो कम गराउन सामान्य सिटामोल खुवाउने, पोसिलो खानेकुरा खुवाउने, आराम गराएर राख्ने, झोलिलो कुरा बढि खुवाउने गर्नुपर्छ । तर दुई हप्तामा ठिक हुन्छ भनेर बालबालिकामा जटिलता देखियो भने घरमै राख्नहुँदैन । जस्तो कि, ज्वरो १०२/१०३ डिग्रीसम्म आएको एकहप्तासम्म पनि ठिक नभएको अवस्थामा, ज्वरो सँगसँगै बालबालिका आलस्य भएमा, वान्ता पटक-पटक गरेमा, श्वासप्रश्वास छिट्टो-छिट्टो फेरेमा, कोखा हानेको अवस्थामा तुरुन्तै अस्पताल ल्याउनुपर्छ । चिकित्सकको सल्लाह बमोजिम उपचार तत्काल थाल्नुपर्छ । घरमै बालबालिकालाई १०३/१०४ डिग्रीसम्म ज्वरो आएको भन्दै अनावश्यक औषधि भने खुवाउन हुँदैन ।

भाइरसको उपचार पद्धति के हो ?

यस भाइरसको खासै उपचार छैन । एडिनो भाइरसको उपचार ज्वरो कम गराउने, आराम गराउने, पोसिलो खानेकुरा खुवाउने, झोल कुरा धेरै खुवाउने पर्छ । भाइरसले केही गरी जटिलता निम्ताएको अवस्थामा मात्रै अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । जसरी टाफाइड वा, पिसाबको संक्रमणविरुद्ध औषधि हुने हुन्छ । त्यसैगरी, एडिनो भाइरसको विरुद्धको कुनै औषधि उपलब्ध छैन । किनभने यो भाइरस आफैं हराएर जान्छ ।

भर्ना र मृत्युदर कस्तो छ ?

अहिले अभिभावकहरु बालबालिकालाई अत्याधिक ज्वरो आएको वा बच्चालाई गाह्रो भनेर ओपिडीमा धेरै संख्या ल्याउनुभएको छ । तर ओपिडीमा देखाउन आएको तुलनामा भर्ना गर्नुपर्ने संख्या कम छ । बालबालिकालाई निमोनिया वा पिसाबमा धेरै खराब भएमा मात्रै भर्ना गर्नुपर्ने हुन्छ । यो भाइरसको कारण मृत्यु हुनेसंख्या कम हुन्छ । यही भाइरसको कारणले पछिल्लो तिनहप्तासम्म कुनै बालबालिकाको मृत्यु भएको छैन ।

कसरी सावधानी अपनाउन सकिन्छ ?

एडिनो भाइरसबाट बच्न आवश्यकता नभई भीडभाड भएको ठाउँमा जान हुँदैन । रुघाखोकी, ज्वरो, आँखा पाक्ने यस्ता लक्षण भएका बालबालिकालाई पर राख्ने गर्नुपर्छ । त्यसैगरी, साबुनपानीले बारम्बार हात धुने, व्यक्तिगत सरसफाई र खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ ।

यो भाइरस कहिँलेसम्म रहन्छ ?

एडिनो भाइरसले आंक्रमण गर्दैमा सबैलाई लक्षण देखिँदैन । अधिंकाशको लक्षण वा चिन्ह्र पाँच-सातदिनमा हटेर जान्छ । बाँकी रहेका बालबालिकामा भने एकहप्तामा ठिक हुन्छ । कुनै-कुनै बालबालिमा भने समस्या दुईहप्ता पनि रहनसक्छ । विगत तीनहप्ता यता काठमाडौं उपत्यकाका धेरै बालबालिका संक्रमित भइसकेका छन् । संक्रमित बालबालिकाले अन्य बालबालिकालाई संक्रमण गर्ने चेन आधाआधीमा पुगिसकेको छ । अबको दुईतीन हप्ता एडिनो भाइरस आफैं हटेर जान्छ ।

एडिनो भाइरस बालबालिका
डा. रामहरि चापागाईं
लेखक
डा. रामहरि चापागाईं
बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४४४ अध्ययन : एमबीबीएस, त्रिविबाट पेडियाट्रिकमा एमडी हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ