+

बालबालिकामा ब्लड क्यान्सरको लक्षण त छैन ?

२०७९ साउन  १५ गते १३:०४ २०७९ साउन १५ गते १३:०४
बालबालिकामा ब्लड क्यान्सरको लक्षण त छैन ?

जनमानसमा क्यान्सरको बारेमा धेरै भ्रम छ । क्यान्सर लागेपछि मान्छे मर्छ, उपचार गर्दा थुप्रै आर्थिक भार पर्छ भन्ने सोच गहिरिंदो छ । अझ कतिपय मानिस त उपचार समेत गर्न नजाने गरेको पाइन्छ । यो आलेखमा चर्चा गर्न खोजिएको बालबालिकामा हुने क्यान्सरको बारेमा झनै जनचेतनाको अभाव छ ।

नेपालमा बालबालिकामा हुने क्यान्सरका बारेमा सही तथ्यांक पाउन गाह्रो छ । पछिल्ला दिनमा ब्लड क्यान्सरका कारण अस्पताल जाने र उपचार प्रक्रिया अपनाउने दर भने बढ्दै गएको देखिन्छ ।

बालबालिकामा हुने ब्लड क्यान्सर कस्तो ?

रक्त कोषिकामा संख्यात्मक एवं रुपको परिवर्तन हुँदा क्यान्सर हुन्छ । बालबालिकामा  सामान्यतया दुई प्रकारको ब्लड क्यान्सर देखिने गरेको छ । एउटा ल्युकेमिया र अर्को लिम्फोमा ।

ब्लड क्यान्सरको शंका कहिले गर्ने ?

-लामो समयसम्म ज्वरो आएमा

-जोर्नी सुन्निएमा, दुखेमा

-पेट फुलेमा वा साह्रो भएमा

-फियो कलेजो सुन्निएमा

-बच्चा अचानक दुब्लो हुँदै गएमा

-शरीरका विभिन्न भाग अर्थात् घाँटी, काखी वा अन्य भागमा गाँठो आएमा

-चोटपटक बिना गिजा वा नाकबाट रगत बगेमा

-रक्तअल्पता भएमा

-महिनावारी भएका किशोरीहरुमा अत्यधिक रगत बग्ने समस्या देखिएमा

यी सबै लक्षण एउटै बच्चामा नदेखिन सक्छ, कुनै एउटा लक्षण लामो समय देखिएको छ भने पनि नजिकको स्वास्थ्य संस्थामा गए परामर्श लिनुपर्छ । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार आवश्यक परीक्षण गराउनुपर्छ ।

प्रयोगशालाले कसरी निदान गर् ?

१. पूर्णरक्त गणना

२. परिधीय रगत परीक्षण

यी दुईवटा परीक्षण गरेर सामान्य रूपमा सेतो रक्तकोषिका, हेमोग्लोबिन लगायत रातो रक्तकोषिकाको समेत संख्या, रुप र विकास प्रक्रियाको केही चित्रण गर्न सकिन्छ । यी परीक्षणबाट ब्लड क्यान्सरको केही संकेत मिल्यो भने तेस्रो चरणको परीक्षण गरिन्छ । जसमा अस्थी मज्जा परीक्षण वा वायोस्पी पर्छ । हुन त दुवै हड्डी मज्जा परीक्षण गर्ने प्रक्रिया हुन् । तर अस्थी मज्जा परीक्षण विधिमा हड्डी मज्जाको तरल भागको नमुना लिइन्छ भने बायोप्सीमा हड्डी मज्जाको ठोस, स्पन्जी भागको नमुना लिनुपर्ने हुन्छ । यो परीक्षणबाट ब्लड क्यान्सर भए नभएको पुष्टि हुन्छ ।

चौथो चरणमा कस्तो प्रकृतिको अनि कुन रक्तकोषको क्यान्सर हो भनेर किटान गर्न निम्न जाँच गरिन्छ ।

फ्लो सिटोमेट्री र सिटोजेनेटिक्स/मोलुक्युलर स्टडिज जिनको परीक्षण गरेपछि बिरामीलाई कुन उपचार पद्धतिबाट उपचार गर्ने भनेर मार्गदर्शन गर्दछ । उपचार प्रक्रियामा गइसकेपछि पनि बिरामीको निरन्तर रगतको परीक्षण भने गरिरहनुपर्छ ।

पाँचौं चरणमा अर्को परीक्षण गरिन्छ, जसमा उपचार गरिरहँदा कति क्यान्सर कोष बाँकी छ भनेर हेरिन्छ ।

ब्लड क्यान्सरको उपचार कहाँ हुन्छ ?

सही समयमा उपचार सुरु गरेमा बालबालिकामा हुने रक्त क्यान्सरको प्रकृति हेरेर पूर्ण रूपमा निको समेत हुन्छन् ।

नेपालमा बालबालिकामा हुने रक्त क्यान्सर सम्बन्धी उपचार गर्ने प्रमुख सरकारी अस्पताल यी हुन् ।

कान्ति बाल अस्पताल, महाराजगञ्ज

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज,

वीर अस्पताल, महाबौद्ध

भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर

निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर

क्यान्सरले निम्त्याउने समस्या

क्यान्सरको बिरामीलाई विभिन्न शारीरिक समस्या हुन सक्छ । शारीरिक अशक्तताका कारण परिवार र आफन्त मानसिक तनावमा हुन्छन् । निदान पद्धतिको पहुँच सर्वसुलभ नहुने र ‘रेफेरल चेन’ सही तरिकाबाट समयमै नहुँदा क्यान्सर प्रभावित बालबालिकाका परिवारलाई आर्थिक भार बढी पर्नसक्छ । काठमाडौं बाहिरका बिरामीका परिवार आउँदा जाँदा लाग्ने यातायात तथा काठमाडौं बस्नुपर्दा लाग्ने खर्च, निदान र उपचारमा लाग्ने समय अनि खर्चको डरले उपचार नै नलिई बस्ने अर्थात् ढिलो उपचार गर्न आउने गरेको पाइन्छ ।

कतिपय अभिभावकले त्यतिको खर्च व्यहोर्न नसक्ने अवस्था पनि वास्तवमै हुन सक्छ । समग्रमा भन्नुपर्दा क्यान्सर पीडित बालबालिकाको परिवार एउटा ठूलो आर्थिक, मानसिक, सामाजिक तनावबाट ग्रसित हुनुपर्छ ।

सचेतनाका लागि अन्तर्राष्ट्रिय स्तरबाट विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् ।

-हरेक वर्ष सेप्टेम्बर : क्यान्सरबारे जागरुक गराउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

-फेब्रुअरी १५ : विश्व क्यान्सर दिवस

-क्यान्सर बिरामीको परिवारका लागि मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रमहरु

(पहेंलो रिबनलाई बालपनमा हुने क्यान्सरको संकेत मानिएको छ । यसको अर्थ बालबालिका अति मूल्यवान् हुन्छन् । बाल क्यान्सर हिरोहरुको लचकता एवं आत्मबलको कदर गर्नुपर्छ भन्ने हो ।)

नेपालमा बाल क्यान्सर सम्बन्धी नीति तथा योजना

-स्वास्थ्य व्यवस्थापन एवं सूचना प्रणाली, दर्ता एवं निगरानीका लागि प्रणाली अन्तर्गत तथ्यांकमा केन्द्रित रहेर प्राथमिकताका क्षेत्रमा विशेष कार्यक्रम तथा योजना बनाउनुपर्छ ।

-प्रारम्भिक निदान तथा उपचार पद्धतिमा सबैको सरल पहुँच एवं समग्र विकासका लािग ‘राष्ट्रिय क्यान्सर रोकथाम, निदान तथा उपचारका कार्यक्रम’ ल्याउनुपर्छ ।

-प्रयोगशालाहरुको सेवा अझै सर्वसुलभ एवं बलियो बनाउन आवश्यक नीति तथा उचित व्यवस्थापन गर्नुपर्छ ।

-क्यान्सरको उपचारका लागि चाहिने औषधिको पहुँच बढाउन आवश्यक नीति र सही व्यवस्थापन हुनुपर्छ ।

-परिणाममा आधारित राष्ट्रिय क्यान्सर रोकथाम कार्यक्रम ल्याउनुपर्छ ।

-रेडियो थेरापीको विकासका लागि राष्ट्रिय योजना बनाउनुपर्छ ।

-उपचारको निरन्तरता सुनिश्चितताका लागि राष्ट्रिय रूपमा प्रेषण (रेफरल) पद्धतिको विकास गर्नुपर्छ ।

क्यान्सर सम्बन्धी सचेतनाको स्तर नेपाली जनसमुदायमा न्यून छ । साक्षरता नै कम भएको मुलुकका सर्वसाधारणमा क्यान्सर सम्बन्धी चेतना बढाउनु एउटा चुनौतीमूलक काम पनि हो । हरेक समुदायका लागि काम लाग्नेगरी ‘लक्षित स्वास्थ्य शिक्षा’ कार्यक्रमलाई अझै सशक्त बनाउन सक्नुपर्छ । तब मात्र बालबालिकामा हुने क्यान्सरबाट हुने मृत्युदर कम गर्न सकिन्छ । आजका बालबालिका भनेका भोलिको देशका कर्णधार हुन् ।

(कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. पाठक, कान्ति बाल अस्पतालको प्रयोगशालामा कार्यरत छिन् ।)

बालबालिका ब्लड क्यान्सर
लेखक
डा. नीरा पाठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय