
काठमाडौं । केदार घिमिरे ‘माग्नेबुढा’ निर्देशित टेलिभिजन शो ‘कमेडी हब’ पुनः विवादमा तानिएको छ । कलाकार दीपेन्द्र प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेपछि उनलाई आफू कार्यरत कलेजले जागिरबाट निकाल्यो । प्रसाईं अहिले उजुरी लिएर श्रम कार्यालयमा पुगेका छन् ।
यतिबेला भने यो कमेडी शो नयाँ विवादमा तानिएको छ । १० औं भागको ट्रेलरमा भगवान् शिवजीलाई युवतीसँग मस्किएको, टिकटक बनाउन केही रोमान्टिक बनेको दृश्य समावेश गरिएको छ ।
ट्रेलर सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा यसलाई लिएर आलोचना बर्सिएको छ । पपगायक सञ्जय श्रेष्ठले यो कमेडी शोको उक्त श्रृंखलाको प्रसारण रोक्न माग गरेका छन् । भगवान् शिवजीलाई मजाकको पात्र बनाइएको भन्दै उनले हिन्दू आस्थामाथि यसले प्रहार गरेको दाबी गरेका छन् ।
उनी लेख्छन्, ‘हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान् शिवलाई मजाकको पात्र बनाइएको यो कमेडीको शृंखला प्रसारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस् । अन्यथा हामी सनातन धर्म मान्नेहरु चुप लागेर बस्ने छैनौं । यो सरासर हाम्रो आस्थामाथिको प्रहार हो । सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गरोस् र गल्ती गर्नेहरुलाई सजाय देओस् ।’
उनले शिवसेना र विश्व हिन्दू परिषद्को ध्यानाकर्षण पनि गराएका छन् । मिडिया हबले निर्माण गरेको यो कार्यक्रम बुधबार राति साढे ८ बजे युट्युबमा आउने गर्छ ।
विवाद निम्तिएपछि ‘कमेडी हब’ले उक्त ट्रेलर पुन: सम्पादन गरेर युट्युबमा अपलोड गरेको छ ।
प्रतिक्रिया 4