+
+
Shares
विचार :

बीपीका तरुण र कान्ति हराएको युवा पुस्ता

गुरुराज घिमिरे गुरुराज घिमिरे
२०७९ साउन १६ गते १४:००

जन्म र मरण प्रकृतिको नियमित चक्र हो। यसलाई शाश्वत सत्य मानिन्छ। जन्मलाई विज्ञानले रोक्न थालेको धेरै भयो तर मृत्यु भने अझसम्म विज्ञानको नियन्त्रणमा आएको छैन। आजसम्म संसारमा अर्बौं मानिसको जन्म र मृत्यु भइसक्यो र यो सिलसिला जारी छ। प्रकृति रहेसम्म यो क्रम नियमित चल्नेछ। हामीसँग अहिलेका लागि प्रकृतिलाई आत्मसात् गर्नुको विकल्प छैन।

यो विषय किन उठाइएको हो भने यति लामो चक्रमा सामेल सीमित व्यक्तिहरू बाहेक हामीसँग कसैको अभिलेख र आँकडा छैन। दुनियाँले सम्झेका तिनै सीमित व्यक्तिहरूमध्येका असाधारण व्यक्तित्वको नाम हो बीपी कोइराला, जसले लाखौं नेपालीलाई उत्प्रेरित गरे। नेपालको राजनीतिलाई अभूतपूर्व मोड दिए र आजसम्म हिंडिरहेको राजनीतिक मार्ग कोरे।

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको देहावसान भएको ४० वर्ष भएछ अर्थात् ६ साउन २०३९ मा नेपालको राजनीतिलाई युगान्तकारी मोड दिने एउटा आदर्शवादी तथा क्रान्तिकारी राजनेताको भौतिक अवसान भएको थियो। गत हप्ता उहाँको विषयमा धेरै चर्चा भए, गरियो। उहाँकै नेतृत्वमा नेपालमा आजभन्दा झण्डै साढे सात दशक अघि प्रजातन्त्रको स्थापना भएको थियो।

नियतिले उहाँलाई लामो आयु त दिएन तथापि नेपालको अस्तित्वलाई सुरक्षित गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न यथोचित समय र अभूतपूर्व अवसर प्रदान गर्‍यो। उहाँमा लोकतन्त्र अर्थात् जनअधिकारको मात्र होइन, राष्ट्रिय अस्मिताप्रति गहिरो चिन्ता र सजगता थियो, जसका खातिर उहाँले जिन्दगीभर अथक् प्रयत्न गरिरहनुभयो। जसबापत नेपाली शासक र विदेशी शक्तिबाट बारम्बार गोता खाइरहनुभयो।

अब प्रसंग तरुण, युवाको सुरु गरौं। उहाँ युवाहरूलाई तरुण भनेर सम्बोधन गर्नुहुन्थ्यो। तरुणहरूप्रति उहाँको ठूलो भरोसा थियो। क्रान्तिका अग्रदूत, परिवर्तनका संवाहक र चेतनाका पुञ्जको रूपमा तरुणहरूको चरित्र चित्रण गर्नुहुन्थ्यो।

नेपालमा राणाशासन पल्टाउने २००७ सालको ऐतिहासिक जनक्रान्तिको नेतृत्व गर्दा उहाँ स्वयं ३५ वर्षको लक्का जवान हुनुहुन्थ्यो। परिवर्तनको लगत्तै नेपालको गृहमन्त्री बन्नुभो। विश्वमा यस्ता अनेकन् दृष्टान्त छन्।

सन् १९५९ मा पहिलोपल्ट ब्रिटिश औपनिवेशिक राज्य सिंगापुरको प्रधानमन्त्री हुँदा लि क्वान यु ३६ वर्षका थिए। बेनजिर भुट्टो ३५ वर्षको उमेरमा सम्पूर्ण मुस्लिम जगतको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पाकिस्तानकी प्रधानमन्त्री थिइन्। स्वामी विवेकानन्दले सनातन धर्म र पूर्वीय जीवन दर्शनका विषयमा संसारलाई बताएर ३९ वर्षमा देहत्याग गरे।

अलेक्जेण्डर सिकन्दरको ३३ वर्षमा देहान्त हुँदा उनीसँग ‘महान् सिकन्दर’ या विश्व विजेताको ताज थियो। जिसस क्राइस्ट ३३ वर्षमा मान्छेबाट ‘भगवान’ भए। ३२ वर्षमा आदिगुरु शंकराचार्यको भौतिक अवसान हुँदा सनातन हिन्दू सम्प्रदायको ‘प्राण प्रतिष्ठा’ भइसकेको थियो। बुद्धले ‘सम्बोधी’ प्राप्त गर्दा ३५ वर्षका थिए। पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान २० वर्षकै उमेरमा सुरु गरे। बीपी कोइरालाले निरंकुशतन्त्रको अन्त्य गरी ३६ वर्षको उमेरमा गृहमन्त्री बने। युएईमा २५ वर्ष मुनिका युवाका लागि मन्त्री पद आरक्षित छ।

अपवाद बाहेक दुनियाँका कुनै पनि आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक क्रान्तिहरू वृद्धहरूको नेतृत्वमा सम्भव छैन। समाजको बागडोर थामेर राष्ट्र निर्माणका निम्ति अहोरात्र पसिना बगाउनुपर्ने पुस्ता उपेक्षित र निराश भएर विदेशिएपछि देशको कस्तो दुर्दशा होला !

युरोप, अमेरिकाको संसदमा प्रशस्तै युवा सांसद छन्। क्यानडा, फिनल्यान्ड र न्युजिल्यान्डमा कार्यकारी प्रमुख युवा छन्। जहाँ जहाँ युवा छन्, समाज, देशले राम्रोसँग प्रगति गरेका छन्, अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएका छन्। रुढिवादी समाजको परिपक्व हुन उमेर पुग्नुपर्छ भन्ने मान्यतालाई खण्डित गरेका छन्। समाजको सबै उमेर समूहको विश्वास जितेर प्रौढता प्रदर्शन गरेका छन्। यसले के सन्देश दिन्छ त ? नेपाल र नेपाल जस्तै पछौटे समाज भएका देशहरूमा युवाहरूको अवस्था के छ त? यस विषयमा थोरै बहस गर्नु उपयुक्त हुनेछ।

धेरैपल्ट चर्चा भइसक्यो कि जीवनको कार्यसूची नभएको संस्था वा व्यक्तिको जन्म निरर्थक हुन्छ। संसारमा थोरै मान्छे सफल भए र हुन्छन्, जोसँग जीवनका प्राथमिकता थिए र कार्यसूची पनि। यस्तै मानिसहरूलाई समाजले पत्यायो र पत्याउँछ पनि। तर सफलताको मानक भनेको राजकीय ओहोदा चाहिं होइन।

गान्धीसँग कुनै राजकीय दर्जा थिएन। व्यक्तिको कर्म र समर्पण, योगदान र कीर्ति नै उसको पहिचान हो। संसारको सबै भूगोलमा यस बारेमा लगभग समान धारणा छ। आफ्ना सुखका निम्ति मरिहत्ते गर्ने राजनीतिज्ञ, पद प्राप्तिका निम्ति सदैव चिन्तित राजनीतिकर्मीले पाएका अवसरहरू जिन्दगीका सफलता होइनन्। त्यहाँ पुगेर उसले के गर्‍यो, त्यो महत्त्वपूर्ण हो। तर दुःखका साथ भन्नुपर्छ, हाम्रो राजनीति येनकेन प्रकारेण दर्जा प्राप्तिको बाटोमा मग्न छ। साथै चरम मूल्य स्खलनको बिडम्वना झेलिरहेको छ।

अब चर्चा गरौं युवा पुस्ताको। एकप्रकारले सोच्ने हो भने नेपालमा युवापुस्ता नै छैन। यहाँ किशोरकिशोरीहरू तरुण नबनिकनै वृद्धावस्थामा प्रवेश गर्दछन्। किनभने नेपालमा सीमित संख्या बाहेक सबै बालबालिकाको शिक्षाको गुणस्तरीय जग बस्न पाउँदैन। यसको कारण मुलुकको शिक्षा नीति हो। ने

पालले आजसम्म राष्ट्रका निम्ति पर्याप्त जनशक्ति उत्पादन गरी विदेशमा समेत निर्यात गर्ने नीतिको प्रभावकारी कार्यान्वयन गरेन। परिणामस्वरूप विश्वविद्यालयहरूले नेपालको श्रम बजारमा बर्सेनि अकुशल अर्थात् अदक्ष जनशक्तिको आपूर्ति गर्ने गर्दछन्। यस्तो जनशक्ति विश्वबजारमा खपत हुँदैन। र खाडी मुलुकमा श्रमिक बनेर जान्छ र बलको काम गर्न बाध्य हुन्छ।

कहालीलाग्दो यथार्थ त के छ भने बर्सेनि ठूलो संख्यामा खाडी क्षेत्र र मलेसियामा कार्यरत श्रमिकहरूको विभिन्न दुर्घटनामा मृत्यु हुन्छ। परिवारको गुजाराका लागि विदेशिन बाध्य नेपाली युवाको मुग्लानमा मृत्यु हुनु जस्तो दर्दनाक घटना अरु हुन सक्तैन। यो सबै राजनीतिक प्रणालीको असफलता हो। राज्यले लगातार अदक्ष मजदुर उत्पादन गर्ने र विदेशमा गएर मर्नुपर्ने ! शिक्षाको राम्रो जग नबसेका किशोरकिशोरी उच्च आत्मविश्वास भएको युवा बन्न नपाउनु जस्तो बिडम्वना अरु के हुन सक्छ ?

आफ्नो भविष्य र परिवारको लालनपालनको चिन्ताले ग्रस्त राज्यद्वारा उपेक्षित युवा कसरी तरुण बन्न सक्छ त ? जिन्दगीको पीरले उसलाई एकैचोटि बुढ्यौली लाग्छ। अर्कातिर दक्षता भएको कुशल युवा समेत राम्रो अवसरबाट वञ्चित भएर निराश बन्छ र आफ्नो भविष्य खोज्न विदेश पलायन हुन्छ। अनि मुलुक पराश्रित वृद्धवृद्धाको अखडा बन्न पुग्छ। देशमा केही छट्टु र स्वार्थी राजनीतिज्ञहरूको बोलवाला चलुञ्जेल हुने यही हो। अनि देश कसरी बन्छ ?

युवा निराशाले बहुआयामिक दुष्प्रभाव जन्माउँछन्। यसको चर्चा आज यहाँ गरिंदैन। अपवाद बाहेक दुनियाँका कुनै पनि आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक क्रान्तिहरू वृद्धहरूको नेतृत्वमा सम्भव छैन। २००७ सालको जनक्रान्तिको नेतृत्व तरुण बीपी, सुवर्ण, गणेशमानहरूले गरेका थिए। त्यसैले जुन पुस्ताले समाजको बागडोर थामेर राष्ट्र निर्माणका निम्ति अहोरात्र पसिना बगाउनुपर्ने हो, त्यही पुस्ता उपेक्षित र निराश भएर विदेशिएपछि देशको कस्तो दुर्दशा होला !

अर्को कुरा, राज्यबाट उपेक्षित युवामा राष्ट्रियताको भावना समेत टाक्सिंदै जान्छ, राम्रोसँग फस्टाउन पाउँदैन। जुन राष्ट्रले आफ्ना नागरिकका प्रतिको आधारभूत कर्तव्य र जिम्मेदारी पूरा गर्दैन, जहाँका राजनीतिकर्मीहरू वैयक्तिक स्वार्थमा लिप्त रहन्छन्, कालान्तरमा त्यहाँको समाज शक्तिशाली राष्ट्रको गुलाम बन्न पुग्छ र अन्ततः विसर्जन हुन्छ अर्थात् त्यस्तो देश विघटित हुन्छ।

अघिल्लो पुस्ताका जापानीहरूले आफ्नो देश बनाए र अहिले आफैं सुखभोग गर्दैछन्। निकै छोटो समयमा जापानले ठूलो आर्थिक प्रगति गर्‍यो। सन् १९४५ को अगस्तसम्ममा लगभग ध्वस्त जापान सन् १९६८ सम्म पुग्दा नपुग्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनिसकेको थियो।

दोस्रो विश्वयुद्धको भयंकर क्षतिलाई उनीहरूले तत्कालीन प्रधानमन्त्री योसिदा र उनको ‘योसिदा डक्ट्रिन’का मार्फत परिपूर्ति गरिसकेका थिए। छोटो समयमा जापानले अटोमोबाइल अर्थात् गाडी र इलेक्ट्रोनिक सामानको सबैभन्दा ठूलो उत्पादक र निर्यातक राष्ट्रका रूपमा आफूलाई स्थापित गरिसकेको थियो।

सन् १९९० सम्ममा त जापान विश्वका सर्वाधिक विकसित राष्ट्रको श्रेणीमा उक्लिसकेको थियो। अर्को महत्त्वपूर्ण कुरा, असाध्य खराब सम्बन्ध भएको अमेरिकासँग तत्काल शान्ति र मैत्री सन्धि गरेर उसले हरेक क्षेत्रमा साझेदारी गर्‍यो भने सोभियत युनियनसँगको सम्बन्धलाई समेत सुधार गर्‍यो।

जापानका लागि यो कदम धेरै ठूलो बुद्धिमत्ता र दूरदर्शिता साबित भयो। जापानलाई अघि बढाएर माथि उठाउनमा त्यहाँका युवा सम्राट हिरोहितोको ठूलो भूमिका छ भन्दा अतिशयोक्ति नहोला। साथै जापानी युवाहरूको पौरख र पसिनाको जगमा जापानको समृद्धि ठडिएको छ।

हामी के गर्दैछौं त ? नयाँ पुस्तालाई निराश बनाएर विदेश धपाउँदैछौं। किशोर वयबाट तरुण हुनै नदिई बुढा बनाउँदैछौं। अनि थाकेको रोगी पुस्तालाई राज्यको बागडोर सुम्पेर समृद्धिको आश गर्दैछौं। यस मार्गचित्रबाट देश बन्दै बन्दैन। हामीले मार्गचित्र बदल्नुपर्छ र किशोरकिशोरीलाई तरुण हुन दिनुपर्छ। देश विकासको प्रमुख शर्त यही हो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
गुरुराज घिमिरे

घिमिरे नेपाली कांग्रेसका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?