+
+

जाडोयामभरि लुकेर बस्ने, गर्मीमा निस्कने गुणकारी सर्प

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १७:४५

१७ साउन, काठमाडौं । गर्मीयाममा सर्पको सक्रियता बढ्ने गर्छ । त्यसैले यो समयमा सर्पदंशका घटनाहरुमा वृद्धि हुने गर्छ । जाडो र हिउँद महिनाभरि जमिनमुनि तातोको खोजीमा लुकेर बस्ने सर्प गर्मीयामको सुरुवात सँगै बाहिर निस्कने गर्छ ।

आहार विहारको खोजीमा हिँडिरहेको सर्पले कहिलेकाहीँ मानिसलाई पनि डस्न सक्छ । सर्पको लागि सबैभन्दा अनुकुल मानिने यो वर्षातको मौसममा नेपालमा पनि सर्पको डसाइबाट ज्यान समेत गुमाउनुपरेका दुखद खबरहरु बाहिर आउने गर्छन् ।

सर्प भन्नेबित्तिकै हामी अत्यन्तै खतरनाक विषालु जीव सम्झने गर्छौं । त्यसैले त गाउँघरतिर सर्प देख्ने बित्तिकै कि त मारिहाल्ने कि त भागिहाल्ने चलन अद्यपि छ । हुनत सर्पलाई भगवान नागको रुपमा पूजा गर्ने चलन छ तथापि यो जीवलाई धेरै सर्वसाधारणले हिंस्रक र हानिकारक जीवकै रुपमा लिने गर्छन् ।

सर्पको उपयोगिता, चरित्र र पर्यावरणमा यसको महत्वको बारेमा सर्वसधारण अनभिज्ञ रहेकाले नै हुनसक्छ कागजी नाग र ढुंगा र लहराको प्रतिमूर्ति लाई नाग मानेर पूजा गरेपनि साक्षात् नागसँग हामी तर्सिने गर्छौं ।

के हो सर्प ?

सर्प एक मांसाहारी सरिसृप जीव हो । प्रकृतिको खाद्य श्रृङ्खलामा यो द्धितीय वा तृतीय उपभोक्ताको रुपमा रहेको हुन्छ । विश्वमा हालसम्म पन्ध्र परिवार अन्तर्गत करीब २ हजार नौ सय प्रजातिका सर्प पाइएका छन् । त्यसमध्ये नेपालमा करीब ७० प्रजातिका सर्प पाइन्छन् ।

नेपालमा यति धेरै सर्प पाइए पनि त्यसमध्ये केवल २० प्रजातिका सर्प मात्रै विषालु रहेका छन् । अझ त्यसमा पनि कोब्रा, करेट र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्रै खासगरी मानिसको लागि खतरनाक मानिन्छन् ।

यता संसारमा पाइने करीब २९ सय प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्रै विषालु छन् अझ त्यसमा पनि केबल २ सय ५० प्रजातिका सर्प मानिसको लागि खतरनाक मानिन्छन् र ज्यानै समेत लिन सक्छन् ।

सर्पको आकारको बारेमा कुरा गर्नुपर्दा विश्वमा १० सेन्टिमिटर लामो फित्ते सर्पदेखि लिएर २५ फिट लामो अजिंगर सम्म पाइन्छ । अझ जीवावशेषको रेकर्डलाई आधार मान्ने हो भने ४३ फिट लामो सर्पको जीवावशेष समेत पाइएको छ ।

सर्पको बानीव्यहोरा

सबै सर्प विषालु हुँदैनन् । विषालु सर्पहरुको टाउकोमा विष ग्रन्थी हुन्छ । जुन एक प्रकारको र्‍याल ग्रन्थी हो । जब सर्पले कसैलाई डस्छ सो विष विशेष दाँतमार्फत उक्त जीवको रक्त सञ्चारमा पुग्ने गर्छ । सर्पको विषको प्रकृति हेरिकन यसले रक्त सञ्चार प्रणाली वा स्नायु प्रणालीमा आघात पुराउँछ ।

सर्पको आँखा उतिसारो विकसित भएको हुदैन न त यसको काननै विकसित भएको हुन्छ । तर सर्पको घ्राण शक्ति र चिसो तातो थाहा पाउने क्षमता अति नै विकसित भएको हुन्छ । जसको कारण उनीहरु आफ्नो सिकार पत्ता लगाउने , जाडो र गर्मीको बारेमा जानकारी पाउने, सत्रुबाट जोगिने लगायतका कृयाकलाप गर्न समर्थ हुन्छन् ।

सर्पको वातावरणमा भएको तापक्रम उतारचढाव थाहा पाउने क्षमता यतिधेरै विकसित भएको हुन्छ कि उनीहरु केबल ०.००३ डिग्री सेल्सियस तापक्रमको उतारचढाव समेत सहजै थाहा पाउन सक्छन् ।

सर्पहरु मांसाहारी जीव हुन् । यिनीहरुले खासगरी छेपारो, भ्यागुता, मुसा तथा साना स्तनधारी, अन्य सर्प तथा माछा, चरा, किटपतंग लगायतको सिकार गर्ने गर्छन् । अजिंगर  सर्पले ठूला मृगहरुको समेत सिकार गर्ने गर्छ । सर्पले आफ्नो सिकारलाई नचपाइकन पूर्ण रुपमा निल्ने गर्छ ।

सर्पले आफ्नो सिकारलाई डस्ने नभइ प्रतिरक्षाको लागि सत्रुलाई मात्र डस्ने गर्छ । तर केही सर्पले भने आफ्नो सिकारलाई बेहोस बनाउन वा मार्नको लागि समेत डस्ने गर्दछन् । सामान्यतया सर्पले मानिसलाई डस्दैन ।

यसलाई घाइते बनाउने, चलाउने वा प्रत्यक्ष सम्पर्कमा आएपछि मात्र प्रतिरक्षाको लागि मानिसलाई आक्रमण गर्ने गर्छ । त्यसकारण पनि सर्प आफैंमा मानिसको लागि हानिकारक होइन, सर्पको डसाइबाट बच्न हामीमै सचेतना चाहिन्छ ।

धर्म संस्कृतिमा सर्प

हिन्दु धर्म चराचर जगतलाई साक्षात् ईश्वर ठान्ने सनातन धर्मको रुपमा रहिआएको छ । त्यसैले पनि हिन्दु धर्मग्रन्थहरुमा प्रकृतिका अनेक जीव वनस्पतिलाई ईश्वरको प्रतीकको रुपमा व्याख्या गरिएको पाइन्छ ।

हिन्दु धर्ममा सर्पलाई नाग देवताको रुपमा पुजा गर्ने प्रचलन छ । नागपंचमीमा अष्ट नागको पूजा गर्ने , भगवान विष्णुको एक अवतारको रुपमा , शिवको मुकुटको रुपमा नागको पुजा गर्ने चलन छ । शेष नागले सम्पूर्णविश्व ब्रम्हाण्ड थामेको धार्मिक मान्यता समेत रहिआएको छ । तर इसाइ धर्ममा सर्पलाई सैतानको रुपमा व्याख्या गरिएको पाइन्छ ।

चिनिया पात्रो अनुसार विभिन्न प्राणीको नाममा वर्षको नामाकरण गर्ने क्रममा सर्प वर्षसमेत रहेको पाइन्छ । मिश्रको सभ्यता अन्तरगत प्राचिन मिश्र बासीहरुले समेत सर्पलाई इश्वरको रुपमा पूजा गर्ने गर्दथे । प्राचित ग्रिक बासीहरुले समेत सर्पको सामर्थ्यलाई लिएर धेरै किम्बदन्तीहरु तयार पारेको पाइन्छ ।

सर्पको पर्यावरणीय महत्व

प्रकृतिका हरेक जीवजन्तु र वनस्पति आपसमा अन्तरसंबन्धित छन् । वातावरणका जैविक र अजैविक पदार्थहरुबीचको क्रिया प्रतिक्रिया र लेनदेनबाट नै पर्यावरणको सनातन चक्र सन्तुलित भएर चलिरहन्छ । यसकारण पनि कुनै पनि जीवलाई यो चक्रबाट निकालिदिनेहो भने समग्र पारिस्थितिकिय प्रणालीमा खलल पुग्न जान्छ ।

सर्प पनि प्रकृतिको खाद्य श्रींखलाको मांसाहारी उपभोक्ताको रुपमा रहेको हुन्छ । सर्पले भ्याग’तो, छेपारो , मुसा आदिको सिकार गर्छ जबकी सर्पलाई गरुड , चिल लगायतका ठूला पंक्षीहरुले खाने गर्छन् । यसकारण यदि सर्प लोप हुने हो भने एकातिर मुसा, छेपारो लगायतका जीवको संख्या अत्यधिक बढ्न जान्छ भने आहारको लागि सर्पमा निर्भर रहेका उल्लेखित पंक्षीहरुसमेत खानाको अभावमा लोप हुन्छन् ।

त्यसकारण सबै प्रकारका जीवको संख्या र क्षमतालाई नियन्त्रणमा राख्दै प्रकृतिको खाद्यश्रींखलालाई सन्तुलित पार्नको लागि पनि सर्प धेरै महत्वपूर्ण मानिन्छ । यतिमात्र होइन हाम्रो बालीनालीको मुख्य सत्रुको रुपमा रहेको मुसाको मुख्य सत्रु सर्प भएकाले पनि यो हाम्रो लागि अति नै उपयोगी रहेको छ, तथापि न्याउरी मुसाले सर्पलाई नै आक्रमण गर्ने गर्छ । जे होस् केही सर्प हाम्रा लागि अति नै खतरनाक भएपनि समग्रमा सर्पहरु प्रकृतिका अभिभाज्य अंग हुन् ।

सर्पको संरक्षण

एकातिर अज्ञानतावस डरको कारण र यसको टोकाइबाट जोगिन सर्पलाई देख्नासाथ मारिहाल्ने चलन छ भने अर्कोतर्फ व्यापरिक प्रयोजनका लागि सर्पलाई मार्ने गरिएको छ ।

खासगरी सर्पको छाला बाट धेरै प्रकारका उपयोगी सामाग्रीहरु निर्माण गरिने भएकाले पनि यसको चोरिसिकारी हुने गरेको छ । सर्पको विषबाट एन्टिभेनोम औषधी बनाउन सकिन्छ जुन सर्पलगायतका विषालु जीवको डसाइमा उपचारको लागि प्रयोग गरिन्छ ।

विश्वका केही भागमा मासुको लागिसमेत सर्पलाई मार्ने गरिएको पाइन्छ । सर्पलाई मनोरन्जनको साधनको रुपमासमेत उपयोग गर्ने गरिएको छ ।

समग्रमा सर्प हाम्रो लागि जति हानिकारण छ त्यसको कैयौ गुणा लाभदायक र अनिवार्य छ । त्यसकारण सर्पको संरक्षणमा हामी लाग्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?