+
+

खतरा पत्रकार हुन नसकेको म

मेरो पत्रकारिता चाहिं स्कुपलाई आत्मसात् गर्दै सकारात्मकतालाई प्राथमिकता दिने कुरामा अग्रसर छ । यो अग्रसरताले खतरा पत्रकारको उपमा नपाउँदा पनि सन्तुष्ट छु ।

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ साउन २१ गते ९:५४

समाचारकर्ममा झण्डै ३२ वर्ष बित्न लागेछ । २०४६ सालबाट लेखनकार्य सुरु गरेको भए पनि २०४८ सालयता भने निरन्तर समाचारकर्ममै तल्लीन छु । यो कर्मबाट कसैलाई नराम्रो गरेको थाहा छैन । समाचारमा ‘स्कुप’को कुराले प्राथामिकता पाउछ, यही मेसोमा खोज पत्रकारिताको नाममा गाली पत्रकारिता निक्कै चल्ने गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको व्यक्तिगत स्वतन्त्रता हनन् गरेको पत्तै हुँदैन हामी पत्रकारहरुलाई । तर म यो मान्यताबाट सधैं टाढा रहे । यसको अर्थ म यी मान्यताहरुको बर्खिलाप भन्ने हैन । पत्रकारितामा स्कुपको सधैं उच्च स्थान हुने गर्छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारिताको ज्यान नै हो । तर हाम्रो समाचारका पात्रहरुको व्यक्तिगत स्वतन्त्रता त्यो भन्दा महत्वपूर्ण हो । यही मान्यतालाई आत्मसात् गरेकैले सायद म यो कर्ममा बिक्न सकेको छैन । नराम्रो त कसैले भनेका छैनन्, यो चाहिं खतरा पत्रकार हो है भनेको पनि सुनेको छैन ।

द्वन्द्वकालमा लेखिएका केही समाचारको विषयमा कहिले माओवादी पक्ष र कहिले सरकार पक्षबाट सामान्य गुनासो सुन्ने गरिन्थ्यो, तर समाचारमा सत्यलाई आत्मसात् गरेको हुनाले त्यो गुनासो मित्रताको हिसाबले मात्र आउने गरेका हुन् । र, मैले सकेसम्म कुनै पक्षबाट पनि गुनासा नआउनु भन्ने कुरालाई जहिल्यै आत्मसात् गरिरहें ।

पछिल्लो पटक म इतिहास तथा किंवदन्ती बनेका संस्कार-संस्कृति, भाषा, रीतिरिवाज, जातजाति, विभिन्न स्थान र व्यक्तिको बारेमा समाचार तथा लेख लेख्न सक्रिय छु । यसले इतिहासलाई जीवन्त राख्ने र संस्कार-संस्कृति तथा भाषालाई पुस्तान्तरण गर्न सहयोग पुग्ने मेरो बुझाइ छ ।

स्वीस सरकार र त्यहाँको जनताले मन पराएको ठाँउ दोलखाको जिरी । धक नमानी भन्छु दोलखामा २०३८/०४० तिरै सडक सञ्जालले जोडिनुको श्रेय जिरीलाई जान्छ । स्वीस सरकारले उच्च पहाडी विकास परियोजना -आईएचडीपी) मार्फत दोलखामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन लगायतको क्षेत्रमा सहयोग गरेको थियो । सोही अन्तर्गत लामोसाँघु- जिरी सडक निर्माण भएपछि दोलखाको विकासमा सकारात्मक प्रभाव देखिएको हो । यही मेसोमा मैनापोखरी बजारको मधुरो चित्र कोरिएको रहेछ । जुन अहिले दोलखाको प्रमुख व्यापारिक केन्द्र मध्यमा पर्दछ ।

७० वर्षको आसपास दौडिरहनु भएका बासुदेव सिवाकोटीले मैनापोखरीमा २०३८ सालमा पहिलो टहरा हालेर सानो होटल सुरु गर्नुभएको रहेछ । त्यतिबेला काभ्रेको चलेको बजार बगरमा थियो । जिरी मात्र हैन रामेछाप, सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुरतिरका मानिसहरु समेत जिरी हँुदै बगर झरेर तामाकोशी, सेराबेंसी, मुडे, खाडीचौर पुगेर काठमाडौं जाने गर्थे रे !

स्वीस सरकारले खनेको लामोसाँघु-जिरी सडक मैनापोखरी हुँदै अगाडि तन्किंदा सडक खन्न संलग्न मजदुरहरु मिठो र तेल लिन लर्को लागेर मैनापोखरी आउन थाले ।

बासुदेवको सम्झनामा तिखेचौर, कलङदेखी मजदुरहरु पिठो र तेल लिन मैनापोखरी आउँथे ।

मैनापोखरी बजार

ती मजदुरहरु ठाँउठाँउमा ओत लागेर छाक टार्ने उपाय गरिरहँदा अनि पिठो र तेलको लागि हारालुछ गर्दा मैनापोखरी डाँडाको रौनक अनौठो लाग्यो बासुदेव सिवाकोटीलाई । व्यवसायी दिमागका सिवाकोटीले मैनापोखरीमा चिया-नास्ताको होटल सुरु गर्न पाए आम्दानी राम्रै हुन्छ होला भन्ने ठान्नुभयो । अनि सुरु भयो उहाँको एक्लो व्यावसायिक अभियान मैनापोखरीमा ।

मैनापोखरीमा बासुदेव सिवाकोटी लामो समय एक्लो बस्नुपरेन । उहाँले व्यवसाय सुरु गरेलगत्तै चित्रप्रसाद दाहाल, कमलप्रसाद दाहाल, टहलबहादुर दाहाल लगायतले पनि मैनापोखरीमा टहरा हालेर सानातिना व्यवसाय सुरु गर्नुभयो । अनि बासुदेवले नै आफ्नो टहरा जगतबहादुरलाई आठ हजारमा बिक्री गरेर अर्को टहरा बनाउनुभयो । हो यसरी सुरु भयो मैनापोखरीको बजार ।

मैनापोखरी बजारको उतिबेलाको मधुरो चित्र मेरो स्मरणमा पनि बेला-बेला झुल्कने गर्छ । २०४८/०५० सालताका चरिकोटका हामी केही युवाको आउजाउ जिरीमा बाक्लै हुने गथ्र्यो । जिरीका साथीहरु सोनाम, स्व. कुमार, बाबुराजा, सुरेन्द्र (टाइसन) लगायतसँग हाम्रो दोस्ती राम्रै जमेको थियो । जिरी जानेक्रममा उचाईमा रहेको मैनापोखरीमा केही ढुंगामाटाका घर र टहराहरु थिए । पारिलो घाम र वरपरको दुश्य राम्रोसँग नियाल्न सकिने मैनापोखरी सुन्दर थियो । थुक्पा मीठो पाइन्छ भनेर हामी यो बजारमा उत्रिन्थ्यौ र तरतरी आँसु झारेर पिरो तर असाध्य स्वादिलो थुक्पा खाएर गन्तव्यतिर लाग्ने गथ्र्यो ।

मैनापोखरी बजारकै विषयमा मैले केही समयअघि एउटा समाचार लेखेको थिएँ । ‘मैनापोखरी ः सहकारीले बसाएको बजार’ शीर्षकमा । यो शीर्षकमा केही विवाद देखियो । सायद विवाद स्वभाविक पनि थियो होला । समाचारको आशय सहकारीले नै सबैकुरा गरिदिएको भन्ने पक्कै होइन । केही स्थानीयले त्यसरी बुझ्नुभएको हो कि जस्तो लागेको छ । तर ढुक्कको कुरा के पनि हो भने मैनापोखरी बजारलाई दोलखाको मुख्य व्यापारिक केन्द्र बनाउने कुरामा जनसचेतना लगायतका सहकारीहरुको भूमिका पक्कै छ ।

२०४० सालतिर ५४ घडेरी अभियान सुरु भएछ मैनापोखरीमा । नेपालका अब्बल सहकारी अभियन्ता तथा अग्रज शिक्षाविद् यज्ञराज ढुंगेलले सुनाउँदै हुनुहुन्थ्यो- ५४ घडेरी अभियान सुरु भएपछि विस्तार मैनापोखरीमा घरटहरा थपिएर बजार बढ्न थाल्यो । ५४ घडेरी अभियानमा स्वर्गीय पशुपति चौलागाईं, सूर्यबहादुर बस्नेत, जगतबहादुर खड्का, मीनबहादुर दाहाल, पुष्कर दाहाल, पदम बहादुर दहाल लगायतका स्थानीयको महत्वपूर्ण योगदान रहेको ढुंगेलले बताउनुहुन्छ ।

ग्रामीण जनताको जीवनस्तर उकास्न सहकारीको भूमिका महत्वपूर्ण छ । मैनापोखरीको सवालमा सहकारीले जसरी बजार विस्तारमा टेवा पुर्‍याएको छ, त्यसैगरी मैनापोखरीमा रहेका जनसचेतन, जनमुखी, जनचेतना, भविष्य निर्माण महिला बचत लगायतका सहकारीलाई उचाईमा पुर्‍याउन बजारवासीको भूमिका महत्वपूर्ण देखिन्छ ।

२०५० सालमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था स्थापना भएर पछि स्थानीयले रकम बचत गर्न सुरु गरे । यही मेसोमा अन्य सहकारीहरु पनि सञ्चालन हुन थाले । अनि स्थानीयले आफ्नो कमाइको केही रकम बचत गर्ने र सहकारीबाट ऋण लिएर कृषि, उद्योग, व्यापार, घर निर्माण, जग्गा खरिदजस्ता कुरामा भरथेग गर्ने क्रम अहिलेसम्म निरन्तर चलेको देखिन्छ । त्यसैले म के कुरामा विश्वस्त छु भने ‘चल्ला पहिले कि अण्डा’ भन्ने बहस भन्दा पनि काभ्रे मैनापोखरीमा सहकारीहरु फस्टाउन स्थानीयको भूमिका छ र स्थानीयलाई व्यवसायी बनाउदै मैनापोखरी बजार बसाउन सहकारीको भूमिका छ ।

समाचारकर्ममा निर्विवाद केही हुन्न । समाचार लेखिरहँदा एउटा पाटो खुसी देखियो भने अर्को पाटोमा बेखुसीको रंग पोतिन्छ । झन् ऐतिहासिक तथ्य र किंवदन्तीहरुलाई समेट्ने संस्कार-संस्कृति, भाषा, धर्म, सामाजिक परिवेश, भूगोल आदिको बारेमा लेखिने समाचार निर्विवाद र पूर्ण कहिल्यै हुन सक्दैन । अनि पूर्ण छैन भनेर यस्ता विषय लेख्न छाड्यौं भने अग्रजहरुसँगै यी विषय पनि अलप हुन्छन् ।

त्यसैले लेखनमा स्कुपसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पात्रलाई अधिक न्याय गर्ने कुरालाई मूल आधार मान्नुपर्छ । मुलुकको ऐन-कानुन तथा पत्रकार आचारसंहिताले पनि यही कुरा भनेको छ । तर लेखनकर्म भने कहिल्यै छोड्नु हुन्न । हाम्रो गाँउ समाजको संस्कार-संस्कृति, भाषा, भेषभूषा, रीतिरिवाज, धर्म, भूगोल, रहनसहन, बजारीकरण जस्ता विषय नेपाल र नेपालीको अमूल्य सम्पत्ति हो यसको संरक्षण हामी सबैको दायित्व हुनुपर्छ ।

मेरो पत्रकारिता चाहिं स्कुपलाई आत्मसात् गर्दै सकारात्मकतालाई प्राथमिकता दिने कुरामा अग्रसर छ । यो अग्रसरताले खतरा पत्रकारको उपमा नपाउँदा पनि सन्तुष्ट छु । यति चाहिं भन्छु- मेरो पत्रकारिताकर्मले समाजको बेथिति अन्त्यमा सहयोग पुगोस्, तर अनाहकमा कसैको प्रतिष्ठामा आँच नआओस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?