+

एकपटक प्रत्यारोपण गरेको कपाल आजीवन रहन्छ ?

२०७९ साउन  २३ गते १३:१७ २०७९ साउन २३ गते १३:१७
एकपटक प्रत्यारोपण गरेको कपाल आजीवन रहन्छ ?

काठमाडौं । कपाल सौन्दर्यको प्रतीक पनि हो । बाक्लो र सिल्की कपालले मानिसमा आत्मविश्वास समेत बढाउने बताइन्छ । तर कतिपय व्यक्ति कपाल झर्ने समस्याका कारण हैरान छन् । आफ्नो कपाल थप झर्नबाट जोगाउन विभिन्न उपाय अपनाउँछन्, तर सफलता हात लागिरहेको हुँदैन ।

पछिल्लो समय हेयर ट्रान्सप्लान्ट अर्थात् कपाल प्रत्यारोपण गर्ने प्रविधि भित्रिएपछि भने कपाल झर्ने समस्याबाट पीडित भएकाहरुले राहत महसुस गरेका छन् । एक हिसाबले कपाल प्रत्यारोपण उनीहरुका लागि बरदान नै साबित भएको छ ।

हेयर ट्रान्सप्लान्ट भनेको व्यक्तिको आफ्नै कपाललाई टाउकोको अर्को साइडमा लगेर रोप्ने प्रक्रिया हो । सामान्यतः टाउकोको पछाडिको भाग अर्थात् डोनर एरियाको कपाललाई अगाडि कपाल झरेको भागमा रोप्ने गरिन्छ ।

कपाल प्रत्यारोपण गर्दा स्वास्थ्यमा कुनै प्रकारको हानी नहुने कपाल प्रत्यारोपण विशेषज्ञ डा. उदीप श्रेष्ठ बताउँछन् । ‘हेयर ट्रान्सप्लान्ट सुन्दर देखिनको लागि मात्र हो, स्वास्थ्यसँग यसको खासै सम्बन्ध हुँदैन । १८  देखि ६७ वर्षका मान्छेहरूले कपाल प्रत्यारोपण गर्न सक्छन् ।’

कपाल प्रत्यारोपण विशेषज्ञ डा. उदीप श्रेष्ठ

तर डोनर एरिया कम हुने, छालासम्बन्धी रोग भएका, मधुमेह र उच्च रक्तचापका बिरामीले कपाल प्रत्यरोपण गर्न नमिल्ने उनी बताउँछन् । ‘प्रत्यारोपण गर्दा कुनै पनि केमिकलको प्रयोग हुँदैन । यो एकदमै प्राकृतिक प्रक्रिया हो । एक ठाउँको कपाल अर्को ठाउँमा सार्ने मात्र हो,’ उनी भन्छन् ।

खर्च कति लाग्छ, प्रत्यारोपणपछि के कुरामा ध्यान दिनुपर्छ ?

नेपालमा कपाल प्रत्यारोपण गर्दा एउटा कपाल बराबर ४० देखि ८५ रुपैयाँसम्म पर्ने डा. श्रेष्ठ बताउँछन् । कति कपाल झरेको छ सोही अनुसार नै प्रत्यारोपण गर्ने कपालको संख्या निर्धारण हुन्छ ।

कपाल प्रत्यारोपण गरेपछि पाँच दिनसम्म निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।  यस अवधिमा राम्रो ख्याल नराख्दा कपाल चुँडिने र झर्ने हुनसक्छ । त्यसपछि बिस्तारै कपाल सेट हुन थाल्छ र ४५ दिनपछि सामान्य अवस्थामा पुग्छ । त्यसपछि भने पौडी खेल्ने, कलर गर्ने, कपाल काट्ने सबै गर्न मिल्ने डा. श्रेष्ठ बताउँछन् ।

कपाल प्रत्यारोपण गरेको सात दिनसम्म एन्टिबायोटिक र पेनकिलर औषधि सेवन गर्नुपर्छ । प्रायः सबै शल्यक्रियापछि यस्ता औषधिको सेवन गर्नु नै पर्छ । प्रत्यारोपण गरेको कपाल र प्रत्यारोपण नगरिएको कपाल दुवै सेट होस् भनेर केही भिटामिन दिइने र त्यसबाहेक भने अन्य औषधि सेवन गर्नु नपर्ने उनी बताउँछन् ।

‘कपाल प्रत्यारोपणले केही असर पो गर्छ कि भन्ने पनि धेरैको प्रश्न हुन्छ । कपाल प्रत्यारोपणले केही पनि नराम्रो असर गर्दैन । यो सौन्दर्यसँग मात्र सम्बन्धित हुन्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘कपाल प्रत्यारोपण गरेपछि जवान देखिन्छ, आत्मविश्वास बढ्छ । तर यसले स्वास्थ्यमा भने राम्रो नराम्रो कुनै पनि प्रकारको असर गर्दैन ।’

वंशाणुगत कपाल झर्ने समस्या भएका व्यक्तिले जति प्रयास गर्दा पनि कपाल झर्ने प्रक्रियालाई रोक्न सक्दैनन् । वंशाणुगत कारण बाहेक अन्य कारणले कपाल झरेको छ भने त्यसको उपचार हुने डा. श्रेष्ठको भनाइ छ ।

‘तर वंशाणुगत कपाल झर्ने समस्याको भने कुनै उपचार छैन । त्यस्ता व्यक्तिको लागि कपाल प्रत्यारोपण मात्रै विकल्प हो,’ उनी भन्छन्, ‘कसैको डोनर एरियामा कपाल कम छ भने प्रत्यारोपणको लागि दाह्री र छातीको रौं पनि प्रयोग गर्न सकिन्छ ।’

यस्तै आगोले पोलेर, अन्य चोटपटक लागेर कपाल झरेको र पुनः नपलाएका व्यक्तिका लागि पनि कपाल प्रत्यारोपण नै विकल्प भएको डा. श्रेष्ठ बताउँछन् । यस्ता व्यक्तिले छालारोग विशेषज्ञसँग छालाको जाँच गराएर कपाल प्रत्यारोपण गर्न सक्ने उनी बताउँछन् ।

प्रत्यारोपण गरेको कपाल आजीवन रहन्छ ?

पहिले कपाल प्रत्यारोपण गरेपछि खाली ठाउँ देखिने र कपालको लाइन नमिल्ने समस्या देखिन्थ्यो । तर अहिले नयाँ प्रविधि भित्रिएका छन् । त्यसैले अब खाली ठाउँ देखिने र कपालको लाइन नमिल्ने जस्ता समस्या नदेखिने डा. श्रेष्ठ बताउँछन् ।

‘कपाल प्रत्यारोपण गरेको भनेर ६ महिनापछि त थाहा हुँदैन । पहिले कपाल निकालिएको ठाउँमा दाग बस्ने समस्या देखिन्थ्यो । तर अहिले त्यस्तो समस्या पनि देखिंदैन,’ उनी भन्छन् ।

कपाल प्रत्यारोपणपछि व्यक्तिमा कुनै छाला सम्बन्धी समस्या देखिएन वा अन्य कुनै रोग लागेन भने प्रत्यारोपण गरिएको कपाल आजीवन रहने डा. श्रेष्ठ बताउँछन् ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइखबर

कपाल प्रत्यारोपण
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा के-कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा के-कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)