+
+

नेपाल बैंक र त्रिविबीच अनुसन्धान गर्ने विषयमा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १७:२३

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने विषयमा बुधबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरे ।

सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नसीप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ ।

बैंकको अनुसन्धानसम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ । सूची अन्तर्गतका प्राध्यापकहरुलाई आवश्यकताअनुसार बैंकले अनुसन्धानका लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।

त्यसैगरी बैंकले गरेका अनुसन्धानसम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबीए र एमबीएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जीआरपी)अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी नगद ३० हजार रुपैयाँ प्रदान गर्नेछ ।

बैंकले व्यवस्थापन विभागमा एमबीए इन कर्पोरेट लिडरसीपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्नेछ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले त्रिविसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धानसम्बन्धी कार्यमा ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

त्रिवि व्यवस्थापन केन्द्रीय विभागका निमित्त विभागीय प्रमुख अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्न पाउने खुसीको विषय रहेको बताए ।

कार्यक्रममा त्रिवि व्यवस्थापन विभागका एमबीए प्रोगाम डाइरेक्टर सहप्राध्यापक ज्ञानमणि अधिकारी, सहप्राध्यापक डा. ध्रुवलाल पाण्डेय, डा. बलराम दुवाल र डा. भरतसिंह थापाको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसमता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, कम्पनी सचिव केशव भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?