+
+

क्रिप्टो खोज्दा भेटियो अष्ट्रेलिया र क्यानडामा अवैध लगानी

नेपाली पैसा हुण्डीमार्फत विदेश पठाएर कारोबार

अमित श्रेष्ठ यस्ता व्यवसायी हुन्, जसलाई प्रहरीले एकजना पिएसओ नै दिएको थियो । तर अहिले उनी अवैधरुपमा नेपाली रुपैयाँ विदेश लगेर विभिन्न कम्पनीमा लगानी र शेयर कारोबार गरेको अभियोगमा थुनामा छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ साउन २६ गते २०:३१
व्यवसायी अमित श्रेष्ठ

२५ साउन, काठमाडौं । अमित श्रेष्ठ यस्ता व्यवसायी हुन्, जसलाई सशस्त्र प्रहरी बलले एकजना निजी सुरक्षा अधिकृत (पीएसओ) नै उपलब्ध गराएको थियो । जानकारहरुका अनुसार सुरक्षा निकाय, कर्मचारी संयन्त्रदेखि राजनीतिक वृत्तसम्ममा उनको राम्रै पहुँच थियो ।

उनै व्यवसायी श्रेष्ठको पानीपोखरीस्थित घरमा २९ असारमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले छापा मार्‍यो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार उनले नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंकामा ‘सर्च अपरेशन’ चलाइएको थियो ।

कार्यालयले उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगायो । काठमाडौं प्रहरी गरेको तीन साता लामो अनुसन्धानबाट उनले क्रिप्टोकरेन्सी कारोबार गरेको विवरणहरु त फेला परेन, तर विदेशमा अवैध लगानी गरेको भेटिएको छ । उनको विदेशका विभिन्न बैंकमा शंकास्पद रकम रहेको पनि खुलेको एसएसपी भट्टराई बताउँछन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको विस्तृत अनुसन्धानका क्रममा श्रेष्ठको ४८ करोड चार लाख ७२ हजार रुपैयाँभन्दा बढी रकम शंकास्पद रुपमा विदेश पुगेको पाइएको एसपी दिनेशराज मैनालीले बताए ।

‘प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत अदालतमा मुद्दा दर्ता भएको थियो’ मैनालीले भने, ‘त्यसमा श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।’

अदालतको आदेशअनुसार श्रेष्ठ अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारको थुनामा छन् ।

क्रिप्टो खोज्दा शंकास्पद कारोबार भेटियो

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार पानीपोखरीस्थित श्रेष्ठको घरमा छापा हानेर उनको दुई वटा ल्यापटप र तीनवटा मोबाइल बरामद गरिएको थियो । त्यसमार्फत श्रेष्ठले क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंका थियो ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार श्रेष्ठमाथि अनुसन्धानका क्रममा ल्यापटपमा लगइन भएका चार वटा इमेलको विश्लेषण गरिएको थियो । ती इमेलमा क्रिप्टो र विटकोइन सम्बन्धी सन्देशहरु आएको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । तर त्यसमा श्रेष्ठले जवाफ फर्काएको देखिएको छैन ।

प्रहरीले उनको ल्यापटप र मोबाइलहरु परीक्षणका लागि अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । ल्याबले उनले क्रिप्टो कारोबार गरेको स्पष्ट देखाउन सकेन तर, क्रिप्टो कारोबारका लागि प्रयोग हुने सफ्टवेयर चाहिँ उनको ल्यापटपमा इन्स्टल भएको भेटिएको छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘खासमा क्रिप्टो कारोबारको विशेषता नै यही हो, अलिकति चलाख्याइँ भयो भने पत्ता लगाउनै गाह्रो पर्छ ।’

उनको भनाइमा श्रेष्ठको ल्यापटपमा ‘ट्रडर्स वर्क स्टेसन’ नामक एप्लिकेशन इन्स्टल भएको पाइएको छ । तर श्रेष्ठले चाहिँ बरामद ल्यापटप क्यान्डामा बस्दा आफू निर्देशक रहेको ‘सर्भिस दि काउन्सिल अमित इङ्क’ नामक कम्पनीको भएको भन्दै सफ्टवेयरबारे अनविज्ञता प्रकट गरेको एक अधिकृत बताउँछन् ।

उनले त्यसको लगइन आईडी र पासवर्ड पनि थाहा नभएको दाबी गरेका छन् । ‘पासवर्ड नभएकै कारण पनि विवरण पत्ता लाग्न नसकेको हो’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘उनको मोबाइलमा सक्रिय भाइबरले उनी क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी कुराकानी हुने ग्रुपमा सदस्य समेत रहेको देखाउँछ ।’

अनुसन्धानका क्रममा उनले क्रिप्टो कारोबार गरे नगरेको यकिन विवरण फेला नपरेपनि डिजिटल सामग्रीको परीक्षण, क्यानडामा रहेका उनको खाताको स्टेटमेन्ट लगायतका आधारमा उनले विदेशमा शंकास्पद लगानी गरेको देखिएको प्रहरीले जनाएको छ ।

साथै, उनले इजाजतविना विदेशी विनिमय कारोबार, हुण्डी गरेर विदेशमा कम्पनी सञ्चालन र शेयर कारोबार गर्ने गरेको पाइएको प्रहरीको निष्कर्ष छ ।

शंकास्पद रुपमा विदेश पुग्यो लगानी

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्राविधिक जाँचका क्रममा २ जुलाई २०१९ देखि ८ अगस्ट २०१९ सम्ममा मात्रै श्रेष्ठको रोयल बैंक अफ क्यान्डाको खातामा एक करोड ९५ लाख ४६ हजार नेपाली रुपैयाँ बराबरको क्यान्डियन डलर जम्मा गरेको देखिएको छ ।

अनलाइनखबरलाई प्राप्त एक विवरण अनुसार उनको कमनवेल्थ बैंक अफ अष्ट्रेलियाको खातामा नेपाली एक करोड ५० लाख ६२ हजार रुपैयाँ बराबरको अष्ट्रेलियन डलर जम्मा गरेको देखिन्छ ।

उनकै बयान अनुसार श्रेष्ठ २४ डिसेम्बर २०१८ मा अष्ट्रेलिया गएका थिए । र, त्यसको तीन दिनपछि अष्ट्रेलियामा खोलिएको खातामा त्यति रकम जम्मा हुनु आफैंमा शंकास्पद भएको एक अनुसन्धान अधिकृत बताउँछन् । यो रकम उनी त्यहाँ पुगेको तीन महिनाको अवधिमा जम्मा भएको थियो ।

अनुसन्धान अधिकृतका भनाइमा श्रेष्ठ २८ जुन सन् २०१९ मा पहिलो पटक क्यानडा गएका थिए । ‘तर क्यानडा पनि जाने वित्तिकै दुई वटा खाता खोलेर केही दिनमै ठूलो परिमाणको शंकास्पद रकम जम्मा हुन गएको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘श्रेष्ठ ११ सेप्टेम्बर २०१९ मा नेपाल फर्किएको देखिन्छ र फेरि उनी १२ डिसेम्बर २०१९ मा क्यानडा गएका छन् ।’

२०१९ मा क्यानडा जाँदा उनी झण्डै १६ महिना त्यहीँ बसेको अध्यागमन विभागको अभिलेखबाट खुलेको छ । त्यो अवधिमा उनको क्यानडास्थित खातामा नेपाली एक करोड ९५ लाख ४६ हजार रुपैयाँ जम्मा गएको देखिएको छ । ‘त्यस अवधिमा क्यानडामा रहँदा बस्दा स्वभाविक रुपमा रकम आर्जन भएको कुरा पुष्टि हुन सक्दैन, शंकास्पद रुपमा विदेश पुगेलगत्तै ठूलो रकम जम्मा भएको छ’ अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।

काठमाडौं प्रहरीका एकजना प्रहरी नायब उपरीक्षक (डीएसपीं) को भनाइमा उनी अन्तिम पटक २०१९ मा क्यानडा गएर लगातार त्यहाँ बस्दा कोभिड-१९ भाइरसको महामारीका कारण विश्व नै आक्रान्त थियो र कुनै पनि रोजगारी र पेशा व्यवसाय नगरी उक्त रकम आम्दानी गरेको भन्नु विश्वनीय देखिन्न । श्रेष्ठ स्वयम्ले बयान दिँदै क्यानडामा लगानी गरेर कम्पनी सञ्चालन गर्न क्यानडियन सरकारबाट अनुमति लिएको भनेका छन् ।

नेपाल सरकारबाट अनुमति लिनु नपर्ने भएकाले नलिएको भनेका छन् । ‘उनकै बयानबाट पनि विदेशी विनिमय कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंक लगायत काहीँकतैबाट इजाजत लिएको खुल्न आएन’ अनुसन्धान अधिकृतहरु भन्छन् ।

त्यसैले उनको विदेशी खाताहरुमा अस्वभाविकरुपमा जम्मा भएको शंकास्पद रकम नेपालमा आफ्नो व्यवसायबाट आर्जन भएको रकम नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

‘जग्गा जमिन विक्री गरेको समेतको रकम नेपालबाट गैरकानूनी रुपमा हुण्डी कारोबारमार्फत विदेशमा रकम लगेर जम्मा गरेको देखिएकाले यो नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरितको कसूर हो’ प्रहरीले निष्कर्ष निकालेको छ, ‘उनले गरेको विदेशी विनिमय कारोबार विदेशको खातामा विदेशी विनिमय जम्मा गर्ने प्रयोजनका लागि दिने अन्तरगत देखिएको र उनले त्यससम्बन्धी कुनै इजाजत नलिएकाले स्पष्ट हुन्छ ।’

प्रहरीले उनकै बयानबाट श्रेष्ठले सन् २०१९ मा क्यान्डा गएको तीन महिनामा सर्भिस द काउन्सिल अमित नामक कम्पनीमा १५ हजार डलर लगानी गरेको खुलेको भनेको छ । साथै, क्यानडामा कम्पनी नै खोल्न लगिएको लगानीको स्रोतका सम्बन्धमा उनले बयान वा संकलित अन्य विवरण कतैबाट पुष्टि हुन नसकेको भनिएको छ ।

प्रहरी अनुसन्धानका क्रममा खुलेको विवरण अनुसार श्रेष्ठले दोस्रो पटक क्यानडा जानुअघि उनको नाममा रहेको काठमाडौं-३ मा रहेको दुईवटा कित्ता नम्बर भएको जग्गा ३ करोड रुपैयाँमा विक्री गरेको देखिएको छ ।

उनले बयानमै सन् २०१७ मा पानीपोखरीस्थित अपार्टमेन्ट पनि एक करोड ४० लाख रुपैयाँमा विक्री गरेको भेटिएको छ । ‘उनले त्यो रकम घरायसी काम र ऋण तिर्नका लागि प्रयोग भएको भने पनि त्यसको आधार भेटिएको छैन’ प्रहरी अधिकृतहरु भन्छन्, ‘त्यसैले ती सबै रकम विदेश गएको हाम्रो निष्कर्ष हो ।’

उनले क्यानडामा रहेकै बेला विशाल सिमेन्टको शेयर विक्री वापत ७ करोड ९८ लाख रुपैयाँ नेपालको एनआईसी एसिया बैंकमा १६ सेप्टेम्बर २०२० मा जम्मा भएको देखिन्छ । सोही खातामा २०२० कै सेप्टेम्बर १७ मा दुई करोड ४७ लाख रुपैयाँ जम्मा भएको विवरण पनि प्रहरीले फेला परेको छ ।

यो रकम जम्मा हुनासाथ मोनिता श्रेष्ठले पटकपटक गरी जीएमई रेमिट प्रा.लि.को खातामा जम्मा गरेको देखिएको छ ।

‘कुनै विशेष प्रयोजनविना आफू विदेशमा रहँदा आफ्नो खातामा रकम आउनासाथ विभिन्न व्यक्ति र रेमिट कम्पनीको खातामा जम्मा गरी भुक्तान गराएर गैरकानूनी रुपमा विदेशमा हुण्डीमार्फत पठाउनका लागि प्रयोग भएको स्पष्ट देखिन्छ’ अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ, ‘उनी आफैंले त्यही समयमा क्यानाडामा १५ हजार डलर लगानी गरेको खुलाएकाले पनि उनले गैरकानूनी माध्यमबाटै क्यानडामा रकम लगेर कम्पनीमा लगानी गरेको प्रष्ट हुन्छ ।’

प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा गरिएको परीक्षणमा उनी क्यानडामा रहेका बेला ५ मार्च २०२१ मा उनको खातामा नेपाली ४४ करोड ८ लाख रुपैयाँ बराबरको क्यानडेयन डलर रहेको देखिएको छ ।

समग्रमा उनले पटकपटक गरी नेपालबाट हुण्डीमार्फत पैसा पठाएर ४४ करोड ८ लाख रुपैयाँ बराबरको रकम गैरकानूनी रुपमा विदेश पठाएर विदेशी खातामा जम्मा गर्न लगाएको देखिएको एसपी मैनालीले अनलाइनखबरलाई बताए ।

‘यसरी उनले विदेशमा अवैध रुपमा कम्पनी खोलेर लगानी गर्ने र शेयर कारोबार गर्ने गरेको देखिएकाले उनले नेपाल राष्ट्र बैैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) विपरीतको कसूर गरेको पुष्टि हुन्छ’ उनले भने ।

त्यस अन्तरगत अनुमतिविना विदेशी विनियम कारोबार गरेको कसूरमा प्रहरीले व्यवसायी श्रेष्ठलाई विगो जफत गरी तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय हुनुपर्ने मागदाबी अनुसन्धान अधिकृतहरुको छ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?