+
+
स्थलगत :

राष्ट्रिय परिचयपत्र दिन नागरिकलाई रातभर सडकमै सुताउँछ सरकार

भोलिपल्ट राष्ट्रिय राष्ट्रिय परिचय पत्र बनाउन अघिल्लो दिन राति ८ बजेदेखि नै लाइन सुरु हुन्छ । सोमबार रातभर नारायणहिटी संग्रहालयको पश्चिम गेटमा बसेर अनलाइनखबरले गरेको स्थलगत रिपोर्टिङ :

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन २६ गते २१:५६

२६ साउन, काठमाडौं । नारायणहिटी संग्रहालयको पश्चिम गेट छेउको सडकपेटीमा सोमबार साँझ ८ बजे एक हुल युवा गफ गरिरहेका थिए । न उज्यालो छ न बस्न वा अढेस लाग्न सिकिने ठाउँ, ती युवा यहीँ रात कटाउन उभिएका थिए ।

९ बजे ३१, १० बजे ४१, ११ बजे ५६, मध्यरात १२ बजे ७१, एक बजे ८०, २ बजे १२० हुँदै विहान ४ नबज्दै त्यहाँ लाइन लाग्नेको संख्या २०० नाघ्यो । गोरखाको मनकामनाबाट आएका भक्तबहादुर ल्वाङ्गी मगरले मोवाइल फोन बाल्दै बेलुकैदेखि क्रमशः आउनेहरुको नाम टिपेका थिए ।

नाम टिपाएकाहरु पालो मिचिने डरले रातभर लाइनमा डटेर बसेका थिए । भक्तबहादुर तेस्रो पटक आएर साँझबाटै लाइनको लागि नाम टिप्न खटिएका थिए ।

‘श्रीमती चितवनको म गोरखाको, दुवै जिल्लामा पालो पाइने ठेगान भएन’, उनले भने, ‘यहाँ अस्ती विहान ६ बजे र हिजो विहान ४ बजे आउँदा कोटा प्याक भइसकेछ, पालो पाइएन । अनि बेलुका आठै बजे आएको ।’

राहदानी बनाउन सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछिको हैरानी हो, यो । भक्तबहादुरको कापीमा नाम टिपाएर सडक पेटीको लाइनमा छिन्, बाँके नेपालगञ्ज उपमहानगरपालिका– ५ सल्यानी बंगलाकी पूजा खत्री पनि ।

बहिनीसंग राति १० बजे नै आएकी उनी फतक्क गलेर पेटीमै थचक्क बसेकी छन् । खत्री दिदीबहिनीसंग बसेकी छन्, महोत्तरीबाट आएकी राधिका दुलाल । राति पौने ९ बजे ट्याक्सीबाट आएर लाइनमा नाम लेखाएकी उनी भुईंमा चप्पल ओछ्याएर टुसुक्क बसेकी छन् ।

डालोमा चाउचाउ, बिस्कुट, पराग, चुरोट, पानीको कार्टुन र तीन वटा थर्मश बोकेर आधा रातमा सामाखुसीबाट आएका अमृत खड्का दम्पती ब्यापारसंगै सल्लाह–सुझाव दिन पनि भ्याइरहेका थिए ।

‘ढुक्कसंग लाइनमा बसौं, बिहान ६ बजे भित्र छिराउँछन् । परिचयपत्र बनाउने १० बजे कार्यालय खुलेपछि मात्र हो’, खड्काले भने, ‘काम सकिन दिनभरि नै लाग्न सक्छ ।’

हिजोदेखि लाइनमा उभिएर/बसेर निद्राविरुद्ध संघर्ष गरिरहेकाहरु खड्काको कुरा सुनेर निराश बने । सडक पेटीको बार र रुखको फेदमा अडेसिन वा भुइँमा अलि होलोसंग बस्न पाएकाहरु त निदाइ नै रहेका छन् ।

बिजोग गरी उभिएकाहरु पेटीमै ढल्न थालेपछि खड्का आफ्नो डालो भएको ठाउँबाट उठे अनि नारायणहीटीको गेटको कतैबाट केही कार्टुन र स–साना चकटीजस्ता म्याट्रेसहरु झिकेर ल्याए ।

१० जना महिलालाई त्यो बाँड्दै उनले भने, ‘ल यो त बिजोग भयो, अलि राम्ररी बस्नुस् । बिहान भित्र जाने बेलामा फिर्ता गर्नुस्, पर्सि अरुलाई चाहिन्छ ।’

खड्काको सदासयबाट मिलेको अलिकति सहजता धेरैबेर टिकेन, मौसम प्रतिकुल बनिदियो, पानी पर्न थाल्यो । सानो बत्ती धिपधिप बलिरहेको डालो जोगाउन खड्का दम्पतीले प्लाप्टिकको जोहो गरे । लाइनमा बसेकाहरु खैलाबैला गर्दै १५–२० वटा छातामा टाउको लुकाउन पुगे ।

छातामा नअटाएकाहरु नजिकै रहेको पुरानो पासपोर्ट विभागको टहरातिर दौडिए, तर राष्ट्रिय परिचयपत्र इकाइ कार्यालयको सुरक्षामा खटिएका प्रहरीले त्यहाँ बस्ने अनुमति नभएको भन्दै फर्काए ।

पानी अलि थामिएको बेला राति २ बजे गोरखाका रामचन्द्र श्रेष्ठ ट्याक्सीबाट नारायणहिटी आइपुगे । लाइनको चिर्कटोमा उनको नाम १५० औं नम्बरमा पर्यो । उनी पनि अघिल्लो विहान ६ बजे आएर फर्किएका रहेछन् ।

‘फर्स्ट नै हुन्छु भनेर २ बजे आ’को लास्टमा परें’, उनले भने, ‘एक पाइलो ढिलो भएको भए त आज पनि नपाउने रहेछु । चेत नभएका मानिसहरुलाई पटक–पटक राज्यको जिम्मा दिएछौं । हामी जनता नै भेडा हौं, कोसंग चित्त दुखाउने !’

२ बजेपछि लाइनमा आउने क्रम बढ्यो । कोही लाइनमा बसेका परिवारका सदस्यलाई पालो दिन आउन थाले । भिड बढ्दै गयो । घरमा निद्रा र मोबाइलमा चार्ज पु¥याएर आएकाहरु ढुक्कले गफिँदै पनि थिए । पालो दिने नभएकाहरु भने हिलो पेटीमा झुलिरहे ।

विहान ४ बजेतिर केशरमहल क्षेत्रमा गाडी र मानिसको चहलपहल बढेसंगै लाइनमा बस्नेको नाम टिपेका भक्तबहादुर मगर अब नाम रुजु गर्ने भन्दै कराए, ‘ल है, सबै जना उठ्नुस् त ।’

उनले १ देखि १५० नम्बरसम्मको नाम भने, जुन आजको कोटा हो । बिहान ४ बजेपछि आएका करिब सय जनाले मंगलबार परिचयपत्र बनाउन पाएनन् ।

कोटामा पर्न कति बजे आउनुपर्छ भनेर सोध्नेहरुलाई भक्तबहादुर भनिरहेका थिए, ‘हामी हिजो साँझ ८ बजेबाट लाइनमा बसेका हौं, अब आफैं बुझ्नुस् ।’

नाम र लाइन रुजु सकिएपछि अमृत खड्काले अब प्रहरीले टोकन बाँडेर भित्र लैजाने भन्दै मास्क र कालो लेख्ने कलम तयार पार्न सुझाए । दुवै चिज बिक्रीको लागि उनकै डालोमा थियो ।

पाँच बज्न लाग्दा आकाश छ्याङ्ग खुलेको थियो । एक जना प्रहरी जवान आएर लाइन निरीक्षण गरे । रातभर सडकपेटीमा भिजेका सेवाग्राही चहकिलो सूर्योदयसंगै कार्यालय भित्र जान पाउने भए ।

भक्तबहादुर मगरले फेरि एक पटक फुटपाथको लाइनमा भएकाहरुको एक–एक नाम पढे । अब प्रहरी ब्यारेकसंगै दायाँतर्फको टहरोमा गएर उभिनुपर्ने भयो, जहाँ राति पानी पर्दा लाइन बसेकाहरु छिर्न पाएका थिएनन् ।

त्यो टहरोभित्र एउटा शौचालय छ । त्यो यति फोहोर छ कि नजिक जान सक्ने अवस्था छैन । तर, यी १५० जना सर्वसाधारण करिब ३० मिनेट त्यही उभिए । बल्ल प्रहरीले नामावलीअनुसार नागरिकता झिक्न भने । प्रहरीले नागरिकता हेर्ने र भक्तबहादुर मगरले ढोकामा उभिएर पुनः नाम पढ्ने काम सम्पन्न भयो ।

त्यसरी एक–एक गर्दै सेवाग्राही भित्र पसे । झरीमा रुझ्दै १० घण्टा पेटीमा उभिँदा मुर्झाएको मुहारहरुमा ठूलो अनिश्चयबीच एकाएक काम फत्ते भएको चमक देखियो, जुन आफैंमा अनौठो थियो ।

नाम टिपाएर रातभरि लाइन बसेकामध्ये दुईजना भित्र छिर्ने बेलामा अनुपस्थित भएछन् । पछि आएका दुईजनाले उनीहरुको ठाउँमा भित्र जान पाए । प्रहरीले हतार–हतार गेट बन्द गरेपछि बाहिर परेकाहरु सबै उदास–उदास फर्किए ।

भिजेको सडक पेटीमा करिब १० घण्टा बिताएकाहरुले राष्ट्रिय परिचय पत्र बुथको प्रतीक्षालयमा फलामे कुर्सीमा बस्न पाउँदा ठुलो राहत अनुभव गरे । परिचयपत्र बनाउने काम सुरु हुन अझै ४ घण्टा कुर्नुपर्छ । केही कुर्सीमा सुते, केही शौचालय गए त केही गेटमा गएर खाने कुरा मगाए ।

मंगलबार बिहानको ९ बज्यो । केशरमहल क्षेत्रमा विद्यालय र कार्यालयका सवारी चाप बढ्यो । घाम चरक्कै चर्कियो । तैपनि, खेद छैन, किनभने १४ घण्टे कष्टकर प्रतिक्षाले अब फल दिँदैछ । फारम भर्ने बेला त हुनै लाग्यो । कर्मचारीहरु कार्यालय आउन थालिसके ।

नारायणहिटी दरबारमा रहेको यो कार्यालयबाट अफलाइन र अनलाइन गरेर दैनिक ३०० राष्ट्रिय परिचयपत्र जारी हुन्छ । अनलाइन फारम भरेकाहरु १० बजे कार्यालय छिर्न पाउँछन् । रातभर दुःख पाउने चाहिँ अफलानइनवाला अर्थात् अनलाइन फारम नभरेकाहरु हुन् ।

तत्काल पासपोर्ट बनाउन परेकाहरु अनलाइनमा पालो नपाएर ढिलो हुने भएपछि नारायणहिटीको पेटीमा आउन वाध्य हुन्छन् । राष्ट्रिय परिचयपत्र विभागले प्रदेश १, मधेश प्रदेशका चार जिल्ला (बारा, रौतहट, सिराहा र महोत्तरी) गण्डकी र लुम्विनी प्रदेशका सर्वसाधरणलाई नारायणहिटीबाट सेवा लिन भनेको छ । विभागले अफलाइन र अनलाइनतर्फ ५–५ वटा बुथ राखेको छ ।

१० बजेर १५ मिनेट जाँदा परिचय पत्र विभागका कर्मचारीले रातभर लाइनमा बसेर आएकाहरुको नागरिकता हेरेर रुजु गर्दै परिचय पत्रको कुपन र फारम वितरण गरे । फटाफट फारम भर्न सक्ने सानो समूहले फोटो खिचाउनेदेखि पुनः परीक्षणसम्म सबै काम चाँडै भ्याए । त्यसो गर्न नसक्नेहरुको धेरै समय सहायताका लागि अरुलाई गुहार्दैमा बित्यो ।

तिनैमध्येका एक थिए रोल्पाका डम्बरबहादुर बिक । कक्षा ५ सम्म पढेका उनका लागि राष्ट्रिय परिचय पत्रको जटिल फारम भर्न साँच्चै गाह्रो काम थियो । बाँकेकी पूजा खत्रीलाई पनि फारमको मसिनो विवरण दुरुस्त गरी भर्न गाह्रो भयो ।

फारम ढिलो बुझाउनेहरुले परिचयपत्र ढिलै पाउने भए । त्यस्तै, लाइनको पुछारतिर परेकाहरुको काम सकिन २–३ बज्ने अवस्था रहेछ ।

हातले भरेको फारमको विवरणलाई अनलाइनमा प्रविष्ट गर्न, त्यसको प्रिन्ट निकालेर रुजु गर्न, आधिकारिक हस्ताक्षर गरेर फोटो खिच्ने र बायोमेट्रिक गर्न पनि समय लाग्ने राष्ट्रिय परिचयपत्र नारायणहिटी इकाइका नायब सुब्बा छत्रमणि ओझाले बताए ।

छिटो छिटो पासपोर्ट चाहिनेको संख्या बढेसंगै यहाँ थामिनसक्नु चाप परेको उनले बताए । ‘पहिले विहान ९–१० बजे आए हुन्थ्यो, अनलाइन गरेर आए पनि सहजै काम हुन्थ्यो’, उनले भने, ‘हिजोआज बेलुका देखिनै बिजोगसंग लाइन हुने गरेको छ ।’

नारायणहिटीमा सेवाग्राहीको भिड बढेपनि जनशक्ति थपेर सुविधा नबढेको उनले बताए । ‘आएका सेवाग्राहलाई छिटोछरितो सेवा दिन नसक्दा कसैलाई मजा लाग्ने कुरा भएन’, ओझाले भने ।

रातभर सडकमा बसेर भित्र आउने सेवाग्राहीका लागि गृहमन्त्रालयले नै सोच्नुपर्ने उनको भनाइ छ ।

पानी पर्दा पनि खाली टहरोमा किन सर्वसाधारणलाई बस्न नदिएको भन्ने जिज्ञासामा प्रहरी कार्यालयका अधिकृतहरु बोल्न चाहेनन् ।

अनौपचारिक रुपमा बोल्न तयार भएका एकजना जुनियर अधिकृतका अनुसार प्रहरीको यो गण नारायाणहिटी संग्रहालय सुरक्षार्थ राखिएको हो, त्यो बाहेकको बिषयमा कुनै दायित्व र निर्देशन छैन ।

तैपनि, परिचयपत्र बनाउन राति आउनेहरुको बिजोग देखेर केही समय अघिसम्म टहरामा बस्न र शौचालय प्रयोग गर्न दिएका उनले बताए । ‘तर, त्यहीँ बसेर मदिरा सेवन, झगडा गर्ने जस्ता हर्कत भएको पाइएपछि त्यहाँ बस्न रोकियो ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई भने नारायणहिटीमा रातभर सर्वसाधरण लाइनमा बस्ने गरेको थाहै नभएको बताए ।

‘त्यहाँ त इमर्जेन्सी परे मात्र जाने हो’, उनले भने, ‘रातभर लाइनमा बस्ने गरेको कुरा साँचो हो भने चाहिँ अब अघिल्लो दिन नै नाम टिपेर पठाइदिन प्रहरीलाई भन्दिन पर्छ होला ।’

भिडियो र तस्वीर : आर्यन धिमाल

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?