+

रोगी पशुको क्रूरतापूर्वक बध : कति खानयोग्य छ मासु ? 

२०७९ भदौ  २ गते १८:३० २०७९ भदौ २ गते १८:३०
रोगी पशुको क्रूरतापूर्वक बध : कति खानयोग्य छ मासु ? 

काठमाडौं । टेकु पेट्रोलपम्पबाट बायाँतर्फ मोडिएर करिब पाँच मिनेट पैदल हिंडेपछि विष्णुमती खोलाको आडैमा भेटिन्छ, ह्युमत बधशाला । भुईंमा रगतको आहाल छ, यत्रतत्र हड्डीहरु छरिएका छन् । त्यही हड्डीमा अल्झिएका मासु र छाला लुछ्न गिद्ध र काग झुम्मिएका छन् ।

यो दृश्य जति बीभत्स छ, त्यो भन्दा विचलित बनाउँछ यहाँ काट्न राखिएका राँगा-भैंसीको अवस्थाले । रोगी, कमजोर यी पशुहरु कुनै यातनागृहमा राखिएझैं भान हुन्छ । छाला खुइलिएको, ठाउँ-ठाउँमा घाउ, खुट्टा र पुच्छर सुन्निएको, छेडिएको नथ्रीबाट रगत बगेको, आँखाभरि आँशु र कचेरा ।

यिनै राँगा-भैंसी, जसलाई ठूलाठूला ट्र्कमा कोचेर यातनापूर्ण ढंगले ढुवानी गरिन्छ । घन बजारेर निर्ममतापूर्वक मारिन्छ । यसरी मारिएका राँगा-भैंसीको मासु काटकुट गरेर मासु पसलहरुमा पुर्‍याइन्छ । त्यही मासु हो, तपाईं-हाम्रो भान्सामा आइपुग्ने ।

काठमाडौं उपत्यकामा दैनिक लगभग चार हजार किलो राँगा-भैंसीको मासु खपत हुने गर्छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल भन्छन्, ‘एउटा वयस्क राँगा-भैंसीबाट लगभग १५० किलो मासु निस्किने भएकाले औसत चार हजार किलो मासु दैनिक खपत हुन्छ ।’

अबोध पशुलाई यातनापूर्वक ढुवानी गरिन्छ र बर्बरतापूर्वक मारिन्छ । पशुअधिकारका हिसाबले यो आफैंमा दण्डनीय कार्य हो । कानुनले बर्जित गरे पनि यस्तो अवैध कार्य खुलेआम भइरहेका छन् ।

स्वादिलो मासुको विषालु कथा

-अबोध पशुलाई यातनापूर्वक ढुवानी गरिन्छ र बर्बरतापूर्वक मारिन्छ । पशुअधिकारका हिसाबले यो आफैंमा दण्डनीय कार्य हो । कानुनले बर्जित गरे पनि यस्तो अवैध कार्य खुलेआम भइरहेका छन् ।

-भोक, तिर्खाले व्याकुल, शारीरिक पीडा र रोगले ग्रस्त पशुको मासु खानका लागि कति योग्य हुन्छ ? किनभने मासुको लागि स्वस्थ, जवान पशु मात्र उचित हुने चिकित्सकहरुले बताउने गरेका छन् ।

व्यापारीहरुका अनुसार यी राँगा-भैंसी नेपालका तराई क्षेत्र र भारतबाट आयात गरिएका हुन् । ठूलाठूला ट्रकमा कोचेर, नाक र पुच्छरलाई डोरीले बाँधेर, दुई दिनसम्म भोकतिर्खा राखेर काठमाडौं ल्याउने गरिएको छ । हालै मात्र पशुअधिकारकर्मी स्नेहा श्रेष्ठले फेसबुक लाइभमा यसरी क्रूरतापूर्वक ट्रकमा राँगा-भैंसी ढुवानी गरिरहेको दृश्य साझेदार गरेकी छन् । जबकि सर्वोच्व अदालतले मासुजन्य खाद्यवस्तुका लागि पशुपंक्षीलाई क्रूर र अमानवीय ढंगले ढुवानी नगर्न भनेको छ ।

पशु ढुवानी मापदण्ड २०६४ को दफा १६ मा गाडीमा पर्याप्त हावाको आवागमन हुनुपर्ने, दफा १७ मा ढुवानी गर्दा गाडीमा जबरजस्ती कोचेर राख्न नहुने, दफा १८ मा ढुवानीको समय आठ घण्टाभन्दा बढी हुन नहुने जस्ता कुरा उल्लेख छ ।

टेकुको ह्युमत बधशाला आसपासमा पार्किङ गरिएको ट्रकमा राँगा-भैंसी कोचेर राखिएको भेटिन्छ । ट्रक चालकका अनुसार ती राँगा-भैंसी भारतबाट ल्याइएको हो । थोरै ल्याउँदा बढी खर्च लाग्ने भएकाले कोचेर ल्याउनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

यसरी ट्रकमा ढुवानी गर्दा धेरै राँगा-भैंसी राख्नका लागि एकअर्कामा कोचेर राख्ने गरिएको पाइयो । बस्दा धेरै ठाउँ ओगट्ने भएकाले यिनीहरुलाई उभ्याएर राखिन्छ । पुच्छर र नाकमा डोरी बाँधेर बस्नै नमिल्ने बनाइन्छ । भोक, तिर्खा, पीडा र वेदनाले यी राँगा-भैंसी टिठलाग्दो र बिरामी देखिन्छन् ।

रोगी पशुलाई तड्पाई-तड्पाई मारिन्छ 

टेकुमा ह्युमत बधशालासँगै अन्य थुप्रै बधशाला छन् । जहाँ मासुका लागि दैनिक ५० को हाराहारीमा राँगा काटिन्छ । तर ती बधशालामा पशु बधशाला र मासु जाँच ऐन २०५५ भने  कतै लागु भएको देखिएन । बधशालामा बध गर्न ल्याइएका धेरैजसो राँगा रोगी देखिन्थे । काट्नु भन्दा अघि उनीहरूको स्वास्थ्य जाँच गर्ने कुनै व्यवस्था थिएन । उनीहरूलाई काट्ने प्रक्रिया पनि ऐन अनुसारको थिएन ।  राँगा-भैंसीलाई टाउकोमा घनले हानेर तड्पाई-तड्पाई बध गरिने रहेछ ।

उनीहरूलाई काटेर पनि व्यवस्थित तरिकाले मासुलाई भण्डारण गरेको पनि पाइएन । मासुलाई बोरामा खाँदेर ओसारपसार गरिन्छ ।

के छ कानुनमा ?

नेपालमा पशु बधशाला र मासु जाँच ऐन २०५५ बनेको छ, तर लागु भएको छैन । यसको कार्यान्वयन गर्ने जिम्मेवारी अहिले स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले बधशाला निर्माण गरेर आधारभूत स्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने कार्यक्रम पनि विभागले गर्दै आएको छ र त्यस कार्यक्रमले गर्दा बधशालाहरूको सरसफाइमा केही सुधार पनि आएको ढकाल बताउँछन् ।

‘राँगा-भैंसीलाई बध गर्नुअघि दिइने यातना र मासुलाई कसरी स्वस्थकर बनाउने भन्ने विषयमा पशु सेवा विभाग, स्थानीय तह र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समिति सबै मिलेर यो ऐनलाई लागु गराउनुपर्छ,’ उनी भन्छन् ।

कुनै रोगका कारण राँगा-भैंसीको शरीर बिग्रेको छ भने त्यो मासु हामीले खाँदा त्यसबाट प्राप्त हुने पोषक तत्व प्राप्त हुँदैन । मासु हामी बलियो हुनको लागि सेवन गर्छौ तर, मासु नै रोगी जनावरको सेवन गर्दा हाम्रो शरीर नै बिस्तारै रोगी हुँदै जान्छ ।

मासु कति खानयोग्य ?

पटकपटक अखाद्य मासु उत्पादन गरेको समाचार सार्वजनिक भए पनि सरकारले कारवाही गर्न सकेको छैन । पशु बधशाला ऐन र मासु जाँच ऐन आएको २५ वर्ष बितिसक्दा पनि सरकारले कार्यान्वयनमा ल्याउन नसक्दा उपभोक्ता स्वास्थ्य जोखिममा पारेर अस्वस्थकर मासु खान बाध्य भएको काठमाडौं महानगरपालिकाका पशु विभाग प्रमुख डा. अवधेशकुमार झा बताउँछन् ।

‘एक जना व्यक्ति वा एउटा संस्थाले मात्र चाहेर यो समस्याको समाधान हुन सक्दैन,’ उनी भन्छन् ।

काठमाडौं उपत्यकामा रहेका बधशालाहरूले पशु बधशाला र मासु जाँच ऐनअनुसारको मापदण्ड पूरा गरेका छन् कि छैनन् भनेर अनुगमन गर्ने र स्वस्थ मासु नबेच्ने बधशालाको दर्ता खारेज गर्ने हो भने उपत्यकामा दुई-तीनवटा मात्रै बधशाला बाँकी रहने झा बताउँछन् ।

‘उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने जिम्मेवारी केन्द्र, प्रदेश र स्थानीय तह सबैको हो । तर यो ऐन लागु नभएकाले हामी सबै अस्वस्थकर मासु खान बाध्य भइरहेका छौं,’ उनी भन्छन्, ‘उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन र मासु व्यवसायलाई प्रवर्द्धन गर्न पनि यो ऐन लागु हुन जरुरी छ ।’

उनका अनुसार यो ऐन लागु नभएकोले गर्दा राँगा भैँसीलाई वध गर्नु अघि र पछि पनि स्वास्थ्य जाँच गरिएको छैन । कुनै राँगा भैंसीलाई क्षयरोग लागेको छ  त्यसको स्वास्थ्य जाँच नगरी मासुको लागि वध गरियो भने त्यो मासुको उपभोग गर्ने व्यक्तिको स्वास्थ्यमा पनि केही न केही असर त गर्छ नै ।

कुनै रोगका कारण राँगा-भैंसीको शरीर बिग्रेको छ भने त्यो मासु हामीले खाँदा त्यसबाट प्राप्त हुने पोषक तत्व प्राप्त हुँदैन । मासु हामी बलियो हुनको लागि सेवन गर्छौ तर, मासु नै रोगी जनावरको सेवन गर्दा हाम्रो शरीर नै बिस्तारै रोगी हुँदै जान्छ । राँगा-भैंसीको ओसार पसार गर्दा वा बध गर्नु अघि जसरी यातना दिइन्छ उनीहरूमा एउटा त्रासको हर्मोन बन्छ जसले गर्दा पनि उनीहरूको शरीरको सेलहरू निष्क्रिय हुन्छ र रोगी हुने झा बताउँछन् ।

‘उपत्यकाका मासु पसलहरूमा जसरी मासुलाई सजाएर राखिन्छ, त्यसो गर्दा पनि मासु गुणस्तरहीन र अस्वस्थ हुन्छ । मासुलाई सजाएर राख्दा त्यसमा कीटाणु सक्रिय हुन्छ,’ उनी भन्छन्, ‘डिप फ्रिजमा राख्दा मासुमा कीटाणुहरू सक्रिय हुन पाउँदैनन् । त्यसैले भर्खरै काटेको ताजा मासु भन्दा डिप फ्रिज गरेको मासु खानु स्वस्थकर हुन्छ ।’

राँगा-भैंसीलाई यातनापूर्वक ढुवानी गर्न पाइँदैन

नेपालमा पशु ढुवानी मापदण्ड बनेको छ, तर कार्यान्वयन भने भएको देखिंदैन । राँगा-भैंसीलाई उभ्याएर राख्ने, पुच्छर फर्काएर बाँध्ने, एउटै ट्रकमा क्षमताभन्दा धेरै कोचेर बाँध्ने, भैंसी वा राँगा थाकेर बस्न खोजेमा व्यापारीहरूले फलामका रड र बाँसका भाटाले पिट्दै रगताम्मे पारेर उभ्याई राख्ने जस्ता निर्दयी व्यवहार लामो समयदेखि चल्दै आएको एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशी बताउँछन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो मापदण्ड कार्यान्वयन नहुने मुख्य कारण चेतनाको कमी भएको उनको भनाइ छ । पशु ढुवानी मापदण्ड कार्यान्वयन गराउने काम पशु क्वारेन्टाइन कार्यालयको हो, ढुवानी गर्दा अनुगमन गर्ने प्रहरीले हो । पशु क्वारेन्टाइन कार्यालयले प्रहरीसँग समन्वय गरेर पशु ढुवानी मापदण्ड लागु गराउन लगाउने हो भने पशुको ढुवानी गर्दा दिइने यातना कम हुने जोशी बताउँछन् ।

अर्कोतिर व्यवसायीहरूलाई पनि पशुअधिकारको विषयमा जानकारी नभएको हुनसक्छ, थाहा भए पनि यसको गम्भीरतापूर्वक नलिएको हुनसक्ने उनको भनाइ छ । ‘पशुहरुलाई पनि डर लाग्छ, उनीहरूलाई पनि पीडा हुन्छ, उनीहरूले पनि महसुस गर्न सक्छन्, तर बोल्न मात्र सक्दैनन्,’ जोशी भन्छन् ।

जोशी अगाडि भन्छन्, ‘पशुलाई जिउँदो छँदा त यातना दिइन्छ नै, मार्ने बेलामा पनि त्यो भन्दा बढी यातना दिइन्छ । भैंसी-राँगालाई बेहोस बनाएर नदुख्ने गरी मार्नका लागि विभिन्न प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।’

जनावरलाई यातना दिनुहुँदैन र सफा एवं स्वस्थ मासु मात्र खानुपर्छ भन्ने विषयमा उपभोक्तालाई पनि सचेत गराउन जरुरी रहेको उनी बताउँछन् ।

तस्वीर सौजन्य : स्नेहा केयर्स

बधशाला मासु राँगा-भैंसी
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय