+
+

उपत्यकाका बार र क्लबमा महंगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १८:१४

१० भदौ, काठमाडौं । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ ।

काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार वलीको डेरा र फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी बरामद भएको छ ।

प्रहरीले रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली लगायत पनि बरामद गरेको छ । प्रहरीले विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादनमा संलग्न पाँचजनालाई पक्राउ पनि गरेको छ ।

यसरी पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका-१ घर भई काठमाडौंको कोटेश्वरमा बस्‍दै आएका २४ वर्षीय हरि वली, भिमेश्वर नगरपालिका-८ घर भई भक्तपुरको चाँगु नारायण बस्‍ने ३९ वर्षीय भगवान बस्‍नेत, कालिञ्‍चोक गाउँपालिका-४ घर भई महाबौद्ध बस्‍ने २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका-२ घर भई हाल काठमाडौंको मूलपानी बस्‍ने २७ वर्षीय मनोझ खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका-९ घर भई हाल ठमेल बस्‍ने २७ वर्षीय गोपी श्रेष्ठ छन् ।

प्रहरीका अनुसार सुरुमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएको छ । त्यसैले उनीहरुलाई नक्कली मदिरा उत्पादन, ओसारपोसार, भण्डारण तथा बिक्री बितरण गरेको अभियोगमा पक्राउ गरिएको एसपी मैनालीले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद रक्सीहरु विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबार लगायतमा पठाइने गरिएको खुलेको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?