+
+
कमाण्ड सेनापति बैठक :

सेनाको विश्लेषण : चुनावमा विप्लव चुनौती बन्नसक्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते २२:१७

१० भदौ, काठमाडौं । नेपाली सेनाले आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र त्यसबाट फुटेको समूह सुरक्षा चुनौती बन्नसक्ने विश्लेषण गरेको छ ।

जंगीअड्डामा शुक्रबार सम्पन्न कमाण्ड सेनापति समन्वायात्मक बैठकमा चुनावी सुरक्षामा समूह चुनौतिका रुपमा देखा पर्नसक्ने निष्कर्ष निकालिएको हो ।

चन्द नेतृत्वको नेकपाले २० फागुन २०७७ मा सरकारसँग तीनबुँदे समझदारी गर्दै हिंसात्मक गतिविधि त्यागेको घोषणा गरेको थियो भने सरकारले पनि पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएको थियो । तर समझदारीको बुँदा कार्यान्वयनमा सरकार इमान्दार नभएको भन्दै पार्टी नेताहरु असन्तुष्ट छन् ।

नेकपाका नेताहरुले सहमति कार्यान्वयनका लागि आफ्ना नेता, कार्यकर्ताहरुमाथि लागेका सबै मुद्दा खारेज हुनुपर्ने माग राख्दै आएका छन् । तर महान्यायाधिवक्ता खमबहादुर खाती स्वयम्ले पार्टीका नेताहरुमाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने बताएका छन् । फौजदारी कार्यविधि संहितामा भएको व्यवस्था अनुसार ‘नेगेटिभ लिस्ट’मा भएका मुद्दाहरु फिर्ता हुननसक्ने उनको भनाइ छ ।

विप्लव समूहका नेताहरुले भने आन्दोलनको चेतावनी दिएका छन् । यस्तो परिस्थितिमा नेकपाका नेता कार्यकर्ताहरु चुनावका लागि चुनौती बन्नसक्ने सैनिक उच्च अधिकृतहरुको निष्कर्ष छ । यसको सुक्ष्म अध्ययन र विश्लेषण गर्न प्रधानसेनापति प्रभुराम शर्माले सैन्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

उनले ‘अन्य सुरक्षा निकायसँगको सहकार्य र सूचना आदनप्रदानलाई जोड’ दिन पनि निर्देशन दिएका छन् । ‘नेपाली सेनाले निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयारी अवस्थामा रहनुस् र निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्नुस्’ शर्माले निर्देशन दिँदै भनेका छन् ।

सम्मेलनको उद्घाटनमा बिहीबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीहरुको इमान्दारिता र कर्तव्यपरायणबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने बताउँदै समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन दिएका थिए ।

उनले सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रबद्र्धन गरी मुलुकको राष्ट्रिय सुरक्षाका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नुपर्ने बताए ।

सुरक्षा सम्बन्धी विषयमा नीति निर्माण तहमा रहेका सबैको समान बुझाइ विकास गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना एवं सञ्चानलनको कार्यलाई अगाडी बढाइएको समेत उनले बताए ।

‘राष्ट्रिय स्वार्थमा आघात हुन नदिन सचेत छौं’

प्रधानसेनापति शर्माले नेपाली सेना छिमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्न सहज रहेको बताएका छन् ।

‘राष्ट्रहरुको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनैपनि किसिमको आघात हुन नदिने पक्षमा सेना सजग र सतर्क रहँदै आएको छ’ शर्माले भने । विगतमा एसपीपी सम्झौतालाई लिएर नेपाली सेना पनि विवादमा तानिएको थियो ।

सामरिक महत्वका तालिमहरु संचालन गर्न आवश्यक साधारण तथा समन्वयात्मक विषयमा नेपाली सेनाको व्यवसायिक अटोनोमी कायम राख्न नेपाल सरकारबाट आवश्यक पहलकदमी हुनेछ भन्ने विश्वास छ’ शर्मा भन्छन् ।

उनले शान्तिको समयमा सञ्चालन भएका विभिन्न तालिम एवं अभ्यासहरुले नै आपतकालिन परिस्थितिमा सहजतापूर्वक कार्य गर्न सकिने वातावरण तयार हुने बताए । उनले त्यसैका लागि सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरु सञ्चालन गर्दै आइरहेको जानकारी गराए ।

सम्मेलनमा अहिले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवेशमा देखिएका चुनौतिबारे पनि समीक्षा र विश्लेषण भएका थिए ।

विश्वसामु देखिएका विभिन्न चुनौतीहरु मध्ये खाद्य, आर्थिक र साइबर सुरक्षा जस्ता राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने गतिविधिमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको प्रधानसेनापति शर्माले बताए । उनले भने, ‘त्यसबाट सृजना हुन सक्ने राष्ट्रिय सुरक्षा चुनौतीहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहनेछ ।’

बैठकमा चारवटै कमाण्डका सेनापति, जंगी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरुबाट विगतका कामका समीक्षा र वर्तमान गतिविधिबारे प्रस्तुतीकरण पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?