+
+

होटल-रेष्टुरेन्टका मेनुमा स्वदेशी अलैंचीको स्वाद खोजिंदै

अच्युत पुरी अच्युत पुरी
२०७९ भदौ १२ गते १७:०२
अलैंची बारीमा सेफ सन्तोष साह ।

१२ भदौ, काठमाडौं । पछिल्लो समय नेपालबाट बढी निर्यात हुने वस्तुमा पर्न थालेको अलैंचीलाई नेपालकै भान्सामा लोकप्रिय बनाई आन्तरिक खपत समेत बढाउन पहल थालिएको छ । नेपालले विदेशबाट ठूलो मात्रामा ल्वाङ/सुकमेल जस्ता मसला आयात गर्छ । तर, नेपालमै उत्पादन हुने अलैंचीलाई थोरै मूल्यमा कच्चा पदार्थका रुपमा मात्र निर्यात गर्दा यसले वास्तविक मूल्य नपाएको अवस्थामा होटल व्यवसायीले भने नेपालकै भान्सामा अलैंचीको प्रयोग बढाउन पहल थालेका हुन् ।

अलैंची व्यवसायीहरुको छाता संगठन अलैंची व्यवसायी महासंघ र होटल संघ नेपाल (हान)को सक्रियता र स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा अलैंचीका परिकारहरु बनाउने गरी प्रतियोगिता हुने भएको छ ।

हानका सीइओ टेकबहादुर महतका अनुसार नेपालका व्यवसायिक सेफहरुबीच अलैंचीबाट बनाइने परिकारको प्रतियोगिता हुने भएको छ । यसको मूल्यांकन विश्वचर्चित नेपाली सेफ सन्तोष साहसहितको टीमले गर्नेछन् । महत भन्छन्, ‘चियामा अलैंचीको स्वाद सुहाउँछ, अरु कुन–कुन परिकारमा यो उपयुक्त हुन सक्छ, अब सेफहरु स्वयंले यसको खोजी गर्नुहुनेछ ।’ यसो गर्नुको पछाडि स्वदेशी उत्पादनलाई स्वदेशमै खपत बढाएर राम्रो मूल्य प्रदान गर्नु भएको उनले बताए ।

सेफहरुबीच यसरी हुने प्रतिस्पर्धाले होटल तथा रेष्टुरेन्टको मेनुमा राख्न उपयुक्त परिकारहरु स्वयंले तयार पार्ने वातावरण बन्ने महतले बताए । होटल संघ नेपालका अनुसार प्रतियोगितामा भाग लिन १९ भदौसम्म आवेदन दिने सकिनेछ । सबै रेष्टुरेन्ट तथा होटेलमा काम गर्ने व्यावसायिक सेफहरुले प्रतियोगितामा भाग लिन सक्ने भएका छन् ।

सहभागी हुन सम्बन्धित कम्पनीको आधिकारिक पत्र समेत पेश गर्नुपर्नेछ । सो क्रममा एउटा होटेल-रेष्टुरेन्टबाट कम्तिमा २ जनासम्मको टिम बनाएर एक समूहले भाग लिन सक्नेछ । यी टिमले आवेदनको साथमा परिकारको मेनु प्रस्ताव गरी पठाउने छन् । यी मेनुको अध्ययनबाट छानिएका समूहलाई मात्र फाइनल चरणको कुकिङ प्रतियोगितामा भाग लिन बोलाइने छ । अन्तिम कुकिङ प्रतियोगिताका लागि १५ समूहका ३० जना व्यावसायिक सेफलाई सहभागी गराइने छ ।

पहिलो चरणमा छानिएका आवेदनहरुबाट छनोट भएका सेफहरुलाई दोस्रो चरणको कुकिङ कम्पिटिसनमा सहभागी गराइने भएको छ । यसलाई सरोकारवालाले ‘स्वाद अलैंचीको मिठास नेपाल’को नाम दिएका छन् । अलैंची कृषकले बजारका लागि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले ‘वाह ! अलैंची’ नामक अभियान नै चलाइएको छ । यस अभियानको ब्राण्ड एम्बेस्डर सेफ सन्तोष साहलाई नियुक्त गरिएको छ ।

हानका अनुसार यो अभियान अन्तर्गत पहिलो चरणमा सेफहरुबीच प्रतियोगिता गरिएको छ । दोस्रो चरणमा सेफ साहसहितको टीम पूर्वी नेपालमा बढी अलैंची उतपादन हुने फिल्डमै पुगेर प्रवर्द्धन अभियान चलाउने छन् । त्यसपछि एक पुस्तक प्रकाशित गरिने छ । जसमा नेपाली परिकारमा अलैंचीको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे विस्तृत उल्लेख गरिनेछ । जसले नेपालीको भान्सा/भान्सामा अलैचीको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?