+

हृदयघात हुनुअघि शरीरले कस्तो संकेत गर्छ ?

२०७९ भदौ  १५ गते १४:१२ २०७९ भदौ १५ गते १४:१२
हृदयघात हुनुअघि शरीरले कस्तो संकेत गर्छ ?

कहिलेकाहीं अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको मृत्युको खबर सुन्नुपर्छ । हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएका, कुराकानी भएका, हाँसीमजाक गरेका, एकसाथ खाना खाएका, एकै ठाउँमा काम गरिरहेका मान्छे अचानक ‘मृत्यु’ भयो भन्दा हाम्रो ओठमुख सुक्छ । आखिर कसरी भयो मृत्यु ?

धेरैजसोको मनमा आउने एउटै उत्तर हो, हृदयघात । बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्युको आँकडा बढ्दो छ । आखिर हृदयघातको जोखिम कसरी हुन्छ ? कसलाई हुन्छ ? के यसको कुनै लक्षण हुन्छ ?

कस्ता व्यक्तिलाई बढी हृदयघातको जोखिम ?

प्रायः दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाहरुले एस्प्रिन भन्ने औषधि बोकेर हिंड्नु उचित हुन्छ । हृदयघात लगत्तै यो औषधि खान पाएमा धेरै राहत मिल्छ ।

अत्यधिक धुम्रपान गर्ने व्यक्तिमा पनि यसको जोखिम उत्तिकै बढी हुन्छ । दीर्घरोग नभएका व्यक्ति जसको परिवारमा कसैलाई पहिला नै मुटुरोग छ भने पनि त्यो परिवारको सदस्यमा यसको जटिलता थपिन सक्छ ।

त्यस्तै, महिलाहरुमा रजोनिवृत्ति पछि मात्रै हृदयघातको जोखिम बढी देखिने सम्भावना हुन्छ । महिनावारी सुकिसकेपछि महिलामा पनि पुरुषमा जतिकै हृदयघातको जोखिम हुन्छ । महिनावारीको बेला हर्मोनकोे परिवर्तन भइरहने हुँदा कुनै रोग छैन भने महिलालाई हुँदैन ।  जब महिनावारी सुक्छ तब भने पुरुषको जस्तै जोखिम हुने गर्छ ।

हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्वसचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ ।

हृदयघातअघि देखिने लक्षण

हृदयघातअघि हाम्रो शरीरले केही लक्षण देखाउँछ । खासगरी छातीको मध्यभागमा निकै दबाब महसुस हुन्छ । शरीरमा अचानक पसिना आउँछ । वाकवाकी लाग्छ । चक्कर लागेजस्तो हुन्छ । छाती दुख्छ । ग्यास्ट्रिक हुने, छातीमा भारीपन हुने, अहसज महसुस हुने गर्छ ।

दीर्घरोग नभएका कम उमेरकै व्यक्तिलाई हृदयघातको जोखिम कम हुन्छ । तर हृदयघात नै हुँदैन भनेर ठोकुवा गर्न सकिंदैन । यदि उनीहरु अत्यधिक धुमपान गर्छन्, परिवारमा कसैको हृदयघात भएको छ भने उनीहरु पनि जोखिम वर्गमै पर्छन् । यदि उनीहरुलाई हृदयघात हुँदैछ भने त्यसअघि शरीरमा केही संकेत देखिन्छ । जस्तो कि छाती फुल्ने, स्वाँस्वाँ हुने, चक्कर लाग्ने, असहज हुने ।

हृदयघात भएमा के गर्ने त ? 

हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्वसचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ । यदि तपाईं उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी हुनुहुन्छ भने धेरै सतर्क हुनुपर्छ । यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयघातको शंका लाग्नसाथ यो औषधि चपाउनुपर्छ ।

हृदयघातको शंका लाग्नासाथ आराम गर्नुपर्छ ।  हृदयघात हुने समयमा शरीरले बढी नै अक्सिजन माग गर्छ । त्यसैले शरीरलाई अक्सिजन बढी चाहिने भएकाले काम नगरी शान्त भएर बस्नुपर्छ ।

हृदयघात व्यक्ति अनुसार फरक हुन्छ ?

हृदयघात व्यक्तिको स्वास्थ्य अवस्था अनुसार फरक-फरक हुन्छ । कसैलाई हृदयघात हुनासाथ तुरुन्त मृत्यु हुन्छ । कसैलाई तत्काल उपचार गर्ने समय पनि रहन्छ । उनीहरु उपचारपछि ठीक हुन्छन् । खासगरी मुटुको कुन भागको नसामा अवरोध भयो र त्यसले मुटुको कति भागलाई असर गरेको छ भन्ने कुराले यसमा निर्भर गर्छ । यदि अवरोध पुगेको नसा खोल्न सकेमा ज्यान बच्छ ।

किन हुन्छ हृदयघात ?

बढ्दो उमेर

५०-६० वर्षको उमेर कटेपछि विशेषगरी पुरुषमा र महिनावारी सुकेका महिलामा यसको सम्भावना उच्च रहन्छ । यद्यपि अस्वस्थकर जीवनशैलीका कारण पछिल्लो समय युवाहरु पनि हृदयरोगको सिकार भइराखेका छन् ।

धुम्रपान

वर्तमान समयमा  बढ्दो विलासी जीवन र देखासिकीको रुपमा समेत युवाहरुमा यो लत देखिएको छ । परिणामस्वरूप धुम्रपान गर्ने व्यक्तिको मुटुका नसामा हानि गर्ने र कालान्तरमा  यसले पनि हृदयघातलाई बढावा दिन सक्छ ।

तनाव

अहिलेको व्यस्त जीवनशैली, करिअर र अन्य कुराको तनावले मुटुरोगको समस्या बढ्दै गइरहेको छ । यसले पनि हृदयघात निम्त्याउन सक्छ ।

शारीरिक रुपमा निस्क्रिय रहने बानी

एकै ठाउँमा बसिरहने र बसेरै काम गर्ने अहिलेको समयमा व्यायाम पुग्दैन । शारीरिक व्यायामको कमी हुनु पनि हृदयघातको जोखिम बढाउने एउटा कारण हो ।

वंशाणुगत

परिवारका कुनै सदस्यलाई हृदयघात भएको छ भने अरुलाई पनि यस्तो समस्या हुन सक्छ । त्यसकारण घरका अन्य सदस्यले पनि समय-समयमा आफ्नो स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।

उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल भएका व्यक्तिमा पनि हृदयघातको जोखिम उत्तिकै रहन्छ ।

हृदयघात हुनबाट बच्न के गर्ने ?

-प्राकृतिक खानेकुरामा जोड दिने, फलफूल, हरियो सागसब्जी बढी खाने, चिनी, नून र चिल्लोको प्रयोग कम गर्ने ।

-नियमित व्यायाम गर्ने ।

-दैनिक आधा घण्टा मात्रै भए पनि व्यायाम गर्ने, यो मुटुका लागि राम्रो हुन्छ ।

-धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । मुटुको लागि यो झनै घातक हुन्छ । यसैगरी चुरोट पिएको मानिसको छेउमा बस्दा पनि हानिकारक हुन्छ ।

नेपालमा मुटुरोगको उपचार

नेपालमा मुटुसम्बन्धी प्रायः सबै रोगको उपचार सम्भव छ । एनजियोग्राफी, एनजियोप्लास्टी, पेसमेकर जस्ता प्रविधि नेपालमा उपलब्ध छन् । एनजियोग्राफी, एनजियोप्लास्टी मुटुमा जाली राख्ने, खोल्ने र मुटुका ब्लक खोल्ने उपचार पद्धति हो ।

त्यस्तै जन्मजात प्वाल भएका बच्चाको बिना अप्रेसन उपचार गर्ने व्यवस्था नेपालमै छ । बिना अप्रेसन बेहोस नपारी बिरामीको मुटुको चाल ठीक पार्न सकिन्छ । मुटुको चाल सामान्य अवस्थाभन्दा बढी भएमा उक्त समस्यालाई निको पार्न यो प्रविधिको प्रयोगद्वार उपचार गरिन्छ ।

(डा. माधव विष्ट विराट मेडिकल कलेज शिक्षण अस्पताल, टंकीसिनुवारी, मोरङका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् । सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट उनले इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप गरेका छन् ।)

डा. माधव विष्ट मुटुरोग हृदयघात
डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय