+
+

काठमाडौं–१ प्रकाशमानका लागि कति सहज ?

फेरि पनि ‘अन–टेस्टेड’कै चुनौती

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ २६ गते २०:००

२६ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनको सिट भागबण्डामा सुरक्षित नेता हुन् प्रकाशमान सिंह । नेपाली कांग्रेसका पूर्वउपसभापति सिंहले चुनाव लड्दै आएको प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका अरु दलको दाबी छैन ।

कांग्रेसले पनि उनको विकल्प नखोजेरै होला, सिंहको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ ।

उम्मेदवारीमा सुरक्षित देखिएका सिंहलाई चुनावी प्रतिस्पर्धा भने यो पटक पनि सहज देखिएको छैन । २०७४ कै चुनावमा उनलाई विवेकशील साझाका रवीन्द्र मिश्रले कडा टक्कर दिएका थिए । सिंह ८१९ मतान्तरले विजयी भए । सिंहले १० हजार ९३७ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।

यो पटक पनि सिंहलाई स्थापित राजनीतिक दलभन्दा ‘अन–टेस्टेड’कै बढी चुनौती देखिन्छ ।

नेकपा एमालेको क्षेत्रीय कमिटीले रुपनारायण श्रेष्ठ र विदुर मैनालीको नाम काठमाडौं १ का लागि सिफारिस गरेको छ । एमालेबाट श्रेष्ठ उम्मेदवार भए सिंहलाई सहज हुने कांग्रेस नेताहरुको बुझाइ छ । श्रेष्ठको विवादित विगत रहेको भन्दै काठमाडौं कांग्रेसका एक नेता भन्छन्, ‘विदुर मैनाली उठे वडा नम्बर १० को केही मत काट्लान् ।’

मैनाली २०५४ सालमा एमालेबाट काठमाडौं महानगरको उपमेयर निर्वाचित भएका थिए । उनी काठमाडौं वडा नम्बर १० का बासिन्दा हुन् । तर कांग्रेसलाई एमालेले हराउला भन्ने उतिसारो चिन्ता छैन । कांग्रेसका लागि चिन्ताको विषय नयाँ पुस्ता नै हो ।

प्रतिनिधिसभा चुनावमा पनि रवीन्द्र मिश्र, पुकार बम र रमेश खरेल उम्मेदवार बन्ने तयारीमा छन् । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका मिश्र समूहसहित राप्रपा प्रवेश गर्ने र एमालेको सहयोगमा चुनाव लड्ने प्रयासमा छन् ।

३० वैशाखको स्थानीय चुनावमा यो क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारले ९ हजार ५४१ मत ल्याएका छन् । राप्रपाले १ हजार ३७६ मत पाएको थियो । यदि मिश्रले चाहे जस्तो राप्रपा प्रवेश गरेर एमालेको समर्थन जुटाउन सके उनी बलिया प्रतिस्पर्धी हुनेछन् ।

किनकी अघिल्लो चुनावमा उनले अरु दलबाट घोषित समर्थन पाएका थिएनन् । तर वैकल्पिक राजनीतिको नारा दिएर राजनीतिमा आएका मिश्र अहिले ‘राजावादी’ कित्तामा उभिएकाले अघिल्लो पटकझैं व्यक्तिगत सदभाव पाउनेमा शंका छ ।

साथै विवेकशील साझाका पूर्व नेता पुकार बम पनि यो क्षेत्रबाट स्वतन्त्र उठ्ने पक्का भएको छ । साना दल तथा स्वतन्त्रहरुको छुट्टै समूह बनाउन सक्रिय नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल पनि काठमाडौं १ बाटै चुनाव लड्ने तयारीमा छन् ।

प्रतिस्पर्धी उम्मेदवारप्रति मतदाताको ‘सेन्टिमेन्ट’ नदेखिएको र उनीहरु एकापसमा बाँडिएकाले सिंहलाई अनुमान गरिएजस्तो कठिन नहुने कांग्रेस नेताहरुको बुझाइ छ । ‘काठमाडौं १ मा उठ्छु भन्नेहरु खासै बलियो देखिएका छैनन्,’ कांग्रेसका क्षेत्रीय सभापति प्रकाश विक्रम राणा भन्छन्, ‘बालेनकै जस्तो सेन्टिमेन्ट बन्यो भने त भन्न सकिन्न, तर त्यस्तो वेभ आउने सम्भावना देखिएको छैन ।’

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका थिए । कांग्रेसबाट सिंहकी पत्नी सृजना र एमालेबाट केशव स्थापित चुनौवी मैदानमा थिए । तर दुबैलाई पन्छाएर बालेन मेयरमा निर्वाचित भए ।

सिंहका प्रतिस्पर्धीहरु भने प्रतिनिधिसभा चुनावमा पनि त्यस्तै लहर आउनेमा आशावादी छन् । स्वतन्त्र उम्मेदवार बमले ११ देखि १२ हजार मत आउने आँकलन सुनाए ।

काठमाडौं क्षेत्र नम्बर १ महानगरका चार वडा (१०, ११, २९ र ३१) हरुबाट बनेको छ । नयाँ बानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र शान्तिनगर काठमाडौं क्षेत्र नम्बर १ मा पर्दछन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३१ बाहेकका अरु तीन वडा जितेको थियो । दलगत रुपमा स्थानीय तहको मतको आधारमा विश्लेषण गर्दा कांग्रेस ९ हजार ८९५ मतका साथ पहिलो स्थानामा छ ।

माओवादीले एक हजार १५९ मत पाएको थियो भने एकीकृत समाजवादीको पनि मत छ । तर, मेयरकी उम्मेदवार सिर्जना सिंहले कांग्रेसका वडाध्यक्षले पाएकै मत पाइनन् । सिर्जनाले यो वडाहरुबाट जम्मा ६ हजार ५१६ मत पाइन् ।

लगातार तीन पटक चुनाव जिते पनि काम गर्न नसकेको आरोप पनि सिंहमाथि छ । नीति निर्माणमा सिंहले रुचि नै नदेखाएको तथा नागरिकका सामान्य आवश्यकता पुरा गर्ने काममा समेत ध्यान नदिएको भन्दै पुकार प्रश्न गर्छन्, ‘तीन/तीन पटकसम्म उहाँले जित्दा के काम गर्नुभयो र ?’

सिंहले भने आफ्नो नेतृत्वमा बनाएको दललाई एक–दुई वर्ष पनि टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् । बरु आफूसँग देश हाँक्ने क्षमता रहेको भन्दै उनले भोट तान्न प्रधानमन्त्रीको कार्ड फालेका छन् ।

सिंहलाई बारम्बार उठ्ने प्रश्न हो, सुकुम्बासी समस्या । शान्तिनगर, शंखमुल र थापाथलीको बागमती किनारमा सुकुम्वासी बस्ती छ । यहाँ बसोबास गर्ने १२ हजारमध्ये ३ देखि ५ हजार मतदाता छन् । चुनावको बेला प्रलोभन देखाएर सुकुम्बासीको भोट लिने र जितेपछि फर्किएर नहेर्ने गरेको आरोप उनीमाथि छ । बागमती संरक्षण तथा सरसफाइ, फुटपाथ व्यवस्थापन, बाढी समस्याको निराकरणमा पनि ध्यान नदिएको आरोप सिंहमाथि छ ।

सिंहले भने आफ्नो नेतृत्वमा बनाएको दललाई एक–दुई वर्ष पनि टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् । आफ्ना प्रतिस्पर्धीहरुतर्फ संकेत गर्दै उनले शनिबार भनेका छन्, ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक–दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्लान् ?’ बरु आफूसँग देश हाँक्ने क्षमता रहेको भन्दै उनले भोट तान्न प्रधानमन्त्रीको कार्ड फालेका छन् ।

सिंहलाई फापेको काठमाडौं १

काठमाडौं जिल्ला हुँदै पार्टीको नेतृत्वमा पुगेका सिंहले २०४८ मा काठमाडौं ४ मा चुनाव लडेका थिए । तर एमाले उम्मेदवार सहाना प्रधानसँग पराजित भएका थिए । २०५१ को चुनावमा काठमाडौं ३ मा गए, तर एमालकै मनमोहन अधिकारीसँग पराजित भए । २०५६ मा भने सिंह चुनाव नै लडेनन् ।

२०६४ सालबाट काठमाडौं १ मा आएका उनी निरन्तर विजयी भएका छन् । पहिलो संविधानसभामा प्रत्यक्षतर्फ माओवादीको लहर चल्दासमेत सिंहको संसद प्रवेश रोकिएन । सिंह १४ हजार ३१८ मतका साथ निर्वाचित हुँदा एमालेका प्रदीप नेपालले ६ हजार ७८९ मत पाए । माओवादीका राममान श्रेष्ठले ४ हजार ८३६ मत पाए ।

२०७० सालमा प्रकाशमानले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाललाई फराकिलो अन्तरले हराए । प्रकाशमान १५ हजार १३८ मतका साथ विजयी हुँदा रेनुले ४ हजार ६४ मत पाएर चित्त बुझाइन् । ०७४ सालमा एमाले र माओवादीले वाम गठबन्धन गरे, तर सिहको ह्याट्रिकलाई रोक्न सकेनन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?