+
+

कफी : एक्लोपनको साथी

मनिषा थापा मनिषा थापा
२०७९ भदौ ३१ गते १४:२६

काठमाडौं । निरन्तर झरी परिरहेको छ । मौसम चिसिएको छ । यतिबेला तात्तातो कफी पिउन पाउँदा कस्तो हुन्छ ?

भीडभाड, कोलाहाल, घरपरिवार, काम–व्यवहार सबैबाट उम्किएर आफैंमा मग्न हुने मुड चलेको छ । यतिबेला कुनै एकान्त ठाउँमा बसेर कफीको स्वाद लिन पाउँदा कस्तो हुन्छ ?

मनको तिर्सना मेट्ने पेय मात्र होइन, कफी । एक्लोपनको साथी पनि हो । जब तपाईं एक्लो हुनुहुन्छ । गफ गर्ने साथी छैनन्, भलाकुसारी गर्ने आफन्त छैनन् । तुरुन्तै गर्नुपर्ने कामधन्दा पनि छैन । यतिबेला के गर्नुहुन्छ ? तात्तातो कफी सुर्काउँदै बस्नुहुन्छ । समय कटाउनका लागि होस् वा धपेडीपूर्ण दैनिकीबाट विश्राम लिन, कफीको चुस्की लिनुहुन्छ ।

बितेका दिनमा यो सम्भ्रान्त वर्गको प्रिय पेय थियो । तर अहिले कफी सबैका लागि भएको छ । अधिकांशको भान्सामा सहजै पाइने पेय हो यो । त्यसो त अहिले सहरमा कफी संस्कृति पनि निकै झांगिएको छ । ठाउँठाउँमा कफी हाउस सञ्चालनमा छन् । उत्तिकै बढ्दैछन्, कफीका पारखी पनि ।

बेलामौकामा मात्र होइन, नियमित रुपमै कफी पिउनेहरु कम छैनन् यहाँ । कफी भनेपछि हुरुक्कै हुनेहरुको जमात सानो छैन । यीमध्ये कतिपयलाई त कफी नपिई काम गर्ने मुड समेत चल्दैन ।

जोन्स हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनको एक अध्ययन अनुसार कफीमा क्याफिनको मात्रा उच्च हुन्छ । क्याफिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित बनाउँछ । नतिजा, यसले थकानसँग लड्न र ऊर्जाको स्तर बढाउन सहयोग गर्छ । त्यसैले त कफी पिउनसाथ कतिपयले शरीरमा बेग्लै फूर्ति बढेको महसुस गर्छन् । यद्यपि धेरै क्याफिन शरीरका लागि हानिकारक छ ।

स्नायुरोग विशेषज्ञ डा. राम कोइरालाका अनुसार कफीमा भएका कतिपय तत्वले मस्तिष्कलाई एकाग्र बनाउन सहयोग गर्छ । त्यसैले पनि कति कवि, लेखक, चिन्तकहरुले यसलाई साथी जस्तो बनाएको पाइन्छ । ‘यसमा हुने एन्टिअक्सिडेन्टले मस्तिष्कलाई फाइदा गर्छ,’ उनले भने ।

‘कफीमा एन्टिअक्सिडेन्ट उच्च हुन्छ,’ पोषणविद् उमा कोइराला भन्छिन्, ‘त्यसैले सीमित मात्रामा कफी पिउँदा फाइदा गर्छ भनिएको छ ।’

जोन्स हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनका पोषणविद्ले प्रकाशित गरेको रिपोर्ट अनुसार सीमित मात्रामा कफी पिउने हो भने यो शरीरका लागि लाभदायक छ । कफीमा पाइने कतिपय तत्वले कलेजो, हृदय र छालाको समस्या कम गर्न मद्दत गर्छ । यसले अल्जाइमरको सम्भावित जोखिमबाट पनि बचाउने बताइएको छ ।

विभिन्न मेडिकल जर्नलमा लेखिएको छ, नियमित कफी पिउँदा टाइप २ मधुमेहको जोखिम कम गर्छ । उचित मात्रामा कफी सेवन गर्दा ठूलो आन्द्राको क्यान्सरको जोखिमबाट बचाउने बताइएको छ । दैनिक कति कफी पिउने भनेर पनि तोकिएको छ, जसअनुसार दिनमा दुई कपसम्म कफी पिउनु उचित हुने उल्लेख छ ।

‘तर मधुमेहका समस्या भएकाले भने चिकित्सकको परामर्श लिएर पिउँदा राम्रो हो,’ पोषणविद् उमा भन्छिन् ।

धेरै पिउनु हानिकारक

नेपालीमा उखानै छ, धेरै भयो भने अमृत पनि विष बन्छ । कफीको हकमा पनि यही भन्ने गर्छन् पोषणविद्हरु । कफीमा केही यस्ता तत्व छन्, जो स्वास्थ्यका लागि फाइदाजनक छ । यद्यपि धेरै मात्रामा कफी पिउँदा त्यसले फाइदा भन्दा बढी हानि गर्ने उनीहरुले बताएका छन् ।

खासगरी कफीमा हुने क्याफिन नामक तत्वको मात्रा बढी भएमा यसले हानि गर्ने उनीहरुको भनाइ छ । अझ दीर्घरोग भएका वा कुनै रोगको उपचार गराइरहेकाहरुले चिकित्सकको परामर्शमा मात्र कफी पिउनुपर्ने बताइन्छ । अत्यधिक कफी पिउँदा अनिन्द्रा, एन्जाइटी, छाती पोल्ने जस्ता समस्या हुनसक्छ ।

कसका लागि उपयुक्त हुन्न ?

उच्च कोलेस्टेरोल भएका व्यक्ति, मुटु सम्बन्धी रोग भएका व्यक्ति, छाती पोल्ने व्यक्तिले सकेसम्म कफी सेवन नगर्नु उपयुक्त हुने पोषणविद् कोइराला बताउँछिन् । एन्जाइटीका बिरामी र ग्यास्ट्रिक जस्ता पेट सम्बन्धी समस्या भएका व्यक्तिले यो नखाँदा बेस हुने उनी बताउँछन् ।

कफी खाँदा कसैलाई टाउको दुखेको ठीक हुन्छ भने कसैलाई बढी टाउको दुख्ने, बान्ता हुने, डायरिया हुन्छ भन्ने नखानु राम्रो हुन्छ । त्यस्तै, गर्भवती महिलालाई पनि कफी नखान चिकित्सकहरुले सल्लाह दिन्छन् ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?