+

दोस्रो बच्चा पनि सिजेरियनबाट जन्माउँदा के हुन्छ ?

२०७९ असोज  ३ गते १४:१२ २०७९ असोज ३ गते १४:१२
दोस्रो बच्चा पनि सिजेरियनबाट जन्माउँदा के हुन्छ ?

अहिले सिजेरियन डेलिभरीको प्रचलन बढ्दो छ । विभिन्न कारणले दम्पतीहरु यसतर्फ आकर्षित भएका छन् । एक त यसरी बच्चा जन्माउँदा प्रसव पीडा कम हुने उनीहरूको बुझाइ छ । यसैगरी अहिले बच्चालाई तिथि, मिति हेराएर जन्माउने प्रवृत्ति छ ।

आफूले चाहेको तिथि, मितिमा जन्माउन पनि सिजेरियन गरिएको पाइन्छ ।

दोस्रो बच्चा पाँच वर्षपछि

पहिलो पटक सिजेरियनबाट बच्चा जन्माएकाले दोस्रो बच्चाको योजना पाँच वर्षपछि गर्नु उचित हुन्छ । पहिलो पटक सिजेरियन गरेको घाउ पूर्ण रूपमा निको हुन पाँच वर्ष लाग्छ । यो अवधिमा पहिलो बच्चा पनि हुर्किसकेको हुन्छ । त्यसैले दोस्रो बच्चाको योजना पाँच वर्षपछि बनाउनुपर्छ ।

दोस्रो पटक पनि सिजेरियन ?

पहिलो बच्चा सिजेरियनबाट जन्मेको छ र केही कारणबस दोस्रो बच्चा पनि सिजेरियन गर्नुपरेमा त्यसको गम्भीर समस्या त केही देखिंदैन । तर पहिलो बच्चा सिजेरियन गर्दा पेटमा घाउ हुन्छ, दोस्रो बच्चा जन्माउँदा पनि घाउ बनाउने भएकाले केही सामान्य समस्या भने देखिन सक्छ ।

दोस्रो पटक सामान्य पनि हुनसक्छ

पहिलो पटक सिजेरियन डेलिभरी भएकोले दोस्रो पटक नर्मल डेलिभरी गराउन मिल्छ, तर पहिलो पटक के कारणले सिजेरियन गरेको हो त्यसमा भर पर्छ । डेलिभरीको समयमा बच्चालाई सास फेर्न गाह्रो भयो, बच्चाले पेटमा दिसा गरेको अवस्थामा सिजेरियन गरिएको हो भने दोस्रो बच्चा नर्मल डेलिभरीबाट पनि हुन सक्छ । पहिलोपटक पाठेघरको मुख नै नखुलेर सिजेरियन गरेको हो भने दोस्रो पटक पनि सिजेरियन नै गर्नुपर्छ ।

पहिलो डेलिभरीको समयमा औषधि दिएर ‘लेबर पेन’ गराउन मिल्छ, दोस्रोमा मिल्दैन । दोस्रो बच्चाको पालीमा आफैं ‘लेबर पेन’ भयो भने नर्मल डेलिभरी गराउन सकिन्छ । तर औषधि दिएर पेन गराउन मिल्दैन ।

तेस्रो पटक गर्भ रहे के गर्ने ?

दुई पटकसम्म सिजेरियन गरिएको छ तेस्रो पटक पुनः गर्भ रहन गयो भने बच्चालाई केही समस्या हुँदैन । बच्चा गर्भमा हुने बेलासम्म त आमालाई पनि खासै समस्या हुँदैन । तर डेलिभरीको समयमा भने समस्या हुन सक्छ । समय अगावै बच्चा जन्मिने समस्या पनि हुन सक्छ ।

दुई–तीन पटकसम्म पेटमा घाउ बनाउँदा त्यो घाउ छुट्न सक्ने, घाउमा साल अड्किन सक्ने जस्ता समस्या हुन सक्छ । कहिलेकाहीं गर्भपतन हुन सक्ने, समयभन्दा अगावै डेलिभरी पनि हुन सक्छ ।

घाउ निको हुन एक वर्ष लाग्छ

सिजेरियन डेलिभरी होस् वा नर्मल डेलिभरी पाठेघरलाई आफ्नो नर्मल साइजमा आउन ४५ दिन लाग्छ । तर सिजेरियन डेलिभरीमा भने ४५ दिनमा घाउ आलै हुने भएकाले घाउ निको हुन अलि बढी दिन लाग्न सक्छ । सिजेरियनको भित्री घाउ निको हुन एक वर्ष लाग्छ ।

सिजेरियनमा दीर्घकालीन जोखिम

सिजेरियन डेलिभरी गरेकाले सुत्केरीमा राम्ररी हेरचाह पाएको छ भने दीर्घकालीन रूपमा कुनै समस्या हुँदैन । घाउलाई निको हुन समय लाग्ने भएकाले आराम गर्नुपर्‍यो । सुत्केरी अवस्थामा धेरै गह्रुंगो सामान उचाल्न हुँदैन । धेरै भारी चीज उचाल्दा हर्नियाँ हुने सम्भावना हुन्छ । त्यसैले नर्मलको तुलनामा सिजेरियनमा धेरै हेरचाह गर्नुपर्छ ।

सामान्य अवस्थामा सिजेरियन गर्नुपर्छ ?

बच्चा जन्माउँदा प्रसव पीडा कम होस् भनेर सामान्य अवस्थामा पनि सिजेरियन गर्नेको संख्या बढ्दो छ । बच्चालाई तिथि, मिति हेराएर जन्माउन चाहने अभिभावकले सिजेरियन डेलिभरी गर्न चाहन्छन् । तर हामी भने नर्मल डेलिभरी गर्ने नै सल्लाह दिन्छौं । किनकि नर्मल हुने कुरालाई नर्मल नै गर्नु राम्रो हुन्छ । सिजेरियन गर्दा केही न केही समस्या त भोग्नै पर्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. झासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

सिजेरियन डेलिभरी
डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय