+
+
सुविन भट्टराईसँग साहित्य संवाद :

‘लेखक कसैले दिने दर्ज्यानी चिह्न होइन’

‘बुज्रुक साहित्यिक वृत्तले मेरो मात्र होइन, मेरा पाठकको पनि अपमान गर्‍यो’

सागर चन्द सागर चन्द
२०७९ असोज ७ गते १९:३१

काठमाडौं । सस्पेन्स, थ्रिलर र फेन्टासीको कथामा रमाउने नेपाली किशोरपुस्ताको सधैंजसो एउटा गुनासो हुन्थ्यो, ‘हामीले पढ्ने खालको नेपाली किताब नै छैन ।’

जसै सुविन भट्टराईका उपन्यासहरु बजारमा आउन थाले, किशोरपुस्ताको गुनासो मत्थर हुँदै गयो । किनभने सुविनका उपन्यासले उनीहरु आफ्नो धीत मार्न सक्थे । करिब एक दशकको यात्रामा सुविनले केही थान यस्ता उपन्यास ल्याएका छन्, जसले किशोर एवं युवा पुस्तामा पठन संस्कृतिको जग बसाइदियो ।

हालसालै मात्र आफ्नो छैटौं किताब ‘इजोरिया’ सार्वजनिक गरेका भट्टराईसँग अनलाइखबरकर्मी सागर चन्दले गरेको कुराकानीको सम्पादित अंश :

वातावरण विज्ञानबाट साहित्यमा किन सिफ्ट हुनुभयो ?

सिफ्ट भएको होइन । वातावरण विज्ञान पढ्दादेखि नै म कथा, कविता लेख्थें । डाक्टर, इन्जिनियर बन्नुपर्छ, गरिखानुपर्छ भन्ने बाध्यताले मात्र विज्ञान पढ्न गएको हुँ । लेखेर यसरी पैसा कमाएर बाँच्न सकिन्छ भन्ने सोचेकै थिइनँ । बिरामी भएपछि ‘प्लस टु’ पढ्नै चार वर्ष लागेपछि डाक्टर इन्जिनियर बन्ने सपना तुहिएर गयो । एउटा सपना मरेपछि अर्को सपनाको खोजीमा वातावरण विज्ञानको विद्यार्थी भएँ ।

वातावरण विज्ञानको विद्यार्थी हुँदा पनि म साहित्यतर्फ ढल्किसकेको थिएँ । त्यहीबीचमा ‘कथाकी पात्र’ प्रकाशित भयो । त्यसपछि ‘समर लभ’ (२०६९) प्रकाशित भयो । समर लभ हिट भएपछि त पूर्णकालीन लेखक भइहालें । आफूले पढेको क्षेत्रमा जागिर खानै पाइनँ । वातावरण विज्ञानको क्षेत्रमा काम गर्नै पाइनँ । समर लभ किताबपछि जागिर खाने सोच पनि आएन । अब त उमेर पनि भइसक्यो ।

४० कट्नुभयो, रमाउने त ४० कटेपछि नै हो क्यार ?

हा..हा..हा यो पनि सही हो ।

वातावरण आजको दुनियाँको ‘हट इस्यु’ हो । वातावरण विज्ञानको क्षेत्रमा काम गर्न मन छैन ?

बेलाबेला वातावरण विज्ञानको क्षेत्रमा काम गर्न जाउँ पनि जस्तो लाग्छ । तर कसैले अफर नै गर्दैनन् । वातावरण विज्ञानको क्षेत्रमा काम गर्न रहर छ । अहिले कसैले मलाई वातावरण विज्ञानको विषयमा ६ महिना वा एक वर्ष काम गरौं भन्यो भने काम गर्न तयार छु । ६ महिना, वर्ष दिन म लेख्न बन्द गरेर वातावरणको क्षेत्रमा काम गर्न चाहन्छु । तर समस्या के भने अब मलाई वातावरण विज्ञानको मान्छे भनेर कसैले चिन्दैनन् । वातावरणको विषय मेरो दिमाग र मनमा निदाएको मरिसकेको छैन । यो विषयमा म काम गर्न इच्छुक छु ।

लेखकका रुपमा मलाई गर्ने गाली त मैले सहेकै थिए, मेरा पाठकलाई समेत अपमान गरे । ‘सुविनका पाठक’ भन्दै जिस्काउने गर्छन् । भर्खर किताब किनेर पढ्न खोजिरहेका मान्छेलाई हाम्रा साहित्यिक बुज्रुकहरुले हियाए । यो मेरा किताब पढ्नेको मात्र होइन, सबै पाठकको अपमान हो ।

११ वर्षअघि पहिलो किताब त तपाईंले आफैं पैसा हालेर प्रकाशित गर्नुभएको थियो । लगानी उठ्यो कि बाँकी छ ?

किताब छाप्न लागेको खर्च त्यही किताब बेचेर उठाएँ । किताब विमोचनमा लागेको खर्च भने उठाउन सकिनँ । त्यतिखेर नयाँ लेखकलाई कसैले पत्याएनन् त्यसैले आफैं पैसा हालेर छापे ।

तपाईंका सबै किताब फाइन प्रिन्टबाट छापिन्छन् । फाइन प्रिन्टसँग लाइफटाइम सम्झौता गर्नुभएको हो ?

यस्तो सम्झौता केही छैन । ‘समर लभ’ किताब छाप्दा सम्झौता भएको हो । त्यसपछिका अरु किताबमा त हामीले सम्झौता पनि गरेका छैनौं । अहिलेसम्म हामीबीच केही विघ्न भएको छैन । म किताब लेख्छु फाइन प्रिन्टका साथीहरुलाई देखाउँछु उहाँहरुले छाप्नुहुन्छ । यत्ति हो ।

समर लभ’पछि तपाई सेलिब्रिटी नै हुनुभयो । त्यही मार्काका धेरै किताब पनि छापिए । त्यस्तै मार्काका पाण्डुलिपि तपाईंसम्म पनि पुगे कि ?

कति आए कति भनिसाध्य छैन । सबै पाण्डुलिपि हेर्न पनि सकिंदैन । कति पाण्डुलिपिमा त मैले आफ्नै लेखनीको छाँया देखे । मेरो जस्तै लेखनीमा आएका किताबमा भने मलाई रुचि छैन ।

मेरै पुरानो लेखन मलाई मन पर्दैन भने त्यस्तै नयाँ आउँदा राम्रो लाग्दैन । कुनै पनि लेखकले म फलाना लेखक जस्तो बन्छु भनेर हुँदैन । सबैका किताब पढ्नुपर्छ, थोरबहुत अरु लेखकको प्रभाव पनि पर्न सक्छ, तर पूरै प्रभावित हुनुहुँदैन ।

तपाईंका चारवटा किताब दशैंको मुखमा सार्वजनिक भए । दशैंमा तपाईं कत्तिको किताब किन्नुहुन्छ ?

किताब किन्नलाई म दशैं कुर्दिन । पैसा भयो भने हरेक महिना गएर किताब किन्छु ।  गोजीमा पैसा भएपछि बुक स्टोर चहारेर एक भारी किताब किन्छु म । किताब पसल चहार्दा चहार्दै खुट्टा फतरक्क गल्ने गरी किताब सपिङमा जान्छु म । पहिला पहिला किताब प्रदर्शनीबाट खुबै किताब किन्थे, अचेल किताब प्रदर्शनी हुनै छाडे ।

तपाईंको हरेक किताब पढ्ने नियमित पाठक छन् । तपाईं कसको नियमित पाठक हो ?

म धेरै लेखकको किताब दोहोर्‍याएर पढ्छु । लेख्न बस्दा अड्किएपछि म किताब पढ्न थाल्छु । विश्वेश्वरप्रसाद कोइराला, पारिजात, धुव्रचन्द्र गौतम, ध. च. गोतामे, विजय मल्ल, गोविन्द मल्ल, भवानी भिक्षुको शैलीले मलाई प्रभावित गर्छ ।

तपाईंले हालसालै पढेको कुनै किताब ?

हालसालै मैले भवानी भिक्षुका आगत पढे । त्यसपछि ध.च. गोतामेका सातवटै किताब पढेर एउटा लामो लेख लेखें । गोतामेको घामका पाइलाहरु मैले हरेक वर्ष दोहोर्‍याएर पढ्ने किताब हो । त्यो किताबले हरेक पटक मलाई झंकृत बनाउँछ, अद्भुत अनुभूति दिलाउँछ । गोविन्द मल्लको कथैकथा किताब पढें ।

तपाईं सिनेमा खुबै हेर्नुहुन्छ, तर ‘समर लभ’ फ्लप भयो किन ?

सिनेमा, वेब सिरिज खुबै हेर्छु । तर आफ्नै किताबमा बनेको फिल्म भने फ्लप भयो । राम्रो बनाउलान् भनेर किताबमा सिनेमा बनाउन दिए, तर बिगारें । खासमा सुरुमा मैले जसलाई सिनेमा बनाउने अधिकार दिएको थिएँ, त्यो टिमबाट अर्को टिममा पुग्यो राइट्स । सुरुवाती दिनदेखि नै सिनेमा बनाउने टिमसँग मेरो मतभेद सुरु भयो । उहाँहरु जबर्जस्ती यस्तो गरौं उस्तो गरौं भन्ने मलाई मन नपर्ने ।

मैले भनेको जस्तो गर्नलाई उहाँहरुसँग झगडा गर्नुपर्ने भयो । झगडा गर्नुभन्दा मैले आफैं पन्छिने बाटो समाएँ । लेखकको सिर्जनालाई निर्देशकले न्याय गर्न सकेनन् । यो अनुभवबाट मैले अब आफैं सिनेमा बनाउने सोचेको छु । कुनै दिन म सिनेमा बनाउँछु ।

प्रेममाथि तीनवटा किताब लेखिसक्नुभएको छ, तपाईंको कतिपटक ‘ब्रेकअप’ भयो ?

प्रेममा म उदार नै हुँ । मान्छे सिंगल भएपछि उदार, ओपन हुन्छ नि त । म प्रेम खोजी हिंड्ने प्रकृतिको मान्छे हुँ । यस्तो हुँदा कतिसँग सम्बन्ध अगाडि बढ्छ कि जस्तो लाग्थ्यो अनि बीचैमा टुंगिन्थ्यो । कतिपयलाई म मनपराउँथे भाउ दिंदैनथे ।

यही खोजी गरिरहने नेचरले मलाई विवाहसम्म पुर्‍यायो । जे होस प्रेमको मेरो खोजी सफल भयो ।

ब्रेकअप नै हुने गरी इन्टेन्स लभ भने मैले गरिनँ । ब्रेकअपसँग मलाई साह्रै डर लाग्छ । म प्रेममा झ्वाम्मै हाम फाल्ने हुति नभएको मान्छे हुँ । म प्रेमको छेउकुनामा बसेर रमाउने मान्छे हुँ । यति हुँदाहुँदै पनि एक–दुई भने कडा खालका ब्रेकअप भए । एकपटक ब्रेकअप भएपछि मैले त्यो पीडा फेरि लिन चाहिनँ, त्यसैले भने प्रेमको किनारमै बसे । ब्रेकअपले ठूलो पीडा दियो ।

११ वर्षमा ६ वटा किताब लेखिसक्नुभयो, तर अझै पनि ठूलो साहित्यिक वृत्तले तपाईंलाई लेखकका रुपमा स्वीकार गर्दैन, किन ?

कसैलाई म लेखक लाग्दिन भने त्यो बोल्न पाउनु उहाँको अधिकार हो । लेखक कसैले भनेर बन्ने होइन, पाठकले बनाउने हो । राजाको पालामा दिइने दज्र्यानी चिह्न हो र लेखक ? टीका लगाएर लेखक बनाउने पनि होइन ।

कसैलाई लेखक बनाउने नबनाउने काम पाठकको हो । मैले यति धेरै पाठक आर्जन गरेको छु । सुविनका किताब किनेर पढ्ने प्रशस्तै पाठक छन्, उहाँहरुले मलाई लेखक मान्नुहुन्छ ।

साहित्यिक वृत्तको जमघटमा पनि तपाईंलाई अस्वीकार गरिन्छ ?

कतिपयले त मलाई एकदमै तल्लो स्तरको गालीगलौज पनि गर्छन् । चियागफमा व्यग्यंवाण समेत हान्छन् । यसले धेरै पटक नमज्जा फिल भएको छ । एउटा वृत्तले त अझै पनि मलाई यस्तो फिल गराइरहन्छ । मलाई मात्र होइन, मेरा पाठकको पनि अपमान गर्छ एउटा वृत्त ।

मेरा किताब पढ्न पाठकलाई पनि गालीगलौज गर्छ एउटा ठूलो वृत्त । मेरा किताब पढ्नलाई ‘निब्बा–निब्बी’ भन्ने । यस्ता ‘निब्बा–निब्बी’ले के किताब पढ्छन् भनेर हियाउने । ‘निब्बा–निब्बी’ले शो अफ गर्नका लागि मात्र किताब किन्छन् भन्दै हियाउने काम अझै पनि भइरहेको छ ।

लेखकका रुपमा मलाई गर्ने गाली त मैले सहेकै थिए, मेरा पाठकलाई समेत अपमान गरे । ‘सुविनका पाठक’ भन्दै जिस्काउने गर्छन् । भर्खर किताब किनेर पढ्न खोजिरहेका मान्छेलाई हाम्रा साहित्यिक बुज्रुकहरुले हियाए । यो मेरा किताब पढ्नेको मात्र होइन, सबै पाठकको अपमान हो । त्यही भएरै पाठकको सम्मानका लागि ‘इजोरिया’ किताब मैले पाठककै हातबाट विमोचन गराए ।

एउटा तप्का जसले आफूलाई म भन्दा परिपक्व ठान्छ, उसले मलाई र मेरा किताब पढ्न पाठकको सधैं अपमान गरिरहेको छ । आफूलाई परिपक्व भन्ने साहित्यकारले त तेरा मेरा नभनीकन हाम्रा पाठक भन्न सक्नुपथ्र्यो । नेपाली पाठक भन्न सक्नुपथ्र्यो । सुविनका पाठक, यसका पाठक, उसका पाठक भन्ने पनि कतै हुन्छ र ? जो भए पनि नेपाली साहित्यका पाठक हैनन् र ?

आज मेरा किताब पढिरहेका पाठक भोलि अरुका किताब पढ्लान् । ‘समर लभ’ पढ्ने धेरै पाठकले त्यस अगाडि कृष्ण धरावासीको राधा, नारायण वाग्लेको पल्पसा क्याफे पढेको सुनाए । भनेपछि पाठक त सबैका हुन् नि । हो केही एक्स्ट्रा पाठक मैले कमाए हुँला ।

तर अब यो अपमान मैले धेरैपटक भोगेर पचाइसकें । कुनै समय मलाई देख्यो कि आफूलाई प्रबुद्ध ठान्ने लेखकहरु तर्केर हिंड्थे । कर्के नजरले हेर्थे । यीमध्ये कतिपयले आजभोलि मलाई स्वीकार गरेका छन्, कतिले गरेका छैनन् ।

कतिपयलाई त मेरा किताब धेरै बिक्री भएको देखेर पनि इष्र्या लाग्दो हो । कथाकी पात्र किताब झोलामा बोकेर बेच्न हिंड्दा मलाई पनि कसैको किताब धेरै बिक्री भएको देख्दा इर्ष्या लाग्थ्यो । अहिले मलाई अपमान गर्नेहरुलाई पनि यस्तै भएको होला जस्तो लाग्छ ।

म आफैं लेखक हुने प्रयासमा छु । मभन्दा बुज्रुक लेखकले मलाई अपमान गरे पनि, मलाई लेखक नमाने पनि उहाँहरुप्रति मेरो सदैव सम्मान छ । को लेखक हो को होइन भनेर तय गर्ने काम त पाठकको हो ।

साहित्यिक गुट-गुटमा नछिरेर पनि हो कि तपाईंलाई अस्वीकार गरेका ?

यस्तो पनि हुन सक्छ । यी गुट–उपगुटमा छिरौं भन्ने मलाई कहिल्यै पनि लागेन । म एक्लै छु । म कुनै गुटमा छैन । ती गुटमा सामेल हुने प्रक्रिया पनि मलाई थाहा छैन । ती गुट–उपगुटका अड्डामा गएर दिनदिनै चिया, चुरोट खानुपर्ने हो कि ? उहाँहरुको चाकडी गर्नुपर्ने हो कि ? के गरेर गुटमा परिन्छ भन्ने नै मलाई थाहा छैन ।

एकअर्काको लेखनी स्वीकार्ने हो । स्वीकार्नुको अर्थ मनपराउनु होइन । साहित्यलाई ठूलो समुद्र मानेर त्यसमा अनेक प्रकारका माछा हुन्छन् भन्ने ठान्ने हो । उहाँहरु एक प्रजातिको माछा हो भने म अर्को प्रजातिको माछा हो । समुद्रमा सबै प्रकारका माछा हुन्छन् भनेर स्वीकार्नुपर्‍यो । एकले अर्कोलाई स्वीकारै नगरेका कारण हाम्रो साहित्य साँघुरो भयो ।

प्रेममा म उदार नै हुँ । मान्छे सिंगल भएपछि उदार, ओपन हुन्छ नि त । म प्रेम खोजी हिंड्ने प्रकृतिको मान्छे हुँ । यस्तो हुँदा कतिसँग सम्बन्ध अगाडि बढ्छ कि जस्तो लाग्थ्यो अनि बीचैमा टुंगिन्थ्यो । कतिपयलाई म मनपराउँथे भाउ दिंदैनथे ।

बुज्रुकहरुले तोकेको साहित्यको साँधसीमाभित्र नपरेरै तपाईं एक्लिएको हो त ?

म एक्लिएको छैन । मसँग यतिका पाठक छन् म कसरी एक्लिएँ ? लेखनको मापदण्ड, सीमा तोकिदिए बुज्रकुहरुले । मलाई यो साँधसीमा मन पर्दैन । १० जना स्थापित/वयोवृद्ध लेखकले साहित्य यस्तो हुन्छ, लेखन यस्तो हुन्छ भनेर तोकेपछि नयाँ मान्छेले कसरी लेख्ने ? नयाँ आउने त उनीहरुकै भक्त हुनुपर्ने भयो । यसरी तोकेको ठीक भएन ।

एकथरी सामाजिक यथार्थवाद भन्छन् । त्यो मात्र साहित्य हो र ? स्वैरकल्पना, विज्ञान कथा, युवाका कथा, मनोविज्ञानका कथा, रहस्यमयी कथा, थ्रिलर साहित्य होइन ? क्रान्तिकारी विचार मात्र साहित्य हो त ?

हरेक प्रकारको लेखन स्वीकार गरेपछि मात्र हाम्रो साहित्य संसार फराकिलो हुन्छ । आफूलाई मनपर्ने, आफ्नो विचार मिल्ने मात्र साहित्य हुने अरु नहुने भन्ने अडान राखेपछि त कसरी साहित्य समृद्ध हुन्छ ? नेपालभन्दा बाहिरको साहित्यले सबै लेखन स्वीकार गरेकै कारण समृद्ध छ । त्यहाँ कसैले मापदण्ड बनाएका छैनन् ।

यहाँ त मापदण्ड तोकिएको छ । त्यस्तै किताबले पुरस्कार पनि पाउँछन्, अनि त्यही मात्र साहित्य हो भनेर त्यस्तै लेख्ने चलन छ ।

साहित्यलाई खुम्च्याउनु भएन, साँघुरो दायरामा राखेर साहित्य र लेखनलाई परिभाषित नगरौं । साहित्य गम्भीर पनि हो, मनोरञ्जन पनि हो । साहित्य वयष्कका लागि पनि हो, युवाका लागि पनि हो, बालबालिकाका लागि पनि हो ।

यही मापदण्डमा नपरेर तपाईंका किताबले पुरस्कार नपाएका हुन् त ?

त्यो त थाहा भएन । तर मलाई पुरस्कारको लोभ छैन । म पुरस्कारको विरोधी होइन, तर पुरस्कार नै सबैथोक हो, पुरस्कृत कृति मात्र राम्रो हो भन्ने चाहिं मान्दिनँ ।

तपाईंलाई त नेपालको ‘चेतन भगत’ पनि भन्छन् । यो उपमा कस्तो लाग्छ तपाईंलाई ?

यो मलाई ठीक लाग्दैन । चेतन भगतको लेखन शैली र स्केल आफ्नै छ, मेरो आफ्नै छ । समर लभ र सायामा एउटा शैली र स्केल थियो भने अहिले आएको इजोरिया र त्यस अगाडिको प्रिय सुफीमा अर्कै शैली थियो । मेरो पहिलो किताब कथाकी पात्र बेग्लै थियो । कुनै पनि साहित्य अनुरागी जसले शब्द केलाउँछ, लेखनको अनुभूति केलाउँछ, उसले मेरो र चेतन भगतको फरक थाहा पाउँछ ।

मेरा किताब पढ्दै नपढ्नेले हो, मलाई नेपालको चेतन भगत भन्ने । मेरा सबै किताब पढेपछि मेरो लेखनीमा के परिवर्तन आयो । मेरो लेखनको विषयवस्तु कसरी बदलियो भन्ने थाहा हुन्छ । किताब नै नपढेर अनेकथरी भन्छन् । समर लभ र सायाको नाम मात्र सुनेर मलाई मूल्यांङकन गर्न मिल्दैन ।

चेतन भगतको युथफुल राइटिङ हेर्ने, अनि मेरो फ्यान फलोइङ हेरेर मूल्याङकन गरेर हुँदैन । अहिलेका जानेमाने समीक्षकले कान्तिपुरमै मेरो पहिलो किताब कथाकी पात्र बहुतै राम्रो अद्भूत भनेर समीक्षा गरेका थिए । कथाकी पात्रदेखि इजोरियासम्म पुग्दा परिवर्तन भएको मेरो लेखनी र त्यसको विषयवस्तु पढेपछि थाहा हुन्छ म र चेतन भगतबीचको फरक ।

इजोरिया आञ्चलिकता समावेश गरिएको किताब हो । यसमा मधेश, जनकपुरको भाषा परिवेश छ । ६ वटा किताबमा तीनवटा किताबमा प्रेम केन्द्रमा छैन । समर लभको नाम सुनेर मात्र मलाई ट्याग लगाउनुभएन । हाम्रा वयोवृद्ध लेखकहरु किताबै नपढी यस्तो ट्याग लगाउँछन् ।

युवापुस्तामाझ लोकप्रिय भएर पनि तपाईं सामाजिक मुद्दामा चाहिं मौन बस्नुहुन्छ । लेखककले त सामाजिक मुद्दामा चर्को स्वरमा बोल्नुपर्ने होइन र ?

हो, म त्यसमा खासै सक्रिय छैन, तर कुनै विषयमा बोल्नैपर्छ भन्ने लाग्यो भने बोल्छु । मेरा कुरा बोल्नका लागि मेरो सामाजिक सञ्जाल छ । मलाई भित्रैदेखि कुनै विषयमा बोल्नुपर्छ भन्ने लाग्यो भने बोल्छु । हरेक विषयमा बोल्नैपर्छ जस्तो मलाई लाग्दैन ।

कतिपय कुरा मैले देखिरहेको हुन्छु, भोलि त्यो गलत भइदिन्छ । कतिपय विषयमा बोल्न हतारो पनि गर्नुहुन्न, किनभने यहाँ धेरै विषय रातारात विवादास्पद हुन्छन्, अझ राजनीतिक विषय त झन् एकैछिनमा परिवर्तन हुन्छन् ।

साहित्यको आयु हुन्छ भने तपाईंको साहित्यको आयु कति हो ?

यो त भन्न गाह्रो छ । १०–११ वर्ष भयो किताब लेख्न थालेको, यतिञ्जेलसम्म त चलेकै छ । त्यही भएर अझै लामो समय मेरो साहित्यले माइलेज देला जस्तो लाग्छ ।

साहित्य भनेको समाजको अर्काइभ हो । त्यो अर्काइभको काम मेरो लेखनीले पनि गरेको छ जस्तो लाग्छ । समर लभ पनि त बानेश्वरका गल्ली, धनगढीका गल्ली अनि २७ रुपैयाँमा डेटिङ गएको विषयको अर्काइभ हो । अनुभूतिको अर्काइभ हो । अहिलेका युवा पुस्तालाई यौन भन्ने विषय सामान्य लाग्छ भोलिको पुस्तालाई के लाग्छ थाहा छैन । त्यसो त यौनका मामिलामा कुण्ठित पुस्ता, यौन भनेपछि छि..छि दूरदूर गर्ने उपबुज्रुक पुस्ता पनि यही छ । यस्तै यस्तै अकाईभ हो साहित्य ।

स्वीकार अस्वीकारबीच पनि तपाईं होलटाइमर लेखक भएर बाँचिरहनुभएकै छ । कति सजिलो छ ?

आजको मितिसम्म लेखनबाटै आएको पैसाले चलेको छु । पैसाका लागि मरिमेट्नुपर्ने अवस्था छैन, किताबकै रोयल्टीले मलाई अहिलेसम्म धानिरहेको छ । अहिलेसम्म ठीकठाक छ । अबको १० वर्षपछि के हुन्छ त भन्न सकिंदैन ।

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?